पढाइमा प्रविधिः जहाँ पनि सकिन्छ

जनजनको प्रविधि
मोही पार्ने प्रविधि हो । त्यहाँ—सन्तुलन सिकिन्छ, काइनेटिक र पोटेन्सियल शक्ति (Energy) चिनिन्छ, मदानीको पोरामा आउने र जाने पानीको नापो सिकिन्छ । गणित पढे पनि हुने । विज्ञान सिके पनि हुने । मोही कसले पार्छ ? घिउ कसले बेच्छ ? मोही कसले खान्छ ? दूध कसले लान्छ ? भनेमा लैङ्गिक स्थितिबोध हुन्छ । दही जमाउने पनि प्रविधि नै हो । कस्तो भाँडोमा छिटो जम्छ ? कुन हावापानीमा जम्छ ? दूधमा के छ र दही बन्छ ? यस अर्थमा दूध राख्ने ठेकी प्रविधि हो ।गाग्रीमा प्रविधि छ । पानी भरे नबज्ने । खाली हुँदा बज्ने । पिँध ठूलो हुने । घाँटी सानो राख्ने । पानी सार्दा आवाज आउने । खोजेमा पानीले भरिएको गाग्री प्रविधि हो । यसको अर्थ हो प्रविधि माथि सुत्यौँ । प्रविधिको खोजी गर्यौ । जनप्रविधि । कतै जनप्रविधिको पहिचान गर्ने कि ? त्यही प्रविधिबाट म के–के विषयवस्तु पढाउन सक्छु भनी खोजी गर्ने कि ? यसो गर्दा प्रविधिहरू चिनिन्छन् । तिनलाई कक्षाकोठामा उपयोग गर्ने सोच बन्छ ।

तालिमले थोपरेको प्रविधि
तालिमले अर्को प्रविधि थोपरयो । सामग्रीको प्रविधि । त्यहीँ देखि नुपर्ने । भेटिनुपर्ने । यो प्रविधिले विद्यार्थीको प्रत्याभूति मार्‍यो । घरको मदानी सम्झ्ने प्रत्याभूति । तर मदानी नै कक्षाकोठामा राख्नुपर्छ भन्ने बुद्धिको भने निरन्तरता दियो । यसको अर्थ हो— तालिमले कक्षाकोठामै विद्यार्थीकोे घर बनाउन खोज्यो । शिक्षक त्यसैमा लाग्यो । परिणामतः कक्षाकोठा रङ्गीन बने । सामग्रीयुक्त बने । स–साना पुस्तकालय त्यहीँ राख्ने सोच बन्यो । यसको अर्थ हो— तालिमले विद्यार्थीलाई कक्षाकोठामा नै सबैथोक जुटाइदिने बाटो लियो । विज्ञानका सामग्री कक्षाकोठामा । भूगोलका सामग्री कक्षाकोठामा । इतिहासको म्युजियम कक्षाकोठामा । गणितको प्रयोगशाला कक्षाकोठामा । यसरी तालिमले घरलाई स्कूलमा ल्यायो ।

तालिमले थोपरेको अर्को प्रविधि हो— विद्यार्थीलाई बाहिर लाने । कक्षाकोठा बाहिर । भ्रमण । सामाजिक भ्रमण । भूगोल भ्रमण । इतिहासको भ्रमण । संस्कृतिको भ्रमण । यस्ता भ्रमणले विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर ल्यायो । कक्षाकोठा रङ्गीन बनाउने बुद्धिभन्दा भिन्न प्रविधि । स्व–सिकाइउन्मुख  प्रविधि । प्रकृतिवादको हिसाबमा स्व–सिकाइको प्रविधि । यसरी हेर्दा तालिमले कक्षाकोठालाई घरमा ल्याउन खोज्यो । घर र कक्षाकोठा मिले बालसुलभ सिकाइ हुन्छ भन्ने बुद्धि दियो । तालिमको शब्दमा बालमैत्री कक्षा । घर जस्तै । घर बिर्सिइने कक्षाकोठा । अर्को प्रविधि हो— घरबाट स्कूल आउँदा देखि ने प्रकृतिसँग सिक्ने । वातावरणसँग सिक्ने–भ्रमण प्रविधि ।

आधुनिक उपकरणले थोपेको प्रविधि
आधुनिक उपकरणले अर्को प्रविधि थोपर्‍यो । कम्प्युटरबाट सिक्ने । भिडियोबाट सिक्ने । अडियोबाट सिक्ने । मोबाइलबाट सिक्ने । रेडियोबाट सिक्ने । स्काइपबाट सिक्ने । टेलिफोनबाट सिक्ने । यस अर्थमा यी उपकरणले अर्को काम गरे । जानकारी सङ्कलन गर्ने तर्किव । तिनलाई चाहिएको बेला प्रयोग गर्ने तर्किव । आवश्यकता अनुसार उपयोग गर्ने तर्किव । कम्प्युटर एनिमेशनले रहरको तर्किव । यसरी आधुनिक उपकरणले जानकारी झन् सहज बनायो । तर एउटा अप्ठेरो पनि ल्यायो— डिजिटल विभाजन । हुनेले धेरै सिक्ने भयो । नहुनेले खुम्चिनु पर्‍यो । त्यसमा पनि थप पाप कर्म गर्‍यो । त्यो हो— अत्याधुनिक प्रविधि (Latest Technology) वालाले बढी सिक्ने । आधुनिक प्रविधिवालाले कम सिक्ने । यस अर्थमा आधुनिक र नव–आधुनिक डिजिटल विभाजन । यी प्रविधिहरूले अर्को स्थिति बनाइदिए । जहाँ पनि कक्षाकोठा हुने । ‘भर्चुयल’ कक्षाकोठाले त तत्तत् अनुभूति नै दियो । रूख ढल्दा थिच्ला कि भन्ने खाले । यस अर्थमा आधुनिक उपकरणले बोकेर यताउता लान–ल्याउन मिल्ने कक्षाकोठा (Portable Classrom) बनाइदियो । रेडियो बोक्यो, त्यहीँ कक्षाकोठा । टेलिभिजन हेर्‍यो, त्यहीँ कक्षाकोठा । कम्प्युटर खोल्यो, त्यहीँ कक्षाकोठा ।

चिप्सको बढ्दो खोजले अर्को बाटोको इंगित गर्दैछ । त्यो हो— टाउकोमा चिप्स राखिदियो—पढ्नै परेन । सूचना त्यहीँ । बहुप्रस्तुति (Animation) त्यहीँ । यो ढङ्गले प्रविधि बढ्दै जाँदा शिक्षक चिप्समा बस्ने भयो । त्यो चिप्समा पर्दाविहीन (Screenless) कम्प्युटरको बुद्धि जोडिन सक्छ । यसो हुनासाथ व्यक्ति नै कक्षाकोठा हुन्छ । जहाँ मन लाग्यो चिप्स खोल्ने । पर्दाविहीन पर्दा उघार्ने । त्यहीँ जानकारी लिने । पर्दा बन्द गर्ने हिँड्ने । यो क्रम बढ्दै जाँदा हिँडाइसँग सँगै चिप्स खोलिन्छ । बन्द हुन्छ । आँखा खोले पनि संसार देखि ने । बन्द गरेर सोचे पनि संसार देखि ने । खोल्दा नयाँ देखि ने । बन्द गर्दा अनुभूतिजन्य संसार जोडिने । पुख्र्यौली शब्दावलीमा सञ्जयको दिव्यदृष्टि । धृतराष्ट्रको ज्ञानदृष्टि । महादेवको अन्तरध्यान । यसरी आधुनिक प्रविधि र पुरातन चिन्तन जोडिँदै; ‘कनबर्ज’ (Converge) हुँदैछन् । हिजोका भौतिकवादी र आध्यात्मिकवादीका सीमा भत्किँदै छन् । स्टेफन हकिन्सको बुझइ त्यतै पुग्यो । फ्रान्स र स्वीटजरल्याण्डबीचको वृहत् वैज्ञानिक परीक्षण (Mega Scientific Research) त्यहीँ गयो । अर्थात् प्रविधि माध्यम रहेछ । ज्ञान आफैंमा रहेछ । प्रविधि सहारा रहेछ । आत्मा (उद्बोधन शक्ति) भौतिक शरीरको सहारा भए जस्तो । भौतिक शरीर आत्माको सहारा भए जस्तो । पुख्र्यौली शब्दमै भन्दा— बाहिर ज्ञान खोज्ने मार्ग । भित्र ज्ञानार्जन गर्ने मार्ग । अन्ततोगत्वा बाहिरी र भित्री ज्ञानार्जन गर्ने एकलमार्ग । शरीरमै कक्षाकोठा बनाउने मार्ग । मनको कक्षाकोठा । शरीरको कक्षाकोठा । आत्माको कक्षाकोठा । त्रैतको कक्षाकोठा (तीनवटै कक्षाकोठा एकै ठाउँमा भएको । अङ्ग्रेजी शब्दावलीमा ‘थ्री इन वान’ (Three in one) ।

अहिलेको रडाको
केलाई प्रविधि भन्ने ? कसलाई प्राविधिक भन्ने ? मदानी बनाउने प्राविधिक कि मोही पार्ने प्राविधिक ? मोही मथ्दा सिद्धान्त खोज्ने प्राविधिक कि मोही पार्ने क्रममा सामाजिक शिक्षा, विज्ञान, भूगोल जस्ता विषय जोड्ने प्राविधिक ? कक्षाकोठामा ठेकी मदानी ल्याएर प्रयोग गरी पढाउने प्राविधिक कि ? त्यसैलाई क्यामेराले खिचेर एलसीडीमा देखाउने प्राविधिक ? कम्प्युटरमा एनिमेशन गर्ने प्राविधिक कि अरू कुनै ? यसरी प्राविधिक को हो भन्ने पहिलो रडाको हो । दोस्रो रडाको प्रयोगको तरीका हो । कक्षाकोठामा कसरी प्राविधिक तरीका अपनाउने ? बालबालिकालाई घर सम्झएर ? प्रत्याभूति गराए र ? कक्षाकोठामै मोही मथ्ने/पार्ने प्रविधिहरूको प्रदर्शन गरेर ? त्यसैलाई सिनेमामा बदलेर ? कुन तरिकालाई प्रविधियुक्त मान्ने ? प्रविधि प्रयोगको तरिका मान्ने ? तेस्रो रडाको हो— एउटै प्रविधिलाई ठाउँ सापेक्ष बनाए के हुने ? मोही पार्ने बालबालिकालाई प्रत्याभूतिउन्मुख विधि । आकलझुक्कल त्यस्ता प्रविधि देख्नेलाई प्रदर्शन विधि । देख्दै नदेख्नेलाई सिनेमा देखाउने विधि । सुनाउने विधि । कक्षाकोठामै मदानी देखाउने विधि । बालबालिकालाई तत्स्थानमा लैजाने विधि । चौथो रडाको हो— कक्षाकोठा के जस्तो हुने ? घोत्लिन मिल्ने ? सोच्न मिल्ने ? सामग्रीले भरिएको ? सफा एवं शान्त ? कस्तो ? पाँचौँ रडाको हो— अत्याधुनिक प्रविधिमै सबै कुरा भएको । मदानीका किसिम । मोही मथ्ने थरीथरीका तरिका । के हो अहिलेको प्रविधि ? कि स्थान सापेक्ष प्रविधि बनाउने ?

मेरो सोच
प्रत्येक माध्यम प्रविधि हो । कलमबाट के सिकाउने ? द्रवको वहाव ? हावाको दबाब ? कलमको इन्जिनियरिङ ? कलमको अर्थशास्त्र ? कलमको इतिहास ? कलमको निर्माण सामग्री ? कलमको समाज शास्त्र ? कलमको मानव शास्त्र ? यस अर्थमा प्रविधिको एउटा पाटो पाठको उद्देश्य रहेछ । जे बनाए पनि हुने । दोस्रो पाटो व्यवस्थापन हो । कलमको सङ्ग्रहालय बनाउने हो त ? क–कसका घरमा के–कस्ता कलम रहेछन् भनी खोजाउने हो त ? कलमका तस्बिरसहितको कम्प्युटर सामग्री बनाउने हो त ? तिम्रै घरमा क–कसले के–कस्तो कलम प्रयोग गरे भनी प्रत्याभूति गराउने हो त ? यी सबै शिक्षण विधि रहेछन् । जुन छाने पनि हुने ।

के गरी प्रविधि प्रयोग गर्ने ? यो अर्को समस्या हो । घरको अनुभूतिमा जोडेर ? स्कूलमै घरका सामग्री ल्याएर ? सामग्री भएकै ठाउँमा अवलोकन गराए र ? सामग्रीका चित्रहरू डिजिटल क्यामेरामा कैद गराए र ? एलसीडीमा देखाएर ? यी प्रश्नका उत्तर हामीसँगै छन् । जे उपलब्ध छ त्यही आधार लिएर । जेमा सजिलो लाग्छ, त्यसैको वकालत गरेर । यसको अर्थ हो मसँग जे छ त्यही प्रविधि हो । डिजिटल मात्रै प्रविधि होइन । यो सोचले शिक्षकलाई प्रविधि छैन भन्ने पीडा हट्छ । सबै प्रविधियुक्त रहेछौँ भन्ने चिन्तन आउँछ । अनि किताबकै व्याख्या गर्ने ‘दुर्बुद्धि’ हट्छ ।

कसरी किताबी कुरा लाई उपलब्ध प्रविधिमा जोड्ने ? यो सोचनीय प्रश्न हो । यसका लागि शिक्षकले पढाउने विषयवस्तु पहिल्याउनुपर्छ । सञ्चार व्यवस्था विषयवस्तु हुनसक्छ । कसको घरमा के–के गरी समाचार सुन्ने/सुनाउने गरिन्छ ? कराएर ? फोन गरेर ? रेडियो सुनेर ? टिभी हेरेर ? एसएमएस गरेर ? लेखेर ? संकेत गरेर ? प्रत्येक प्रश्नको उत्तरमा प्रविधि छ । ती साधनको चित्र लेखाए हुन्छ । सामग्री सङ्कलन गरे हुन्छ । घरबस्तीमा लगेर अवलोकन गराए हुन्छ । डिजिटल क्यामेरामा ती सामग्रीको तस्बिर कैद गरे हुन्छ । एलसीडीमा देखाए हुन्छ । जे गरे पनि प्रविधिको प्रयोग भयो । भोलिको प्रविधि अर्कै आउला ‘टच टोन’ जस्तो । आँखाले हेरेर चल्ने प्रविधि । ताली बजाएर चल्ने प्रविधि । सुँघेर चल्ने प्रविधि ।

निर्णायक कुरा
हामीले पुस्तक पढ्यौँ । व्याख्याता हराम्रो पहिचान बन्यो । त्यही पहिचान फेरौं । यो पाठलाई व्याख्या न गरी कसरी पढाउने ? यही प्रश्न बोकौं । के गरे बुझन सहज होला ? कथा भनेर ? त्यसो भए कथा आधार भयो । कस्ता–कस्ता कथा चाहिने हुन् ? छनोट भयो । कसरी प्रस्तुत गर्ने ? प्रविधिको खोजी भयो । यो क्रममा प्रत्येक शिक्षक प्रविधि प्रयोगकर्ता बन्छौँ । जनजनको प्रविधि प्रयोगकर्ता । तालिमले सिकाएको प्रविधि प्रयोगकर्ता । आधुनिक प्रविधिको प्रयोगकर्ता । आफ्नैखाले प्रविधिको प्रयोगकर्ता । के प्रत्येक पाठमा प्रविधि प्रयोग गर्ने हो त ? त्यसलाई चाहिने प्रविधि खोज्ने हो त ? पढाइलाई प्रविधियुक्त बनाउने हो त ? ठाउँ अनुसारको प्रविधि प्रयोगकर्ता बन्ने हो त ? उपलब्धता अनुसारको प्रविधि प्रयोगकर्ता बन्ने हो त ?

commercial commercial commercial commercial