के बन्ने साक्षी कि शिक्षक ?

हामी ‘गोठाला’ भयौं । बाली खान नदिने । घाँस पनि नदिने । खाओ भनिरहने ।
खानुपर्नेले उग्राए पनि हुने । चपाए पनि हुने । चरे पनि हुने । हामी उसलाई हेरिरहने ।

जन्मने र जन्माइने क्षमता
रत्नसागर हिन्दूको धार्मिक किताब हो । त्यसले लेख्यो—बुद्धि नहुने व्यक्ति हुन्न । औषधि नहुने बोटबिरुवा हुन्न । त्यो किताबले भन्यो— सबै बुद्धिमान छौं । क्षमतावान छौं । जात हुनुगौण हो । जाति हुनु गौण हो । लिङ्ग पनि गौण हो । विषयवस्तु गौण हो । गणितमा बुद्धि छैन । निः शब्द । अङ्ग्रेजीमा बुद्धि छैन । नचाहिने कुरा । विज्ञानमा बुद्धि छैन । असम्भव । यस अर्थमा जेमा पनि बुद्धि छ । त्यसो भए हो के त ? रत्नसागर कै शब्दमा एउटै रोगको औषधि त हैन नि । एउटै क्षमताको बुद्धि त होइन नि । अर्को शब्दमा क्षमता भिन्न छ । औषधि लाग्ने ठाउँ भिन्न छ । यही प्रश्न हो— के हामी शिक्षकले यो कुरा बुझयौं त ? छेवाङको गणितीय बुद्धि के हो ? विज्ञानीय बुद्धि के हो ? अङ्ग्रेजीय बुद्धि के हो ? भिन्नता के छ ? सन्तोष, राज कुमारी र नवीनको बुद्धिमा के समता छ ? के भिन्नता छ ? के हामी शिक्षकले यस्तो कुरा को खोजी गर्यौ त ?

रूसोले भनिदिए— म ज्ञाता जन्मिएँ । शिक्षकले मलाई भुत्ते बनाइदिए । यसको अर्थ हो— प्रकृतिले ज्ञानवान जन्मायो । शिक्षकले तिखारेन । बोध्यायो । समालोचनात्मक चिन्तकको शब्दावलीमा औसतीकरण (averagization) गर्‍यो । उसले पढेथ्यो शिक्षाले व्यक्तिको क्षमता प्रस्फुटन गर्छ । उल्टै प्रस्फुटित क्षमतालाई शिक्षकले भुत्ते पो बनायौं । गीता र सिर्जनाको त्यही हालत भयो । किनभने उनीहरूका अङ्कले हराम्रो अपराध झल्क्यायो । यो स्थितिमारूसो पढेररूसैलाई अन्याय गर्यौ । विद्यार्थी पढेर विद्यार्थीलाई नै अत्याचार गर्यौ । हिन्दू पुख्र्यौली शब्दावलीमा प्रारब्ध कर्म (innate ability) लाई सञ्चित कर्म (acquired ability) ले छोप्यौं । यहाँ शिक्षक ढक्कन भयौं । दायित्व थियो उघार्ने । लायौं ढक्कन ।

नेपोलियनले भने— ‘मलाई असल आमा देऊ । म असल सन्तति दिन्छु ।’ उनको सोच थियो— म बनाउन सक्छु । आमा दत्तक हुन् । बच्चा सिर्जित । निर्मित । यहीँनेर अर्को प्रश्न आयो— आर्जित क्षमताको । क्षमता आर्जिने रहेछ । बनाइँदो रहेछ । वातावरणविद्ले त्यसै भने । व्यवहारवादीले त्यसै भने । यस अर्थमा शिक्षकले भीम र रोजिनालाई बनाएनौं । वातावरण दिएनौं । अभ्यस्त गराएनौं ।

माथिका तीनवटै अनुच्छेदले एकसाथ भने— प्रतिभा जन्मँदो रहेछ । जन्माइँदो रहेछ । जन्मँदा निर्मल राई भएर । जन्माउने तागत शिक्षकमै नभएर । त्यसो भए हामी शिक्षक कसका भयौं ? जन्मजात प्रतिभावानको ? भिन्नै प्रतिभा हुनेहरूको ? हाम्रै मापो (measuring rod) को ? अरू कसैको ?

तथ्याङ्कीय लेखाजोखा
छेवाङहरूको तथ्याङ्कले भन्यो— शिक्षकले प्रतिभा थपेन । ऊ व्यवहारवादी होइन रहेछ । वातावरणवादी होइन रहेछ । ऊ त यथास्थितिको हेरालु रहेछ । कक्षा १ मा आर्जेको क्षमता एसएलसीमा पुग्दा स्थिर राख्न जान्ने । घटाउन जान्ने । बढाइहाले पनि तात्विक वृद्धि गर्न नजान्ने । अङ्ग्रेजीमा त्यस्तै । विज्ञानमा त्यस्तै । गणितमा त्यस्तै । त्यसो भए हामी निर्मल राईका शिक्षक हौं त ? राम्रालाई मात्रै राम्रा बनाउनेहरू ? त्यसो भए राम्रा आफैं बने कि हामीबाट बनाइए ? आफैं बनेका भए तिनलाई हराम्रो के काम ? बनाइएका छौं भन्ने भए— हामी थप्न नसक्ने रहेछौं । कमजोरलाई बुद्धि थप्न नसक्ने । तीक्ष्णलाई तल झर्न नसक्ने । त्यसो भए शिक्षक यथास्थितिवादी हौं त ? छेवाङहरूलाई कमजोर नै बन्न दिने । निर्मलहरूलाई असल नै बन्न दिने ? यस अर्थमा हामी बोज्र्यूले भने झै व्यवहार गर्छौं त ? नहुनेलाई कमजोर शिक्षा दिइरहने । हुनेहरूलाई रराम्रोगरायौं भनेर आत्मरति गरिरहने । यस अर्थमा हामी शिक्षकहरू प्रणालीगत पक्षपाती (systemically biased) हौं त ? बनाउन नसक्नेहरू । स्वनिर्मितलाई बनायौं भन्न नछाड्नेहरू ? के हराम्रो नियति यही हो त ? नियत त्यही हो त ? के जवाफ दिने निर्मललाई ? के जवाफ दिने छेवाङ र सिर्जनालाई ? के भन्नेगीता र रोजिनालाई ?

तथ्याङ्कले अर्को पाटो जन्मायो । शिक्षण निष्पक्ष हुँदोरहेछ । थप्न पनि नसक्ने । झिक्न पनि नसक्ने । नथपिएकोमा शिक्षार्थीलाई दोस्याउने । थपिएकोमा श्रेय लिन जान्ने । के शिक्षा त्यही हो त ? के हामीले गरेको कुरा यही हो त ? के शिक्षकको भूमिका यस्तै हुन्छ त ? उत्तर ‘हो’ मा आयो भने हामीले पढाउनु बेकार भयो । हामी ‘गोठाला’ भयौं । बाली खान नदिने । घाँस पनि नदिने । खाओ भनिरहने । खानु पर्नेले उग्राए पनि हुने । चपाए पनि हुने । चरे पनि हुने । हामी उसलाई हेरिरहने । यदि यसो हुन्छ भने हामीले सामाजिक भलाइको सिद्धान्त (social good theory) काट्यौं । चिन्तकलाई फेल बनायौं । समालोचनात्मक सिद्धान्त (critrical theory)  लाई पोस्यौं । अर्थात् हामी असमान ताका स्रष्टा बन्यौं । द्रष्टा बन्यौं । हामीले आफूलाई रुपान्तरक भन्न नसक्ने भयौं । प्रगतिशील भन्न/भनाउन नमिल्ने भयौं । हामी मूकदर्शक बन्यौं । महाभारतका भीष्म जस्ता । सल्लाह दिने । नसुनिने । आफैंमा छटपटाउने । के हामी शिक्षक भीष्मपार्टी हौं त ? हैनौं भने तथ्याङ्कले प्रश्न उठायो— किन शिक्षक लाचार बन्यो ?

उपाय छ त ?
सिद्धान्त र अनुभव दुवैले बाटो दिएका छन् । सामाजिक भलाइको सिद्धान्तले भन्छ— शिक्षकले थप्न सक्छौं । हामी यो सिद्धान्तका पक्षधर हौं भने थपौं । अनि भनौं— छेवाङको गणितीय क्षमता यो थियो । मैले यो थपेँ । विज्ञानीय सीप यो थियो; यो जोडेँ । अङ्ग्रेजीय सीप यो थियो यो हालेँ । यसरी सोच्दा प्रत्येक विद्यार्थीको प्रोफाइल बन्छ । सीपको प्रोफाइल । थपिएको तागतको प्रोफाइल । अन्ततोगत्वा पोर्टफोलियो हुन्छ । विद्यार्थीपिच्छेको । कक्षापिच्छेको । विषयपिच्छेको । के हामी शिक्षकले त्यसो गर्ने हो ?

व्यहवारवादी सिद्धान्तले भन्छ— शिक्षकले अभ्यस्त बनाउन सक्छ । दश बज्दा स्कूल आउने अभ्यस्तता । चार बज्दा घर जाने अभ्यस्तता । यी अभ्यस्तता हामीले धेरै ठाउँमा गरेका छौं । गणित पढाउँदा सूत्र सिकाएर । अङ्ग्रेजी पढाउँदा ‘ड्रिल’ गराए र । विज्ञान पढाउँदा प्रयोगात्मक काम गराए र । प्रदर्शन गरेर । हाम्रो प्रयासले भन्छ— हामी बनाउन सक्छौं । अभ्यास गराउन सक्छौं । त्यसैको प्रायोगिक (applicability) द्यत गर्छौं । यसो गर्दा पनि हामीले व्यक्तिमा थपिएको कुरा खोज्छौं । दाम्लो नलाउँदा पनि गाई आफ्नो थलोमा बस्यो भने जस्तो । त्यसो हुँदा भन्नुपर्ने भयो— भीममा यो बानी बस्यो । रोजिनामा यो बानी घट्यो । नवीनमा यो बानी थपियो । राज कुमारीमा यो बानी सुध्रियो । गणित सिक्नमा । विज्ञान बुझनमा । अङ्ग्रेजी जान्नमा । सामाजिक भलाइवादीले खोजे झै यो वादीले पनि पोर्टफोलियो खोज्छ । शिक्षक पिच्छेको पोर्टफोलियो । एउटै पोर्टफोलियोमा विभिन्न शिक्षकले लेख्ने फोल्डर । अर्को पाटो पनि हुन सक्छ— विद्यार्थीको रिपोर्टकार्ड । पारिवारिक रिपोर्टकार्ड । प्रश्न कार्ड वाहकको हो । कसलाई वाहक बनाउने ? शिक्षकले कार्ड राख्ने ? विद्यार्थीलाई दिने ? अभिभावकलाई दिने ? स्थानीय सरकारले लिने ? वा अन्य कुनै संस्थालाई जिम्मा लगाउने ? स्कूल स्वयंले राख्ने ? यसमा छलफल हुनसक्छ । तर गर्न सकिने सम्भावना छ ।

अभ्यास वादी सिद्धान्तले पनि माथिकै कुरा लाई स्वीकार्छ । सकार्छ । फरक हुन्छ— अभिभावकले राखे—डायरी बन्छ । विद्यार्थीले राखे रिपोर्ट कार्ड । शिक्षकले राखे लगबुक । विद्यालयले राखे प्रगति तेरिज । स्थानीय सरकारले राखे जनशक्तिको क्षमता । यस अर्थमा सम्भव काम हो । शायद निरन्तर मूल्याङ्कन प्रणाली (Contineous assessment system-CAS) ले त्यही खोजेथ्यो । हामी शिक्षकले त्यसलाई रीति बनाइदियौं ।

सहज प्रायोगिक ढङ्ग पनि छ । शिक्षकको आत्मगत डायरी लेखन । डायरीमा लेख्ने— छेवाङले अनुवादबाट भाषा सिके । मैले सह–सिकाइ विधि अपनाएँ । उनी फसे । त्यही विधि देवीमायालाई बेकम्मा सावित भयो । नवीनलाई भने जुन विधि पनि उत्तिकै उपयोगी रहेछ । अर्को दिनको डायरीमा लेख्ने— मैले साइनबोर्डबाट विज्ञान सिकाएँ । अक्षर लेखनको विज्ञान । रङरोगनको विज्ञान । ‘डिकोरेशन’ को विज्ञान । सन्देशको विज्ञान । मापोको विज्ञान । यो सिकाइले छेवाङलाई सजिलो भयो । देवीमायालाई अप्ठेरो । किन यसो भयो ? यो प्रश्नको उत्तर खोज्न मैले इन्टरनेट हेरेँ । अरूसँग सोधेँ । किताब पढेँ । पत्रिका खोजेँ । अन्त्यमा मैले बुझेँ— सिकाइ व्यक्तिगत हुँदोरहेछ । शिक्षण सामूहिक । त्यसैले विद्यार्थी फँस्दोरहेछ । शिक्षक बेकामे हुँदोरहेछ । त्यसो भए बाटो के त ? यो प्रश्नले मलाई छोडेन । अन्त्यमा आफैं उत्तर आयो— मेरो शिक्षण औसतलाई रहेछ । औसत तलका र औसत माथिकालाई मैले छुट्टै शिक्षण विधि खोज्नुपर्ने रहेछ । भनाइको अर्थ हो— शिक्षकको प्रत्याभूति (self-reflection) यही प्रायोगिक औषधि हो । द्रष्टा (revealer) बन्ने उपक्रम हो । के हामी शिक्षक त्यता मोडिन्छौं त ? मोडिए हामीले विद्यार्थीमा थप्न सक्छौं । नमोडिएमा औसतमा रमाउँछौं । विशेष क्षमतावाला आफैं बन्छन् । कमजोरवाला त्यस्तै रहन्छन् । के त्यही अपराध कर्ममा रम्ने त ?

आदर्शवादी दर्शनले भन्छ— हामी थप्न सक्छौं । प्रकृतिवादी दर्शनले भन्छ— हामी सहजीकरण गर्न सक्छौं । व्यवहारवादी दर्शनले भन्छ— हामी उत्प्रेरित गर्न सक्छौं । यथार्थवादी दर्शनले भन्छ—हामी जोड्न सक्छौं । अभ्यस्तवादी दर्शनले भन्छ— हामी बानी लाउन सक्छौं । तर स्कूले नतिजाले भन्यो— हामीले गरे नौं । त्यसैले दर्शनहरूलाई न्याय गर्ने हो त ? न गर्ने हो भने हामी शिक्षक रहेनौं । रक्षक बन्यौं । साक्षी रक्षक । हराम्रो पेशाको धर्मभन्दा भिन्न । सोच्ने कि ?

commercial commercial commercial commercial