कति निरन्तरता अन्यौल ?
हालैको अध्ययनले भन्छ– योग्यता शिक्षकको बढ्यो । तालिम शिक्षकले खाए । कक्षाकोठामा स्थानान्तरण गरेनन् । राहत र करार कोटामा केहीले जागिर खाए । तिनले संस्थागत निरन्तरता पाएनन् । यस अर्थमा विसुयोले शिक्षक सेवा आयोगलाई विस्तारित गरे न । राहत र करार नराख्ने नीति पनि ल्याएन ।
आधारगत निरन्तरता
विद्यालय सुधार योजना (विसुयो)को दस्तावेजले भन्छ– विसुयोको आधार पूर्व योजनाहरू हुन् । सबैका लागि शिक्षा योजना (EFA) । माध्यमिक शिक्षा सुधार योजना (SESP) । सामुदायिक विद्यालय सुधार योजना (CSSP), शिक्षक शिक्षा परियोजना (TEP) र तीनवर्षे विकास योजना । आधारशिला हो– विद्यालय पुनर्संरचनाका देशी–विदेशी चिन्तन (restructring school) । यसरी हेर्दा पूर्व योजनाकै निरन्तरता हो– विसुयो । तर, पुराना शिक्षा आयोगका सोचहरू यसमा छैनन् । समसामयिक राजनीतिक सोचहरू । यस अर्थमा हेर्दा यो राजनीतिक सहमतिको दस्तावेज होइन । विगतका शिक्षा योजनाहरूको वैचारिक सम्मिलन पनि होइन । मूलतः प्राविधिकीय चिन्तन हो । तिनकै वरपरका दस्तावेजले पृष्ठपोषण गरिएको कागजात हो । कर्मचारीतन्त्रले बनाएको । अरूको सलखा राखेको । कर्मचारीतन्त्रले नै लागू गर्ने खाले ।
नवीनतागत दाबी
विसुयोले अनेकन् दाबी गरयो । पहिलो दाबी हो– विद्यालय संरचना बदल्यौं । हुन पनि बदलियो । अब कर्मचारीतन्त्रका सबैले १२ कक्षाकै स्कूल खोजे । ८ कक्षाकै प्राथमिक विद्यालय खोजे । राजनीतिक दलहरूले पनि त्यही बोले । एउटा नयाँ मान क तयार भयो । पाइन्टको मान क जस्तो । कहिलेगोगो । कहिले बेलिबटम । कहिले चुस् । कहिले ब्यागी । अहिलेको विसुयोले द्वि–व्यागी विद्यालय बनायो । पहिलो व्यागी १–८ को प्राथमिक तथा आधारभूत शिक्षा । दोस्रो व्यागी– ९–१२ को माध्यमिक कक्षा । विसुयोको दोस्रो दाबी हो– परीक्षा सुधारमा विकेन्द्रीकरण । कक्षा ८ मा जाँच हुने । १० मा हुने । १२ मा हुने । पञ्चायतकालीन शिक्षामा ५ मा हुने गरेको ८ मा स¥यो । ८ मा हुने गरेको १० मा । १० मा हुने गरेको १२ मा । यस अर्थमा विसुयोले ‘बूढा मरे भाषा सरे’ को नीति लियो । जाँचको धर्म बदलिएन । कर्म बदलिएन । भाषा बदलियो । यो पनि सर्वदलीय स्वीकृतिकै वस्तु बन्यो । विसुयोको तेस्रो दाबी हो– पाठ्यक्रममा सान्दर्भिकीकरण भयो । स्थानीयकरण जोडियो । यो नवीन दाबी हैन । निरन्तरता हो पञ्चायतकालीन २० प्रतिशत स्थानीय पाठ्यक्रमको निरन्तरता । शिक्षालाई योग्यतास्फीति (qualifi cation escalation) । तालिम खाएको लालपुर्जा । राहत र करार जे भए पनि निश्चित शिक्षक अनुपातको सुनिश्चितता । त्यसको लागि प्रति बालबालिका लगानी गर्ने नीति (per child funding policy) । यी सबै कुरा पुरानै दस्तावेजका निरन्तरता हुन् । नवीन होइनन् । हालैको अध्ययनले भन्छ– योग्यता शिक्षकको बढ्यो । तालिम शिक्षकले खाए । कक्षाकोठामा स्थानान्तरण गरेनन् । गरे पनि अपेक्षित उत्पादन भएन । राहत र करार कोटामा केहीले जागिर खाए । तिनले संस्थागत निरन्तरता पाएनन् । यस अर्थमा विसुयोले शिक्षक सेवा आयोगलाई विस्तारित गरे न । राहत र करार नराख्ने नीति पनि ल्याएन । शिक्षक संघ/सङ्गठनलाई लाइसेन्स दिने अधिकारी पनि बनाएन । सरकारलाई शिक्षकको पूर्व तयारी कोटा (job-induction training provider) पनि बनाएन । यस अर्थमा यो दाबी लुगा धुनेले पानी पड्काउने तालको भयो । पड्किने । डामै नबस्ने । परिणति न देखि ने । विसुयोको पाँचौं दाबी हो– विद्यालय स्वायत्त हुने । व्यवस्थापन विकेन्द्रित । यसका लागि विद्यालय खोल्ने, सम्मिलन (merge) गर्ने र विकास गर्ने जिम्मेवारी स्थानीय सरकारले पायो । त्यहीं प्रश्न रह्यो । देशमा स्थानीय सरकार नै बनेन । बनेको स्थानीय निकाय (bodies) मात्रै थियो । अह्राएको मान्ने । तोकिदिएको जिम्मेवारी पूरा गर्ने । यसरी हेर्दा विसुयोको रहर अपरिपक्व जन्म (pre-mature birth) मा टुङ्गियो । राजनीतिक दलले सहमति नदिएको । विद्यालय खोल्ने व्यक्ति र समूह मात्रै हुन् भन्ने नबुझेको । विद्यालय खोल्न, सम्मिलन गर्न र विकास गर्न स्थानीय निकाय वा सरकारलाई अधिकारै छैन भन्ने कुरा थाहा नभएको । यस मानेमा विसुयोको सदासयता मात्रै रह्यो । यो त राजनीतिक सहमति हुन बाँकी दस्तावेज बन्यो ।
विसुयोको छैठौं दाबी हो– पाठ्यक्रममा नरम सीप (soft skill) समावेश गर्यौ । पहिले द्विधारे विद्यालय सोच्यो । साधारण धारको । व्यावसायिक धारको । दोस्रो, अन्तरधार आवागमन खोल्ने शैक्षिक प्रावधान सोच्यो । कालान्तरमा यो चिन्तन फेरियो । व्यावहारिक बनाउन नरम–जीवन–जीविकाको सीप (soft life skill) ले पूर्व सोचहरू विस्थापित गरयो । यस अर्थमा पञ्चायतकालीन पूर्वव्यावसायिक शिक्षामा केही थपघट भयो । व्यवसायोन्मुखी हुने सोच लागू हुनेभयो । व्यावसायिक र प्राविधिक बनाउने चिन्तन धुलियो । यसरी हेर्दा गरिखाने सीप भन्नेहरूलाई चड्कन भयो । शिक्षक उनै । संयन्त्र उनै ।गरम सीप खोज्नेले नरम सीप पाए । नरम सीप दिने शिक्षक चाहिँ उही र उस्तै भए । विसुयोको सातौं दाबी हो– अब खुल्ने विद्यालयहरू मान कमा आधारित हुन्छन् । सरकारले प्रति बालबालिका लगानी गर्छ । तर यो दाबी पनि खलासीको तालको छ । पुलिस देखे एउटा मान क । नदेखे अर्को मान क । यात्रु हामी नै हौं । यस अर्थमा दिइएको मान क (given standard) । लिइएको मान क बन्न नसकेको विसुयो ।
सूचक एवं सूचकाङ्कगत आधार
विसुयोले सबैका लागि शिक्षाकै बुद्धि लियो । सूचकको प्रारुप त्यही । सूचकाङ्कको प्रारुप त्यही । प्रारुप तथ्याङ्कगत रह्यो । समाज गत बनेन । दलितको सूचक के ? सूचकाङ्क के ? दलितमा पनि मुसहरको के ? विश्वकर्माको के ? मुस्लिममा पनि शेखको के ? धुनीको के ? जनजातिमा पनि थकालीको के ? राजीको के ? यसरी हेर्दा विसुयोले पूर्व प्रारुपलाई नै निरन्तरता दियो । सामाजिक समता ९कयअष्ब िभत्रगष्तथ० पन्छायो । न त्यसरी रणनीति बनायो । न कार्यक्रम । न सूचक राख्यो । न मूल्याङ्कन । यस मानेमा विसुयोले तथ्याङ्क चिन्यो । नेपाल चिनेन ।
सुशासनको आधार
सुशासनको आँखामा विसुयो अल्मलियो । कर्मचारीतन्त्रमै आश्रय लियो (कोफ्सा नेपालको २०६६ को मेरै लेख हेर्नुहोला ।) न प्रान्तले यसो गर्ने भन्न सक्यो । न प्रान्तलाई स्थानीय सरकार भन्न सक्यो । न जिल्लालाई छोड्न सक्यो । यो स्थितिमा यसले राजनीतिक दलको विकेन्द्रीकरण सम्बन्धी अन्योललाई नै निरन्तरता दियो । दिइने विकेन्द्रीकरण कि ? लिइने विकेन्द्रीकरण । केन्द्रले अह्राएको काम गर्ने विकेन्द्रीकरण कि ? केन्द्रलाई अह्राउने विकेन्द्रीकरण ? यो स्थितिमा विसुयोले न कानून समायो । न शिक्षा ऐन । न शिक्षा ऐनमा यो–यो संशोधनगर भन्यो । न राजनीतिक सहमति यस–यसमा चाहियो भन्यो । यसरी हेर्दा यसले राजनीतिक आड पनि पाएन । कानूनी आड पनि भेटेन । जे भेट्यो– कर्मचारीतन्त्रको आड । यस मानेमा रुपान्तरण गरे न । गर्ने छाँट पनि देखाएन । त्यही हालत उच्च शिक्षासँग जोड्नेमा रह्यो । न जोड्न सक्ने । न छोड्न सक्ने । शब्द राखिदियो ‘समन्वय गर्ने ’ । उच्च शिक्षा चलाउने विश्वविद्यालयको ऐन बेग्लै । उच्च माविको बेग्लै । प्राविधिक शिक्षा परिषद्को बेग्लै । यसरी हेर्दा ऐनगत साम्यता पनि नखोजिएको । भिन्नता पनि नखोजिएको । अर्थात् ‘शिक्षा मन्त्रालयले भनेको सबैले टेर्छन्’ भन्ने मान सिकता लियो । निजी विद्यालयलाई पनि त्यही आँखाले हे¥यो ।
मेरो सोच
रुपान्तरण नै खोज्नेलाई सुधारको के काम ? सुधार खोज्नेलाई रुपान्तरणको के अर्थ । यही स्थिति हो– विसुयो र अहिलेको जनमान सको । किनकि विसुयोले संरचना बदल्दा स्वाभाविक बदलाव देखि यो । त्यसैको वरपर यो दस्तावेज घुम्यो । यस स्थितिमा मेरो सोच हो–
(क) २०१२ साल देखि का शैक्षिक दस्तावेजलाई विषयगत रूपमा लेख्ने । नीति के ? नियत के ? नियति के ? यसरी लेखेपछि सुधारको प्रस्ताव के ? रुपान्तरणको के भन्ने । यो भनाइको आधारमा विसुयोको खाका दिने ।
(ख) राजनीतिक दलले शिक्षामा धेरथोर खाका दिए । ती खाकाहरू दिने । उनीहरूका शब्दावलीमा रुपान्तरणका खाका । अहिलेको स्थिति दिने । गर्ने वा गरिने उपायहरू लेख्ने । यसरी विसुयोलाई व्यावहारिक बनाउँछांै भन्ने खाका । यसरी जनमुखी बनाउँछौं भन्ने खाका । यसरी उत्पादनमुखी बनाउँछौं भन्ने खाका । यसरी गुणस्तर बढाउँछौं भन्ने खाका ।
(ग) राजनीतिक सहमति नहुँदा दुई तहको योजना बनाउने । पहिलो , हिजोका कार्यक्रमको निरन्तरताका लागि । दोस्रो, आजका चाहना परिपूर्तिका लागि । त्यसो हुँदा कार्यक्रम ठोकिन्नथ्यो । राजनीतिक सहमतिमा लानुपर्ने कुरा खुट्टिन्थ्यो ।
(घ) शिक्षक नियुक्ति, लाइसेन्स तयारी र व्यवस्थापनमा दबाबी कार्य गर्ने । यसका लागि शिक्षक सेवा आयोग संवैधानिक बनाउने । शिक्षक युनियनहरू पेशेवर बनाउने । शिक्षकका राजनीतिक गुरुहरूलाई जिम्मेवार बनाउने । सामाजिक लेखा परीक्षणझै राजनीतिक लेखा परीक्षण गरेर । शिक्षक लेखा परीक्षण गरेर । कति पढायौं, कति पढाएनौं भनी स्वीकार्ने थलो दिएर । के भए पढाउँछौं के भए पढाउँन्नौं भनेर । विद्यार्थीलाई पनि यस्तै परीक्षण गराउने । त्यही काम अभिभावकलाई गराउने । यस अर्थमा आत्मालोचना । आत्मस्वीकार्यता ।
(ङ) शिक्षक तयारीमा रुपान्तरण गर्ने । अहिले दिएर गर्यौ । लिएर गर्ने । एउटा बच्चाले कसरी सिक्यो भन्ने घटना लिएर । कहाँ अनुसन्धानले के भन्यो भन्ने जानकारी लिएर । यसरी वस्तुगत आधारमा रुपान्तरण खोज्ने । मनोगत रूपमा खोज्ने
(च) पाठ्यपुस्तक पढाउन बन्देज लगाउने । पढेका कुरा लेखेका सामग्री बनाउन लगाउने । भोगेका कुरा को सामग्री । देखेका कुरा को सामग्री । विद्यालय तहमै सामग्री उत्पादन गर्ने । गराउने । वितरण गर्ने ।
(छ) शिक्षक एवं विद्यार्थीलाई जहाँ पनि सिकिन्छ, सिकाइन्छ भन्ने कुरा को अनुभव गराउने । सिकिएका ज्ञानहरूको साम्यता खोज्ने । खोजाउने । भिन्नता खोज्ने । खोजाउने । त्यसमै आफ्नो बुद्धि जोड्न लगाउने । जोडेको बुद्धिमा काम गर्ने परिवेश सिर्जिने ।
(ज) अनौपचारिक तथा वैकल्पिक शिक्षालाई विद्यालयकै अङ्ग बनाउने । द्वैधमोडी अंग । औपचारिक मोड । अनौपचारिक मोड ।
(ञ) शैक्षिक नीतिको सार्वजनिकीकरण गर्ने , गराउने । भर्ना हुनसक्नेलाई नीति के ? पढ्न नसक्नेलाई के ? स्कूलकोगतिमा पढ्नेलाई के ? आफ्नैगतिमा पढ्नेलाई के ? पढ्न नसक्नेलाई क्षमतागत उन्नति गराउने तर्किव के ? अक्षर नसिक्ने तर सङ्गीतमा रुचि लिनेलाई के ? भाषा सिक्ने तर गणितमा चासो नलिनेलाई के ? परम्परागत सीप भएकालाई प्रस्तुतिको माध्यम के ? कलाको प्रस्तुति कि ? शब्दको ? प्रविधिको प्रस्तुति कि ? समकक्षी जाँचको । यस्ता कुरा हरूको उत्तर खोज्ने ।
निचोड
विसुयोको विश्लेषणबाट मैले अनेकन् निचोडहरू निकालें । पहिलो निचोड हो– यो विद्यालय सुधार योजनाको दस्तावेज प्राविधिक भयो । न राजनीतिक पुटको । न जनताको पुटको । न तीनवटैको सन्तुलनको । दोस्रो निचोड हो– लामो प्रक्रिया र ठूलो लगानीको कमजोर बच्चा हो । सन्दर्भ बदलिँदा पनि विषयवस्तु नबदलिएको । विषयवस्तु बदल्दा पनि संस्कार बदल्ने उपक्रम नभएको । संस्कार बदल्न खोजे पनि सन्दर्भ नहेरिएको । तेस्रो निचोड हो– संरचनाबाट निरन्तर सहयोग खोजे पनि संस्थागत सहयोग लिने प्रबन्ध नमिलाइएको पूर्ववर्ती कार्यकै समकक्षी उत्पादन हो । चौथो निचोड हो– समयको माग बटुलेर पनि अहिलेकै संयन्त्रको तागतसँग सम्झौता गर्न बाध्य दस्तावेज हो । पाँचौं निचोड हो– हिजोका कार्यक्रमहरूको निरन्तरता दिने कागजात हो । आजका कुरा मा यहाँ यसो गर्नु पर्छ भन्न नसक्ने दस्तावेज पनि हो । छैठौं निचोड हो– उच्च माध्यमिक शिक्षा परिषद्, प्राविधिक तथा व्यावसायिक सीप विकास परिषद् र विश्वविद्यालयबीच विद्यालयको समन्वय हुनुपर्छ भन्ने दस्तावेज हो । त्यसको बनोटलाई ध्यानमा राखेर कसरी गर्ने त भन्न नसक्ने सामग्री पनि हो । यो शिक्षाको दस्तावेज भएपछि स्वतः सबैले मान्छन् भन्ने मान्यता बोकेको दस्तावेज पनि हो । सातौं निचोड हो– योजनाहरूले भनेका कुरा लाई के आधारमा लागू गर्ने त भन्ने प्रश्नलाई सरल र सहज ढङ्गले समष्टिगत उत्तर दिने व्यष्टिगत एकल कागजात पनि हो । यस अर्थमा नवीनताभन्दा निरन्तरताको वाहक हो । रुपान्तरणभन्दा यथास्थितिमै प्रगति खोज्ने मलुवा पुस्तिका हो । अझै राजनीतिक सहमति खोजिरहेको दस्तावेज पनि हो ।



