विद्यार्थीका आँखामा राम्रा शिक्षक
विद्यार्थीहरूको सुझावले भन्छ— समस्या हामी शिक्षकसँग छ । हाम्रै अनुहारसँग छ । हँसिलो नबनिदिने हाम्र्रै व्यवहारसँग छ । मिलनसार नबनिदिने । हाम्रै संस्कारसँग छ— पाठ्यपुस्तक बाहिरका कुरै नसिकाउने ।
चैत महिनामा शिक्षक पत्रिकाले सात जिल्लामा सर्वेक्षण गरयो । सर्वेक्षक पत्रकार थिए । सर्वेक्षणमा ३४ विद्यालयका २७९ जना विद्यार्थीले भाग लिए । तीमध्ये सरकारी विद्यालयका १४९ जना, सामुदायिक व्यवस्थापनका १२ जना, निजीका ११२ जना र मदरसाका ६ जना थिए । लैङ्गिक दृष्टिले हेर्दा १२३ जना छात्रा र १५६ जना छात्रले आफ्नो मत व्यक्त गरे । तिनमा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू थिए । कक्षा ५ र ९ मा अध्ययन गर्नेहरूको सङ्ख्या अत्यधिक थियो । जातजातिको दृष्टिले हेर्दा १२४ जना बाहुन क्षेत्री, ७५ जना जनजाति, २४ जना दलित, १२ जना मधेशी, १९ जना तराई जनजाति, १० जना मुस्लिम र अन्य १५ जना थिए ।
विद्यार्थीका मनपर्ने शिक्षक
अध्ययनले देखायो— अधिकांश विद्यार्थीले एकै खालका शिक्षक मन पराए— बुझने गरी पढाउनेलाई । सरल भाषा प्रयोग गर्ने लाई । जीवन्त उदाहरण दिइरहनेलाई । नबुझेको कुरा दोहो¥याइदिनेलाई । नपिट्नेलाई । मित्रवत् व्यवहार गर्ने लाई । कथा, कविता भन्नेलाई । प्रश्नोत्तर गर्ने लाई । रुचि अनुसार पठनपाठन गर्ने लाई । ठट्टा, हँस्यौली गर्ने लाई । सिकाइ सामग्री प्रयोग गर्ने लाई । एक समान व्यवहार गर्ने लाई ।
यसरी हेर्दा विद्यार्थीले शिक्षकको ‘नाक’ हेरेनन् । जात हेरेनन् । लैङ्गिक पहिचान हेरेनन् । भूगोल हेरेनन् । रङ हेरेनन् । हेरे त पठनपाठन शैली । व्यक्तिगत व्यवहार हेरे । यसरी हेर्दा उनीहरूले भनिदिए— प्रत्येक विद्यालयमा विद्यार्थीले मन पराउने केही शिक्षक छौँ । विद्यार्थीले मन नपराउने पनि केही छौँ ।
विद्यार्थीले कुन विषय पढाउने शिक्षकलाई मन पराए त ? अध्ययनले उजागर गरयो— गणित पढाउनेलाई । अङ्ग्रेजी पढाउनेलाई । नेपाली पढाउनेलाई । विज्ञान पढाउनेलाई । सामाजिक शिक्षा पढाउनेलाई । तथ्याङ्कमा हेर्दा १२१ जनाले गणित पढाउनेलाई । ५० जनाले सामाजिक पढाउनेलाई । जनसङ्ख्या र अर्थशास्त्र पढाउनेलाई कमैले मन पराए । यसरी हेर्दा विद्यार्थीले गाह्रो मानिएका विषय–शिक्षकलाई बढी मन पराए । सजिलो विषय त आफैँ पढिहाल्छौँ नि भनिदिए ।
छात्र र छात्राको भनाइमा साङ्ख्यिकीय भिन्नता देखि एन । अर्थात् छात्र र छात्राको एउटै अनुभूति रह्यो । भनाइ रह्यो । जातिगत दृष्टिले तुलना गर्न मिलेन किनकि बाहुनक्षेत्री उत्तरदाता नै धेरै थिए । आनुपातिक दृष्टिले हेर्दा पनि तात्विक फरक भेटिएन । यस अर्थमा विद्यार्थीहरू ‘नेपालवादी’ देखि ए । राजनीतिज्ञहरूको दलवादी बुद्धिभन्दा फरक । जातिवादी बुद्धिभन्दा फरक । नाकवादी बुद्धिभन्दा फरक । क्षेत्रवादी बुद्धिभन्दा फरक । अर्थात् विद्यार्थीमा शिक्षक छान्ने बुद्धिगुणवादी रहेछ भन्ने सावित भयो । जिल्लागत विश्लेषणले पनि यही कुरा दियो । विद्यालयगत विश्लेषणले पनि त्यही भन्यो ।
विद्यार्थीको झयाम्मिने तरिका
मन परेका शिक्षकसँग विद्यार्थी झयाम्मिन वा नजिकिन चाहँदा रहेछन् । यसका लागि उनीहरूको रणनीति हुँदोरहेछ— नियमित गृह कार्य गर्ने । आज्ञाकारी बन्ने । अनुशासित बन्ने । मन लगाएर पढ्ने । कक्षामा प्रश्नोत्तर गर्ने । अध्ययनमा संलग्न सबै विद्यार्थीको यस्तै एउटै रणनीति रहेको देखि यो । तर रणनीतिको प्राथमिकता क्रम भने थाहा भएन । ललितपुरको निजी विद्यालयका केही विद्यार्थीले त आफू झयाम्मिन चाहेको शिक्षकलाई चकलेट र अन्य उपहारहरू दिने गरेको पनि पाइयो । दुई–चार जना विद्यार्थीले त्यति झयाम्मिन मन लाग्दैन भने । एक जना विद्यार्थीले शिक्षकलाई ‘हाउगुजी’ नै ठाने । अगाडि जानै डर लाग्ने वस्तु । यसरी हेर्दा विद्यार्थीहरू आकारित भएछन् । पाउलोफ्रेलेरको शब्दावलीमा घरेलुकृत (डोमेस्टिकेटेड) । किन आज्ञापालक बन्नु पर्ने भनी नसोध्ने । मेरो अनुशासन यो हो भन्न नसक्ने । तर कक्षामा प्रश्नोत्तर गर्ने । यस मानेमा मौनताको संस्कृति (कल्चर अफ साइलेन्स) तोड्ने । अर्को शब्दमा भन्दा, हामी शिक्षकले विद्यार्थीलाई आफू (हामी) अनुकूल बनाएछौँ । लोसा (डोसाइल) बनाएछौँ । हामीलाई चुनौती दिन नचाहनेहरू । विचार को चुनौती नदिनेहरू । निजी विद्यालयले पनि त्यही गरे छौँ । सार्वजनिकले पनि त्यही । सरकारको निजी (सामुदायिक व्यवस्थापनमा गएका) ले पनि त्यही । मदरसाले पनि त्यही । यस अर्थमा शिक्षकले मन पराउने एकै खाले विद्यार्थी रहेछन्— आज्ञापरायण । आज्ञा नमान्नेले झयाम्मिने वा शिक्षकको नजिक हुने हिम्मत गरे नछन् । छात्र र छात्राको झयाम्मिने रणनीतिमा पनि खासै फरक रहेनछ ।

विद्यार्थी झयाम्मिदा भएको फरक
शिक्षकसँग झयाम्मिदा पढाइ रराम्रो भयो । २७९ मध्ये २०४ जना विद्यार्थीले यसै भने । चार जनाले उत्तरै दिएनन् । ७१ जनाले पढाइमा रुचि बढायो भने । आत्मविश्वास बढायो भने । प्रोत्साहन मिल्यो भने । केहीलाई भने जानकारी नै रहेन । यी भनाइहरू शाश्वत ठहरिए । जुनै जातिको उत्तर पनि त्यही । जुनै लैङ्गिक पहिचानको पनि त्यही । जुनै क्षेत्रीय तहको पनि त्यही । जुनै थरीका विद्यालयको पनि त्यही । यस अर्थमा विद्यार्थीले शिक्षकसँग झयाम्मिदै फाइदा देखे । यो देखाइमा प्रश्न रह्यो— के हामी शिक्षकहरू विद्यार्थीलाई आफूसँग झयाम्मिएको देख्न चाहन्छौँ त ? त्यस्ता उपक्रमहरू गर्छौँ त ? त्यसका लागि क्रियाशील छौँ त ? झयाम्मिऊन् भन्ने परिवेश बनाएका छौँ त ? कि आफूलाई ‘कडा शिक्षक’ भनाउने सोचकै बसीभूत छौँ ?
विद्यार्थीले मन पराउने र नपराउने शिक्षक
सर्वेक्षणमा समेटिएका २७९ मध्ये २०२ जनाले मन नपराउने शिक्षकको नाम लेखे । तिनमध्ये १३३ जनाले एउटा शिक्षक मन पर्दैन भने । प्रत्येक विद्यालयको एउटा शिक्षक । अर्थात् ६७ प्रतिशत विद्यार्थीलाई आफ्नो स्कूलको कुनै न कुनै शिक्षक मन पर्दैन । निजी विद्यालयका ४७ जनाले मात्रै सबै शिक्षक मन पर्छन् भने । २६ जनाले उत्तरै दिएनन् । ललितपुरका एक जना विद्यार्थीलाई चाहिँ बाहुनक्षेत्री शिक्षक मन पर्दा रहेछन् । सङ्ख्यात्मक भिन्नताले गर्दा जिल्लापिच्छेको अनुभव भन्न गाह्रो भयो । लैङ्गिक भिन्नताको कुरा मा पनि त्यही स्थिति रह्यो । दाङ अपवाद रह्यो । किनकि त्यहाँ बाहुनक्षेत्री शिक्षक मन पराउने छात्राहरू दुई जना मात्रै थिए । जातिगत विवरणले पनि यो जात र यो जातिको शिक्षक मन पर्दैन भन्ने स्थिति भेटिएन । विद्यालयको किसिमले पनि खासै फरक पारेन । यो विश्लेषणले पनि एउटै जानकारी दिइरह्यो— अपवादबाहेक विद्यार्थीले मन नपराउने शिक्षक विशेष जातको होइन । जातिको होइन । लैङ्गिक पहिचानको होइन । जिल्लाको होइन । भौगोलिक क्षेत्रको होइन । बरु राम्ररी पढाउने हो । ५७ जनालाई गणित शिक्षक मन नपर्ने । ४५ जनालाई नेपाली शिक्षक मन नपर्ने । ३६ जनालाई विज्ञान शिक्षक मन नपर्ने । ३१ जनालाई अङ्ग्रेजी शिक्षक मन नपर्ने । लैङ्गिक दृष्टिले हेर्दा पनि खास भिन्नता देखि एन ।
कुन शिक्षकलाई किन मन पराउँदैनन् त विद्यार्थीले ? निजी विद्यालयका विद्यार्थी अनुसार हामी शिक्षकले पिट्यौँ । संस्कृत विद्यालयका विद्यार्थी अनुसार हामीले विद्यार्थीको मनोविज्ञान बुझेनौँ । सरकारी विद्यालयका विद्यार्थी अनुसार हामीले चाँडचाँडो कोर्स सक्यौँ । पाठ दोहो¥याएनौँ । विद्यालयमा स्वयं अनियमित भयौँ । कतिपय शिक्षकलेगुण्डा गर्द ीगर्यौ । कतिपय विद्यार्थीलाई भेदभावगर्यौ ।गालीगर्यौ । खैनी खायौँ । दिउँसै रक्सी पियौँ । तथ्याङ्कको विश्लेषणले भन्छ— करिब एकचौथाइ विद्यार्थीहरूलाई हामी शिक्षकले नै आफ्नो कोपभाजनको शिकार बनाइरह्यौँ ।गाली गरेर । कुटेर । आफ्नो स्वभाव नबदलेर । निजी विद्यालयमा पनि त्यसैगर्यौ । सरकारीमा पनि त्यही । मदरसामा पनि त्यही । यसरी हेर्दा हामी शिक्षक ‘बदमास’ ठहरियौँ । तिनमा धेरै गणित शिक्षक रहेछौँ । दोस्रोमा नेपाली शिक्षक । तेस्रोमा विज्ञान शिक्षक । चौथोमा अङ्ग्रेजी शिक्षक । यस मानेमा हामी ‘ गाह्रो विषय’ पढाउने शिक्षक ‘छुच्चा’ ठानियौँ । तिनमा अधिकांश सरकारी विद्यालयका रह्यौँ । सरकारको निजी विद्यालयका रह्यौँ । निजी विद्यालयका रह्यौँ । फरक मात्रामा रहेछौँ । व्यवहार एउटै रहेछ । यस अर्थमा हामी बदलिएनछौँ । घोत्लिएनछौँ । विद्यार्थीले के खोज्छन् भनी जिज्ञासु बनेनछौँ ।
मन नपर्नेसँग टाढिने उपाय
मन नपर्ने शिक्षकसँग विद्यार्थीहरू टाढिन चाहँदा रहेछन् । त्यसका लागि उनीहरूको रणनीति हुँदोरहेछ— मन नपर्ने शिक्षकसँग नबोल्ने । गृह कार्य न गर्ने । कुरा कानी न गर्ने । कक्षामा ध्यान नदिने । शिक्षकलाई सम्मान न गर्ने । देख्नासाथ टाप कस्ने । कक्षामा होहल्ला गर्ने । तर्सने । प्रशासनमा उजुरी गर्ने । कक्षाकोठाको कुनामा बस्ने । कक्षामै निदाउने । यसरी हेर्दा विद्यार्थीहरूले शिक्षकसँग वादविवाद, छलफल गरेनन् । वैकल्पिक बाटो लिए । परपीडनको बाटो । आत्मपीडनको बाटो । त्यो कुरा हामी शिक्षकले खोजेनछौँ । बुझेनछौँ । एकोहोरो ‘हल्ला नगर’ मात्रै भनेछौँ । सरकारी विद्यालयमा पनि त्यसै गरे छौँ । सरकारको निजीमा त्यसै गरे छौँ । निजी र मदरसामा पनि फरक व्यवहार गरे नछौँ । महिला र पुरुष शिक्षकले पनि त्यही नीति अख्तियार गरे छौँ ।
परिमाण के भयो त ? ८३ जना विद्यार्थीले यो प्रश्नको उत्तर दिएनन् । जसले दिए उनीहरूको एकल भनाइ रह्यो— ‘यो शिक्षकले पढाउने विषयमा कमजोर भयौँ ।’ त्यो विषयै पढ्न मन लागेन । शिक्षकसँग प्रश्नोत्तर गर्नै मन लागेन । एउटा प्रतिष्ठित सरकारी तर निजीभन्दा कम नभएको काठमाडौँको विद्यालयका विद्यार्थीले भने झन् त्यो विषय मरिमेटेरै पढे । काठमाडौँकै निजी विद्यालयका विद्यार्थीले चाहिँ आत्मालोचना बढी गरे । आफ्नो पढाइको स्तर खस्काइरहे । यसबाट देखि यो कि मन नपर्ने शिक्षकको उपस्थितिले विद्यार्थी बिग्रिए । उनीहरूको पढाइको स्तर खस्कियो । हामी शिक्षकले जागिर खायौँ । विद्यार्थीलाई भने बिगारिरह्यौँ । आक्रामक बनाएर । अनाक्रमक बनाएर । पलायनी प्रतिभा बनाएर । आत्मपीडक बनाएर । यस अर्थमा हामी शिक्षकहरू अ बुझ ठहरियौँ ।
शिक्षक मन परे/नपरेको थाहा दिने तरिका
आफूले मन पराएको कुरा शिक्षकलाई थाहा दिन विद्यार्थीले अनेकन् उपाय गर्दाहेछन् । अध्ययनले भन्छ— २१७ जनाले यो प्रश्नको जवाफ दिए । विद्यार्थीहरूकै भनाइमा आफूलाई मन परेको शिक्षकसामु उनीहरू अनुशासित बन्छन् । आज्ञाकारी हुन्छन् । घुलमिल गर्छन् । कसैले त त्यस्ता शिक्षकलाई उपहार पनि दिँदा रहेछन् । दुईचार जनाले चाहिँ फलानो सर, मिस मन पर्छ भन्ने सन्देश दिए । यसका लागि आफ्ना अन्तरङ्गी साथीलाई उपयोग गरे । सुझावपेटीमा जानकारी लेखे । कतिपयले शिक्षकलाई पढाइरहनु स् पनि भने ।गाली न गर्नु स् भने । परिणाम ‘राम्रै भयो’ । विद्यार्थीको शब्दावलीमा ‘ठीक भयो’ । यसबाट देखि यो कि विद्यार्थीले शिक्षक मन पराएको कुरा को सङ्केत दिन्छन् । सङ्केत नबुझने हामी नै पो हौँ कि ? बेवास्ता गर्ने हामी नै हौँ कि ? यी प्रश्नहरू पनि विद्यार्थीले हामीलाई दिइरहे ।
मन नपर्ने शिक्षकबारेमा थाहा दिन २७९ मध्ये २४० जनाको रणनीति थाहा भयो । नीति थियो— साथीमार्फतथाहा दिने । शिक्षकमार्फतथाहा दिने । प्रधानाध्यापकमार्फतथाहा दिने । कसैले गृह कार्य गरेनन् । कसैले चिटमा त्यही कुरा लेखे । निजी विद्यालयका विद्यार्थीले त ‘हुट आउट’ नै गरे । यसरी हेर्दा विद्यार्थीहरूले शिक्षकविरुद्ध आफ्नो प्रतिक्रिया दिइरहे । हामी शिक्षकले भने त्यसको बेवास्ता गरिरह्यौँ । अलिअलि सुध्रिने जम्मा १९ जना थियौँ । त्यसमा कपिलवस्तुका एकतिहाइ । अरूले चाहिँ डेरिडाको शब्दमा ‘साना बोलीहरू’को वास्तै गरे नौँ । यस्ता बेवास्ते शिक्षकलाई एक विद्यार्थीले त ‘सडेका विद्वान्’ सम्म भनिन् । कतिपयले शिक्षकलाई घमण्डी देखे । कडा बानीव्यवहार भएको । कतिले जागिर सुरक्षित छ भनेर अटेर गरेको पाए । कतिपयले शिक्षकमा अशिष्ट व्यवहार देखे । शिक्षकको यस्तो व्यवहारले विद्यार्थीलाई कमजोर बनायो । यस मानेमा हामी ढिठ ठहरियौँ । थाहा दिए पनि नसुन्ने । नबुझने । बुझेर पनि न गर्ने । अर्थात् हामी शिक्षकहरू ठूलाको बोली सुन्न पल्केकाहरू हौँ । सानाका कुरा नखोज्नेहरू । नसुन्नेहरू । नबुझनेहरू । बुझन नखोज्नेहरू ।
उपाय के छ ?
मन पराउने र मन नपराउने दुवै थरीका शिक्षकलाई विद्यार्थीले उपाय सुझइरहे । उनीहरूले भने— गृह कार्य दिनोस् । कक्षामा प्रश्नोत्तर गराउनु स् । पढाउँदा नझ्र्र्कनुस् । नरिसाउनुस् । उदाहरण दिनुस् । शैक्षिक सामग्री प्रयोग गर्नु स् । कोर्सबाहिरका कुरा हरू पढाउनु स् । नबुझेका पाठहरू दोहो¥याइदिनुस् । नम्र व्यवहार गर्नु स् । कथा, चुट्किला भन्ने गर्नु स् । अनुहार हँसिलो राख्नुस् । हामी विद्यार्थीलाई आफ्नै भाइबहिनी, साथीभाइ र छोराछारी जस्तो व्यवहार गर्नु स् । नकुट्नुस् ।गाली न गर्नु स् । जाँडरक्सी नखानुस् । पढाइलाई सान्दर्भिक बनाउनुस् । प्रयोगात्मक बनाउनुस् । नियमित रूपमा कक्षामा आउनुस् । मनोविज्ञान बुझनुस् । नयाँनयाँ शैलीमा पढाउनु स् । कसैलाई काखा र कसैलाई पाखा न गर्नु स् । सरल भाषामा पढाउनु स् । असल विद्यार्थीलाई पुरस्कृत गर्नु स् ।
केही विद्यार्थीहरूले शिक्षकलाई अन्तिम उपाय पनि सुझए । निजी विद्यालयका विद्यार्थीले भने— मन नपराइने शिक्षक स्कूल छाडेरै जानुस् । शिक्षण पेशालाई कमाउने धन्दा नबनाउनुस् । सरकारी विद्यालयका अलि नरम विद्यार्थीले भने— आफ्नो कमजोरी स्वीकार्नुस् । निर्माणवादी विद्यार्थीले भने— पहिले आफैँ असल शिक्षक बन्नु स् । अनि हामीलाई असल विद्यार्थी बनाउनुस् ।
विद्यार्थीहरूको सुझावले भन्छ— समस्या हामी शिक्षकसँग छ । हाम्रै अनुहारसँग छ । हँसिलो नबनिदिने हाम्र्रै व्यवहारसँग छ । मिलनसार नबनिदिने । हाम्रै संस्कारसँग छ— पाठ्यपुस्तक बाहिरका कुरै नसिकाउने । हाम्रै शिक्षण शैलीसँग छ— यही पाठलाई म अर्को ढङ्गले कसरी पढाउन सक्छु भनी नखोजिदिने । हाम्रै संवेगसँग छ— रिस पचाउन नसक्ने । हाम्रै प्रवृत्तिसँग छ— भिन्न व्यवहारमा रिसाइहाल्ने । हाम्रै आहारसँग छ— सार्वजनिक व्यक्ति बन्दा पनि व्यक्तिगत खानपिन नछोड्ने । हाम्रै चलनसँग छ— काखा र पाखाको नीति बोकिरहने । हाम्रै प्रशासनसँग छ— विद्यार्थीले मन नपराउँदा पनि त्यस्ता शिक्षकलाई पालिरहने । हाम्रै नैतिकतासँग छ— गल्ती औँल्याइदिँदा पनि नसुधारिने । हाम्रै पेशेवार सोचसँग छ— शिक्षक भएर पनि शिक्षकजस्तो नबन्ने/नपढ्ने/नपढाउने ।
निचोड के त ?
यो अध्ययनको निचोड सिमेन्टको घर बनाउनेहरूको बुद्धिसँग मिल्छ । सिमेन्ट लगाउनेको बुद्धिमागारो लगाउने बुद्धु । वाइरिङ गर्ने को बुद्धिमा सिमेन्ट लगाउने बुद्धु । रङ लगाउनेको बुद्धिमा सिमेन्ट लगाउने बुुद्धु । तीनै थरी एकसाथ नभेट्ने बुद्धि भएका हामी बुद्धु । यस अर्थमा शिक्षक, विद्यार्थी र व्यवस्थापक एकसाथ नभेट्ने बुद्धु । भेट्न नचाहने बुद्धु । हराम्रो बुद्धुपनाले ऐना खोज्यो । आफ्नो अनुहार हेर्ने ठाउँ । विद्यार्थीको अनुहार शिक्षकले हेर्ने ठाउँ । शिक्षकको अनुहार विद्यार्थीले हेर्ने ठाउँ । दुवैको अनुहार व्यवस्थापक/प्रधानाध्यापकले हेर्ने ठाउँ । यो स्थितिमा विद्यार्थीले देखाएको शिक्षकको अनुहार बदल्न के हामी तयार छौँ त ? के हामी ‘अन्नदाता’ (विद्यार्थी) को आकाङ्क्षा पूरा गर्न सक्छौँ त ? के हामी सबै विद्यार्थीले ‘मन पराउने’ शिक्षक बन्न सक्छौँ त ? आफूलाई समर्पित शिक्षक बनाउन सक्छौँ त ?
२०६६ वैशाख अंकमा प्रकाशित ।



