भोलिको शिक्षक सोच्यौं के, सोचौं के ?
भोलिको नेपाल अँध्यारो मात्रै छैन, उज्यालो पनि छ । तर अहिलेको बुद्धिले अँध्यारोमा धकेल्छ । धकेलिँदै पनि छौँ । त्यही अँधेरोबाट उज्यालोमा लैजाने काम शिक्षकले गर्नु पर्छ । सके अहिलेकै पुस्तालाई पढाएर, नसके आगामी पुस्तालाई वैचारिक खुराक दिएर ।
जातीय राजनीति गर्नेहरूले सङ्घीयता निम्त्यायौँ । भाषाको राजनीति गर्नेहरूले क्षेत्रीयता र स्थानीयता निम्त्यायौँ । त्यस्तै सांस्कृतिक राजनीतिज्ञले धार्मिक ऐक्यबद्धता निम्त्यायौँ । ऐतिहासिक राजनीतिज्ञले बाइसी–चौबिसी राज्यसीमा खोज्यौँ । पौराणिक राजनीतिज्ञले तत्समयकै उत्खनन्गर्यौ । भौगोलिक राजनीतिज्ञले धरातलीय ऐक्यबद्धता खोज्यौँ । स्रोतीय राजनीतिज्ञले विकासात्मक समता खोज्यौँ । यस अर्थमा हामी तानातानमा छौँ । भुइँचालो अघिको तानातान जस्तो । भुइँचालोपछि को मिलानजस्तो । सङ्घीय नेपाल बनाउनेहरू यहीँ छौँ । यस अर्थमा हामी खण्डित छौँ । हराम्रो खण्डबाट सिङ्गो नेपाल देख्तैनौँ । अवधीको नेपाल देख्छौँ, गुरुङको नेपाल देख्छौँ, बाहुन–छेत्रीको नेपाल देख्छौँ । त्यही खण्डित नेपालमा दलितको ‘उप–नेपाल’ देख्छौँ । मुस्लिमको ‘उप–नेपाल’ देख्छौँ । जातीय, भाषिक र सांस्कृतिक पहिचान नखुलेका ‘बबुरा नेपाली’ लाई कुन नेपाल दिने भन्ने चिन्तामा छौँ । यही हराम्रो समसामयिक शिक्षा हो । राजनीतिज्ञको शिक्षा । तिनका अन्धभक्त संघसङ्गठनका शिक्षा । यसरी हेर्दा हराम्रो शिक्षामा व्यष्टि छैन । समष्टि छ । पूर्वाग्रही समष्टि । पहिले मगर बन्ने अनि नेपाली । पहिले मैथिलभाषी बन्ने अनि नेपाली । पहिले शेर्पा बन्ने अनि नेपाली । पहिले मधेशी बन्ने अनि नेपाली । पहिले चुरेभावर बन्ने अनि नेपाली । पहिले हिमाली बन्ने अनि नेपाली । यस अर्थमा हामी नेपाली बनेनौँ । बनाएनौँ । बनिएनौँ । यही बुद्धि रहे बन्दैनौँ पनि । यही खण्डित शिक्षा परिवेश हो ।
भोलिको भाषिक नेपाल
खण्डित बुद्धिमा रमायौँ भने भोलिको नेपाली भाषा (खसभाषा) ऐच्छिक बन्छ । मनलागे सिक्ने, मन नलागे नसिक्ने । त्यसो हुँदा गैर नेपाली मातृ भाषीलाई थप भाषा पढ्नु पर्दैन । पढाउनु पर्दैन । लिम्बूवान र मगरातको नेपालीले अङ्ग्रेजीमा कुरा गर्नु पर्छ । मिथिला र चुरेभावरका नेपालीले हिन्दीमा कुरा गर्नु पर्छ । यसरी नेपाली खण्डित सम्पर्क भाषा बन्छ । अङ्ग्रेजी वर्गीय भाषा बन्छ । भाषिक चयनको स्वायत्तताले केही भाषालाई स्थापित गर्छ– लिम्बूलाई , थारूलाई , मैथिलीलाई , मगरलाई । अर्थात् भाषिक आधारका संघहरूलाई । त्यसमा लिपि थपिन्छ । सिरजङ्गामा पढ्नेले तिर ुहुतिवालालाई बुझाउन रोमन लिपि । आक्खामा पढ्नेले ओलचिकी (सन्थाली) मा बुझाउन देवनागिरी लिपि । देवनागिरीमा पढ्नेले तामहिंममा पढ्नेलाई कुनै अर्कै लिपि । लिपिको यो दौडले थप लिपिहरू जन्मन्छन् । नेवारका ब्राह्मी र रञ्जना जस्ता । बहुभाषी राईहरूमा अन्तर राई छलफल का लागि अर्को लिपि । यस अर्थमा विश्व अङ्ग्रेजीमय बन्छ । नेपाल लिपिमय । भाषामय । नेपाली शेर्पा र नेपाली थारू आपसमा ‘चुप भाषा’ बोल्लान् । बहिराको भाषा । त्यहाँ शिक्षकले के गर्छौ ? सकारात्मक पाटो हो— बहुभाषी, बहुलिपि विज्ञ बनौँला । अहिलेका मुस्लिम बालबालिका जस्ता– सबै आउने, केही नआउने । नकारात्मक पाटो हो— भाषिक आकाश साँघुरिने । चाम्लिङ र वान्तवा राईको आकाशजस्तो । फराकिन चाहे नेपाली बोल्ने । खुम्चिन चाहे चाम्लिङ या बान्तवा बोल्ने । तेस्रो विकल्प पनि देखिन्छ— केस्वाहिली भाषा बनाउने । टनेलभाषीबीचको संवादका लागि । इन्डोआर्यन भाषाका लागि । मुण्डा र मङ्गोल भाषाका लागि । त्यसको सम्भाव्य छनक तामाङ र चनेपाङमा अनि मैथिली, भोजपुरी, अवधी र नेपालीमा देखिन्छ । यो सम्भावनाले हामी नाकमा संवाद गर्छौं । चुच्चे नाकले चुच्चेसँगै । थेप्चे नाकले थेप्चेसँगै । ‘अन्तरनाक सम्बन्ध’ का लागि विदेशी भाषा खोज्छौँ । किनकि नेपाली अहिलेको आक्रोशी शब्दावलीमा ‘ज्यानमारा’ भाषा हुन्छ । ‘प्यारो भाषा’ खोज्ने भाषिक स्वायत्तता संघीय सरकारलाई हुन्छ । बच्चालाई हुन्न । बजारलाई हुन्न । जातीय र भाषिक राजनीतिज्ञलाई हुन्छ । चौथो विकल्प खोजे पाइन्छ । भाषिक सहअस्तित्वको विकल्प । राजनीतिज्ञले नसोचेको । भाषाविद्ले नबुझेको । भाषिक लडाका ९बिलनगबनभ बअतष्खष्कत० ले नदेखेको । तर शिक्षकले देख्नैपर्ने । बुझनैपर्ने । एकअर्काको भाषा सिक्ने, सिकाउने । सबै भाषी स्थानान्तरित हुने । भाषाको निर्णय बच्चामा छाड्ने । भाषिक अधिकार पनि भयो । सहज पनि भयो ।
भोलिको राजनीतिक नेपाल
राजनीतिज्ञले दलीय शिक्षा दियौँ । मेरै दल अत्युत्तम भन्ने शिक्षा । माओवादी बन्दा माओ, लेनिन, प्रचण्ड, माक्र्स, एङ्गेल्स र चेग्वेभारा मात्रै चिनाउने । एमाले हुँदा त्यसमा प्रचण्ड झ्क्निे । मनमोहन र मदन भण्डारी थप्ने । नेपाली काङ्ग्रेस बनाउँदा बीपी,गिरिजा,गणेशमान र महात्मागान्धी देखाउने । जनअधिकार फोरम बनाउँदा महात्मागान्धी चिनाउने । यही खण्डित राजनीतिज्ञको बुद्धिले शिक्षा आक्रान्त छ । शिक्षक आक्रान्त छौँ । विद्यार्थी खण्डित छौँ । यही खण्डित राजनीतिक ज्ञान हामी बाँडिरेहछौँ । लोकतन्त्र पनि भनिरहेछौँ । ‘जनचाहना’ भन्ने शब्द घोकिरहेछौँ । यस अर्थमा हामी विद्यार्थीलाई लोकतान्त्रिक बन्न दिँदैनौँ । पार्टीतान्त्रिक बनाइरहेछौँ । भोलिको संघीय नेपाल त्यही बहावमा छ । लिम्बूग्राममा फाल् गुनन्द मात्रै चिनाउने । मैथिल क्षेत्रमा विद्यापति मात्रै चिनाउने । शेर्पावानमा तेन्जिङ र पासाङ ल्हामु मात्रै पढाउने । अर्थात् विद्यापतिलाई तमुवानमा नलाने ।गजे घलेलाई थारूवानमा नलाने । हामी यही साँघुरो बुद्धिका दास भएका छौँ । हुँदैछौँ । आजको राजनीतिक शिक्षा यही हो । के यो शिक्षाले लोकतन्त्र बाँच्ला ? अन्तरसंघीयतामागुँद लगाउला ? माओवादी शिक्षकले विद्यार्थीलाई विश्वेश्वर कोइराला चिनाउला ? नेपाली काङ्ग्रेसको शिक्षकले प्रचण्डको तस्बिर देखाउला ? मगरातको शिक्षकले रामराजाप्रसाद सिंहको तस्बिर पुज्ला ? अवध क्षेत्रले फाल् गुनन्दको तस्बिरमा माल्यार्पण गर्ला ? के यी र यस्ता प्रश्नहरू भोलिका राजनीतिज्ञले गर्लान् ? तिनकै मतियारा शिक्षकहरूले गरौँला ? यस स्थितिमा साँघुरा राजनीतिज्ञभन्दा माथि भोलिका शिक्षकहरू उठ्छौँ कि ? माओवादीबाट समर्पण सिकाउने; नेपाली काङ्ग्रेसबाट व्यक्तिगत स्वतन्त्रता, एमालेबाट मध्यमार्गी सोच, तमलोपाबाट क्षेत्रीय ऐक्यबद्धता र नेमकिपाबाट राष्ट्रवादी चिन्तन । यसरी प्रत्येक व्यक्तिमा बहुराजनीतिक सोच भरिदिने । यस अर्थमा राजनीतिक चेतना भएका व्यक्ति बन्ने । बनाउने । राजनीतिक दलका ‘घोडे शिक्षक’ नबन्ने । ‘घोडे विद्यार्थी’ नबनाउने ।
भोलिको सांस्कृतिक नेपाल
हिजो दशैँ बिदा सबैलाई दियौँ । इदको बिदा मुस्लिमलाई मात्रै । अहिले इद बिदा पनि सबैको भएको छ । ल्होसार जस्तो । यसरी सबै जातिका विशेष चाडमा बिदा दिने हो भने देश बिदामय बन्छ । थोरै दिन काम गरे पुग्ने । धेरै दिन बिदा मान्न पाइने । संघीय नेपालमा बिदा संघीय हुन्छ । सबैको चाडमा कम्तीमा एक दिन बिदा दिने प्रबन्ध हुन्छ । हुनु पनि पर्छ । त्यसो हुँदा मगरातको बिदाको दिन थारूवान खुल्छ । कोचिलाको बिदाको दिनमा अवध खुल्छ । तमुवान बन्द हुन्छ । अहिलेकोगाईजात्रामा काठमाडौँ बन्द भए जस्तो । काठमाडौँ बाहिर खुलेजस्तो । यो स्थितिमा शिक्षकको अर्को पीडा छ । दुई संघका साँधमा भएका विद्यार्थीलाई के गर्ने ? विद्यालयको बिदा दिने कि ? विद्यार्थीको बिदा दिने ? कि तीजको अफिस जस्तो गर्ने ? विद्यार्थी जति भए पनि स्कूल चल्ने । स्कूल नचले पनि विद्यार्थी आउने ? परियोजना कार्य गर्ने । अथवा अहिलेको सरकारले भन्सार क्षेत्रमा आइतबार बिदा दिने सोच गरे जस्तो । देशैभरि आइतबार बिदा दिने बुद्धि खोजेजस्तो । आइतबार बिदा इसाई धर्मसँग जोडिन्छ । क्राइस्टको पुनर्जन्म भएको दिन । ६ दिन काम गरेर आइतबार विश्राम लिएको दिन । यस्ता दिनहरू इस्लाममा खोजिए भने कुन दिन बिदा दिने ‘इस्लामी उपसंघमा’ ? बुद्धमार्गीले पाए भने कुन दिन बिदा दिने उत्तरी नेपालमा ? आइतबार बिदालाई इसाई धर्मबाट नहेर्ने हो भने भूमण्डलीकरणले संस्कृति खायो भन्ने कि नभन्ने ? शनिबार राहु–केतुको बार हो भन्ने हो भने ‘इस्लामी उपसंघ’ मा दिने गरेको बिदा दिने कि नदिने ? यी र यस्ता प्रश्नहरूको उत्तर भोलिको शिक्षकले खोज्नुपर्छ । अर्को शब्दमा भन्दा सांस्कृतिक बिदा खोज्ने कि ‘उपयोगिताको बिदा रोज्ने ?’ खेती न गर्ने का सन्ततिलाई असारको बिदा के काम ? भेल नआउने ठाउँमा साउनको बिदा के काम ? दशैँ नमान्ने संघमा दशैँ बिदाको के काम ? यस स्थितिमा मेरो आग्रह हो— उपयोगिता खोजाँै । चैते दशैँलाई घटाएर शारदी दशैँ मनाउने बुद्धिको अनुयायी बनौँ । अर्थात् चाडलाई समयसापेक्ष बनाऔँ । सर्वजातीय चाडहरूलाई उपयोगिताजन्य चाडमा बदलौँ । ‘भ्यालेन्टाइन डे’ लाई नयाँ चाड बनाएजस्तो । के यो बुद्धिमा भोलिका शिक्षक हिँड्न सक्छौँ ?
भोलिको सामाजिक नेपाल
हिजो हामी खण्डित थियौँ । मनाङको नारेली जस्ता । काठमाडौँका हरिसिद्धेली जस्ता । अहिले पनि त्यही बुद्धिका छौँ । पहाडबाट मधेशमा बसाइँ सर्दा पहाडेकै ठाउँ खोज्ने । मधेशबाट काठमाडौँको ताहाचलमा डेरा खोज्दा मधेशी समूह नै खोज्ने । भोलिको तमुवानीले तमुकै घर खोज्ने छौँ । थारूवानीले थारूकै । खसानीले खसकै । यस अर्थमा हिजोको सामाजिक खण्डीकरणमा भोलिको नेपालीले राजनीतिक खण्डीकरण जोड्छ । हिजो सामाजिकीकरण पहिले थियो । भोलि राजनीतिकरण पहिलो हुन्छ । यस स्थितिमा शिक्षकको भूमिका के हुने ? के तमु र थारूको बेग्लै स्कूल र स्कूलिङ (दीक्षा) हुने ? राजनीतिक दीक्षा र सामाजिक दीक्षाबीचको कडी को बन्ने ? यसरी हेर्दा हाम्रा बुद्धिहरू ‘उल्टो छलाङ’ मार्दैछन् । चौबीसी उन्मुख छलाङ । बाइसी उन्मुखी छलाङ ।
आजको राजनीतिक शिक्षाले लोकतन्त्र बाँच्ला ? अन्तरसंघीयतामागुँद लगाउला ? माओवादी शिक्षकले विद्यार्थीलाई विश्वेश्वर कोइराला चिनाउला ? नेपाली काङ्ग्रेसको शिक्षकले प्रचण्डको तस्बिर देखाउला ? अवध क्षेत्रले फाल् गुनन्दको तस्बिरमा माल्यार्पण गर्ला ? के यी र यस्ता प्रश्नहरू भोलिका राजनीतिज्ञले गर्लान् ? तिनकै मतियारा शिक्षकहरूले गरौँला ?
जातोन्मुख छलाङ । त्रि.वि.को भाषाशास्त्रीको अनुभूतिमा “पहिले भाषाशास्त्री थिएँ । अहिले जनजाति भाषाशास्त्री बनेँ । भोलि नेवार भाषाशास्त्री बन्दैछु ।” यस्ता ‘उल्टा छलाङहरू’ सामाजिक जिन्दगीमा बढिरहेका छन् । बढ्छन् । ती ‘महान् उल्टा छलाङीहरू’लाई शिक्षकले के सन्देश दिने ? के अझै महान् र क्रान्तिकारी उल्टा छलाङीहरू’ बन भन्ने ? ‘चिडिमार सहक्षेत्र संघ’को बासिन्दालाई दुख्दा तमुवानका शिक्षकले ‘भोजखाउ’ भन्ने ? यस स्थितिमा भोलिका शिक्षक साँघुरा बन्दैछौँ । के साँघुरिनै दिने ? माओवादीको पास पाएर रुकुम प्रवेश गर्ने बुद्धिकै निरन्तरता दिने ? तमुवानको तमुमय शिक्षक बन्ने ? ‘चिडिमार सहक्षेत्र संघ’को शिक्षकलाई तमुवानमा आउने पुर्जी दिने ? यी हिजोका ‘सहज बुद्धिहरू’ भोलिका सहज राजनीतिक बोली हुन्छन् । तमुले मात्र तमुवानमा शिक्षक बन्ने बुद्धि । अवधमा अवधीले मात्रै शिक्षक बन्ने बुद्धि । यो बुद्धिले चिनियाँ ‘जागिर पास प्रणाली’ नेपालमा भित्रिन्छ । भिœयाइन्छ । यो प्रणालीले कोही शिक्षक अन्तरसंघीय बन्छौँ । बनाइन्छौँ । केही संघीय । केही उप–संघीय । केही सह–संघीय । यो स्थितिमा के शिक्षा दिन्छौँ ? के शिक्षा लिन्छौँ ? यसमा मेरो सोच हो– क्षेत्रीय, जातीयता, भाषा आदिबाट माथि उठ्ने कि ? उठाउने कि ?
भोलिको शैक्षिक नेपाल
शिक्षाले राजनीति चलाउने कि राजनीतिले शिक्षा ? अहिले राजनीति हाबी छ । शिक्षा मदौरु । भोलिको संघीय नेपालले पनि राजनीतिलाई नै अग्रस्थान दिँदैछ । त्यसैले शिक्षा राजनीतिको दास बन्दैछ । खसानमा खस जस्तो शिक्षा बन्ने । भोजपुरी संघमा भोजपुरी जस्तो । भर्खरै बन्न लागेको सुदूर पश्चिमाञ्चल संघमा त्यहीँको जस्तो । यी ‘जस्ताहरू’ ले अन्तरसंघीय शैक्षिक समताको प्रश्न उठाउँछन् । नेवा राज्यको रराम्रो । खुम्बुवानको नरराम्रो । खुम्बुवानको रराम्रो । कोचिलाको नरराम्रो । कोचिलाको रराम्रो नेवाको नरराम्रो । यो स्थितिमा शिक्षकले कहाँबाट थाल्ने ? विश्वबाट कोचिला कि; कोचिलाबाट विश्व ? ओलचिकीबाट देवना गरी कि देवना गरीबाट ओलचिकी । अङ्ग्रेजीबाट देवना गरी कि अर्कै कुनै ? यी प्रश्नहरूबाट शिक्षाको स्तर आकलन गर्न समस्या पैदा हुन्छ । जागिरमा समस्या । अंकनमा समस्या । यसरी शिक्षाले अर्को खण्ड पाउँछ । अहिले आश्रम खण्डका छौँ । गुम्बा खण्डका छौँ । मदरसा खण्डका छौँ । आर्थिक खण्डका छौँ । भौगोलिक खण्डका छौँ । भोलि संघीय खण्डका हुन्छौँ । यस स्थितिमा अन्तरखण्ड शैक्षिक स्तरीयताको समस्या आउँछ । तालिममा समस्या । सुविधामा समस्या । ती समस्याहरूको समाधान शिक्षकले नै खोज्नुपर्छ । यस स्थितिमा हराम्रो सोच के ? समाधान के ? मेरो विचार मा न्यूनतम बुँदामा सहमत बन्ने अभियान चलाऔँ । सानो देशको पढाइ भारतको जस्तो खण्डित नबनाऔँ । बिहारी विश्वविद्यालयमा पढेको र बरोडा विश्वविद्यालयमा पढेको जस्तो । त्यो हालत नभिœयाऔँ ।
भोलिको लोकतान्त्रिक नेपाल
अहिले लोकतन्त्रमा रमाऔँ । भोलि संघतन्त्रमा रमाउँछौँ । संघ स्वायत्त बन्दा केन्द्र कमजोर हुन्छ । केन्द्र बलियो बनाउँदा अर्ध–संघीय देश बन्छ । भारत जस्तो । अर्थात् संघ स्वायत्त बने प्रधानमन्त्रीको चुनाव कसरी गर्ने ? राष्ट्रपतिकोबाट बनाउने ? कि दुवैलाई प्रत्यक्ष निर्वाचनबाट छान्ने ? कि संघीय संसदको प्रतिनिधिबाट राष्ट्रपति, प्रधानमन्त्री छान्ने ? कि संघीय सरकारको संसद् सानो बनाउने ? कि केन्द्रीय सरकार पाँच–सात जनाको मात्रै बनाउने ? यी बुद्धिहरू राजनीतिक वृत्तमा छैनन् । अहिलेको संविधानसभाजस्तै प्रतिनिधिमूलक संघीय संसद् बनाउने हो भनेपाल्ने केले ? भत्ता कहाँबाट दिने ? रकम कहाँबाट ल्याउने ? माओवादी र अन्य जातीय, भाषिक क्षेत्रीय संघका वकालतकर्ताकै भनाइमा लाग्ने हो भने अहिले आधा दर्जन स्वायत्त प्रदेश मात्रै आर्थिकरूपले सम्पन्न छन् । बाँकीलाई पाल्ने कसले ? केन्द्रीय सरकारले पाल्ने हो भने त्यो प्रान्त पनि त्रिभुवन विश्वविद्यालय जस्तै ‘स्वायत्त संस्था’ हुन्छ । उपकुलपति राजनीतिक दलले भर्ना गर्ने खालको । विद्यार्थी राजनीतिक दलकै ‘छोटे कार्यकर्ता’ हुने स्वरुपको । यो स्थितिमा शिक्षकले के को वकालत गर्ने ? कस्तो तन्त्रको ? कस्तो संघको ? कस्तो चुनाव प्रणालीको ? यी र यस्ता कुरा हरूमा भोलिको शिक्षकले बोल्ने के ? जवाफ दिने के ? मेरो विचार मा अहिलेको जस्तो महँगो संविधानसभा चाहिन्न भनौँ । अहिलेको जस्तो मन्त्रिमण्डल पर्दैन भनौँ । नत्र भने ‘सामाजिक भलाइ’ र मन्त्रिमण्डल तथा संघीय एवं केन्द्रीय सभासद्लाई तलब दिँदै राजस्व सकिन्छ । विकास का लागि रकम रहन्न । रहर रहन्छ । भाषण रहन्छ । भाषण र रहरले विकास हुन्न ।
निचोड
भोलिको नेपाल अँध्यारो मात्रै छैन, उज्यालो पनि छ । तर अहिलेको बुद्धिले अँध्यारोमा धकेल्छ । धकेलिँदै पनि छौँ । त्यही अँधेरोबाट उज्यालोमा लैजाने काम शिक्षकले गर्नु पर्छ । सके अहिलेकै पुस्तालाई पढाएर, नसके आगामी पुस्तालाई वैचारिक खुराक दिएर । त्यस्तो खुराक बनाउन शिक्षकहरू क्रियाशील बनौँ । खुराक बाँड्ने संयन्त्रमा सक्रिय बनौँ । अन्यथा खण्डित नेपालको खण्डित शिक्षक बन्न र बनाउन तत्पर रहौँ । अहिले जाति पहिला, जात पहिला, भाषा पहिला, क्षेत्र पहिला, धर्म पहिला, पुरानो राज्यको पहिचान पहिला भन्नेहरूलाई राजनीतिज्ञ, चिन्तक र मतियारहरूले साथ दिइरहेछन् । हामी व्यक्ति र उसलाई चाहिने सेवा पहिला हुनुपर्छ भन्नेहरू हराइरहेछौँ ।



