छात्र र छात्रा को कसरी सिक्छन् ?
केही वर्षअगाडि हार्बर्ड विश्वविद्यालयका अध्यक्ष ल्यारी समर्सले ‘महिलाहरूको मानसिक क्षमता कमजोर हुने हुनाले विश्वविद्यालय तहमा भौतिक विज्ञान र गणित लिने छात्राहरू कम भएका हुन्’ भन्दा शैक्षिक र राजनीतिकजगतमा ठूलो खैलाबैला मच्चियो । उनको यो भनाइ यसअघि स्थापित मान्यता विपरीत थियो । सन् १९६० र ७० को दशकमा विश्वभरमा भएको महिला आन्दोलनले दुई वटा कुरा स्थापित गरेको थियो, जसमध्ये पहिलो थियो, अवसरको कमीले गर्दा मात्र महिला पछाडि परेका हुन्, र अर्को थियो; समान अवसर पाउने हो भने जुनसुकै क्षेत्रमा पनि महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छन् ।
यस मान्यताले शिक्षा क्षेत्रमा नयाँ अभ्यास हरू भित्रयायो । छात्र र छात्रालाई फरक–फरक विद्यालयमा पढाउँदा पढाइको स्तर फरक हुन्छ र छात्राप्रति भेदभाव हुन्छ भन्ने तर्क उठ्यो । अमेरिकामा त सरकारी अनुदानमा चल्ने स्कूलहरूमा सह–शिक्षा (छात्र र छात्रा दुवैलाई एउटै स्कूलमा पढाउने) अनिवार्य नै गरियो ।
विकासोन्मुख देशहरूमा छोरीलाई पनि विद्यालय पठाउने अभियान चलाइयो । महिला उत्थान र सशक्तिकरणका लागि मात्र नभएर सामाजिक विकास का निम्ति पनि छोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने मान्यता अगाडि आयो । आमा शिक्षित भए परिवार र सन्ततिलाई समेत फाइदा हुन्छ, त्यसैले बालिकाहरूलाई पढाउनु पर्छ भन्ने अभियान नै चल्यो ।
यी सबै प्रयासको फलस्वरुप छात्राहरूले शिक्षामा ठूलो फड्को मारे । धेरै युवतीहरू शिक्षित भए र शिक्षितहरु रोजगारको क्षेत्रमा संलग्न हुँदै गए । नयाँ पुस्ताका लागि ‘रोल मोडेल’ तयार भए ।
१९७० र १९९० को दशकमा बेलायतमा भएका अध्ययनले छात्राहरूको सोचाइमा परिवर्तन आएको देखाएको थियो । सन् १९७० को दशकमा त्यहाँका माध्यमिक विद्यालयका छात्राहरूले परिवार र घरलाई प्राथमिकता दिन्थे भने १९९० को दशकमा उनीहरूको प्राथमिकतामा उच्च शिक्षा, व्यवसाय र करियर परेको थियो ।
सन् १९९० को दशकमा आएर विकसित देशहरूमा पढाइमा छात्राहरूले छात्रलाई उछिन्न थाले । मौका र प्रोत्साहन पाए छात्रा छात्रभन्दा पछि पर्दैनन् र जुनसुकै क्षेत्रमा पनि महिलाहरू पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने महिला आन्दोलनको मान्यता सत्य साबित हुन थाल्यो ।
यस्तो बेलामा हार्बर्ड विश्वविद्यालयका समर्सले के आधारमा छात्राको बौद्धिक क्षमता माथि प्रश्न गरे त ?
सन् १९९० को दशकको अन्त्यतिर देखि मानिसको दिमागको बनावट र त्यसले काम गर्ने तरिकाको अध्ययन (न्युरो साइन्स) ले केटा र केटीको दिमागको बनावट र त्यसले काम गर्ने तरिका फरक छ भन्ने नयाँ मान्यता स्थापित गर्न खोज्दैछ । यस दशकको शुरु मा अमेरिकामा माइकलगुरिएनद्वारा लिखित “केटा र केटीले फरक किसिमले सिक्छन्” नामक पुस्तक प्रकाशित भयो । चिकित्सक लियानार्ड सक्स त चिकित्सा पेशा छाडेर छात्र र छात्रालाई अलग्गै पढाउनु पर्छ भन्ने मान्यता प्रवद्र्धन गर्न नै लागिपरे । उनका अनुसार ‘केटा र केटीले सिक्ने तरिका फरक छ । कुनै समस्या हल गर्न केटा र केटीले दिमागको फरक–फरक भाग चलाउँछन् । कामको चपेटाको भार थाम्न केटालाई भन्दा केटीलाई गाह्रो हुन्छ ।’ सक्सको सिद्धान्तमा विश्वास गर्ने अमेरिकाको साउथ क्यारोलिना राज्यको शिक्षा विभागमा काम गर्ने डेभिड ¥याडवेलका अनुसार, “केटाहरूलाई भौतिक रूपमा चल्न लगाउनुपर्छ किनभने उनीहरूको स्नायु प्रणाली आँखाले देख्ने र कानले सुन्ने तरिकाबाट प्रभावित हुन्छ । केटीहरूको सिकाइमा विषयवस्तु, विद्यार्थी–विद्यार्थी बीचको सम्बन्ध र विद्यार्थी–शिक्षकबीचको सम्बन्धले प्रभाव पार्छ । केटीहरूलाई एकअर्कासँग कुरा गर्न दिइएन भने उनीहरूले सिक्न सक्दैनन् । केटीहरूलाई आफ्नो जीवनमा घटेको घटनालाई कक्षाकोठाको विषयवस्तुसँग जोड्ने मौका दिनुपर्छ ।” सक्स्का अनुसार केटा र केटीलाई पढाइमा प्रोत्साहन दिन फरक– फरक तरिका अपनाउनुपर्छ ।
डा. सक्स् पनि पहिले केटा र केटीले सिक्ने तरिकामा फरक छैन र उनीहरूलाई सह–शिक्षा दिनुपर्छ भन्थे । तर सन् २००० मा उनको क्लिनिकमा एकजना १२ वर्षे बिरामी आए । उनी सह–शिक्षा लयमा पढ्थे । उनी एकदम कम बोल्थे । उनलाई केही पनि गर्न रुचाउँदैनथे । केटा मात्र पढ्ने स्कूलमा भर्ना भएपछि उनी पूरै फेरिए । त्यसपछि डा. सक्स्ले केटालाई मात्र पढाउने र केटीलाई मात्र पढाउने स्कूलमा गएर केटा र केटीको दिमागको बनोट सम्बन्धी अनुसन्धान गर्न थाले । अध्ययन पछि उनी भन्न थाले, “मानिसको प्रकृति लिङ्गमा आधारित हुन्छ ।”
छात्र र छात्राले फरक किसिमले सिक्छन् या एउटै किसिमले सिक्छन् भन्ने विवादको टुङ्गो तत्काल लाग्न सक्ने छैन तर पनि अमेरिकामा छात्राभन्दा छात्र पछाडि भएको चाहिँ एउटा महत्वपूर्ण तथ्य नै हो । कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहको शिक्षा ६५ प्रतिशत केटाहरूले चार वर्षमा मात्र सक्छन् । सोही शिक्षा चार वर्षमा सक्ने केटीहरूको मात्रा केटाहरूको भन्दा बढी अर्थात् ७२ प्रतिशत छ । केटाहरू फेल हुने सम्भावना केटीहरूको भन्दा डेढगुणा बढी रहेको छ ।
दिमागको बनावट र छात्र–छात्राको विषयवस्तुकोरूचि फरक भएपनि सामाजिक वातावरणले सिकाइमा फरक पर्छ भन्ने कुरा मा दुईमत हुनसक्दैन । विकसित देशहरू सांस्कृतिक र आर्थिक हिसाबले केटा र केटीलाई समान अवसर प्रदान गर्न सक्ने अवस्थामा पुगिसकेका छन् । उनीहरूको चासो अर्को तहमा पुगिसक्यो । विकासोन्मुख देशमा सांस्कृतिक मान्यता र आर्थिक विपन्नताले गर्दा छात्र र छात्राको सिकाइमा असर पारिरहेको छ । छोरीलाई पनि स्कूल पठाउँ भन्ने नारा एक ठाउँमा छ भने अर्कोतिर विद्यालय पठाएर के त ? भन्ने प्रश्नको जवाफ खोज्न पनि त्यत्तिकै जरूरी देखिन्छ । माथि उल्लिखित बेलायतको अध्ययनले देखाए अनुसार छात्र छात्रालाई स्कूल जाँदा फाइदा हुन्छ भन्ने कुरा देखाउनु जरूरी छ । फेल भएपनि उनीहरूलाई स्कूलमै राख्ने उपाय निकाल्नुपर्छ ।
नेपालका सबै कक्षामा छात्रा कम छन् । यसलाई बढाउनु पर्छ । यसो गर्ने धेरै उपाय छन्— जस्तै विद्यालयमा महिला शिक्षकको सङ्ख्या बढाउने, छात्राहरूको लागि पर्याप्त शौचालयको व्यवस्था गर्ने , डाक्टर, इन्जिनियर, प्रधानाध्यापक आदि पुरुष मात्र हुन्छन् भन्ने भ्रम दिने पाठ्यसामग्रीका ठाउँमा ती काम महिलाले पनि गर्छन् भन्ने सन्देश दिने पाठ्यसामग्री बनाउनु पनि त्यत्तिकै अवश्यक छ । यस बाहेक शिक्षकले छात्रा र छात्रलाई समान व्यवहार गर्नु पनि जरुरी छ । त्यसपछि हामीकहाँ पनि छात्राहरूले पढाइएमा उच्चतम उपलब्धि हासिल गर्न सक्लान् ।
(२ मार्च २००८ को न्यूयोर्क टाइम्समा आधारित)
शिक्षक मासिक, २०६४ चैत अंकमा प्रकाशित ।