जेनजी आन्दोलनपछि अपेक्षा गरिएको शिक्षा

धरोहरको खोजी र व्यवस्थापनमा
विश्व जनसंख्यामा जेनजी (सन् १९९७-२०१२ को अवधिमा जन्मिएको पुस्ता) को संख्या २० देखि २५ प्रतिशत छ। डिजिटल नेटिभ हुनाले आधुनिक प्रविधिमा तिनको पहुँच छ। परिणामतः तिनका औंलामा विश्वको जानकारी छ। विविधता पनि छ। सञ्जालित हुने डिजिटल प्लेटफर्म पनि छ- डिस्कर्ड जस्ता। लाखौं सहभागी एकैसाथ जोडिन मिल्ने। सर्जक क्षमता पनि छ। उमेरको तुजुक पनि छ। त्यसैले अब नेपालका रैथाने ज्ञान, सीप, कला, प्रविधि एकसाथ जम्मा गर्न डिस्कर्डलाई उपयोग गर्ने दिन आएको छ। शिक्षा मन्त्रालयले यो अभियानमा हात हालेमा जेनजी पुस्ताले जनस्तरको रैथाने ज्ञानको तागत चिन्छ। आयातीत बुद्धि बाँड्ने र त्यसैमा रम्ने/रमाउने मौन, एक्स तथा वाई पुस्ताका नेपालीले पनि पुख्र्याैली सम्पदा चिन्छन्। आफूले आयातित बुद्धि बोके/बोकाएकोमा प्रत्यानुभूति गर्न थाल्छ।

स्वदेशमै रोजगारीको प्रबन्धमा
जेनजी समूह कृत्रिम बुद्धि प्रयोग गर्न जान्दछ। बन्धनमुक्त रोजगारी (freelancing) मा रमाउँछ। ‘गिग्स’ अर्थतन्त्रको हिमायती छ। सोही अर्थतन्त्रमा उद्यमीकरण गर्नमा तत्पर हुन्छ। परिणामतः टोयटा डिजाइनको उद्यम शुरू गर्न सक्छ। विकेन्द्रित ‘सेज’ (स्पेसल इकोनोमिक जोन) निर्माण। घर-घरमा ‘सेज’ निर्माण। टोल-टोलमा ‘सेज’ निर्माण। अनि अनलाइन व्यापार गर्न सक्छ। क्यूआर कोड दिएर सिधै लगानीकर्ताको खातामा रकम जम्मा गर्न सक्छ । न बिचौलियाको डर। न उद्यमी तथा व्यवसायी ठगिने डर। न उपभोक्ताले गोदामको रकम र नोक्सानी (store and damage) बेहोर्नुपर्ने डर। न किसान तथा मजदूर ठगिने डर।

यसरी नेपालका रैथाने सीपमा आधारित जेनजी उद्यमीहरू जन्मन थाल्छन्। पालिकामा। स्कूलमा। कलेजमा। विश्वविद्यालयमा। चीनको भन्दा पनि आधुनिक तरीकाको। घरघरमै अनुसन्धान गर्ने। घरैघर उत्पादन गर्ने। डिस्कर्डमा विज्ञापन गर्ने। घरैबाट अनलाइनमा बेच्ने। यो काममा शिक्षा मन्त्रालयले संयोजनकारी भूमिका खेल्न सक्छ। दैनिक रूपको अनिवार्य बचत अभियान चलाउन सक्छ। यसका लागि बालविकास कक्षादेखिका विद्यार्थीलाई दैनिक बचत गर्न लगाउन सकिन्छ। स्थानीय बैंकले कम्तीमा दिनको रु.१ दिएर खाता खोली दिने। पालिकाले पनि त्यति नै रकम जम्मा गर्ने। आमाबाबुले पनि कम्तीमा रु.१ जम्मा गर्ने। विद्यार्थीले पनि कमाएर त्यसैमा राख्ने। बैंकले खाता खोल्यो। पहिलो फाइदा भयो। कक्षा-१ का विद्यार्थीको सम्बन्धमा दश वर्षका लागि ‘ननअपरेटिङ’ खाता। कक्षा बढ्दा ‘नन अपरेटिङ’ खाताको वर्ष घट्छ। यसो हुँदा विद्यार्थीले पढिसक्ता स्टार्टअफ फण्ड बनिसक्छ। सानो कामका लागि एक्लैले हुने। ठूलो कामका लागि साथीहरू मिल्नुपर्ने।


अब नेपालका रैथाने ज्ञान, सीप, कला, प्रविधि एकसाथ जम्मा गर्न डिस्कर्डलाई उपयोग गर्ने दिन आएको छ। शिक्षा मन्त्रालयले यो अभियानमा हात हालेमा जेनजी पुस्ताले जनस्तरको रैथाने ज्ञानको तागत चिन्छ।

शिक्षा मन्त्रालय, बैंक, पालिका, शिक्षकहरूका संघ-संगठन, विद्यालय ब्यवस्थापन समिति महासंघ, अभिभावक महासंघ, प्याब्सन तथा एन-प्याब्सन मिलेर यो काम तुरुन्तै गर्न सक्छन्। गराउन सक्छन्। इलामको रोङ्ग, स्याङ्जाको फेदीखोला, इलामकै सूर्योदय जस्ता पालिकाले यो काम गरिसके (शिक्षक मासिक भदौ अंक, २०८२)। शिक्षक, कर्मचारी एवं स्वदेशमै गरिखान खोज्नेहरूलाई किस्ताबन्दीमा तिर्न मिल्ने ऋण (mortgage) दिने अभियान चलाउन सक्छ। जेनजी यो काममा क्रियाशील हुन सक्छ।

जेनजीको उमेर समूहले भन्छ- उनीहरू कडा परिश्रम गर्न सक्छन्। आफूले नसके काम गर्ने रोबर्ट बनाउँछन्। खेतमा। बारीमा। जंगलमा । पोखरीमा। हिमालमा। पहाडमा। यसको अर्थ हो जेनजीले सम्भावना पनि देख्छ। स्वदेश तथा विदेशको बसाइँसराइले नेपालको खेतीयोग्य जमीन खाली हुँदैछ। बस्ती शून्य हुँदैछ। यो समस्या होइन। अवसर हो। यो कुरा बुझेर जेनजीले शिक्षक, विद्यार्थी, प्राध्यापक, अन्य समुदायलाई बाँदर, दुम्सी, भालु, सुगा, बँदेल केहीले पनि नखाने टिम्मुर, कफी, अदुवा, बेसार, कागती, सिस्नु जस्ता खेती कहाँ कहाँ हुन्छ ? त्यसको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार कहाँ छ ? खाली भएका खेतबारी कसरी लिजमा लिनुपर्छ भन्ने कुराको खोजीनिती गर्छ। आधुनिक प्रविधि प्रयोग गरी सबैलाई नयाँ खेती प्रणालीको जानकारी दिन्छ।

हरियाली दिनमा मात्र सीमित हाम्रा वन-जंगलमा काँक्रो, फर्सी, घिरौंला, इस्कुस, तरुल, बेसार, अदुवा जस्ता तरकारीजन्य कुरा लगाउने अभियान चलाउँछ। जङ्गल थाँक्रो बन्ने। खाली टिप्ने मान्छेलाई मात्र पैसा दिनुपर्ने प्रबन्ध गर्छ। कुन पोखरीमा माछा पाल्ने ? कुनमा भ्यागुता पाल्ने ? कुनमा सर्प पाल्ने? कुनमा मखना उब्जाउने ? कुनमा कमल फुलाउने ? कुनमा जलसिंगडा फलाउने ? कुन हिमालको दृश्यावलोकन कहाँबाट गर्न सकिन्छ ? कहाँ बजार बन्न सक्छ ? कहाँ होटल तथा मोटल चेन बनाउनुपर्छ ? जस्ता कुराको जीएसआई नक्शाङ्कन गर्छ। त्यसलाई सार्वजनिक गर्छ। यसरी सम्भावनाहरूको ड्यासबोर्ड (datahomenepal.org) बन्न थाल्छ। यसो गर्दा संविधानको धारा ५१ ज को १ लागू हुन्छ। शिक्षा स्वभावतः उत्पादनसँग जोड्ने र स्वदेशमै सम्भावना खोज्ने परिवेश बन्छ।

उत्पादन र शिक्षा जोडिनुपर्छ भन्ने शिक्षा मन्त्रालयले यो काममा सहजकर्ताको भूमिका खेल्न सक्छ। यसो गरेमा डेलोट्टी (Deloitte's 2025 survey) को प्रतिवेदनले भने झै‌ं जेनजीले आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्छ। यो कुरा शिक्षा मन्त्रालयले बुझेकाे हुनुपर्छ। तदनुसार जेनजी समूहले यो क्षेत्रमा हात बढाउन सक्छ। स्कूलका जेनजीले। कलेजका जेनजीले। विश्वविद्यालयका जेनजीले। शिक्षक बनेका जेनजीले। यसो गरेमा खाली जमीन उब्जाउ बन्छ। खाली बस्ती संग्रहालय बन्छ। कहीं माटाको भाँडाको संग्रहालय। कहीं काठको भाँडाको संग्रहालय। कहीं हतियारको संग्रहालय। यसो गर्नासाथ हर पालिका पर्यटन क्षेत्र बन्न पुग्छ। रोजगारी त्यहीं सिर्जना हुन्छ।

अड्केका शिक्षा ऐनहरूमा 
शिक्षा मन्त्रालयमा तीन वटा ऐन अड्केका छन्। विद्यालय शिक्षा ऐन। ब्यावसायिक तथा प्राविधिक शिक्षा ऐन। उच्च शिक्षा ऐन। यी ऐनहरू कर्मचारीले बनाए। विद्यालय शिक्षा ऐनलाई सांसदहरूले गिजोले। परिणामतः त्यसलाई न सार्वजनिक विद्यालयका शिक्षकले स्वीकारे, न निजी लगानीका विद्यालयले स्वीकारे। न धार्मिक विद्यालयले आफ्नो पीडाको ओखती पाए। न गुठी तथा सहकारी विद्यालयले स्थान पाए। न बाल विकासका शिक्षकले अपेक्षित सुविधा पाए। न कर्मचारीले पाए। न भावी शिक्षक बन्नेले स्थान पाए।

यो स्थितिमा एउटा सम्भावना जन्मियो। जसले स्वीकारेन तिनैलाई जिम्मा लगाएर तीन वटै ऐनलाई एकसाथ अन्तिम रूप दिन। यस क्रममा जेनजीले जेन अल्फा र जेन बेटाका विद्यार्थीको क्षमताबारे निर्णायकलाई जानकार बनाउने। त्यसका निम्ति शिक्षकलाई अद्यावधिक गर्ने मोड्यूलर एप्स बनाउने। राम्रो काम गरेका शिक्षक, विद्यालय, पालिका, ब्यवस्थापन समिति, प्रधानाध्यापक, प्राध्यापक, डीन आदिको कामको डिजिटल जानकारी संकलन गर्ने। अंग्रेजीमा पनि स्क्रोल गरी देशका शिक्षक, प्राध्यापक आदिको कामलाई अन्तर्राष्ट्रिय बनाउने। यसरी तयार भएका प्याकेजलाई अध्यादेशको रूपमा भए पनि पारित गराउने। पारित नभएपछि आउने सरकारलाई नासोको रूपमा छोड्ने। शिक्षा मन्त्रालयले पनि यो काममा चासो लिनुपर्छ।

शैक्षिक गुणस्तरको सुनिश्चिततामा
बागमती प्रदेशको लागि विद्यालय तहको शैक्षिक गुणस्तरको मानक (अनुसूची, १) बनेको छ। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको गुणस्तरको खाका बनाएको छ। विद्यालय शिक्षकका लागि शिक्षक स्वमूल्यांकन फारम पनि तयार छ (shikshakmasik.com) । कलेज तथा विश्वविद्यालयका प्राध्यापकको लागि पनि यही रूपको सामग्री बनाउन सकिन्छ। विद्यार्थीलाई पनि डिजिटल तथा ननडिजिटल स्वमूल्यांकन फारम बनाउन सकिन्छ (mininepal.org)। यसका लागि जेनजीको सहयोग लिन सकिन्छ। यति गर्नासाथ लचिला विद्यालय, कलेज तथा विश्वविद्यालय बनाउने सम्भावना खुल्छ। छिटो नतिजा निकाल्ने तरीका जन्मन्छ। शिक्षक, प्राध्यापक तथा विद्यार्थी स्वयं अद्यावधिक हुने ढोका खुल्छ। अडिट कोर्स सञ्चालन गर्ने अवसर बन्छ। समुदायका लागि चाहिने कोर्सहरू विद्यालय, कलेज तथा विश्वविद्यालयले बनाउन थाल्छन्। विद्यार्थीले चाहेको कोर्स पनि बन्न थाल्छ। यति क्रडिट पढेपछि हुन्छ भन्ने बुद्धिले स्थान पाउँछ। यो काममा जेनजीको सक्रिय सहभागिता हुन सक्छ।

समताको सुनिश्चितता
विविधता नेपालको सम्पदा हो। जान्नेलाई श्रीखण्ड जस्तो। नजान्नेहरूको हातमा परेर अहिले यो खुर्पाको बींड भएको छ। त्यसैले जेनजी पुस्ताका शिक्षक तथा प्राध्यापकको कक्षा पनि कति समावेशीे छ भन्न नसकिने अवस्था छ। एकअर्काको भाषा सिक्न लगाए भाषिक समावेशिता हुन्छ। स्कूल–कलेज, विश्वविद्यालय, कार्यालय, छरछिमेक आदिमा एकअर्काको जातजाति, लैङ्गिक अभिमुखीकरण, धर्म, रंग, शरीर, भूगोल हेरेर बोल्ने वर्षाैंको बानी बदले एकसाथ धेरै कुराको समावेश हुन्छ। जातीय छुवाछूत हटाए दलितको अन्तरघुुलन हुन्छ। एकअर्काको क्षमता खोजे खोजाए समावेशी हुन्छ। एकअर्काको भाषा र संस्कृति सिके जनजातिको समावेशिता हुन्छ। स्कूल, कलेज तथा विश्वविद्यालय जेनजीको स्थल हो। त्यहींबाट यो अभियान थाल्न सकिन्छ । भौतिक संरचना नाश गर्ने आन्दोलनको परम्परागत अभ्यासलाई जेनजीले मानसिक संरचना नाश्ने अभियान बनाउन सक्छ। हर समुदायका प्रतिभा खोज्नका लागि जेनजीले स्वचालित रूपमा जानकारी बटुल्ने एप्स बनाउन सक्छ। शिक्षा मन्त्रालयले सामाजिक रूपान्तरणको कार्य अन्तर्गत यो काममा जेनजीलाई प्रोत्साहित गर्नुपर्छ। गराउन सक्छ।

दलीयकरणको अन्त्य
राजनीतिक दलपिच्छे शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, डाक्टर, वकिल, इन्जिनियर बाँडिनु अहिलेको दुर्भाग्य हो। दलहरूले नोट र भोटबाट यो दुर्भाग्यको फाइदा लिएका छन्। शिक्षण संस्था भने दलहरूका निम्ति उर्वर स्थल बनेका छन्। यो नियतिले सर्जक युवाको क्षमता पनि दलगत ह्वीपको बन्दी बनेको छ। यो कुराको अन्त्यका लागि जेनजीको डिस्कर्ड प्लेटफर्ममा विधागत दलीय संवाद गर्न सकिन्छ। कृषिको विकासमा प्रजातान्त्रिक मोडेल के हो? समाजवादी मोडेल के हो ? समाजवादउन्मुख मोडेल के हो ? वैज्ञानिक समाजवादी मोडेल के हो ? नेपालको कुन समुदायमा कुन मोडेल काम लाग्छ ? कुन भूगोलमा कुन मोडेल काम लाग्छ ? यसैगरी शिक्षामा नि ? स्वास्थ्यमा नि ? त्यहाँ कुन कुन पुस्ताको के कस्तो योगदान हुन सक्छ ?
यति काम गर्नासाथ पुर्खाको शब्दमा

अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
निराशापुरुषो नास्ति योजकोऽत्र दुर्लभः ।।

को अर्थ पनि बुझिन्छ। यो काम डिस्कर्ड प्लेटफर्ममा शुरू गरे हुन्छ। स्कूल, कलेज तथा विश्वविद्यालयमा विस्तार गरे हुन्छ। पालिका पालिकामा लगे हुन्छ। जेनजी पुस्ताले यो काम गर्न सक्छ । गराउन सक्छ। दलगत नभई पेशागत तन्मयता भएका शिक्षामन्त्रीलाई यो काममा सघाउन केही पनि अप्ठेरो हुँदैन।

राजनीति सिक्न मन लागे विद्यार्थी संसद् बनाए हुन्छ। शिक्षक तथा प्राध्यापक संसद् बनाए हुन्छ। विद्यार्थीको तल्लो सदन। शिक्षकको माथिल्लो सदन। प्राध्यापकको उपल्लो सदन। यस्ता संसद्मा देशका जात, जाति, भाषा, धर्म, भूगोल, आर्थिक असमानता आदि विषयमा संवाद गरे हुन्छ। जेनजी पुस्ताले यो काम थाल्न सक्छ। संस्थागत गर्न सक्छ। शिक्षा मन्त्रालयले यो कार्यमा सघाउन सक्छ।

मानसिक अप्ठेरोको अन्त्य 
जेनजी पुस्ताको बल भनेको प्रविधिको पहुँच हो। पुस्ताको फेरबदलले दिने तागत हो। उमेरको तुजुक हो। पहिलोले उनीहरूलाई जानकार बनायो । यान्त्रिक सञ्जालीकरणमा सघायो। पुर्खाको शब्दमा एकले होस्टे गर्दा स्वदेश तथा विदेशले एकैसाथ हैंसे गर्ने संस्कार बन्यो। दोस्रोले उनीहरूलाई जन्मँदै बहुपाते बनायो। पहिलेकाहरू तीनपाते मात्रै थिए। यसले पुस्तौनी फड्को पनि बढायो। तेस्रोले निडर बनायो। यही गुणले नै उनीहरूलाई मानसिक अस्वस्थतातिर पनि धकेल्यो। धरातलमा नटेकिएकोले। प्रविधिमा जीवन खोजेकाले। जानकार छु भन्ने संवेगी सोचले।


शिक्षा मन्त्रालयमा तीन वटा ऐन अड्केका छन्। विद्यालय शिक्षा ऐनलाई सांसदहरूले गिजोले। परिणामतः त्यसलाई न सार्वजनिक विद्यालयका शिक्षकले स्वीकारे, न निजी लगानीका विद्यालयले स्वीकारे।

परिणामतः जेनजी पुस्तालाई संवेग र विवेक सन्तुलनमा राख्न अप्ठेरो भयो। पुर्खाको शब्दमा मन, बुद्धि र अहंकारको सन्तुलित अभ्यास गर्न असहज बन्यो। प्रविधिजन्य मानसिक अप्ठेराहरू यसैका असर हुन्। मनोविज्ञानको शब्दमा मन परेका कुराहरूले ल्याउने द्वन्द्व (approach approach conflict)। लत लागेकोले प्रविधि छोडन नसक्ने। जन्मले पुस्तान्तर नछोडिने। उमेरको तुजुक स्वाभाविक हुने। यसबाट मानसिक अप्ठेराहरू सिर्जिएका छन्। जेनजी पुस्ताले ती अप्ठेराहरूको सहज निकास निकाल्न सक्छ। प्रविधिमा जे पढ्यौं, शास्त्रमा खोज। पाठ्यपुस्तकमा खोज। सन्दर्भ सामग्रीमा खोज। रैथाने ज्ञान, सीप तथा प्रविधिमा खोज। लोककथामा खोज। अन्तरपुस्ताका जीवन्त मूर्तिमा खोज। जेनजी पुस्तामा यो अभियान चलाउने क्षमता छ। यसो गरेमा विद्यार्थीले पढेनन् भन्ने शिक्षक, प्राध्यापक, अभिभावकको साथ पाइन्छ। शैक्षिक गुणस्तरको कुरा गर्ने शिक्षा मन्त्रालय स्वभावतः साथमा हुन्छ। यति गर्नासाथ एकोहोरिएर सिर्जिएको मानसिक अप्ठेरो सहजतामा परिणत हुन्छ। सबै अनुसन्धाता बन्छौं। अनुसन्धान संस्कृति बन्न पुग्छ। यो हो र यो हैन भन्ने कित्ताकाटे बुद्धिले घोत्लिन सिक्छ।

लेखनीको टुङ्गो
समस्या नभए सोच बन्दैन। चुनौती स्वीकार्ने मानसिकता पनि बन्दैन। यसरी हेर्दा शिक्षामा समस्या भनेको शिक्षक तथा प्राध्यापकको तयारीमा हो। शैक्षिक गुणस्तरका लागि हजुरहरू मात्रै जिम्मेवार हो। अभिभावक तथा विद्यार्थीको चाहना र आवश्यकता बुझने हजुरहरू मात्रै हो। बुद्धिजीवी हजुरहरू मात्रै हो। यति कुरा बुझउन सके शिक्षक तथा प्राध्यापकहरूले पठनपाठनमा सन्दर्भ जोड्न सक्नुहुन्छ (going beyond the box)। यसरी भन्न सक्ने नेतृत्वको समस्या हो। शिक्षक, प्राध्यापक तथा प्रविधिलाई एकसाथ व्यवस्थापन गर्ने कलाको हो। प्रविधि, रैथाने विज्ञ, पुख्र्याैली शास्त्र, पश्चिमी ज्ञान एकसाथ जोड्ने क्षमताको हो। विद्यार्थी, अभिभावक, पाठ्यक्रम, पाठ्यपुस्तक तथा नीतिमा मात्र समस्या देख्ने रुढीगत अभ्यासको हो।

यी र यस्ता कुरा बदल्न सक्ने तागत शिक्षक तथा प्राध्यापकमा छ भन्ने विश्वासको हो। मापदण्डमा आधारित यान्त्रिक पदोन्नतिको प्रवन्ध हो। रहर छउञ्ज्याल स्थायी बन्न दर्खास्त दिन पाउने नियमको हो। जसले न्यूनतम क्षमता राख्छ त्यो मात्रै शिक्षा क्षेत्रमा बस्छ भन्ने निर्णयको हो। जेनजी पुस्ताका विद्यार्थीले यो सोचमा आन्दोलन गरे हामी अग्रगामी बन्छौं। पहिलेका युवाले झैं ध्वंस गर्न जान्ने तर निर्माण गर्न नजान्ने वा नगर्ने बाँदरे अभ्यास बोक्ने हो भने जेनजी पनि पश्चगामी बाटोमै हुन्छ। भविष्यद्रष्टा पनि हामी नै हौं। भविष्यस्रष्टा पनि हामी नै हौं। सम्भावना खोजौं। 

शिक्षक  मासिक, २०८२ कात्तिक अंकमा प्रकाशित । 

 

commercial commercial commercial commercial