शैक्षिक गुणस्तरका मापदण्ड
समग्रमा शैक्षिक गुणस्तर के हो ? तहगत रूपमा विद्यालय-शिक्षाको गुणस्तर के हो ? पाठ्यक्रमले तोकेको कुराले मात्र गुणस्तर पुग्छ त ? त्यसमा के थप्नुपर्ला- अभिभावकको चाहना अनुसार। एक्काइसौं शताब्दीको विद्यार्थीको क्षमता अनुसार। बदलिंदो पुस्ताको आवश्यकता अनुसार। आधुनिक प्रविधिको बढ्दो प्रयोग अनुसार। संविधानको अपेक्षा अनुसार। शिक्षामार्फत गरिखाने सीप सुनिश्चित गर्नुपर्छ भन्ने मान्यता अनुसार। समाजमा व्याप्त निराशा चिर्नका लागि शिक्षा चाहिन्छ भन्ने विश्वास अनुसार। नेपालको भूगोल, संस्कृति, भाषा, शास्त्र आदिमा सम्भव नै सम्भावना छ भन्ने यथार्थ अनुसार। स्वदेश तथा विदेशमा बसाइ सर्ने प्रवृत्तिलाई कम गर्दै लैजाने मान्यता अनुसार । बिदेसिएका नेपालीको ज्ञान, सीप, प्रविधि, पैसा तथा मान्छेलाई उपयोग गर्ने आवश्यकता अनुसार। स्वदेशमै गरिखाने विद्यार्थी उत्पादन गर्ने सोच अनुसार। शास्त्रीय, लौकिक तथा आधुनिक ज्ञान, विज्ञान, एवं प्रविधि जोडेमा मात्र पहिचान सुनिश्चित हुन्छ भन्ने मान्यता अनुसार। निजी, सार्वजनिक, गुठी, धार्मिक, तथा सहकारी जुन खाले विद्यालयमा पढे पनि यी मानकहरू उपयोगी छन् भन्ने विश्वास अनुसार।
यी र यस्ता प्रश्न, मान्यता तथा विश्वासका आधारमा यो शैक्षिक गुणस्तरको मानक/मापदण्ड बनाइएको छ।
अध्ययन-अनुसन्धान तथा अनुभवका आधारमा बनाइएको यो शैक्षिक गुणस्तरको मानक अन्तरगत सन्दर्भमा शैक्षिक गुणस्तर के हुने ? लगानीमा शैक्षिक गुणस्तर के हुने ? प्रक्रियामा शैक्षिक गुणस्तर के हुने ? उपलब्धिमा शैक्षिक गुणस्तर के हुने ? त्यसको जिम्मेवारी कसले लिने ? भन्ने कुराहरू समेटिएका छन्। यस बाहेक अबको विद्यार्थीलाई स्वमूल्याङ्कनतर्फ उन्मुख गराउनुपर्छ भन्ने मान्यतामा यो मानक बनेको छ। यस क्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूपले तोकेको तहगत सक्षमतालाई पनि ध्यान दिइएको छ । त्यसैले, शिशु कक्षा देखि नर्सरी, केजीसम्मको एउटा मानक बनाइएको छ। कक्षा १-३ का लागि अर्का मानक छ। यसै गरी कक्षा-४ र ५ का लागि बेग्लै मानक छ। कक्षा ६-८ का लागि अर्कै मानक छ। सोही कुरा कक्षा–९ र १० तथा ११ र १२ मा पनि लागू हुने प्रबन्ध गरिएको छ। यसो गर्नाले तत् तत तहमा विद्यार्थीको शैक्षिक गुणस्तर नाप्न उनीहरूलाई नै स्वमूल्याङ्कन गराउन सकिन्छ भन्ने दृष्टिकोण राखिएको छ। यसका लागि डिजिटल तथा नन डिजिटल सामग्री बन्ने बनाउने अपेक्षा गरिएको छ।
बाग्मती प्रदेश सरकार, शिक्षाको निम्ति राष्ट्रिय अभियान, शिक्षा नीति तथा अभ्यास केन्द्र, अ/गैसस, पाठ्यक्रम विकास केन्द्र, मानव स्रोत विकास केन्द्र, नेपाल शिक्षक महासङ्घ, तथा विद्यालय व्यवस्थापन समिति महासङ्घका पदाधिकारीहरूको सुझाव तथा टिप्पणीले यो शैक्षिक गुणस्तरको मानकलाई थप आकारित गराएको छ। यो मानकलाई विद्यालय, पालिका, अ/गैसस, प्रदेश सरकारहरूले प्रयोग गर्ने, आवश्यक फेरबदल गर्ने तथा कार्यान्वयन गर्ने काम समेत अपेक्षा गरिएको छ। यस कार्यमा शिक्षक मासिकको पहलप्रति आभारी छौं। कृतज्ञता व्यक्त गर्छाैं।
विस्तृत रिपोर्टको लागि यहाँ क्लिक गर्नुहोस् विद्यालय तहको शैक्षिक गुणस्तरको मानक



