नेपालमा चट्याङको जोखिम
केही वर्षदेखि जून २८ तारिखलाई अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस (International Lightening Safty Day) का रूपमा मनाउने गरिएको छ। चट्याङका दृष्टिकोणबाट उक्त दिनलाई ‘कालो दिवस’को रूपमा पनि लिइन्छ किनभने सन् २०११ को २८ जूनका दिन युगान्डाको किर्वंदोंगो (Kirvandongo) गाउँको एक प्राथमिक स्कूलमा चट्याङ पर्दा त्यहाँ एउटै कक्षाका १८ बालबालिकाको तत्काल मृत्यु हुनुका साथै ३८ जना घाइते भएका थिए।
सोही वर्ष अर्थात् सन् २०११ को अक्टोबरमा नेपालमा चट्याङ सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन भयो; जसमा १८ देशका १२० जना वैज्ञानिकहरूको सहभागिता थियो। त्यसमा युगान्डाका प्रतिनिधि पनि सहभागी थिए। सोही सम्मेलनले युगाण्डाको विद्यालयमा चट्याङ पर्दा मारिएका १८ जना छात्र-छात्रा समेतको सम्झ्नामा हरेक वर्ष ‘२८ जून’ लाई विश्व चट्याङ सुरक्षा दिवसका रूपमा मनाउने प्रस्ताव गर्यो। कोभिड-१९ को महामारी चलिरहेको बेला सन् २०२० को जून २८ मा अनलाइन प्लेटफर्ममा विश्वव्यापी रूपमा चट्याङ सुरक्षा दिवस मनाइयो, जसको थालनी नेपालबाटै भएको थियो। त्यसपछि यो दिवस मनाउने क्रम नियमित भएको छ।
चट्याङ संसारका प्रायः सबै मुलुकमा दोहोरिने एक प्राकृतिक घटना हो। यसबाट प्रति वर्ष औसतमा २४ हजार मानिसको ज्यान जान्छ र लगभग २ लाख ५० हजार जना घाइते हुन्छन्। त्यस्तै चट्याङबाट संसारमा प्रति वर्ष लगभग १० लाख पशु-चौपायाको मृत्यु हुन्छ भने खर्बाैं रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति हुन्छ।
विश्व मानचित्रमा मापन गर्दा, सबैभन्दा बढी चट्याङ अफ्रिकी मुलुक कंगोमा परेको देखिन्छ भने दोस्रो स्थान दक्षिण अमेरिकाको भूमध्यरेखीय क्षेत्रमा देखिन्छ। त्यसैगरी धेरै चट्याङ पर्ने दृष्टिकोणबाट तेस्रो स्थान दक्षिण पूर्वी एशियाका मुलुकहरू- इण्डोनेसिया, सिंगापुरका साथै दक्षिणएशियाको हिमाली क्षेत्र देखिन्छ।
चट्याङले दक्षिण एशियाली मुलुकहरूमा मात्र वर्षेनि लगभग ४,००० मानिसको ज्यान लिन्छ। यसमध्ये भारतमा सबैभन्दा बढी वार्षिक २५०० देखि ३५०० जनाको ज्यान चट्याङबाट जान्छ। त्यस्तै, चट्याङमा परेर बंगलादेशमा २५० देखि ४५० जनाले ज्यान गुमाउँछन्। नेपालमा चट्याङमा परी ज्यान गुमाउनेको संख्या वार्षिक १०० को हाराहारीमा छ भने श्रीलंकामा ५० जनाले प्रति वर्ष चट्याङबाट ज्यान गुमाउँछन्। पाकिस्तान, भूटान र माल्दिभ्सको आधिकारिक तथ्यांक उपलब्ध छैन।
नेपालमा जलवायुजन्य विपद्हरूमध्ये चट्याङ मानवीय क्षति गर्ने एउटा प्रमुख विपद् भए तापनि यस विषयप्रति धेरै ध्यान पुगेको पाइँदैन। जबकि गृह मन्त्रालयको विपद् जोखिम न्यूनीकरणको पोर्टलको तथ्याङ्क अनुसार चट्याङ नेपालमा सबैभन्दा घातक प्राकृतिक प्रकोप रहेको पाइन्छ । सो तथ्यांक अनुसार चट्याङका कारण नेपालमा वार्षिक औसत १०० जनाको ज्यान जानुका साथै ३०० जनाको हाराहारीमा घाइते र १००० बढी चौपायाको क्षति हुने गरेको छ। वास्तविक संख्या उपर्युक्त तथ्यांक भन्दा बढी हुनसक्ने अनुमान पनि गर्न सकिन्छ। किनभने चट्याङबाट प्रत्यक्ष वा परोक्ष रूपमा जन-धनको क्षति हुने गर्दछ, तर परोक्ष रूपमा हुने क्षतिको लेखाजोखा नगण्य हुन्छ। चट्याङका कारण विद्युतीय सर्ज उत्पन्न भई उपकरणको क्षति, विद्युत् प्रसारण सेवामा विच्छिन्नता, सञ्चार सेवामा अवरोधदेखि विद्युतीय उपकरणमा आगलागी भई मानव घर-बस्ती नै ध्वस्त हुने समेत गर्दछन्। यसरी परोक्ष रूपमा हुने क्षतिलाई प्रायः चट्याङसँग जोडेर मूल्याङ्कन गरिंदैन।
नेपाल र चट्याङ
नेपाल चट्याङका दृष्टिकोणले उच्च जोखिममा रहेको देश हो। विश्वका विभिन्न २९ देशको चट्याङजन्य मानवीय क्षतिलाई केलाउँदा प्रति १० लाख जनसंख्यामा नेपालमा प्रति वर्ष चार जनाको चट्याङका कारण मृत्यु हुने गर्दछ । उक्त संख्या दक्षिण एशियाली मुलुकहरूमध्ये सर्वाधिक हो भने, विश्वमा चौथो।
नेपाल चट्याङको उच्च जोखिममा रहनुका धेरै कारण हुन सक्छन्, तथापि केही मुख्य कारणहरू यस प्रकार रहेका छन्:
१) भौगोलिक अवस्थिति
२) समूहमा नभई छरिएर हुने घटनाहरू
३) सुरक्षित संरचनाको अभाव
४) जोखिम सम्बन्धी चेतनाको अभाव
५) अत्यधिक मानव शक्तिमा निर्भर कृषि प्रणाली
६) ग्रामीण समाजमा व्याप्त अन्धविश्वास
७) चट्याङ सम्बन्धी प्राविधिक जनशक्तिको अभाव
८) नीतिको अभाव
नेपालमा चट्याङ प्रायः सबै स्थानमा पर्ने गर्छ, तथापि सबैभन्दा बढी चट्याङ दक्षिण पूर्वी भूभाग (झपा, मोरङ) क्षेत्रमा पर्ने गरेको एक अनुसन्धानले देखाएको छ। त्यस्तै तराई तथा चुरे भूभागमा पनि अत्यधिक चट्याङ पर्ने गरेको पाइन्छ। मानवीय क्षतिका दृष्टिकोणमा तराई-मधेश भन्दा चुरे तथा महाभारत भूभागमा अधिक क्षति भएको पाइन्छ।
चट्याङ ऋतु अनुसार भिन्न मात्रामा पर्ने गर्दछ। नेपालमा सबैभन्दा बढी चट्याङ वैशाख र जेठ महीनामा पर्छ । मनसुन (वर्षा) याममा केही कम हुन्छ भने भदौ महीनामा पुनः चट्याङको मात्रा बढ्छ । तर मंसीर/पुसमा चाहिं चट्याङ विरलै पर्छ।
चट्याङको स्रोत
चट्याङ सामान्यतया, बादलका दुई हिस्सा र बादल तथा जमीनका बीच बहने ठूलो परिमाणको विद्युतीय करेन्ट हो। सामान्य अवस्थामा कुचालकका रूपमा रहने बादल तथा वायुमण्डलले ठूलो परिमाणको विद्युतीय चार्जको प्रवाहलाई थेग्न सक्दैन र फाट्दछ। यस क्रममा करीब ३ हजारदेखि ३ लाख एम्पियरसम्मको करेन्ट बग्ने गर्दछ। उक्त परिमाणको करेन्टको प्रवाहको कारण त्यसको प्रवाह पथमा रहेका वायुमण्डलका विभिन्न ग्याँस तथा कणहरूको तापक्रम एकाएक बढेर करीब ३० हजार डिग्री सेल्सियससम्म पुग्न जान्छ्र। अचानक वायुमण्डलका ग्याँसका अणुहरूको तापक्रम बढेर आगोको मुस्लो बन्दा उनीहरूको आयतन बढ्न जाँदा ठूलो विस्फोटको आवाज निस्कन्छ, जसलाई गर्जन (Thunder) भनिन्छ।
यसरी, ठूलो परिमाणको विद्युतीय करेन्ट बादलदेखि जमिनसम्म प्रवाह हुँदा उक्त करेन्टको बाटोमा पर्ने विभिन्न वस्तुहरू, जस्तै बालुवा, ढुंगा, धातुका टुक्रा आदि पग्लिन्छन् र केही समय पश्चात् पुनः जमेर विभिन्न आकृति बन्छन्। तिनलाई हामी कतै बन्चरो, कतै फाली त कतै गोलो ढुंगाको आकारमा देख्ने गर्छौं। यिनै विभिन्न आकृतिका वस्तुलाई चट्याङबाट झ्रेको बज्र; बन्चरो आदि भन्ने गरिन्छ। यसलाई नै बज्रपात पनि भनिन्छ। धेरै ठूलो परिमाणको करेन्ट प्रवाहका कारण पृथ्वीमा मानव, चौपाया र भौतिक संरचनाको क्षति हुने गर्दछ।
क्षति न्यूनीकरणका उपाय
चट्याङ एक प्राकृतिक घटना हो। यसलाई रोक्न सकिंदैन। तर चट्याङबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ। त्यसनिम्ति चट्याङको सही प्रकृति अथवा यसको कारण, स्वरुप र सीमा आदिबारे आम मानिसलाई जानकारी हुनु जरूरी हुन्छ।
चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि भौतिक संरचनाहरू जस्तै घर, विद्यालय, कार्यालय, अस्पताल, होटल लगायत अन्य स्थलहरूमा चट्याङ प्रतिरक्षा सामग्री जडान गरी ती संरचनाहरूलाई सुरक्षित बनाउन सकिन्छ। चट्याङ प्रतिरक्षी सामग्री भन्नाले तामा, आल्मुनियम तथा जी.आई. जस्ता धातुका निश्चित मोटाइका पाता वा रडहरू भन्ने बुझनुपर्दछ। ती सामग्रीको सही प्रयोगले चट्याङको करेन्टलाई सरल बाटो प्रदान गरी भौतिक संरचना तथा सोभित्र रहेका वस्तुहरूलाई सुरक्षित रहन मद्दत गर्दछन्। तर चट्याङका प्रतिरक्षा सामग्रीहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप जडान गरिनुपर्छ।
चट्याङ प्रतिरक्षा प्रविधिः
चट्याङप्रतिरोधी प्रविधिलाई तीन भागमा विभाजन गर्न सकिन्छ।
१. एयर टर्मिनेसन सिस्टमः
घर वा संरचनाको सबैभन्दा अग्लो भागमा जडान गरिने धातुको रड वा पाता, जसले बादलदेखि जमिनतर्फ बहँदै गरेको विद्युतीय करेन्टलाई संरचनामा पुग्नु अगावै ग्रहण गर्छ, त्यसलाई एयर टर्मिनेसन सिस्टम भनिन्छ। उक्त कार्यका लागि तामा वा आल्मुनियम वा जी.आई.का रडको प्रयोग गर्न सकिन्छ। हाम्रा पूर्वजले त्रिशूलका रूपमा यस्तो विधि विभिन्न संरचनामा प्रयोग गरेको पाइन्छ। एयर टर्मिनेसन सिस्टमका लागि सबैभन्दा प्रभावकारी सामग्री धातुका ८ मि.मि. भन्दा मोटा रड (डन्डी), तार हुन्।
२. डाउन कन्डक्टर सिस्टम:
एयर टर्मिनेशन सिस्टमले ग्रहण गरेको विद्युतीय करेन्टलाई, संरचनालाई सुरक्षित राख्दै जमीनसम्म अवतरण गराउने हिस्सालाई डाउन कन्डक्टर सिस्टम भनिन्छ। उक्त सिस्टममा पनि उपरोक्त धातुहरूको माध्यमबाट कुनै धातुको रड वा पाता कम्तीमा संरचनाको दुई ठाउँबाट जमिनसम्म पुर्याउनुपर्दछ। धातुको पाता वा रडको मोटाइको व्यास ८ मि.मि. वा सतहको क्षेत्रफल ५० वर्ग मि.मि. वा सोभन्दा बढी हुनुपर्दछ।
३. अर्थ टर्मिनेसन सिस्टम:
बादलदेखि जमिनसम्म पुर्याइएको ठूलो परिमाणको करेन्टलाई जमिनको सतहमुनि कुनै मानवीय वा अन्य क्षति नहुने गरी विसर्जन गर्नुपर्छ। उक्त कार्यका लागि डाउन कन्डक्टर सिस्टमसँग जोडेर तामाका रड वा पाता जमिनको सतहभन्दा दुई मिटरभन्दा बढी गहिराइमा पुर्याउनुपर्दछ।
स्मरण रहोस्; चट्याङबाट जोगाउने कुनै जादुई उपकरण छैन। सामान्य विज्ञानको सिद्धान्तका आधारमा प्रतिरक्षा प्रणालीका मापदण्ड चाहिं बनेका छन्, जसलाई पालना गरेर हाम्रा घर तथा संरचनाहरू सुरक्षित बनाउन सकिन्छ । बजारमा पाइने विभिन्न नामका आकर्षक उपकरणहरू जसलाई भ्रामक प्रचार सहित विविध अरेस्टर नामबाट बिक्री गरिन्छ, तिनीहरूको कुनै वैज्ञानिक पुष्ट्याइँ छैन। तसर्थ, त्यस्ता उपकरणबाट प्रभावित नहुनु राम्रो हुन्छ।
अध्यक्ष, दक्षिण एशियाली लाइटनिङ नेटवर्क