विद्यालयमा चरा अभ्यास
नेपालको अवस्थिति र भौगोलिक विशिष्टताका कारण यहाँ लगभग ९०० प्रजातिको चरा पाइने विभिन्न समयको अभिलेखीकरणबाट देखिएको छ । विभिन्न संघ/संस्था र विज्ञबाट नेपालमा चरा प्रजातिको सङ्ख्याबारे विभिन्न कालखण्डमा अनेकौं अध्ययन, अनुसन्धान भएका छन् ।
नेपालमा चरा अनुसन्धानको आधुनिक इतिहास सन् १७९३ मा कर्नेल कर्कप्याट्रिकबाट सुरु भएको हो । नेपालका चरा अनुसन्धानमा ब्रायन हफ्टन हड्सन्को योगदान अतुलनीय छ भन्दा अतिशयोक्ति नहोला । यिनी लगभग २३ वर्ष बेलायत सरकारको आवासीय प्रतिनिधिका हैसियतमा काठमाडौँ बसेका थिए । काठमाडौँ र दार्जिलिङको करीब ३६ वर्षे लामो बसाइमा यिनले ७९ प्रजातिका चरा विश्वसामु नयाँ चराका रूपमा प्रस्तुत गरे । नेपालमा सन् १८०० को मध्यतिर अभिलेखीकरण गरिएका आठ प्रजातिका चरा लोप भएको मानिन्छ, किनभने ती चरा प्रजाति १७० वर्ष यता देखिएका छैनन् । सन् २०१६ र २०१७ मा गरिएका अनुसन्धानले नेपालमा रहेका चराहरूमध्ये २० प्रतिशत (पाँचमा एक) राष्ट्रिय स्तरमै सङ्कटमा परेका देखाएका छन् । त्यसताकाको अध्ययनले नेपालका १६८ प्रजातिलाई लोपोन्मुख भनेर सङ्कटमा पर्नका कारण पनि विस्तृत रूपमा दिइएको छ।
क्षेत्रगत हिसाबले तराई र भित्री मधेसमा पाइने चरा प्रजाति बढी सङ्कटमा परेका छन् । सो क्षेत्रमा मान्छेका वस्ती बाक्लो भएका कारणले चरा प्रजाति सङ्कटमा परेका हुन् । जनघनत्व कम भएका पहाडी क्षेत्र र हिमाली क्षेत्रका चरा तुलनात्मक रूपमा कम सङ्कटमा परेका छन् । त्यस्तै, सिमसार र घाँसेमैदानजस्ता वासस्थानमा आश्रित चरा पनि सङ्कटमा परेका छन् । वनमा आश्रित चरा केही कम सङ्कटमा छन् । चराका लागि महत्वपूर्ण घाँसेमैदान तराईका कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सीमित रहेका र ती घाँसेमैदान पनि समस्याग्रस्त रहेका छन् । आधाभन्दा बढी सिमसार, जो जलपन्छीका लागि उपयुक्त बासस्थान हुन्, ती सबै संरक्षित क्षेत्र बाहिर अवस्थित छन् । सङ्कटमा परेका २० प्रतिशत चरा प्रजाति मूलतः वन, सिमसार, घाँसेमैदान, कृषिजन्य भूमि तथा खुला क्षेत्रमा विचरण गर्ने वर्गका छन्। यस्ता केही चरा प्रजाति हाम्रा गाउँठाउँ, घर र विद्यालय वरपर पनि पाइन्छन्।
चरा अवलोकन तथा अनुसन्धान
पृथ्वीका अनेक प्राणीमध्येका एक वर्ग चरा हुन्। चराको अध्ययन गर्नका लागि यिनको अवलोकन गर्नुपर्ने हुन्छ । चराको अवलोकन गर्नु भनेको हामी मानवसमुदाय जस्तै अर्को एक प्राणी समुदायका बारेमा बुझ्नु हो । उनीहरूको चालचलन, रहनसहन, खानपानबारे बुझ्दा हामीमा रहेको प्रकृतिको बुझाइ फराकिलो हुन पुग्छ । चराको अध्ययनबाट यस पृथ्वीमा हाम्रो भूमिका र हाम्रो स्थान के रहेछ भन्ने बुझ्न सहयोग मिल्छ । यसले हामीलाई थप ऊर्जा मिल्छ। भौगोलिक र क्षेत्रगत हिसाबले विद्यालय कस्तो ठाउँमा रहेको हुन्छ, सोहीअनुसारका चरा प्रजाति देख्न सकिन्छ । वन क्षेत्रमा चराको सङ्ख्या बढी हुन्छ किनभने नेपालमा पाइने चराको मुख्य वासस्थान वन क्षेत्र नै हो । गाउँ-बस्तीमा चराको सङ्ख्या अन्य वासस्थानभन्दा कम हुन्छ ।
चराको अध्ययन गर्नुअघि हामीले केही तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीलाई सर्वप्रथम चराबारे जानकारी दिने पुस्तक-पुस्तिका आवश्यक पर्छ । हामीले देखेको चराको बारेमा जानकारी टिप्न कापी कलम बोक्नुपर्ने हुन्छ । दूरविन चरा अवलोकनका लागि नभई नहुने कुरा हो । बजारमा सस्तो, महङ्गो जस्तो पनि दूरविन पाइन्छ । हामीले मध्यमस्तरको चार-पाँच हजारमा पाइने दूरविनले पनि चरा अवलोकन सजिलैसँग गर्न सक्छौं । महङ्गो दूरविन नै चाहिन्छ भन्ने छैन । दूरविनले टाढाटाढाको दृश्य देखिने तथा चराको गतिविधि पनि प्रस्ट हुने हुँदा यो उपयोगी मानिन्छ । दूरविनबाट नियाल्दा चराको भित्री रङ्ग, पखेटाको अवस्था, टाउकाको चिन्ह, आँखा, ठोंड र खुट्टा कस्ता छन्, त्यो पनि देखिन्छ । हाउभाउ पनि प्रस्ट हुन्छ । चरा अवलोकन गर्न जाँदा हामीले मधुरो रङ्गको कपडा लगाउनु पर्दछ । बढी चम्किलो र गाढा रङ्गको आँखा बिझाउने लुगा लगाएर यताउति गर्दा चरा हामीसँग डराउन सक्छ । हाम्रो कुनै पनि क्रियाकलापले चरालाई व्यवधान नपुगोस् भन्नेमा हामी सचेत हुनुपर्दछ । चरा ओथारो बस्ने समयमा निकै संवेदनशील हुन्छ । त्यसबेला अझ बढी ध्यान दिई यिनको अवस्थाको अझ बढी ख्याल गर्नुपर्छ।
चरा अवलोकनका लागि चरा पाइने ठाउँमा पुगरे होहल्ला नगरीकन शान्तसँग कुर्नुपर्छ । हाम्रो क्रियाकलापले उनीहरूलाई कुनै हानी पुग्दैन भन्ने विश्वास भएपछि उनीहरूले हामीलाई देखे पनि नडराइकन आफ्नो दैनिक क्रियाकलापमा लाग्छन् र हामी निर्वाध रूपमा यिनको अवलोकन गर्न पाउँछौं ।
चरा अवलोकनका क्रममा चराको रंग, ठोंडको आकार-प्रकार, चराको वनावटलाई नियालनुपर्ने हुन्छ । यसले निकाल्ने आवाज ध्यानपूर्वक सुन्नुपर्छ । प्रत्येक चराको आफ्नैखाले विशिष्ट आवाज हुन्छ, जसबाट यिनलाई सजिलै पहिचान गर्न सकिन्छ । आवाज सुनेकै भरमा लगभग ७० प्रतिशत चरा चिन्न सक्ने व्यक्तिलाई चरा अवलोकनमा पारङगत भएको ठानिन्छ।
चरा अवलोकनका लागि उपयुक्त समय बिहान र अपरान्ह हो । झिसमिसेपछिको उज्यालोमा चराको गतिविधि उच्च हुन्छ । मध्यदिनमा गर्छन्। त्यसपछि अपराह्नमा फेरि चराको गतिविधि बढ्छ। साँझको समय चराको गुँड पस्ने बेला हो । त्यो बेला हामीले सकेसम्म चरालाई कुनै व्यवधान पुर्याउनु हुँदैन । चराले आफ्नो क्षेत्र निर्धारण गर्न कराउने र चिच्याउने गर्छ । आफ्नो क्षेत्रमा आउने अरु चरालाई धपाउन खोज्छ । त्यो क्रममा आक्रमण पनि गर्छ ।
विरुत तथा गितारु चरा
चरालाई उसको कराउने वा गाउने क्षमताका आधारमा दुई वर्गमा वर्गीकरण गरिएको छ, विरुत प्रजाति र गितारु । विरुत
प्रजातिको चराको बोली कम विकसित भएको हुन्छ भने गितारु प्रजातिका चराले विभिन्न बोली र गीतझैँ लय हालेर बोल्ने गर्छन् । केही गितारु चराको आवाजमा उच्च विविधता हुन्छ र तिनले अन्य चरा प्रजातिको आवाजको पनि नक्कल गर्न सक्छन्। नेपालमा गितारु र विरुत दुवैथरीका चरा बराबरी नै पाइएका छन्।
विरुत प्रजातिमा कालिज, डाँफे, जलपन्छी, शिकारी चरा, माटिकोरे, काठफोर, ढुकुर, परेवा, कोइली पर्छन्। गितारु प्रजातिमा धोबीनी चरा, चाँचर, तितु, बगेडी, काग, मैना, भँगेरा, फिस्टालगायतका प्रजाति पर्दछन् । चरा अवलोकनको क्रममा यी वर्ग विशेषतालाई ख्याल गनुपर्छ ।
हाम्रो घर वरपर पाइने परेवा विरुत प्रजातिमा पर्छ । परेवाको आवाजमा विविधता कम हुन्छ तर पनि उसको आवाजलाई ध्यान दिने हो भने केही विविधता पाइन्छ। सुगा अर्को विरुत सदस्य हो । विरुतमा पर्ने भए पनि यसलाई पिंजडामा राखेर मानिसका विभिन्न बोली बोल्न सिकाउने चलन हामीले देखेकै छौं । पिंजडाको सुगाको सन्दर्भ आउँदा, चरालाई यसरी बन्दी बनाइ पखेंटा कुज्याएर राख्नु राम्रो होइन । वन्यजन्तुलाई यिनको प्राकृतिक बासस्थानमै बाँच्न दिनुपर्छ ।
हामी वरपरका गितारु चरामा काग, भँगेरा, धोबीचरा, मैना आदि पर्छन् । प्रायजसो सुनिने कागको आवाज उसले आफ्नो साथीसँग सम्पर्क बनाइराख्नका लागि निकाल्ने गरेको हुन्छ । नियमित खान पाउने काग समयमा अभ्यस्त हुन्छन् र समयमै खानपाएनन् भने विभिन्न आवाज निकालेर खानाको माग गर्छन्। घरमा नौलो मान्छ आएमा वा शिकारी जनावर आएको जनाउ दिन पनि यिनीहरू समूह बनाई छटपटीका साथ कराउँछन् । कसैले खेद्ने वा झटारो हान्नेजस्ता कार्य गर्यो भने एक्लै वा थप काग बोलाई कराएर प्रतिवाद गर्छन् । महिनौंसम्म यो कुरा यिनले सम्झनामा राख्ने र यसो गर्ने मानिस देख्नेबित्तिकै कराएर सङ्केत गर्छन् ।
हाम्रो घर वरपर आउने भँगरोको आवाजमा पनि विविधता हुन्छ । तिनले विभिन्न क्रिलाकपालमा संलग्न हुँदा भिन्न–भिन्न आवाज निकाल्ने गर्छन् । जस्तै आफ्ना साथीसँग सम्पर्कमा रहन च्यार्रच्यार्र गर्छन् भने सङ्कटमा परेका बेला छिटोछिटो गरी चर्को आवाजमा कराउँछन् । धोबिनीचरोले पनि आफ्नो गीतका माध्यमबाट आफ्नो क्षेत्रको बचाउ गर्ने गर्छ र अन्य धोबिनीचरालाई उसको क्षेत्रभन्दा टाढा रहन सङ्केत गर्छ । गोडमेल गरिरहेका ठाउँमा आएर उसले मसिनो स्वरमा आवाज निकालेर बोलिरहेको हुन्छ, मानौं ऊ हामीसँग आफ्ना आहाराबारे कुरा गरिरहेको छ अथवा जमिन खोसे्रर किराफट्याङ्ग्रा खोज्न सजिलो बनाइदिएकोमा धन्यवाद भन्न खोजिरहेको छ । सङ्कटका बेला चाहिँ धोबिनीचरा भद्दाखाले आवाज निकालेर कराउन थाल्छन् ।
चरालाई धेरै विधाअनुसार वर्गीकरण गर्ने गरिएको छ । त्यसमध्येको एउटा अर्को वर्गीकरण हो– नाङ्गै जन्मिने निडिकुलस् (Nidicolous) र प्वाँखसँगै जन्मिने निडिफुगस् (Nidifugous) । नाङ्गै जन्मिने निडिकुलस प्रजातिका चरामा सुगा, ढुकुर, परेवा, शिकारी चरा पर्छन् भने जन्मँदा भुवा/भुत्लासँगै जन्मिने चरामा धेरै जलपन्छी र बटाई, तित्रा, कालिज आदि पर्छन् । धेरैचराका प्रजाति निडिकलस् वर्गमा पर्छन् भने केही मात्र निडिफुगस् हुन्छन् । सम्पूर्ण गितारु चरा निडिकुलस् हुन्छन् भने केही विरुत प्रजातिका चरा मात्र निडिफुगस् हुने गर्छन् । निडिफुगस्को गुँड प्रायःजसो जमिन वा पानीको सतहमा हुने गर्छ । यिनीहरू शिकारबाट बच्न कोरलिए लगत्तै हिंड्डूल गर्न सक्षम र शत्रुले आक्रमण गरेमा त्यसबाट बच्न सक्ने खालका हुन्छन् ।
बच्चा कोरल्ने बेलामा चरालाई धेरै चाराको आवश्यकता हुन्छ । चराको आहारा पचाउने र त्यसलाई शक्तिमा बदल्ने क्षमता धेरै उच्च हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनअनुसार एउटा फिस्टो प्रजातिको चराले दिनहुँजसो आफ्नो तौलको दोब्बर मात्रामा किरा खाने गर्छ । यसरी चराले किराफट्याङ्ग्रा नखाइदिने हो भने संसारमा कति किरा हुन्थे होलान् । चराले मानिसलाई पुर्याउने फाइदामा यो पनि एक हो । यिनले यसलगायत पराग-सेचन, बीऊ छर्ने कामका साथै आफ्नो उपस्थिति र मधुर आवाजको माध्यमबाट हामीले थाहा नपाइकनै हाम्रो शान्ति र र स्वस्थ जीवनका लागि मानिसलाई अमूल्य गुण लगाइरहेका हुन्छन् ।
चरामा बसाइँ-सराइ
बसाइँ-सराइ चराको जीवनचक्रको एक अभिन्न क्रियाकलाप हो । नेपालमा पाइने सबै प्रजातिका चरा उड्न सक्ने क्षमता राख्छन् । चराको उडान स्वच्छन्दताको प्रतीक मानिन्छ । प्रायजसो सबै प्रजातिका चरा केही न केही रूपमा एक ठाउँबाट अर्को ठाउँ विचरण गरेकै हुन्छन् । त्यो खाना खोज्नका लागी होस् वा प्रणयका लागि, जाडो छल्नका लागी होस् वा शत्रुको चाप कम गर्नलाई होस्, चरा गतिशील रहन्छन् । धेरै कम चरा मात्र यस्ता छन्, जुन एकदम कम चाहार्ने गर्छन् । करीब २०० चरा प्रजाति निकै लामो दूरी तय गरी नेपाल आउने गर्छन् । यिनमा हिउँदे र ग्रिष्मकालका आगन्तुक चरा पर्छन् ।
हिँउदमा चरा अवलोकन गर्दा उसले खानाका लागि गर्ने क्रियाकलाप देख्न सक्छौं । यो बेला कतिपय चराको आराम गर्ने समय हो । नेपालका सालाखाला ९० प्रतिशत चराको बच्चा कोरल्ने समय वसन्त र ग्रिष्म ऋतु हो । वसन्त ऋतुमा धेरै चराले बच्चा कोरल्ने गर्दछन् । यो बेला पोथीलाई आकर्षित गर्न भालेले गीत गाउँछन् । गीत गाएर आफ्नो उपस्थिति जनाउन तथा कुनै निश्चित क्षेत्रको एकाधिकार स्थापित गर्न कैयौं चरा प्रजाति यो समयमा तल्लीन रहन्छन् । वसन्त ऋतु अर्थात् चैत–वैशाखमा हिउँदे आगन्तुक चरा चरणबद्ध तरिकाले आ-आफ्ना बच्चा कोरल्ने स्थानतिर लाग्ने समय हो । हिउँदे आगन्तुक चरा उत्तरी भेगबाट नेपाल आउने गर्छन् र नेपाल बसुन्जेल खानपानमै दिनचर्या बिताउँछन् । यो ऋतु बच्चा कोरल्न दक्षिणतिरबाट नेपाल पस्ने चराका लागि पनि सुरु समय हो । कटुस टाउके मुरलीचरा फागुनको मध्यमा नेपाल भित्रिइसकेको हुन्छ । अरु प्रजाति पनि विस्तारै आउन थाल्छन् ।
गृष्म ऋतु थप केही आगन्तुक चराको नेपाल प्रवेश गर्ने समय हो । टाढाटाढाबाट चरा बच्चा कोरल्न नेपाल भित्रिने गर्छन् । गृष्म ऋतु आगन्तुक चराको अवलोकनका लागि उपयुक्त समय हो । जुरे कोइली नेपाल छिर्ने अन्तिम ग्रिष्म आगन्तुक चरा हो । थुप्रै ग्रिष्म आगन्तुक चराको बसाईं–सराइ मनसुनपूर्वको अवस्थासँग गाँसिएको हुन्छ । कतिपय चराको प्रणयको समय पनि गृष्म ऋतु नै हो । यो समयमा कतिपय प्रजातिका चराको नयाँ प्वाँख पलाउँछ । यो समयमा चरा अवलोकन निकै रमाइलो हुन्छ ।
वर्षातको समयमा भने माउले बच्चालाई सँगै लिएर हिँड्ने बेला हो । यो समयमा बट्टाइ, लुइँचे, मजुर, कालिजलगायतका चरा प्रजातिको माउले बच्चालाई हिँडाउन, डुलाउन थाल्छन् । साना शरीर भएका चराले कहिलेकाहीँ दोस्रो बेतका बच्चा कोरलेर खुवाउने समय पनि यही हो । गौंथली, भँगेरा र जुरेलीजस्ता साना चराले त सजिलै दुई बेतसम्म बच्चा कोरल्न भ्याउँछन् ।
शरद् ऋतु लाग्दासम्म, ढिलागरी बच्चा कोरल्ने चराले पनि बच्चा कोरलिसकेका हुन्छन् । वर्षातको समयमा बच्चा कोरल्ने चरा प्रजातिका नयाँ प्वाँख पलाउँछ । यो समयमा चराका लागि खानेकुरा पनि प्रशस्त उपलब्ध हुन्छ । धेरैजसो चराको मुख्य आहारा किराफट्याङ्ग्रा तथा फलफूल पनि यही समयमा धेरै पाइन्छ । सिमसारमा आश्रित जलपन्छीले बर्खाको बेलामा बच्चा कोरल्छन् । शरद्ऋतुमा पुग्दा तिनका बच्चा हुर्किसकेका हुन्छन् ।
हामीले चराका यी गतिविधि अध्ययन र अवलोकन गर्न सक्यौं भने चराको अतिरिक्त अन्य जीवको जीवनचक्र, वासस्थान, आहारा तथा प्रकृतिमा प्राणीको सहअस्तित्वको बारेमा पनि सजिलै बुझ्न र बुझाउन सक्छौं ।
चरा अवलोकनका लागि उपयुक्त स्थान
चराको अवलोकनका लागि चउर, खेत, बारी वा अन्य खुला ठाउँ रोज्नुपर्छ । त्यस्तो ठाउँमा चरालाई प्रस्ट रूपमा र लामो समयसम्म देख्न सकिन्छ । वनमा आश्रित चरा हेर्न सुरुका दिनमा नजिकैका माउ रूख भएका ठाउँ, धार्मिक वन, खोल्साका झाडी उपयुक्त हुन्छन् ।
हिउँदको बेलामा विद्यालय वा समुदायमा भएको पोखरी, ताल-तलैया र धान काटिसकिएको खेतमा चरा अवलोकनका लागि जान सकिन्छ । लामो समय चरा त्यस्तो ठाउँमा खेल्न र आहारा खान आउने हुँदा अवलोकन गर्न पनि सहज हुन्छ ।
चरा अवलोकनका लागि विद्यालयमा भएको इको क्लब, प्रकृति समूह, अतिरिक्त क्रियाकलाप इकाइ गठन गर्न सकिन्छ । कतिपय गाउँ–ठाउँमा चरा अवलोकन समूह- बर्ड वाचिङ ग्रुप बनेको हुन्छ । त्यस्ता समूहसँग पनि सहकार्य गर्न सकिन्छ । त्यस्तै, चराको क्षेत्रमा काम गर्ने स्थानीय संघसंस्थासँग पनि सहकार्य गर्न सकिन्छ । यस्ता केही निकाय नरहेको खण्डमा क्लब, समूह वा संस्था निर्माण गरेरै पनि चराप्रेमीलाई एकीकृत गर्न सकिन्छ ।
चरा अवलोकनका लागि नेपालमा थुप्रै संस्थाबाट सहयोग पाउन सकिन्छ । उदाहरणका लागि प्रदेश १ मा कोशी बर्ड सोसाइटी, मधेस प्रदेशमा मिथिला वाइल्डलाइफ ट्रष्ट, बाग्मती प्रदेशमा नेपाल पन्छी संरक्षण संघ, बर्ड एजुकेशन सोसाइटी, प्रकृतिका साथी, फ्रेण्ड्स अफ बर्ड्स्, नेपाल पन्छीविद संघ, गण्डकी प्रदेशमा पोखरा पन्छी समाज, लुम्बिनी प्रदेशमा बर्दिया नेचर कन्जर्भेशन क्लब र सुदूरपश्चिम प्रदेशमा बर्ड कन्जर्भेशन नेटवर्कमा सम्पर्क गर्न सकिन्छ ।
जब विद्यार्थीलाई चरामा रुचि जाग्छ, तब उनीहरू आफैं चराको बारेमा सोधखोज गर्न थाल्छन् । चराप्रति रुचि जगाउन चरा विषयमा वादविवाद, हाजिरीजवाफ, निवन्ध, कथा, कवितालेखनको काम गराउन सकिन्छ । त्यस्तै, चरासम्बन्धी चित्रकला कोर्ने प्रतियोगिता पनि अर्को प्रभावकारी उपाय हो ।
चरा अवलोकनको महत्व
जैविक विविधताको एक महत्वपूर्ण पक्ष चरा हो । पृथ्वीमा बसोबास गर्ने धेरै प्राणीमध्ये चराको एक विशिष्ट स्थान छ । विश्वका प्राणीमा मेरुदण्ड भएका प्रजाति संख्याको हिसाबमा चरा दोस्रोमा पर्छन् । हाल उपलब्ध तथ्यांक हेर्दा माछाको विधिधता चराको भन्दा दोब्बर देखिन्छ । बर्डलाइफ इन्टरनेशनल र आइयूसीएन्जस्ता विश्वका दुई ठूला अन्तर्राष्ट्रिय संस्थाको तथ्यांकअनुसार विश्वमा ११ हजार १६२ प्रजातिका
चरामध्ये १ हजार ४४५ प्रजाति सङ्कटग्रस्त छन् । यी संस्थाका अनुसार विगत ४०० वर्षमा मानिसले थाहा पाएर अभिलेख राख्न भ्याएका १६४ प्रजातिका चरा प्राकृतिक बासस्थानबाट लोप भएका छन् । विश्व चरा वैज्ञानिकको अर्को समूह इन्टरनेशनल अर्निथोलोजिकल युनियनले विश्वमा १० हजार ९२८ प्रजातिका चरा रहेको बताएको छ ।
यसरी संसारमा यति नै प्रकारको चरा छ भनी यकिन नभए तापनि माछापछिको सबैभन्दा विविध प्रजाति वर्ग त यो हुँदै हो, थप यसको विशेषता स्थलचर नभचर प्राणीमा भने यो सम्पूर्ण मेरुदण्डीय प्राणीभन्दा बढी विविधता भएकोमा पर्छ ।
चरा अवलोकनबाट विद्यार्थीले जैविक विविधताको महइभ्व बुझ्दै पृथ्वीका अनेक प्राणीमध्ये मानव पनि एक प्राणी मात्र भएको कुरा सजिलैसँग बुझ्छन् । चरा अवलोकनका क्रममा संलग्न भएर उनीहरूले पर्यावरण र प्रकृतिको महइभ्व बुझ्छन् । प्रकृतिको महत्व बुझ्दा प्रकृति संरक्षणका लागि उनीहरू सचेत बन्छन् । रूख, पात, जङ्गलको महइभ्व छ भनेर पढाइने सैद्धान्तिक पाठ चरा अवलोकनको एक, दुई घण्टाको अभ्यासका क्रममा विद्यार्थीले पछिसम्म दिमागमा राख्छन् ।
सबै प्राणीको घर पृथ्वी दिनानुदिन क्षयीकरण भइरहेको र यो क्रम नरोकिए मानवलगायतका प्राणीको अस्तित्व नै सङ्कटमा पर्ने दुःखद कुरा कलिला विद्यार्थीलाई सकारात्मक ढङ्गले पढाउन र बुझाउन चरा अवलोकन एउटा प्रभावकारी माध्यम हो । यस्तो पढाइमा उनीहरूले झ्याउ मान्ने छैनन् बरु आफ्नो किशोरवयको जिज्ञासुपनलाई उजिल्याउने छन् । भविष्यमा संरक्षणको नवीन उपाय खोजी गर्न समर्थ हुनेछन् । तसर्थ, चरा अवलोकन विद्यार्थी लक्षित संरक्षणको पहिलो र प्रभावकारी पाइला हो ।
चरा संरक्षण किन ?
चराबिना पृथ्वीको परिकल्पना नै गर्न सकिंदैन । सगरमाथा भन्दा माथिको उचाइदेखि समुद्रको गहिराईसम्म, पूर्व-पश्चिम, हिमाल, पहाड, तराई, दुवै ध्रुवमा, मरुभूमि र सिमसार जहाँ पनि यिनकै बास छ । लाग्छ, मानौं सम्पूर्ण ब्रम्हाण्ड नै यिनको कब्जामा छ । हाम्रो धर्म, संस्कृति, परम्परागत मूल्य र मान्यतामा यिनको पहिचान र विशिष्टताको वर्णन पाइन्छ । केही प्रजातिमा देवत्वको झल्को पाउँछौं र पूजा पनि गर्छौं । हामी प्रकृतिका पुजारीले हृदयदेखि नै यिनको संरक्षणबारे सोच्ने र स्वतःस्फूर्त रूपमा संरक्षणका नियमलाई पालना पनि गर्ने गर्छन्।
तर एक शताब्दी बढी भइसक्यो, बढ्दो जनसङ्ख्याले मानिस र चराले प्रयोग गर्ने बासस्थानमा द्वन्द्वको स्थिति सिर्जना भएको छ । वातावरण प्रदूषित भएको छ, वासस्थान घटेका छन् । फलस्वरुप चरा ठूलो सङ्कटमा परिरहेका छन् । मानिस नभए चरालाई खासै असर पर्नेवाला छैन तर मानिसलाई बाँच्नका लागि चरा चाहिन्छ । यसकारण पनि यिनको संरक्षण जरुरी छ ।
चरा प्रकृतिका अभिन्न अङ्ग र पारिस्थितिकीय प्रणालीको सुचारु सञ्चालनका लागि एक नभई नहुने प्रजाति हुन् । यिनीहरूको सङ्ख्या घटेमा वा मासिएर गएमा प्राकृतिक प्रणाली सङ्कटमा पर्नेछ, जसलाई कुनै पनि वैज्ञानिक वा विकसित मुलुकले व्यवस्थापन गर्न सक्ने छैनन् । कोरोना भाइरस (कोभिड १९) जस्ता र अझ शक्तिशाली महामारीले मानिसलाई पटक-पटक पिरोलिरहनेछ । परागसेचन, वनका वनस्पतिको बीऊ वितरण र एक पारिस्थितिकीय प्रणालीबाट दोस्रो प्रणालीमा शक्तिको उत्सर्जन र वितरण गर्न चराले पुर्याएजस्तो महत्वपूर्ण योगदान अरु कसैले पनि पु¥याउन सक्ने छैन ।
मानिसका लागि चरा मनोरञ्जनका साधन, रोगव्याधी र खतराबाट बचाउने, समाचार आदान-प्रदानका संवाहक, औषधीमूलोका प्रकार, उद्योगका लागि कच्चा पदार्थ, पहिरन र गहनाका साधन, प्राङ्गारिक मल उत्पादन गरिदिने जनावरका रूपमा शताब्दियौंदेखि प्रयोगमा रहे । यिनीहरूले किराफट्याङ्ग्रा खाएर किसानको साथ दिने र मानिसलाई हवाइजहाज र रकेटको सपना देख्न र बनाउन प्रेरणा दिलाउने, अनि अन्त्यमा विश्व-सवार गराउने पंक्षीजगत्को रहस्य वास्तवमा अझसम्म पनि राम्ररी बुझ्न र खुल्न सकेको छैन, त्यो लुकेकै अवस्थामा छ ।
तस्बिर: दृष्टान्त बिंडारी
(वन डिभिजन कार्यालय, राप्ती-मनहरी, मकवानपुरको प्रकाशन ‘वातावरण शिक्षा’-२०७९ बाट सभार।)