शिक्षक  मासिकलाई पुरस्कार र सम्मान

‘समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको प्रवर्धनमा उल्लेखनीय योगदान गरे बापत’ मोरङ, कटहरीको जीवन विकास समाजले शिक्षक  मासिकलाई २०७७ सालको जीवन-विकास पुरस्कार दिएको छ । रु.२ लाख राशीको सो पुरस्कार र प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ जेठ २७ गते शीतलनिवासमा आयोजित एक समारोहमा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाई प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल, आयोजक संस्थाका अध्यक्ष योगेन्द्र मण्डल र पुरस्कार छनौट समितिका संयोजक एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्मा समेतको उपस्थिति थियो ।

जीवन विकास समाजले पुरस्कार रकममा २५ प्रतिशत आयकर कटाएर रु.१ लाख ५० हजार शिक्षक मासिकको खातामा जम्मा गरिदिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार ग्रहण गर्दै सम्पादक दाहाल । साथमा शिक्षामन्त्री देवेन्द्र पौडेल।

यसैगरी, सहकारी संस्था मार्फत शिक्षक  मासिक प्रकाशन गरी यसलाई देशव्यापी रूपमा लोकप्रिय तुल्याउन सफल भएको भनी मोरङकै ‘सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.', विराटनगरले शिक्षक मासिकको प्रकाशक संस्था ज्ञान विज्ञान शैक्षिक सहकारी संस्था लि. तथा पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई रु.५१ हजार नगद पुरस्कार र प्रशंसापत्र सहितको “तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान” प्रदान गरेको छ। यो पुरस्कार तथा सम्मानपत्र २०७९ असार २७ गते विराटनगरमा आयोजित एक विशेष समारोहमा १ नम्बर प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले शिक्षक मासिकका सम्पादक दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।

विराटनगरका पुराना स्वतन्त्रता सेनानी एवं समाजसेवी तोरेन्द्रमान सिंह प्रधान र इन्दिरा प्रधानको स्मृतिमा उहाँहरूकी छोरी डा.सम्झना प्रधानले स्थापना गर्नुभएको “तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान”को सञ्चालन र व्यवस्थापनको जिम्मेवारी विराटनगरका सञ्चारकर्मीहरूको सहकारी “सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.”ले लिएको छ । पुरस्कार तथा सम्मानपत्र वितरण समारोहमा पुरस्कारका संस्थापक डा.सम्झना प्रधानका अतिरिक्त उहाँका पिता तोरेन्द्रमान सिंह प्रधान, सञ्चार सहकारीका अध्यक्ष एवं वरिष्ठ पत्रकार माेहन भण्डारी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायत थुप्रै पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो ।

त्यस अवसरमा विभिन्न विधा अन्तर्गत अन्य पत्रकार तथा दाताहरूलाई पनि सम्मानपत्र र पुरस्कार वितरण गरिएको थियो ।

 

 

commercial commercial commercial commercial