सिद्धबाबा माविका केही रोचक अभ्यास
पढ्ने बानी विकासका लागि विद्यार्थीले अनिवार्य रूपमा पुस्तकालयका किताब पढ्नुपर्ने नियम बनाइएको छ। कक्षा–६ देखि १२ सम्मका विद्यार्थी पुस्तकालयको सदस्य बनेर महीनामा एउटा पुस्तक पढ्नैपर्छ ।
सिद्धबाबा माध्यमिक विद्यालय, गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीष २०७५ सालको पी.पी. प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित भए । २०४९ सालमा निमावि अंग्रेजी शिक्षक भई विद्यालय प्रवेश गरेका श्रीष २०६६ सालमा विद्यालयका प्रअ भए । सिद्धबाबा मावि देशभरिकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा शिक्षा मन्त्रालयबाट यसअघि नै पुरस्कृत भइसकेको हो ।
सिद्धबाबा मावि राम्रो हुनुमा अभिभावकको महत्वपूर्ण भूमिका रहेको प्रअ श्रीष मान्छन् । उनी भन्छन्, “विद्यालयका लागि हाम्रा अभिभावक जे गर्न पनि तयार हुनुहुन्छ ।” केही वर्षअघि एक संस्था विद्यालयको भवन बनाइदिन तयार भयो । तर त्यसका लागि विद्यालयसँग आफ्नो नामको जग्गा थिएन । अभिभावकले आफ्नो जग्गा बैंकमा राखी ऋण झिकेर सापटी दिएपछि त्यो पैसाबाट विद्यालयको जग्गा किनियो । त्यसैगरी यो वर्ष बस किनिएको छ । त्यसनिम्ति कसैले रु.५० हजार र कसैले अढाइ लाखसम्म ऋण दिएका छन् । यस्तो ऋण विद्यालयले क्रमशः तिर्ने गर्छ । प्रअ श्रीषका अनुसार उनको विद्यालयमा १४०० भन्दा बढी विद्यार्थी छन् । कक्षा–६ देखि १२ सम्मका विद्यार्थीका अभिभावकले मासिक शुल्क तिर्छन् ।
आफू प्रअ भइसकेपछि श्रीषले विद्यालयमा केही फरक र राम्रा अभ्यास शुरू गरेका छन् । तीमध्ये केही यस्ता छन्ः
पठन संस्कृतिका लागि पुस्तकालय र ‘बूक टक’ कार्यक्रम
विद्यार्थीमा सानो उमेरदेखि नै पढ्ने बानी विकासका लागि यहाँका विद्यार्थीले अनिवार्य रूपमा पुस्तकालयका किताब पढ्नुपर्ने नियम बनाइएको छ । कक्षा–६ देखि १२ सम्मका विद्यार्थी पुस्तकालयको सदस्य बन्नैपर्छ र महीनामा एउटा, कोर्स भन्दा बाहिरको पुस्तक पढ्नैपर्छ । उनीहरूले किताब घर लैजान सक्छन् । पढिसकेपछि भने फिर्ता ल्याउनुपर्छ । आफूले पढेको किताबको लेखकदेखि विषयवस्तुसम्मका बारे विद्यार्थीले अरूका अगाडि भन्नुपर्छ । यसका लागि उनीहरूलाई विभिन्न ‘फोरम’ दिइन्छ ।
प्रअ श्रीषका अनुसार ‘एसेम्ब्लीका बेला, कक्षाकोठामा अनि पुस्तक चर्चा (बूक टक) कार्यक्रममा पनि आफूले पढेको किताब बारे उनीहरू बोल्छन् ।’ महीनामा एक पटक हुने ‘बूक टक’ कार्यक्रममा प्रअ आफैं पनि आफूले पढेका किताबबारे बोल्छन् । शिक्षकहरू पनि आफूले पढेको किताब बारे सुनाउँछन् । यसरी कक्षा–६ देखि १२ सकिंदासम्म यहाँका विद्यार्थीले कम्तीमा पनि ५० वटा कोर्स बाहिरका किताब पढिसकेका हुन्छन् । पुस्तकालय व्यवस्थापन गर्न विद्यालयकै स्रोतमा छुट्टै शिक्षक राखिएको छ । कक्षा–५ सम्मका विद्यार्थीको पठन बानी बारे भने कक्षा शिक्षकहरूलाई नै जिम्मेवार बनाइएको छ ।
सिद्धबाबा माविमा १० वर्षअघि नै पुस्तकालय बनेको हो । यसमा विद्यालयका शिक्षक र अभिभावक बाहेक अरू पनि थुप्रै व्यक्ति र संघसंस्थाको सहयोग परेको छ । “विद्यालय भर्ना हुँदा एक पटक हरेक अभिभावकबाट २०० रुपैयाँ माग्यौं । जन्मदिनको अवसरमा एक पुस्तक वा एक गमला सहयोग लियौं” प्रअ श्रीष भन्छन्, “पछि साविकको शिक्षा विभागबाट पुस्तकालयकै लागि भनेर रु.६ लाख ५० हजार पनि प्राप्त भयो ।”
‘ज्ञानीसँग हाम्रा नानी’
यस कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रका प्रतिनिधि— व्यक्तिहरूलाई कक्षाकोठामा निम्त्याइन्छ । कहिले मौरीपालनमा लागेका कृषक त कहिले सरकारी न्यायाधीश समेत कक्षाकोठामा हुन्छन् । यस्तै, कुनैबेला प्रहरी—सेनाका जिल्ला प्रमुख त कहिले प्रमुख जिल्ला अधिकारी हुन्छन् । जिल्ला बाहिर साथै विदेशबाट गएका व्यक्तित्वलाई पनि सिद्धबाबा माविमा विद्यार्थीसँग अन्तरक्रियाका लागि अतिथिका रूपमा कक्षाकोठामा निम्त्याइन्छ । प्रअ डोरविक्रम श्रीषका अनुसार गत असारमा आयोजित यस्तै एउटा कार्यक्रममा युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, अमेरिकाका उप–प्राध्यापक डा.अनिल गिरीलाई सिद्धबाबामा निम्त्याइएको थियो । मोरङको एउटा सामान्य किसान परिवारबाट आफू कसरी अमेरिकाको विश्वविद्यालयमा प्रोफेसर बन्न सफल भएँ भनेर उनले विद्यार्थीलाई सुनाएका थिए । र, त्यहाँको शिक्षा प्रणालीका बारेमा पनि बोलेका थिए । विद्यार्थीहरूले खुशी हुँदै उनलाई धेरै प्रश्न सोधेको प्रअ श्रीषले बताए ।
‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमबाट विद्यार्थीलाई प्रेरणा र खुशी मिल्नुका साथै उनीहरूको आत्मविश्वास पनि बढेको अनुभव प्रअ श्रीषसँग छ । “कतिपय कुरा पाठका लागि पनि सहयोगी हुन्छन् । त्योभन्दा पनि बढी सवाल जवाफ र अन्तरक्रियामा उनीहरू निकै रमाउँछन् र आत्मविश्वास बटुल्छन्” उनी भन्छन् ।
स्वास्थ्य शिविर
विद्यालयमा विद्यार्थीको स्वास्थ्य जाँचका लागि बेलाबेला दाँत तथा आँखा परीक्षणको व्यवस्था गरिन्छ । जिल्लाकै चिकित्सक तथा स्थानीय औषधि पसलहरूको सहयोगमा यस्तो शिविर चलाइने प्रअ श्रीषले बताए । यस्तो शिविर मार्फत विद्यार्थीलाई कतिपय गम्भीर स्वास्थ्य समस्याबाट जोगाउन सकिने उनको अनुभव छ । कक्षा–५ की एक छात्रालाई यस्तै अवस्थाबाट जोगाइएको उनले बताए । ती छात्राको दृष्टि कमजोर भइसकेको रहेछ । उनी टाढाको देख्न नसक्ने रहिछन् । शिविरअघि न त शिक्षक न घरका मान्छेलाई नै यसबारेमा थाहा थियो ।
विद्यार्थी सिकाइ सुधार योजना
विद्यार्थीको सिकाइ सुधारका लागि प्रायः विद्यालयमा शिक्षकले योजना बनाउनुपर्ने हुन्छ । तर सिद्धबाबा माविमा यो सँगसँगै फरक अभ्यास शुरू गरिएको छ । सिकाइस्तर सुधारका लागि यहाँ विद्यार्थीले पनि योजना बनाउँछन् । प्रअ श्रीषका अनुसार यसका लागि निश्चित ढाँचा बनाइएको छ । पहिलो त्रैमासिक परीक्षा सकिएपछि विद्यार्थीले अर्को परीक्षाका लागि आफैं योजना बनाउँछन् । आफ्नो नतिजा हेरेर आफैंले मिहिनेत गर्ने वा शिक्षकसँग अतिरिक्त समय पढेर सुधार गर्ने, उनीहरू आफैं निर्णय गर्छन् । विद्यालयमै अतिरिक्त समयमा पढाउने गरिएको छ । प्रअ श्रीष भन्छन्, “अभिभावकको सहमतिमै न्यूनतम शुल्क लिएर उपचारात्मक कक्षाको व्यवस्था मिलाइएको हो ।”
अभिभावक भेटघाट
अभिभावकसँग सम्बन्ध बिस्तार गर्न कक्षागत रूपमा अभिभावक भेला गरिन्छ । यस्तो भेटघाट वर्षको दुईपटक हुन्छ । उनीहरूलाई माइक नै दिएर बोल्न लगाइन्छ, सिकाइन्छ । “शुरूमा अप्ठ्यारो माने पनि अहिले त धक नमानी बोल्नुहुन्छ” प्रअ श्रीषले भने । हरेक परीक्षाको रिपोर्ट कार्ड वितरणका बेला अभिभावकहरू स्कूल आउँछन् भने वर्षको दुई पटक कक्षा शिक्षक विद्यार्थीको घरमै पुग्ने गर्छन् ।
प्रअ डोरविक्रम श्रीषको भनाइमा पहिलो र दोस्रो त्रैमासिक परीक्षापछि कक्षा शिक्षकहरू विद्यार्थीको घरमै अभिभावक भेटका लागि जान्छन् । यसबाट बच्चाहरूको बानी–व्यवहार घरमा कस्तो छ, पढाइका लागि कस्तो वातावरण छ, प्रअ आफैं अभिभावकसँग कुरा गर्न जानुपर्नेछ कि भन्ने थाहा हुन्छ । त्यस्तै आर्थिक अवस्थाका बारेमा पनि थाहा हुन्छ । अत्यन्तै कमजोर आर्थिक अवस्था भएका केटाकेटीलाई त्यसपछि स्टेशनरीको व्यवस्था मिलाउने उनले बताए ।
एक विद्यार्थी एक बिरुवा
विद्यार्थी हरियाली अनि स्वच्छ वातावरणसँग नजिकिउन् भनेर 'I breath with my plant' अर्थात् ‘म मेरो सास आफ्नै बिरूवाबाट फेर्छु’ भन्ने कार्यक्रम पनि सिद्धबाबा माविमा सञ्चालन गरिएको छ । प्रअ श्रीषका अनुसार यो कार्यक्रम अन्तर्गत गमलामा केटाकेटीलाई बिरुवा रोप्न लगाइन्छ । यो कार्यक्रमबाट विद्यालय प्राङ्गणमा हरियाली र स्वच्छ वातावरण कायम राख्न सहयोग पुगेको छ । प्रअ श्रीष भन्छन्, “केटाकेटीहरू छुट्टी भएर घर जानुअघि आफ्नो बिरुवामा पानी हालेर जान्छन् ।”
कक्षाकोठा सजावट प्रतियोगिता
विद्यालयमा कक्षाकोठा सजावट प्रतियोगिता पनि हुने गरेको छ । साप्ताहिक रूपमा सञ्चालन हुने शुक्रवारीय कार्यक्रम अन्तर्गत विद्यार्थीहरू यो प्रतियोगितामा सहभागी हुन्छन् । कक्षाकोठाको सरसफाइ, शैक्षिक सामग्री लगायतका कुरालाई आधार बनाई तहगत रूपमा मूल्याङ्कन र पुरस्कृत गरिन्छ । सजावटका लागि बाहिरबाट महँगो सामान ल्याउन पाइँदैन । कक्षा शिक्षकको सहयोग र निर्देशनमा विभिन्न विषयसँग सम्बन्धित शैक्षिक सामग्री, आचारसंहिता, विगतका उपलब्धि विद्यार्थीले तयार गर्न सक्छन् । प्रअ श्रीष ‘यसका लागि चाहिने सामग्री हामी दिन्छौं’ भन्छन् । प्रावि, निमावि र माविमा तहगत रूपमा हुने यो प्रतियोगिताका विजयीलाई कक्षामा प्रयोग हुने घडी, फिल्टर, ऐना जस्ता पुरस्कार दिइन्छ ।
स्पीकर्स क्लब
अंग्रेजी भाषा अन्तर्गत बोलाइ सीप सबल बनाउन विद्यालयमा ‘स्पीकर्स क्लब’ बनाइएको छ । कक्षा–६ देखिका विद्यार्थी क्लबका सदस्य हुन्छन् । यो क्लबका विद्यार्थी आफैं विषय छान्छन् । यसरी छानिएको विषयमा बोल्न विद्यार्थीबीच प्रतियोगिता हुन्छ । कार्यक्रम पनि विद्यार्थी नै चलाउँछन् । शिक्षकको सहयोगमा उनीहरू उत्कृष्ट वक्ता चयन गर्छन् ।
शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।