अंग्रेजी सिक्दाको संघर्ष
संसारका विभिन्न ठाउँका मानिसहरूको अंग्रेजी लवज सुनेपछि लाग्यो, राम्रो अंग्रेजीको मानक अमेरिकी वा युरोपेलीहरूको जस्तो विद्युतीय गतिमा बोल्नु नभई खाली सामुन्नेको व्यक्तिले प्रष्टसँगबुझनेगरी बोले पुग्ने रहेछ ।
त्यति धेरै मानिसका अगाडि म अंग्रेजी बोलेको त्यो पहिलो अवसर थियो । विषय चाहिं अनौठो । म तर्क गरिरहेको थिएँः युद्ध वास्तवमा मानिस जातिका लागि आवश्यक कुरा हो किनकि यसले जनसंख्यालाई नियन्त्रण गर्छ र मानिसको घमण्डलाई ठीक ठाउँमा ल्याइदिन्छ । दर्शक दीर्घाका सबै जना मेरो मन्तव्यबाट प्रभावित हुनुको सट्टा मेरो कमजोर अंग्रेजी र झनै कमजोर तर्कहरू सुनेर हाँसिरहेका थिए । त्यसदिन म वादविवादमा बोल्न उभिएको थिएँ । तर म बोलुञ्जेलको माहोल भने हास्य प्रहसनको जस्तो थियो ।
साथीहरूका अगाडि मजाकको पात्र भए पनि त्यसरी बोल्नु पछाडिको मेरो ध्येय चाहिं पूरा भएको थियोः मलाई कमजोर अंग्रेजीका कारण हुने हीनताबोध र बोल्दा आउने हिच्किचाहटलाई पार गर्नु थियो । म तर्कले जित्नका लागि त्यो वादविवादमा संलग्न भएकै थिइनँ । अंग्रेजी राम्रोसँग बोल्न सक्ने साथीहरूले युद्धको विरोधमा ओजपूर्ण अभिव्यक्ति दिएर गएपछि त्यसको खण्डन गर्न मसँग खास तर्कहरू पनि थिएनन् । युद्धको पक्षमा बोल्ने अरू कोही ननिस्किएपछि सरले पनि मलाई सहजै बोल्ने मौका दिनुभएको थियो ।
कक्षा–११ को अंग्रेजी कक्षाको कुरा हो, त्यो । प्याट्रिसिया ह्याम्पलको ‘लुक एट अ टि कप’ नामक मर्मस्पर्शी संस्मरणात्मक निबन्ध पढाइसकेपछि सरले कक्षाभित्रै त्यो वादविवाद राख्नुभएको थियो । निबन्धमा उल्लिखित दोस्रो विश्वयुद्धको प्रसंगसित जोडेर युद्धबारेको त्यो वादविवाद भएको थियो ।
त्यस प्रसंगको पृष्ठभूमि बुझन अलिकति पछाडि फर्किनु जरूरी हुन्छ । कक्षा–११ को पहिलो दिन । म चितवनको उत्कृष्ट मानिने प्लस टु कलेजको विज्ञान संकायको सेक्सन सीमा छु । अंग्रेजी सर आएर विद्यार्थीहरू एक एकसँग परिचय माग्नुहुन्छ । साथीहरू निर्धक्क उठेर आफ्नो नाम र ठेगानासँगै आफूले पढेको स्कूलको नाम बताउँछन् । सरले सराहनापूर्वक टाउको हल्लाउनुहुन्छ र उनीहरूले नाम लिएका स्कूलको उत्कृष्टताबारे छोटो टिप्पणी गर्नुहुन्छ । सबै कुराकानी सहज रूपमा अंग्रेजीमा भइरहेको छ । पालो हाम्रो बेन्चमा आउनासाथ म संकोच र लघुताभासले पानीपानी हुन्छु । पालो आएपछि मुश्किलले उठेर आफू र आफूले पढेको स्कूलको नाम भन्छुः राङखानी मावि राङखानी । सर सुन्यानसुन्यै गरेर अघि बढे पनि मेरो शिरबाट ठूलो बोझ् निकालिए झैं हुन्छ ।
त्यसपछिका दिनमा मैले कक्षामा के पाएँ भने, अंग्रेजी माध्यमका स्कूलबाट आएका साथीहरूले अंग्रेजी विषयलाई गन्दै गन्दैनथे । त्यो सहजै उत्तीर्ण गर्नेमा उनीहरू ढुक्क हुन्थे । सरले कक्षामा सोध्ने प्रश्नहरूको सहजै अंग्रेजीमा उत्तर दिन्थे । नियमित अंग्रेजीको गृहकार्य गर्ने साथीहरू भेट्न पनि मुश्किल थियो । मेरो अवस्था ठ्याक्कै उल्टो । अंग्रेजीमा दक्खल राख्न पाए अंग्रेजी माध्यममा पढाइने बाँकी विषय बुझन सजिलो हुन्थ्यो कि भन्ने आशा ।
मैले स्कूल पढ्दाताका बाग्लुङको मेरो गाउँमा निजी स्कूल पुगेकै थिएन । सरकारीमध्ये कुन स्कूलमा कुन विषयका धुरन्धर शिक्षक छन् भन्ने कुरा त्यो भेगभरि सबैलाई थाहा हुन्थ्यो । सर्कुवास्थित माविका मेघराज ढकाल सर विज्ञानमा र भवानी तिवारी सर गणितमा शायद जिल्लामै प्रख्यात हुनुहुन्थ्यो । हाम्रो स्कूलका चाहिं ढक पुन सर अंग्रेजी विषयका लागि उसरी नै प्रख्यात हुनुहुन्थ्यो । त्यो ख्यातिको फाइदा हामीले लियौं । सरले पाठ्यपुस्तकका साथै सागरमान तुलाधरको सेतो कभर भएको एउटा प्राक्टिस बुकबाट हामीलाई आद्योपान्त अभ्यास गराउनुहुन्थ्यो । अभ्यासको अभावका कारण अंग्रेजी बोली असाध्य कमजोर भए पनि अंग्रेजी लेखनको मेरो जग त्यति कमजोर थिएन ।
कक्षा–११ म एकाएक आफ्नो भन्दा निकै माझ्एिको अंग्रेजी भएका साथीहरूसित पढ्न परेपछि चाहिं मलाई लज्जा र संकोचको दोबाटोमा पुगेको भान भइरहेको थियो । आफू मात्रै नजान्ने देखिन्छु भन्ने संकोचले शिक्षकहरूसँग सोध्न सक्दैनथें । तर एक दिन दुस्साहसपूर्वक हात उठाएर कक्षामा सोध्ने आँट गरें । त्यसपछि सरहरूले विद्यार्थी नतोकी कक्षामा उठाएका प्रश्नको स्वस्फूर्तसँग उभिएर जवाफ दिन थाले । मेरो जवाफ गलत भए पनि सरले सहजै यो चाहिं सही उत्तर हो भनिदिनुहुन्थ्यो । त्यसकारण लज्जित वा अपमानित हुनुपर्ने अवस्था आएन । धेरै साथीहरू संकोचले मात्रै जवाफ दिन हच्किन्थे । पछि थाहा भयो, साथीहरूले कक्षाको बीचमा प्रश्न नसोध्ने पनि सबै बुझेर नभई नजान्ने देखिन्छु कि भन्ने संकोचले नै रहेछ ।
कक्षा–११ को थालनीदेखि नै कामचलाउ वा परीक्षा उत्तीर्ण गर्ने अंग्रेजीले मात्र सन्तुष्ट नहुने कुरामा म दृढ थिएँ । विज्ञान विषय पढे पनि साहित्यको स्वाद लिने र सके लेख्ने अनुराग स्कूलदेखि थियो । त्यसैले अंग्रेजी साहित्य र व्याकरण दुवैतिरको गृहकार्य नियमित गर्ने अभ्यास बसाएँ । खासगरी हामीले स्कूलमा पढेको सरल व्याकरण भन्दा पश्चिमा लेखकहरूले तयार पारेको ‘मिनिङ्स इन्टु वर्डस्’ को व्याकरण निकै उन्नत र कठिन थियो । सरले नियमित कापी जाँच्ने अभ्यास नभए पनि मैले ती अभ्यासहरू गरिरहें ।
सी सेक्सनबाट आन्तरिक परीक्षाहरूमा राम्रो गरेर म बी हुँदै ए मा पुगेपछि म सरहरूको नजरमा पर्न थालें र संकोच पनि कम हुँदै गयो । तर लिखित अंग्रेजीमा निकै सुधार भए पनि अभ्यासको अभावमा अंग्रेजी बोल्ने कठिनाइ जस्ताको तस्तै रह्यो । त्यही कठिनाइसित जुध्न मैले त्यस दिन युद्धको पक्ष लिएर वादविवादमा भाग लिएको थिएँ ।
भाषा सिकाइका सबैभन्दा ठूला अवरोधमध्ये एक हो संकोच जसले कुरा नबुझे पनि कक्षामा चुपचाप बसिरहन प्रेरित गर्छ। संकोचकै कारण विद्यार्थीले सिकाइका अमूल्य अवसरहरू गुमाउँछन्।
कक्षा–११ र १२ मा अंग्रेजीमा पोख्त साथीहरूसित पढ्नुको अर्को महत्वपूर्ण फाइदा पनि थियो । साहित्यतर्फ कक्षा–११ मा ‘द म्याजिक अफ वर्डस्’ र कक्षा–१२ मा ‘द हेरिटेज अफ वर्डस्’ मा जति पनि पाठ थिए, तीमध्ये कुनैलाई पनि स्कूलमा झैं शिरदेखि पुछारसम्म पढाउनुपर्ने बाध्यता सरलाई थिएन र त्यस्तो विवरण सुन्ने धैर्य पनि विद्यार्थीहरूमा थिएन । अरू शिक्षक भए के गर्थे थाहा छैन तर साहित्यिक रूझन भएका देवराज पौडेल सरले हामीलाई सिकाइको निकै फराकिलो क्षितिजसम्म पुर्याउनुहुन्थ्यो । जस्तो कि उल्लिखित ‘लुक एट अ टिकप’ निबन्धको पालामा एउटा कक्षाभर दोस्रो विश्वयुद्धको चर्चा भयो र हामीले युद्धको विषयमा वादविवाद समेत गर्यौं । चेखवको ‘अबाउट लभ’ कथा पढ्ने पालोमा उनको समग्र लेखनी, रूसको जनजीवन र त्यो कथाको पृष्ठभूमिबारे चर्चा हुन्थ्यो । कक्षामा हुने कतिपय चर्चाहरू पाठ्यपुस्तकसँग पूरै असम्बन्धित पनि हुन्थे । जस्तो कि, अमेरिकामा २००१ सेप्टेम्बर ११ मा भीषण आतंकवादी हमला भएको केही दिनसम्म त्यही विषय चर्चाको केन्द्रमा थियो ।
कक्षाकोठाको त्यस्ता अभ्यासबाट अंग्रेजीमा निकै सुधार भए पनि म कक्षा–१२ सकेर निस्कँदा पनि अंग्रेजी भाषामा राम्ररी बोल्न चाहिं सक्दैनथें । एमबीबीएसको तयारी गर्दै गर्दा साथी विष्णुरथ गिरी र एक विदेशी महिला पर्यटकसँग म एउटा ट्याक्सी यात्रा गर्दैथियौं । नेपाल बन्दको दिन थियो । बन्दको कारण केही हुने हो कि भनेर त्रासले हामीसँगैकी पर्यटकको अनुहार कालोनीलो भएको देखेपछि साथी विष्णुले उनलाई सान्त्वना दिए, ‘आम हड्तालका बेला सडकमा तोडफोड हुन्छ, तर पर्यटकले डराउनुपर्दैन । किनकि सशस्त्र द्वन्द्व शुरू भएको सात वर्ष हुँदासम्म नेपालमा पर्यटकहरूमाथि हमला भएको छैन ।’
साथीको व्याख्याबाट उनले राहत महसूस गरिन् । म चाहिं साथीले फरर्र बोलेका अंग्रेजी सुनेर दंगदास । ‘हेलो, हाउ आर यु’ र ‘आइ एम फाइन’ जस्तो सामान्य बोलीचालीको अंग्रेजीभन्दा जटिल र उपयुक्त शब्द चयन गरेर व्याकरण मिलाई बोल्ने यस्तो अंग्रेजीको तह मैले सोचेभन्दा बेग्लै थियो ।
एमबीबीएस पढ्नका लागि भैरहवा पुगेपछि मेरो भाषा सिकाइमा दुई महत्वपूर्ण काम भए । पहिलो, बोलीचालीमा अंग्रेजी सुधार्न मैले भारतीय साथीहरूसित हिन्दी नबोल्ने अघोषित निर्णय गरें । उनीहरू हिन्दी बोल्दा पनि म अंग्रेजीमा जवाफ दिन्थें र संवादको भाषा अंग्रेजीतिर मोडिन्थ्यो । चार वर्ष जतिको त्यस्तो अभ्यासपछि मात्रै मलाई महसूस हुने गरी अंग्रेजी बोलाइमा सुधार देखियो र कसैसित पनि अंग्रेजीमा संवाद गर्ने आत्मविश्वास जाग्यो । त्यसबीच दक्षिण भारत लगायत संसारका विभिन्न ठाउँका मानिसहरूको अंग्रेजी लवज सुनेपछि लाग्यो, राम्रो अंग्रेजीको मानक अमेरिकी वा युरोपेलीहरूको जस्तो विद्युतीय गतिमा बोल्नु नभई खाली सामुन्नेको व्यक्तिले प्रष्टसँग बुझने गरी बोले पुग्ने रहेछ ।
समग्र अंग्रेजी भाषा सुधारको दोस्रो अनुभव झनै महत्वपूर्ण छ । राम्रो अंग्रेजी सिक्ने अभ्यासलाई पौडीसित दाँज्ने हो भने अंग्रेजी पुस्तक वा पत्रपत्रिका पढ्नु वा अंग्रेजीमा संवाद गर्नुु समेत छिपछिपे पानीमा पौडिनुजस्तै रहेछ, धेरै सिकाइ नहुने । आफैं लेख्न बस्नु चाहिं गहिरो दहजस्तो रहेछ जहाँ जति डुबुल्की मारे पनि भुइँ भेटिंदैन । लेखाइ मार्फत सिक्नुको सबैभन्दा ठूलो फाइदा के भने लेखिएको कुरा दर्जनौंपल्ट सुधार र पुनर्लेखन गर्ने सुविधा हुन्छ, जुन बोल्दा हुँदैन । शब्दको चयनदेखि वाक्य संरचना, वाक्य संख्या र लम्बाइ, अनुच्छेद विभाजन, शीर्षकको चयन जस्ता हरेक क्षेत्रमा अनेक प्रयोग गरेर मात्रै लेखन अगाडि बढ्छ । आफूले लेखेका वाक्य आफैं पढ्नु, तिनका गल्ती पत्ता लगाएर सुधार गर्नु, अरूको लेखाइसँग तुलना गर्नु जस्ता हरेक कदमले भाषा सुधार्न सघाउने रहेछन् ।
२०६१ सालतिर मैले ब्लग लेख्न शुरू गर्दा मलाई अंग्रेजी मात्रै टाइप गर्न आउँथ्यो । पत्रपत्रिका लगायतका पठन सामग्रीहरू पनि अधिकांश अंग्रेजी नै थिए । यी डेढ दशकमा मैले लेखेका अंग्रेजी ब्लगहरूको संख्या ५०० कटिसकेको छ र तीमध्ये एउटा ब्लग पुस्तक जत्रै आकारको छ । यसबीच एशिया टाइम्स अनलाइन लगायतका केही अन्तर्राष्ट्रिय मिडियाले पनि मेरा अंग्रेजी लेखहरू छापेका छन् ।
यसबीचमा मेरो अंग्रेजी कति सुधार भयो होला त ? म कुनै पनि भाषा परीक्षामा नबसेकाले मसँग देखाउन कुनै स्कोर छैन । तर एक दिन गुगलमा आफ्नो नाम खोज्दा म अचम्ममा परें । दुन्याबुल्टेनी वा ‘वल्र्ड बुलेटिन’ नामक टर्किश समाचार संस्थाले एउटा अनलाइनमा प्रकाशित मेरो दक्षिण एशियामा धर्म निरपेक्षताको पतन सम्बन्धी आलेख टर्किश भाषामा अनुवाद गरेर छापेछ । त्यस्तै अर्का स्पेनी पत्रकारले आधुनिक भारतमा कायम डरलाग्दो दासत्व बारेको मेरो लेख पढेर त्यस विषयमा अन्तर्वार्ताको प्रस्ताव गरे । इमेल मार्फत उनले लिएको त्यो अन्तर्वार्ता पछि गएर आफूलाई मजदूरहरूको ‘थिंकट्यांक’ भन्ने अमेरिकी संस्था ‘दि ह्याम्पटन इन्ष्टिच्युट’ ले वेबसाइटमा प्रकाशित गर्यो ।
मलाई अहिले पनि लाग्छ, यी सबै उपलब्धिको जगमा त्यही वादविवाद थियो जहाँ मेरो टुटेफुटेको अंग्रेजीमा बोलिएका कमजोर तर्कहरू सुनेर साथीहरू गलल्ल हाँसेका थिए । मेरो अनुभवको निचोड छ; भाषा सिकाइका सबैभन्दा ठूला अवरोधमध्ये एक हो संकोच जसले हामीलाई कमजोर देखिने जोखिम मोल्नभन्दा कुरा नबुझे पनि कक्षामा चुपचाप बसिरहन प्रेरित गर्छ । संकोचकै कारण एकअर्कासित कमजोर नदेखिने होडमा अक्सर कक्षाका सबै विद्यार्थीले सिकाइका अमूल्य अवसरहरू गुमाउँछन् र यथार्थमा सबै कमजोर हुन पुग्छन् । एकाध विद्यार्थीले मात्रै त्यो संकोचको पर्खाल पार गर्ने हो भने त्यसको लाभ पूरै कक्षालाई मिल्छ ।
शिक्षक मासिक, २०७६ साउन अंकमा प्रकाशित ।