पूर्वीय शिक्षा दर्शनमा बालमैत्री अवधारणा

बालमैत्री शिक्षणले शिक्षण सिकाइमा प्रभावकारी सुधार गर्ने तथ्यहरू अध्ययन अनुसन्धानहरूले प्रमाणित गरेका छन् । शिक्षक मासिककै विभिन्न अंकमा बालमैत्री शिक्षणको प्रयोगबाट विद्यालयको समग्र शैक्षिक विकासमा परेका प्रभाव र उपलब्धिका बारेमा उत्साहजनक स्थलगत रिपोर्टहरू प्रकाशित भएका छन् । तर कैयौं शिक्षकमा बालमैत्री सिकाइप्रति अझ्ै पनि सकारात्मक धारणा रहेको पाइँदैन । यस मासिकमै कतिपय शिक्षक मित्रहरूले ‘पाश्चात्य देशबाट आयातीत’ यो अवधारणा हाम्रो संस्कृति अनुकूल नभएको र सार्वजनिक शिक्षाको दुर्दशा हुनुको प्रमुख कारणमध्येको एक भएको गुनासो गरेको पाइन्छ । तर यथार्थमा बालमैत्री शिक्षण पद्धति पश्चिमबाट आयातीत नभई हाम्रै प्राचीन शिक्षा पद्धति भएको र बरु यतैबाट पश्चिमतर्फ निर्यातीत अवधारणा रहेको तथ्य हाम्रा ग्रन्थहरूले प्रमाणित गर्दछन् ।

‘लालयेत पंचवर्षाणि दशवर्षाणि ताडयेत ।
प्राप्तेषु षोडषे वर्षे पुत्रे मित्रवदाचरेत । ।’

एक प्रसंग अनुसार माण्डव्य ऋषि समाधिमा थिए । चोरहरूको एक समूह आफूलाई पिछा गर्दै आइरहेका सिपाहीहरूबाट बच्न जोगीहरूको भेषमा माण्डव्यको वरिपरि बसे । सिपाहीहरूले ऋषि सहित सबैलाई पक्राउ गरेर राजासामु लगे । ऋषिलाई चोरहरूको सरदार भन्ठानेर राजाले शूलीमा चढाउने आज्ञा दिए । आफ्नो तपोबलबाट ऋषि कैयौं दिनसम्म शूलीमै समाधिस्थ भए । राजालाई गल्ती बोध भएपछि शूलीबाट निकालेर ऋषिसँग क्षमा मागे । ऋषिले आफ्नो प्रारब्धलाई दोष दिंदै राजाको कुनै गल्ती नभएको बताए र यमराजसँग आफू शूलीमा चढ्नुपर्नाको कारण जान्न चाहे । यमराजले ऋषिले पाँच वर्षको उमेरमा जिउँदो पुतलीलाई सिन्कामा उनेकोले त्यसैको दण्डस्वरुप यो सजाय दिइएको बताए । झेक्किएका ऋषिले धर्म र पापको ख्याल नै नभएको पाँच वर्षको अन्जान बालकले कौतुहल स्वरुप गरेको कामका निम्ति त्यस्तो भयानक सजाय दिने जडबुद्धि यमराजलाई श्राप दिए र घोषणा गरिदिए– ‘जसले पाँच वर्षसम्मका बालबालिकामाथि कुनै पनि प्रकारको हिंसा गर्दछ, त्यसको नरक वास हुनेछ !’

यसरी पूर्वीय दर्शनले ‘बालदेवो भवः’ अर्थात् बालबालिकालाई देवताको प्रतिरूप मानी कुनै पनि प्रकारको हिंसा गर्न निषेध गरेको छ । बाल गणेश, बाल हनुमान, बाल गोपाल आदिका लीला कथाहरूमा गल्ती गर्नु, चकचक गर्नु, बिगार्नु, भत्काउनु आदिलाई बालबालिकाको प्राकृतिक र नैसर्गिक स्वभाव मानी त्यसलाई उनीहरूको सिकाइ प्रक्रियाको अभिन्न अंगको रूपमा लिनुपर्ने सन्देश दिइएको छ ।
बालो हि द्वादशाद् वर्षाज्जन्मतो यत्करिष्यति ।
न भविष्न्यत्यधर्मोत्र न प्रज्ञास्यन्ति वै दिशः ।
(महाभारत)
(बाह्र वर्षको आयुसम्म बालकले जे जस्तो कर्म गर्दछ, त्यसमा कुनै अधर्म हुँदैन ।)
जातमात्रः शिशुस्तावत् यावदष्टै समा वयः
स हि गर्भसमो ज्ञेयो व्यक्ति मात्र प्रदर्शितः ।।
र्भक्ष्याभक्ष्ये तथा पेये वाच्यावाच्ये ऋतानृते ।
अस्मिन् वाले न दोष स्यात स यावन्नोपनीयते ।।
–दक्ष स्मृति
(आठ वर्षसम्मको बालकका व्यवहारहरू गर्भ समान नै हुन्छन् । अतः उपनयन संस्कार नहुँदासम्म खानपान, बोलीवचन लगायतका उसका व्यवहारमा कुनै दोष लाग्दैन ।)
अतो बालतरस्यास्य नापराधो न पातकम्
राजदण्डो न तस्यास्ति प्रायश्चितं न विद्यते ।
(धर्म सिन्धु)
(सानो बालकले कुनै गल्ती गरेमा पनि उसलाई अपराध लाग्दैन, पाप लाग्दैन, राजदण्ड भोग्नुपर्दैन र कुनै पनि प्रकारको प्रायश्चित गर्नुपर्दैन ।)

प्रार्थितं बालकानांच दातव्यं स्यात्प्रयन्नतः ।
बालानां प्रार्थितं दŒवा नाकलोके महीयते ।।
बालका लालनीयाश्च धर्मकामैः सदा नरैः ।
तेषां भोज्य प्रदानेन गोदानफल माप्नुयात ।।
तेषां क्रीडनकं दŒवा मोदते नन्दने चिरम् ।
आह्लादं यान्ति सततं यस्मिन्दृष्ट्वा तु बालकाः ।।
सौभाग्यं महदाप्नोति यत्रयत्रामिजायते ।
तस्मात्सर्वप्रयत्नेन बालानग्रे तु भोजयेत ।।
(विष्णु धर्मोत्तर)

(बालकहरूले इच्छा गरेका वस्तु दिनुपर्दछ, यसो गर्ने स्वर्गलोकमा आनन्दित हुन्छ । धर्मको इच्छा गर्ने मनुष्यले बालबालिकाको लालनपालन गर्नुपर्दछ । बालकलाई भोजन वा खानेकुरा दिंदा गोदानको पुण्य प्राप्त हुन्छ । उनीहरूले इच्छा गरेको खेलौना दिने स्वर्गलोकमा आनन्दले रहन पाउँछ । जुन कुराले बालक प्रशन्न हुन्छ, त्यो कुरा उसलाई प्रदान गर्नुपर्दछ । सदैव बालकलाई पहिले भोजन गराउनुपर्दछ । यसो गर्नाले प्रत्येक जन्ममा महान सौभाग्य प्राप्त हुन्छ ।)

‘केशग्रहान प्रहारांश्च....’
शारीरिक हिंसा हाम्रो विद्यालयहरूको सन्दर्भमा सिकाइ प्रक्रियाको ‘अभिन्न अंग’ रहँदै आएको शिक्षकको प्रहारले विद्यार्थीका टाउको फुटेका, कानको जाली च्यातिएका, बेहोस भएका जस्ता समाचार सञ्चारमाध्यममा बारम्बार दोहोरिरहने गरेका छन् ।

तर पूर्वीय शिक्षा पद्धतिले यस्तो व्यवहारलाई अत्यन्त अस्वाभाविक मानेको छ र यस्तो प्रकारको शारीरिक सजायले बालबालिकामा पर्ने गम्भीर मानसिक, आत्मिक एवं मनोवैज्ञानिक चोटको निराकरण गर्न गाह्रो हुने विश्लेषण गर्दै यसलाई पूर्ण रूपमा निषेध पनि गरेको छ ।
केशग्रहान प्रहारांश्च शिरस्येतान् विवर्जयेत्
(महाभारत, अनुशासन पर्व)
केशग्रहान प्रहारांश्च शिरस्येतां तथैव च ।
(विष्णु धर्मोत्तर)
(कपाल समातेर तान्नु, भुत्ल्याउनु, टाउको ठोक्काउनु वा शिरमा कुनै पनि प्रकारले प्रहार गर्नु पूर्णरूपमा वर्जित छ ।)
नियन्तव्यः सदा क्रोधो वृद्धबालातुरेषु च ।
(महाभारत, उद्योग पर्व)

वृद्ध व्यक्ति, रोगी र बालकहरूसँग कहिल्यै पनि रिसाउनु हुँदैन । क्रोधित हुने परिस्थिति उत्पन्न भएको भए तापनि प्रयत्नपूर्वक रोक्नुपर्दछ ।
वृद्धबालव्याधित क्षीणान् पशून वान्धवानिव पोषयेत् ।
(नीति वाक्यामृतम्)
(वृद्ध, रोगी, दुर्बल पशु तथा बालकहरूलाई आफ्नै वन्धुवान्धव समान प्रेमपूर्वक व्यवहार गर्नुपर्दछ ।

वर्तमान शिक्षण पद्धतिको सबैभन्दा खराब पक्ष के हो भने यसले विद्यार्थीलाई कुनै महŒव नै दिंदैन । ‘दि वोस इज अल्वेज राइट’ शैलीको अहिलेको शिक्षण क्रियाकलापमा शिक्षक ‘वोस’ हो र उसका भनाइहरू सार्वकालिक, सार्वभौमिक र सार्वजनिन सत्य हुन् जसलाई विद्यार्थीले निःशर्त स्वीकार गर्नुपर्दछ । पूर्वीय शिक्षा पद्धतिले शिक्षक र विद्यार्थीलाई एक अर्काको पूरकको रूपमा लिएको छ र शिक्षण प्रक्रियाको अभिन्न अंगको रूपमा स्वीकारिएको छ । शिक्षक तथा विद्यार्थीले एकअर्काको अस्तित्वलाई स्वीकार र सम्मान गर्नु हाम्रो प्राचीन शिक्षा पद्धतिको सुन्दरतम पक्ष हो । यसका केही सुन्दर उदाहरण यसप्रकार छन् ।
सह नौ यशः । सह नौ ब्रह्मवर्चसम्
(तैत्तरीय उपनिषद्)

हे परम पिता ! हामी गुरु शिष्य सँगसँगै यश प्राप्त गर्न सकौं, ज्योतिप्राप्त गर्न सकौं, गौरवप्राप्त गर्न सकौं । हामी दुवैलाई तेज दिनुहोस्, ज्ञान दिनुहोस् जसबाट हामी जीवनको उद्देश्य र लक्ष्य पहिचान गर्न सकौं ।
ॐ सहनाववतु । सह नौ भुनक्तु । सहवीर्य करवावहै
तेजस्विनावधीतमस्तु, मा विद्विषावहै ।
(तैत्तरीय आरण्यक)

हे परमात्मा ! हामी दुवै गुरु एवं शिष्यको रक्षा गर, हामीलाई आनन्दको पान गराऊ । हामी दुवैलाई शक्ति प्रदान गर, हाम्रो ज्ञान र राष्ट्रिय हितमा तेजस्वी होस् । हामी एक आपसमा कहिल्यै द्वेष नगरौं, विरोध नगरौं बरु अत्यन्त प्रेमका साथ पढौं, पढाऔं । हामी आध्यात्मिक, आदिभौतिक, आदिदैविक सबै प्रकारका दुःखबाट मुक्त भई परम शान्ति प्राप्त गर्न सकौं ।
‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’
(ऋग्वेद)

हे सर्वरक्षक परमात्मा ! हामी गुरु शिष्य सँगसँगै हिंडौ, सँगै प्रशन्न हुन सकौं, हाम्रो मन विचार मिल्न सकोस्, हामी एक अर्काको अस्तित्वलाई सम्मान गर्न सकौं अनि यसैमा रमाउन सकौं ।

हाम्रा प्राचीन ग्रन्थहरूमा शिक्षण सिकाइ प्रक्रियाको क्रममा कतिपय अवस्थामा छात्र योग्यता र क्षमतामा गुरुभन्दा अगाडि भएको, आफूभन्दा मेधावी छात्रहरू प्राप्तिप्रति गुरुले हीनताबोध नगरी बरु गौरवबोधले अभिभूत भएको, शिष्यलाई गुरु (गुरुणां गुरु) मानेका रोमाञ्चक प्रसंगहरू उल्लेख छन् । यस हिसाबले अहिले भन्ने गरिएको ‘विद्यार्थीलाई सिकाउने मात्र होइन, उनीहरूबाट सिक्ने’ अवधारणा हाम्रो प्राचीन शिक्षण पद्धतिमा प्रचलित बालमैत्री अवधारणा भएको स्पष्ट हुन्छ ।

महाभारतमा उल्लेख भए अनुसार अर्जुन, आचार्य द्रोणका श्रेष्ठतम शिष्य हुन् । तर गदायुद्धमा भने दुर्योधन अर्जुनभन्दा श्रेष्ठ देखिन्छन् । दुर्योधनले गदायुद्ध बलरामबाट सिकेका थिए । अर्जुनको द्रोणमा जस्तै दुर्योधनको बलरामप्रति अपार श्रद्धा थियो । दुर्योधनले आचार्य द्रोणबाट गदायुद्धमा जस्तो उत्कृष्ट शिक्षा प्राप्त गर्न नसक्नुको कारण के थियो भने उनमा द्रोणप्रति कुनै श्रद्धाभाव नै थिएन र द्रोण पनि दुर्योधनलाई देखी सहँदैनथे । यसबाट प्रष्ट हुन्छ, शिक्षक र विद्यार्थीबीच जति श्रद्धा र प्रेमको सम्बन्ध हुन्छ, त्यति नै शिक्षण सिकाइ प्रक्रिया उत्कृष्ट हुन्छ । कृष्णले गीतामा भनेका छन्ः
श्रद्धावान्लभते ज्ञानं तत्परः संयतेन्द्रिय
ज्ञानं लव्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।
(गीता ५÷३९)

निर्विवाद छ, श्रद्धाभाव बालमैत्री सिकाइमा मात्र सम्भव हुन्छ, पिटेर, हप्काएर, हेपेर, दमन गरेर बालबालिकामा श्रद्धाभाव उत्पन्न गर्न सकिंदैन । तसर्थ, पूर्वीय शिक्षण पद्धतिमा शिक्षकमा हुनुपर्ने प्रमुख योग्यतामा ‘श्रद्धा गर्न लायक’ मानिएको छ । घमण्डी, अहंकारी, विषयवस्तुको ज्ञान नभएको, पाखण्डी शिक्षकलाई त्याग गर्नुपर्ने बताइएको छ ।
गुरोरप्यवलिप्तस्य कार्याकार्यमजानतः ।
उत्पथप्रतिपन्नस्य परित्यागो विधीयते ।।
(महाभारत, उद्योग पर्व)
... उत्पथप्रतिपन्नस्य, कार्यं भवति शासनम्
(वाल्मीकि रामायण, अयोध्या काण्ड)
... उत्पथप्रतिपन्नस्य मनुस्त्यागमया व्रवीत्
(पद्म पुराण)

यदि गुरु घमण्डी, अहंकारी, कर्तव्य अकर्तव्यको ख्याल नभएको, गलत बाटोमा हिंड्छ भने त्यसलाई तत्काल त्याग गर्नुपर्दछ ।
ज्ञानहीनो गुरुस्त्याज्यो मिथ्यावादी विडंबकः ।
स्वविश्रान्तिं न जानाति परशान्ति करोति किम् । ।
(गुरु गीता)

ज्ञानरहित, मिथ्यावादी, उदासीन, विडम्बनायुक्त गुरुलाई तत्कालै त्याग गर्नुपर्दछ । जो मूर्ख आफ्नै कुहिरोको काग भइरहेको छ, त्यस्ताले अर्कालाई के बाटो देखाउला ? अर्थात् जो आफैं शान्ति प्राप्त गर्न सकिरहेको छैन त्यसले अरूलाई के शान्ति देला ?
यत्रानन्दः प्रबोधो वा नाल्पमप्युपलभ्यते ।
वत्सरादपि शिष्येण सोऽन्यं गुरुमुपाश्रयेत् ।।

(शिव पुराण)
जुन गुरुसँग वर्ष दिनसम्म अध्ययन गर्दा पनि शिष्यलाई थोरै मात्र पनि आनन्दको अनुभूति हुँदैन, केही सिकेको महसूस हुँदैन, त्यस्ता गुरुलाई त्याग गरेर योग्य गुरुको आश्रय लिनुपर्दछ ।

यस आलेखमा उल्लिखित दृष्टान्तहरू हाम्रो प्राचीन शिक्षा पद्धतिको सन्दर्भका केही उदाहरण मात्र हुन् । अध्ययन अनुसन्धान गर्दा यसबारे गहन तथ्यहरू पाउन सकिन्छ । तापनि बालमैत्री अवधारणा “विदेशको बासी स्याउ” होइन बरु “हाम्रै मुस्ताङको ताजा अग्र्यानिक स्याउ’ भएको तथ्यलाई प्रस्ट्याउन भने यी दृष्टान्तहरू नै काफी छन् । तसर्थ बालमैत्री शिक्षणलाई ‘विदेशी बासी स्याउ’ मात्र होइन कि ‘कुहिएकै स्याउ’ ठान्ने शिक्षक मित्रहरूलाई विनम्र आग्रह छ– कतै हाम्रो पूर्वाग्रह ‘राजदलको हुद्दो, बुझदो न सुझदो, टुँडिखेलतिर कुद्दो’ भने जस्तो पो भयो कि ?

वैकल्पिक शिक्षा अभियान, काठमाडौं

commercial commercial commercial commercial