के, कहिले र कसरी पढाउने
कुनै पनि सिकाइको पहिलो उद्देश्य, त्यसबाट प्राप्त हुने आनन्दका अतिरिक्त, त्यो भविष्यमा कुनै कार्यका लागि सहयोगी होस् भन्ने हुन्छ । कुनै कुरा सिकेर त्यसमा पारंगत हुनु मात्र यथेष्ट हुँदैन, सिकेका कुराको मद्दतबाट आउँदा दिनमा अगाडि बढ्दै जान सकिने पनि हुनुपर्छ । डा. जेरोम ब्रूनरका अनुसार, सिकाइ अथवा शिक्षा भविष्यमा दुई किसिमबाट काम लाग्छ । पहिलोः हामीले मूलतः जुन जुन काम गर्न सिकेका छौं, उपयुक्त अवसरमा तत्सम्बन्धी ज्ञान/सीपको उपयोग गर्नु । यसलाई सिकाइको विशिष्ट स्थानान्तरण भन्न सकिन्छ र यसको प्रयोग प्रायः कुशलताका रूपमा देखा पर्छ । दोस्रोः पहिले आर्जित ज्ञानका माध्यमबाट आउँदा दिनका कार्यहरू बढी कुशलताका साथ गर्नु । यसलाई सिकाइको अविशिष्ट (सामान्य) स्थानान्तरण भन्न सकिन्छ । यसमा पहिले सीप वा कौशल होइन आधारभूत विचार सिकिन्छ जसलाई पछि आउने विविध समस्या एवं परिस्थितिको निरूपण–निराकरणको माध्यमका रूपमा उपयोग गर्न सकिन्छ । यस प्रकारको स्थानान्तरण नै शिक्षण प्रक्रियाको आधार हो जसले ज्ञानलाई निरन्तर विस्तृत र गहन तुल्याउँछ ।
सिक्ने प्रक्रियामाथि विश्वमा थुप्रै शोधकार्य भएका छन् । त्यसै अनुरूप यसको संकल्पना/लक्ष्यमा पनि परिवर्तन आएका छन् । कहिले शिक्षार्थीको सामान्य बोधको विकासमा बल दिइयो त कहिले विशेष कुशलता आर्जनमा, तर ज्ञानको आन्तरिक मूल ढाँचा अथवा कुनै कुराको चुरो शिक्षार्थीले कसरी पक्रन सक्छन् भन्ने विषयमा मनोवैज्ञानिकहरूको ध्यान उतिसारो जान सकेन । डा. ब्रूनरको धारणा छ— विद्यार्थीलाई जुनसुकै विषय पढाउँदा पनि त्यसको मूल संरचनाको ज्ञान गराउनु जरूरी छ । यसको उत्तम उदाहरण भाषा/मातृभाषाको अध्ययनमा देख्न सकिन्छ । कुनै वाक्यको मूल संरचना ठीकसँग बुझनासाथ विद्यार्थीले फटाफट त्यस्ता कैयौं वाक्यको रचना गर्न तुरुन्तै सिकिसक्छ जुन त्यही संरचनामा बनेका हुन्छन् तर तिनको विषय मूल वाक्यभन्दा फरक हुन्छ । यस क्रममा अर्थ नबदलीकन वाक्यको रूपान्तरण ढुक्कसँग गर्न सक्ने हुने बित्तिकै ऊ अधिक विविधता भएका वाक्य रचना गर्न सक्षम हुन्छ ।
अमेरिकामा हलचल
सोभियत संघले सर्वप्रथम अन्तरिक्षको खोजका लागि स्पुतनिक यान छोडेपछि संयुक्त राज्य अमेरिकामा हलचल मच्चियो । अमेरिकालीहरू वैज्ञानिक दृष्टिले सोभियत संघले आफूहरूलाई उछिनेको अनुभूति गर्न थाले । वैज्ञानिक एवम् औद्योगिक क्षेत्रको प्रगति तीव्र नबनाए रूसका सामुन्ने अमेरिका निम्छरो हुन पुग्ने धारणा प्रबल हुँदै गयो । अनि अमेरिकाले विज्ञान शिक्षालाई महत्वका साथ अघि बढायो । नयाँ पाठ्यक्रम बन्न थाले र नयाँ विधिहरूमाथि विचार हुन थाल्यो । यसै क्रममा त्यहाँको राष्ट्रिय विज्ञान एकेडेमीले सन् १९५९ मा देशका ३४ जना विख्यात विद्वानहरू सम्मिलित गोष्ठी आयोजना गर्यो । सो गोष्ठीमा पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, शिक्षण र सहायक सामग्री निर्माणसँग सम्बन्धित वैज्ञानिक सहभागी थिए । त्यहाँ यस्ता मनोविज्ञानवेत्ता पनि सम्मिलित थिए जसले बुद्धि, बोध, स्मृति, विचार र उत्प्रेरणाबारे लामो समयसम्म गहन खोज गरेका थिए । व्यवहारवादी, गेस्टाल्टवादी, मनोमितिक, जेनेभा स्कूलका विकासवादी समेत थरीथरीका मनोवैज्ञानिक सहभागी थिए । गोष्ठीमा अध्यापक, संकायाध्यक्ष, श्रव्यदृश्य साधन विशेषज्ञ, इतिहासकार लगायत पेशेवर शिक्षकहरूको प्रतिनिधित्व थियो । गोष्ठीलाई विज्ञान शिक्षणका विषयमा मात्र केन्द्रित गर्न नहुनेमा सबै सहमत थिए । शिक्षणका समस्या सबै विषय र सन्दर्भमा प्रायः समान हुने भएकाले विज्ञान शिक्षणको निष्कर्षको तुलना मानविकीका क्षेत्रहरूसँग गर्नु लाभदायक थियो नै ।
त्यो गोष्ठी मूलतः के, कहिले र कसरी पढाउने भन्ने प्रश्नहरूमाथि विचार गर्न आयोजना गरिएको थियो । पाठ्यक्रमलाई थप परिष्कृत बनाउन कस्तो अनुसन्धान जरूरी छ ? विषयको संरचनामा जोड दिनु भन्नुको अभिप्राय के हो ? विद्यार्थीमा पढाइप्रति कसरी रुची जागृत गर्ने ? अझ् सर्वोपरि प्रश्न थियो; पढाइ के गर्दा रुचिकर र प्रभावकारी हुन सक्छ र त्यसका लागि कस्तो पाठ्यक्रम चाहिन्छ ?
साना केटाकेटीहरू वयस्कको तुलनामा लगभग हरेक कुरा तुरुन्तै सिक्छन् । शर्त के मात्र हो भने तिनलाई नयाँ कुरा त्यही भाषा र तिनै शब्दमा सिकाउनुपर्छ जुन भाषा/शब्द उनीहरूले जानेका/बुझेका हुन्छन् ।
शीर्षस्थ आधुनिक शिक्षाशास्त्री डा. जेरोम ब्रूनर गोष्ठीका निर्देशक थिए । उनले गोष्ठीका सार ‘प्रोसेस अफ एजुकेशन’ नामक पुस्तकमा (विन्टेज बुक्स, न्यूयोर्क, १९६०) मा समेटेका छन् । गोष्ठीमा भएका विविध विषयका चर्चाहरूको आधारमा उनले पुस्तकमा जुन सिद्धान्तहरूको विवेचना गरेका छन् ती अमेरिकाको शिक्षाका लागि मात्र नभएर कुनै पनि देश, क्षेत्र र समयका लागि सतत महŒवपूर्ण छन् । यो आलेख सोही पुस्तकमा डा. ब्रूनरले व्यक्त गरेका केही विचारमा केन्द्रित छ ।
खिया लागेको शिक्षण विधि
आजभोलि कक्षाहरूमा पढाइने कुनै पनि विषयवस्तु एकांगी हुन्छ । त्यस विषयमा उपलब्ध जे जति सामग्री छ त्यसैको घेराभित्र विषयवस्तुलाई सीमित पारिन्छ जसका कारण आगामी अध्ययनलाई सरल बनाउन र समग्र रूपमा राम्ररी बुझन पढाइले खासै मद्दत पुर्याउँदैन । डा. ब्रूनरका अनुसार, यसको सट्टा एउटा विषयलाई अन्य कुरा/सन्दर्भ/विषयसँग सम्बन्ध स्थापित गरेर पढाउनु आवश्यक छ । कुनै पनि ज्ञान एकांगी रूपमा दिंदा त्यो न विद्यार्थीको स्मृतिमा लामो समयसम्म अडिन सक्छ न त उसले भविष्यमा त्यसको उपयोग नै गर्न सक्छ । हामी देखिरहेकै छौं, आजभोलि अधिकतर विद्यार्थी पढाइमा मन लगाउँदैनन् र नाना थरीका अनुशासनहीन कामप्रति लहसिन्छन् । निश्चय नै, यसको एउटा मुख्य कारण के हो भने हाम्रा पाठ्यक्रम र शिक्षण विधिहरू यति खिया परिसकेका छन्, विद्यार्थीलाई ती अर्थपूर्ण नै लाग्दैनन् ।
प्रश्न खडा हुन्छ, त्यसो भए त्यस्तो पाठ्यक्रम कसरी बनाउने जसलाई साधारण शिक्षकले साधारण विद्यार्थीलाई राम्ररी पढाउन सकून् अनि जसबाट विभिन्न विषयका आधारभूत एवं मुख्य सिद्धान्तको पनि भलीभाँति ज्ञान हुन सकोस् । डा. ब्रूनर भन्छन्, पाठ्यक्रमको निर्माण उनीहरूबाट गराउनुपर्छ जो सम्बन्धित विषयका पूर्ण ज्ञाता होऊन् । उनका अनुसार, प्राथमिक तहका विद्यार्थीलाई इतिहास, गणित अथवा कुनै पनि विषयमा के–कति पढाउने भन्ने निक्र्योल समेत त्यस्ता व्यक्तिहरूको सहयोगबाट गरिनुपर्छ जो ती विषयमा पूर्णतः पारंगत र गहन दृष्टिसम्पन्न होऊन् । यही मेसोमा हिजोआज अमेरिकामा विज्ञान विषयका प्राथमिक कक्षाका पाठ्यक्रम समेत त्यस विषयमा निष्णात वैज्ञानिकहरूले बनाउने चलन चलेको छ र यसमा उच्चकोटिका मनोवैज्ञानिकहरूलाई समेत सम्मिलित गराइन्छ । वास्तवमा, ज्ञानको कुनै पनि क्षेत्रका शीर्षस्थ व्यक्ति र मनोवैज्ञानिकले मिलेर मात्र कुन तहमा कुन कुरा कसरी पढाइनुपर्छ भनेर सही निर्णय लिन सक्छन् । तर, अपवादलाई छाडेर हामीकहाँ कुनै पनि ज्ञान–क्षेत्रका शीर्षस्थ व्यक्ति सामान्यतः विद्यालयहरूका लागि उपलब्ध हुँदैनन् ।
‘विद्यार्थीका आँखाबाट हेर’
साधारणतया कुनै पनि विषय या विषयवस्तुलाई कक्षा अनुसार भाग लगाउने गरिन्छ । कुनै पनि विषय कुनै कक्षा विशेषबाट मात्रै प्रारम्भ गर्न सकिन्छ भन्ने धारणा प्रबल बन्दै गएको छ । कक्षाभन्दा बाहिर वा पहिले केही पनि गर्न सकिदैंन वा गर्नु हुँदैन भन्ने ठानिन्छ । त्यसभन्दा पहिले होइन । तर, डा. ब्रूनर कुनै पनि विषय कुनै पनि तह वा कक्षामा प्रभावशाली ढंगले पढाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छन् । उनका अनुसार, कुनै साक्ष्य/प्रमाण यस्तो छैन जसले यसलाई गलत साबित गरोस् ।
महत्वपूर्ण कुरो त त्यो विषय/सामग्री विद्यार्थीसामु कसरी प्रस्तुत गरिन्छ भन्ने मात्र हो । शारीरिक–मानसिक विकासको प्रत्येक तहमा विश्वलाई हेर्ने बालकको विशेष तरीका अथवा दृष्टि हुन्छ । कुनै पनि उमेरको बालकका सामु विषयको संरचनालाई त्यसैगरी प्रस्तुत गर्नुपर्छ, जसरी ऊ दुनियाँलाई हेर्छ । बालकको ‘वर्तमान’ ज्ञान र वातावरणसँग जोडेर, त्यहाँबाट नयाँ ज्ञान दिन प्रारम्भ गरियो भने त्यो उसका लागि बोधगम्य हुन्छ । यस सम्बन्धमा, प्रारम्भिक गणितका अत्यन्त अनुभवी शिक्षक डेभिड पेजको भनाइ डा. ब्रूनरले उल्लेख गरेका छन्, “मैले बुझे अनुसार, साना केटाकेटी वयस्कहरूको तुलनामा लगभग हरेक कुरा तुरुन्तै सिक्छन् । शर्त के मात्र हो भने, तिनलाई नयाँ कुरा त्यही भाषा/तिनै शब्दमा सिकाउनुपर्छ जुन भाषा/शब्द उनीहरूले जानेका/बुझेका हुन्छन् ।” डेभिड भन्छन्— जब म गणितज्ञहरूलाई चौथो कक्षाका विद्यार्थीहरू ‘समुच्चय सिद्धान्त’ अधिकांश सिक्न सक्छन् भन्छु, केहीले हत्तनपत्त ‘अवश्य, अवश्य’ भन्छन् भने अरू अलमल्ल पर्छन् । ‘समुच्चय सिद्धान्त’ वास्तवमै कठिन छ भन्ने उनीहरूको सोचाइ हुन्छ जो सर्वथा गलत हो । हामीले त त्यस दिनको प्रतीक्षा गर्नुछ, जुन दिन यस्ता सिद्धान्त र समुचित दृष्टिकोणलाई प्रस्तुत गर्न अनुकूल भाषाको आविर्भाव होस् ।
पाठ्यक्रममा, खासगरी विज्ञान सम्बन्धी विषयहरूमा, आजभोलि जस्तो परिवर्तन भइरहेको छ त्यो प्रायः यस्तै धारणाको परिणाम हो । पहिले उच्च शिक्षामा रहेका थुप्रै कुरा अब माध्यमिक तहमा ल्याइएका छन् अनि माध्यमिक तहमा पढाइने गरेका कैयौं कुरा प्राथमिक तहमा आइपुगेका छन् । विश्वमा विज्ञानको प्रगति र ज्ञानको तीव्र प्रसार भइरहेको सन्दर्भमा शिक्षा पनि गतिशील हुनु जरूरी छ र कुन विषयवस्तु कुन कक्षामा पढाउने भनेर अत्यन्त सावधानीसाथ छनोट गर्नु आवश्यक छ । जब–जब पाठ्यक्रममा परिवर्तन हुन्छ र उच्च कक्षामा पढाइँदै आएका विषय–वस्तु निम्न कक्षाहरूका लागि निर्धारित गरिन्छन् तब तब त्यसको सामान्य विरोध भई नै हाल्छ र टिप्पणी गरिन्छ— पाठ्यक्रम तह अनुकूल भएन । के कुरा तह अनुकूल हो–होइन भन्ने निर्णय गर्नु सजिलो काम होइन तर विरोध अत्यन्तै सहज रूपमा अगाडि आइहाल्छ । ज्ञानको विस्तार तीव्रतासाथ भइरहेकाले पुराना विषयवस्तुमाथि पुनर्विचार गर्नु र तिनलाई समयानुकूल बनाइराख्न निरन्तर परिवर्तन गर्दै जानु एकदमै आवश्यक छ । विकसित संचार–साधनहरूका कारण आजका बालबालिकाको ज्ञानको परिधि पहिलेका बालबालिकाको तुलनामा स्वतः चौडा हुन पुगेको छ । उनीहरूका आवश्यकता तथा प्राथमिकता पनि फेरिएका छन् । कठिनभन्दा कठिन र ठूलोभन्दा ठूलो विषयवस्तुलाई सरल र सामान्य रूपमा विद्यार्थीका सामु कसरी प्रस्तुत गर्ने भन्ने विषय पढाइको विधि र विषयवस्तुको संयोजनमा निर्भर हुने कुरा हो । कुनै पनि विषय कुनै पनि तह वा कक्षामा प्रभावशाली ढंगले पढाउन सकिन्छ भन्ने डा. ब्रूनरको मान्यतामाथि गम्भीरतापूर्वक विचार र प्रयोग गर्नु एकदमै आवश्यक छ ।
पुरस्कार र दण्डः दुवै खतरनाक
सिकाइको गति तीव्र बनाउन पुरस्कार र दण्डको भूमिकाबारे प्रशस्त लेखिएको छ र यो विधि विद्यालयहरूमा प्रचलित पनि छ । तर, सिकाइप्रति विद्यार्थीमा रुचि र जिज्ञासा स्वयं जागृत होस् र ऊ खोजप्रति आकर्षित हुन सकोस् भन्नेबारे एकदमै कम ध्यान दिइएको छ । डा. ब्रूनरका विचारमा, विद्यार्थीलाई कठिन विषयवस्तुको ज्ञान दिने उचित तरीका के हो भने, उसलाई अवसर उपलब्ध गराएर आफ्नो पूरै क्षमता उपयोग गर्ने चुनौती दिइयोस्— जसबाट उसले पूरापूर र प्रभावी ढंगले काम गर्ने आनन्दको अनुभव गर्न सकोस् । यो कार्य कक्षामा तल्लीनता नल्याएसम्म सम्भव छैन, जो कहिलेकाहीं मात्र हुन्छ । विचार गर्नुपर्ने प्रश्न के हो भने, पुरस्कार अथवा दण्डका कारण सिकाइप्रति उत्पन्न हुने कृत्रिम आकर्षण आखिर कतिन्जेल कायम रहला ? नीतिगत रूपमा नै मूल कुरालाई गौण मानेर अनि बाहिरी आकर्षणमाथि निर्भर भएर हामी शिक्षाको कति हित गरिरहेका छौं भन्ने आधारभूत प्रश्नको उत्तर हामीले दिनैपर्छ । पुरस्कार र दण्डलाई नै सिकाइ वा उत्प्रेरणाको अन्तिम आधार मान्ने हो भने (आजभोलि सामान्यतया यस्तै मानिन्छ) डिग्री प्राप्त गरिसकेपछि वा दण्डको भय मेटिएपछि सिकाइ स्वतः बन्द हुनेभयो ! त्यसैले, पुरस्कार र दण्ड दुवै कुरा खतरनाक छन् । हामी शिक्षण प्रक्रियालाई नै यस्तो बनाउन सक्दैनौं, जस अन्तर्गत विद्यार्थीले पढ्दा स्वयं आनन्दको अनुभूति गरोस् र त्यसमा तल्लीन हुन पुगोस् ? अवश्य पनि, बाधा र कठिनाइहरू थुप्रै होलान् तर यस दिशातर्फ गरिने प्रयत्नहरूको उपादेयतालाई नकार्न सकिंदैन ।
जोडः रटाइमा होइन अन्तज्र्ञानमा
अध्ययनमा तल्लीनता कसरी ल्याउने त ? हिजोआजको पढाइमा र परीक्षामा पनि शाब्दिक अथवा संख्यात्मक सूत्रहरू जस्ताको तस्तै दोहोर्याउन सक्ने योग्यतामाथि बढी जोड दिइन्छ । यसको फलस्वरुप विद्यार्थीले आफ्नो अन्तज्र्ञानको विकास गर्न सक्तैन । फिजिक्स, गणित जस्ता कैयौं विषयमा अन्तज्र्ञानको विकास गर्नुलाई एउटा उद्देश्य मानिन्छ, जसबाट विद्यार्थी धेरै समय नलगाई समाधानमा पुग्न सकोस् । अन्तज्र्ञानात्मक चिन्तन के हो र यसलाई कुन–कुन तत्वले प्रभावित पार्छन् ? यसको जवाफ दिन सजिलो छैन । अन्तज्र्ञानात्मक चिन्तनको तुलनामा विश्लेषणात्मक चिन्तनका बारेमा कतिपय ठोस कुरा बताउन सकिन्छ । विश्लेषणात्मक चिन्तनका चरणहरू हुन्छन् र तिनबारे स्पष्टतया बुझउन सकिन्छ । तर अन्तज्र्ञानात्मक चिन्तनमा त्यस्ता सुनिश्चित चरण हुँदैनन् । यसमा समग्र समस्याको अस्पष्ट बोधका आधारमा नै चेष्टाहरू गरिन्छन् त्यसैले उत्तर वा समाधान कसरी निकालियो भनेर बताउन मानिसलाई हम्मे पर्छ । अन्तज्र्ञानात्मक चिन्तन विषय–क्षेत्रको राम्रो जानकारी र त्यसको संरचनामा आधारित हुन्छ तर त्यसबाट निस्केका निष्कर्षहरूको जाँच निगमनात्मक तथा आगमनात्मक विश्लेषण पद्धतिद्वारा गर्नुपर्ने हुन्छ । डा. ब्रूनरका विचारमा, हामीले अन्तज्र्ञानात्मक चिन्तन र विश्लेषणात्मक चिन्तनको पारस्परिक पूरक प्रवृत्तिलाई स्वीकार गर्नुपर्छ । किनभने, अन्तज्र्ञानात्मक चिन्तनद्वारा कुनै पनि व्यक्तिले समस्याको प्रायः यस्तो समाधान निकाल्छ जो विश्लेषणात्मक चिन्तनद्वारा या त निकाल्नै सकिंदैन, निकाले पनि त्यसमा ज्यादै समय लाग्छ । र, अन्तज्र्ञानात्मक चिन्तनद्वारा निकालिएको समाधानलाई पछि विश्लेषणात्मक चिन्तनबाट सिद्ध गर्न सकिन्छ । अन्तज्र्ञानात्मक योग्यताको पहिचान गर्नु र त्यसलाई स्वरूप दिनु सजिलो काम नभए पनि के चाहिं ढुक्कै भन्न सकिन्छ भने— विषयको संरचनाको राम्रो ज्ञानले विद्यार्थीमा अन्तज्र्ञानात्मक तरीकाले समस्याहरूको समाधान गर्ने प्रभावोत्पादकता बढ्न जान्छ ।
अनुमानलाई प्रोत्साहन
यहाँनेर एउटा प्रश्न उठ्न सक्छः त्यसो भए— सिकाइको सहायक साधनका रूपमा—विद्यार्थीलाई अनुमान गर्न प्रोत्साहित गर्ने त, जसबाट अन्ततोगत्वा उनीहरू बुद्धिमत्तापूर्ण अनुमान लगाउन सक्षम हुन सकून् ? डा. ब्रूनरको विचारमा, यस्ता धेरै स्थितिहरू हुन्छन् जहाँ अनुमान लगाउनु वांछनीय हुन्छ र त्यो अन्तज्र्ञानात्मक चिन्तनको विकासका निम्ति निकै हदसम्म सहयोगी पनि हुन्छ । वास्तवमा, कतिपय अनुमानका निम्ति परिष्कार आवश्यक हुन्छ र अनुमान लगाउने अभ्यास गर्नु जरूरी हुन्छ । तर हाम्रा विद्यालयहरूमा अनुमान लगाउनुलाई प्रायः दण्डनीय मानिन्छ र यसलाई अल्छ्याइँ अथवा गैरजिम्मेदारीको लक्षण ठानिन्छ । डा. ब्रूनरले अन्तज्र्ञानात्मक चिन्तनको विकासका लागि विद्यार्थीलाई अनुमान लगाउन प्रोत्साहित गर्नुपर्छ जसबाट अन्ततः उनीहरू बुद्धिमत्तापूर्ण अनुमान गर्न सक्षम हुन सक्नेछन् भन्ने कुरामा जोड दिएका छन् । विद्यार्थीलाई अनुमान लगाउनु बाहेक अरू केही पनि नगर्ने शिक्षा दिइयोस् भन्ने, अवश्य पनि, कसैले चाहँदैन । तर, कुनै प्रश्नको तत्काल सही जवाफ दिन नसक्दा अलमल्ल परेर बसिरहनुभन्दा त अनुमान लगाएर उत्तर दिनु नै विद्यार्थीका निम्ति बढी राम्रो हुँदैन र ? यसका निम्ति विद्यार्थीलाई यस्तो प्रशिक्षण दिनुपर्छ जसबाट उसले अनुमानको यथार्थता स्वीकार गर्न सकोस् अनि उसले गर्ने अनुमानहरू उसको ज्ञानमा आधारित होऊन् । यस क्रमलाई अघि बढाउन अत्यन्तै समझ्दार शिक्षकको आवश्यकता हुन्छ जसले मूर्खतावश वा कुरो नबुझेर विद्यार्थीले गरेको त्रुटि र अन्तज्र्ञानको उपयोगबाट हुन पुगेको त्रुटिमा फरक खुट्याउन सकोस् । माध्यमिक विद्यालयका साधारण शिक्षकबाट यस्तो आशा गर्नु अलि बढ्तै हुन्छ भन्ने डा. ब्रूनर पनि मान्छन् । उनको भनाइ छ— अन्तज्र्ञानात्मक चिन्तन र त्यसको मापन गर्ने प्रणालीको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ ।
रुचिः तात्कालिक कि दीर्घकालीन ?
मूलतः स्तर उन्नयनको समस्या पाठ्यक्रम निर्माणसँग जति सम्बन्धित छ त्यति नै कक्षा शिक्षणसँग पनि । कक्षा शिक्षणको सबैभन्दा उपयुक्त स्थिति, डा. ब्रूनरका अनुसार, त्यो हुन्छ जुनवेला विद्यार्थी न पूर्णतया उदासीन हुन्छन् न त पूर्णतया आवेशपूर्ण नै । प्रतियोगितामूलक गहन क्रियाकलापहरूको व्यस्तताले विद्यार्थीलाई मनन, आत्मनिरीक्षण, संशोधन आदिको अवसर प्रदान गर्दैन । यस्तै, अत्यधिक नियमितता/अनुशासननिष्ठ कार्यक्रमले— जसमा उनीहरूले बडो धैर्यपूर्वक आफ्नो पालो पर्खनुपर्ने हुन्छ— विद्यार्थीलाई निश्चेष्ट, उदासीन र अन्त्यमा निराशापूर्ण बनाइदिन्छ । कक्षा शिक्षणमा नित्य देखा पर्ने यी समस्या गम्भीर छन् । हामी कुनै विषयमा तात्कालिक रुचि जगाउन त ध्यान दिन्छौं तर त्यसमा सुदीर्घकाल सम्मका निम्ति रुचि जगाउनुपर्ने आवश्यकतामा ध्यान दिंदैनौं । फिल्म वा श्रव्यदृश्य साधनहरूको उपयोगले विद्यार्थीमा कुनै विषयप्रति तात्कालिक रुचि अवश्य जगाउन सकिन्छ, तर तिनले अन्ततोगत्वा उनीहरूलाई निश्चेष्ट बनाइदिन्छन् । अनि विद्यार्थीहरू आफूलाई उत्प्रेरित गर्न शिक्षकले कुनबेला फिल्म अथवा श्रव्यदृश्य साधन प्रयोग गर्न थाल्ला भनेर सधैं प्रतीक्षा गरिरहेका हुन्छन् । शिक्षक र तिनका प्रशिक्षकहरूका निम्ति यो कुरा विशेष विचारणीय छ । पढाइको उत्पे्ररक बाहिरी साधन होइन, मूलतः ‘आन्तरिक साधन’ नै हुनुपर्छ । पढाइका नाममा दिमागलाई लगभग आराम दिएर निश्चेष्ट दर्शक भए पुग्ने अवस्था विद्यार्थीका लागि हानिकारक हुन्छ । प्रयास केमा हुनुपर्छ भने, विद्यालयका कार्यक्रम/शिक्षण प्रक्रियामा जडता नहोस् अनि विद्यार्थीको अवधान प्रक्रिया (विषयवस्तु बुझन भित्रैदेखि उत्सुक रहने प्रक्रिया) लाई बढीभन्दा बढी स्वायत्त बनाउन चेष्टा गरियोस् ।
शिक्षण प्रक्रियामा सहायक सामग्रीको महत्वमाथि आजभोलि निकै चर्चा हुने गरेको छ । विद्यालयको सामान्य वातावरणमा उपलब्ध नहुने सामग्रीहरू जस्तै— चलचित्र, टेलिभिजन कार्यक्रम, रेकर्ड, किताब, विभिन्न वस्तुका नमूना आदि निर्माण गरिन्छ । विद्यार्थीलाई कुनै तथ्य, घटना आदिको संरचना बुझन पनि यस्ता सामग्रीले पर्याप्त मद्दत गर्छन् । यी सम्पूर्ण साधन अध्यापन कलाकै विस्तार हुन् जसले शिक्षकको कार्यभार केही हलुका तुल्याइदिन्छन् । बुझनुपर्ने कुरो चाहिं यस्ता सामग्री कुन वेला र केका निम्ति प्रयोग गर्ने भन्ने हो । जुन कुरा शिक्षकले स्वयं प्रयोग गरेर देखाउन सक्छ त्यसका लागि चलचित्र देखाउनुको कुनै अर्थ हुँदैन । चलचित्र त्यसवेला उपयोगी हुन्छ जब त्यस्ता जटिल यन्त्र अथवा विधिको प्रयोगबारे विद्यार्थीलाई बुझाउनुपर्ने हुन्छ— जुन कुरा विद्यालयको सामान्य प्रयोगशालामा सम्भव हुँदैन । अझ् गाँठी कुरा त के हो भने चलचित्र होस् अथवा अन्य कुनै श्रव्य–दृश्य साधन, तिनले शिक्षकको स्थान कदापि लिन सक्तैनन् । डा. ब्रूनर भन्छन्— संसारका सर्वोत्तम फिल्महरू नै पनि शिक्षणका अन्य तरीकाहरूसँग सम्बद्ध नगरी देखाउने हो भने तिनले विद्यार्थीमा विषयप्रति उदासीनता बाहेक केही विकसित गर्न सक्तैनन् । श्रव्य–दृश्य साधनहरूलाई कुन वेला र कसरी उपयोग गर्ने भन्ने सही निर्णय पनि शिक्षण कलाको गहिरो ज्ञान भएको शिक्षकले नै गर्न सक्छ । श्रव्य–दृश्य साधनहरूको प्रयोग गर्नासाथ शिक्षण प्रभावकारी वा सफल भैहाल्छ भन्ठान्नेहरूले डा. ब्रूनरको यो विचार मनन गर्नु आवश्यक छ ।
शिक्षक नै महŒवपूर्ण
शिक्षणका निम्ति सहायक सामग्रीको न्यूनता भएका हाम्रा जस्ता मुलुकहरूमा डा. ब्रूनरको दृष्टिकोण अनुसार शिक्षकलाई नै शिक्षण प्रक्रियाको मुख्य साधनका रूपमा स्वीकार गर्नु फलदायी हुनेछ । उनी भन्छन्— शिक्षक ज्ञानदाता मात्र नभएर जीवन्त आदर्श पनि हुन्छ । उसको व्यक्तित्व शैक्षिक प्रक्रियाको प्रत्यक्ष प्रतीक हुन्छ । ऊ त्यस्तो जीवन्त प्रतिमा हो जोसँग विद्यार्थीले तादात्म्य स्थापित गर्छन् र ऊसँग आफ्नो तुलना पनि गर्छन् । उत्साही, दृढ मत भएका, अनुशासित, आफ्नो विषयका ज्ञाता, विनोदी तर सहज, गम्भीर शिक्षकको व्यक्तित्वको प्रभावलाई सबैले स्मरण गरिरहन्छन् । शिक्षकका यस्ता कैयौं प्रभाव–बिम्ब छन् र ती सबै अमूल्य छन् । यद्यपि, त्यस्ता शिक्षक पनि नभएका होइनन् जसले विद्यार्थीको आत्मविश्वास नष्ट गरे, तिनका आशाहरूको घाँटी निमोठे र जो आतंकका साक्षात् मूर्ति भए ।
डा. ब्रूनरका अनुसार, ज्ञानको सम्प्रेषण मुख्यतः शिक्षकको विषयगत प्रवीणतामा निर्भर हुन्छ, चाहे उसले सहायक सामग्रीको उपयोग गरोस् वा नगरोस्— र, यति कुरा जान्न विस्तृत अनुसन्धान गरिरहनु बिल्कुलै जरूरी छैन । प्राथमिक र माध्यमिक विद्यालयका अनेकौं शिक्षक आफ्नो विषय पढाउन शुरूमा पर्याप्त प्रशिक्षित नहुन सक्छन् । तर, अध्यापन स्वयं सिक्ने उत्कृष्ट तरीका/माध्यम हो । जे होस्, स्थितिमा सुधार ल्याउन बढी योग्य व्यक्तिलाई शिक्षक नियुक्त गर्ने, छनोट प्रक्रियालाई प्रभावकारी बनाउने, शिक्षक प्रशिक्षण संस्थानहरूमा राम्रो प्रशिक्षण प्रदान गर्ने, सेवाकालीन÷ग्रीष्मकालीन शिविरहरू संचालन गर्ने आदि माध्यमबाट निरन्तर सचेष्ट रहनु आवश्यक छ । शिक्षाको उन्नतिका निम्ति हाम्रो व्यग्रता र उत्सुकता कुन मात्रामा छ, सुधारका प्रक्रिया र प्रभाव त्यही मात्रामा अगाडि आउँछन् ।
पाठ्यक्रमः शिक्षकका लागि
शिक्षालाई नयाँ र प्रभावशाली रूप दिन उपयोगी, महत्वपूर्ण विचारहरूले भरिएको पुस्तक ‘प्रोसेस अफ एजुकेशन’ को विश्वका अनेक भाषामा अनुवाद भइसकेको छ । यसको दोस्रो संस्करण सन् १९७७ मै अमेरिकामा छापिएको थियो । त्यसको भूमिकामा डा. ब्रूनरले लेखेका थिए, मैले पुस्तकमा केही संशोधन गर्न सकिनँ । कुरा स्पष्ट थियो— शिक्षाका मूल सिद्धान्तहरूले भरिएको पुस्तकमा संशोधन गर्नुपर्ने कुरै के हुन्छ र ? तर, त्यही भूमिकामा पाठ्यक्रम निर्माणबारे उनले लेखेको एउटा महत्वपूर्ण कुरा साँच्चिकै विचारणीय छ । त्यो हो— पाठ्यक्रम विद्यार्थीका लागि होइन अपितु शिक्षकका लागि हुन्छ । त्यसले शिक्षकमा परिवर्तन ल्याउन सक्तैन; उसलाई उद्विग्न, अनुप्राणित एवं प्रेरित गर्न सक्तैन भने उसले पढाउने विद्यार्थीमा पनि त्यसको कुनै प्रभाव पर्दैन । त्यसैले, पाठ्यक्रम सर्वप्रथम शिक्षककै निम्ति हुनुपर्छ; विद्यार्थीमा त्यसको कुनै प्रभाव देखियो भने त्यसको कारण हो शिक्षक स्वयं त्यसबाट प्रभावित छ । डा. ब्रूनरका अनुसार, ‘राम्ररी तयार गरिएको पाठ्यक्रम ज्ञानको त्यस्तो समूह हो, जो जस्ताको तस्तै विद्यार्थीलाई प्राप्त हुन जान्छ’ भन्ने धारणा वास्तवमै भ्रमपूर्ण र निरर्थक छ ।
(‘शिक्षा विमर्श’ मे/जून २००९ मा भारतीय शिक्षाविद् चतरसिंह मेहताद्वारा प्रस्तुत सामग्रीमा आधारित)
भाषान्तरः शरच्चन्द्र वस्ती
शिक्षक मासिक, २०७० भदौ अंकमा प्रकाशित ।