प्रतिक्रिया र सुझाव
गरीबले पनि पढ्न पाउनु प¥यो नि !
रुपन्देहीको गैडहवा गाउँपालिकाको वडा–९ अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले मावि तहमा अध्ययन गर्न नपाएको समाचार (शिक्षक, असार २०७५) ले मन छोयो । त्यसरी जनप्रतिनिधिको स्वार्थमा विद्यालय समायोजन हुनु राम्रो होइन । नगरपालिका जस्तो जिम्मेवार संस्थाले नै विद्यार्थीको पढ्ने अधिकारप्रति खेलबाड गरेको पाइयो । यस्तो गर्नु कतिसम्म न्यायोचित हो ? सरकारले विद्यार्थीको पढ्ने अधिकारलाई सर्वसुलभ गराउनुपर्ने होइन र ? यसरी दुःखी, गरीब र निमुखा जनताका छोराछोरी पढ्नबाट वञ्चित हुनुबाट के बुझ्न्छि भने शिक्षामा पनि राजनीतिको खेल भएको छ । यस्तो पाराले कसरी देशमा दक्ष जनशक्तिको उत्पादन हुन सक्छ ? के सधैं पैसा, पहुँच र शक्तिको भरमा मात्रै शिक्षाको गुणस्तर हुने हो र ? यसमा शिक्षा मन्त्रालय लगायतका माथिल्ला निकायको तुरुन्त ध्यान जानुप¥यो । नत्र सबैलाई समान शिक्षा भन्ने नारा एकादेशको कथा जस्तै होला ।
बुद्धिलाल तामाङ, गोरखा
हालः बाल संसार आवासीय विद्यालय,
नगराइन–६, धनुषा
राम्रो लाग्यो
२०७५ को वैशाख अङ्क समयमै पढ्न पाइयो । पत्रिकाको शुरूमै राखिने गरिएको ‘हेराइ र बुझइ’ मा भ्यागुताको बथान शीर्षकको लेख निकै राम्रो लाग्यो । दुर्गा कार्कीको ‘एउटा कविताको कथा’ ले आँखा नै रसायो । शिक्षण पेशामा लाग्ने शिक्षक कस्तो प्रकृतिको हुनुपर्छ र विद्यार्थीले आफूलाई शिक्षा दिने गुरुहरूबाट के–कस्ता आशा गर्दा रहेछन् भन्ने यो लेखले छर्लङ्ग पारेको छ । यसैगरी मनका कुरा अन्तर्गतमा रामविक्रम थापाको “अन्ततः मोहभङ्ग भयो” ले निकै भावुक बनायो ।
शिक्षक कै रिपोर्ट ‘नेपाल सरकारको पछिल्लो मर्यादा क्रममा शिक्षक बाहेक सबै अटाएका छन्’ प्रस्तुत गरेर शिक्षकप्रति शिक्षक ले राम्रो समसामयिक सन्देश प्रस्तुत गरेको पाइयो । यसैगरी लक्ष्मीप्रसाद पंगेनीको लेख पनि निकै राम्रो लाग्यो । डा. विद्यानाथ कोइराला, धनञ्जय शर्मा अधिकारी, रामजी दाहाल, कीर्ति जयराम, प्रमोद प्रधान, विनय कसजू, केदार शर्मा, डा. तीर्थबहादुर श्रेष्ठ लगायतका लेख–रचनाहरूले पत्रिकाको स्तरीयतामा निकै समृद्धि तुल्याएको छ । आमोदवर्धन कौण्डिन्न्यायनलाई संस्कृत भाषा प्रशिक्षण शृंखला शुरूआत गर्न लगाएर नेपाली भाषा, साहित्य, संस्कृत र संस्कृतिको संरक्षण, संवद्र्धनमा शिक्षक ले ठूलो गुन लगाउने काम गरेको छ । यसको लागि म शिक्षक परिवारप्रति आभार प्रकट गर्दछु ।
शिक्षक लाई बरु एउटा भन्नै पर्ने कुरा के छ भन्ने ‘सही ठाउँ सही अक्षर’ भर्ने साह्रै सानो भयो । आगामी दिनहरूदेखि यसलाई अलिक ठूलो (धेरै) ठाउँ दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु ।
ओमप्रकाश अधिकारी
जनता मावि, मनरी, नवलपरासी




