स्कूलमा ‘घरेलु प्याड’ बनाउने अभ्यास

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकास्थितगुटुमा रहेको जीवनज्योति माध्यमिक विद्यालयमा २०७४ फागुन १६ गते पुग्दा त्यहाँ एउटा असामान्य दृश्य देख्न पाइयो । विद्यालयको साझ कक्षामा भेला भएका किशोरकिशोरी विद्यार्थी देखि ७० वर्षका अभिभावक समेत महीनावारी हुँदा उपयोग गरिने स्यानिटरी प्याड बनाउने तरीका सिक्दै थिए । कागजमा प्याडको आकार बनाएर कपडा काट्दै सिउँदै उनीहरू उपयोग गर्न मिल्ने साँच्चिकै प्याड बनाउँदै थिए । शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधि पनि त्यहाँ थिए । वातावरणीय कृषि तथा विकास केन्द्र (केड नेपाल) का प्रशिक्षकले महीनावारी तथा सरसफाइका बारेमा जानकारी दिइसकेपछि उनीहरूलाई घरेलु प्याड बनाउन सिकाइएका थिए ।

यो कार्यक्रममा सहभागी कक्षा ४ की १३ वर्षीया छात्रा रेनुका रोकाया प्रशिक्षण कक्षाको उपयोगिता सुनाउँदै भन्छिन्, “महीनावारी हुँदा प्याड प्रयोग गर्नु पर्छ भन्ने कुरा सँगै प्याड बनाउँदा नरम कपडा प्रयोग गर्ने , धुने र घाममा सुकाउने गर्नु पर्छ भन्ने पनि थाहा पाएँ ।”

कक्षा ८ की छात्रा धनी बूढा मगरलाई कार्यक्रममा सिकेजस्तै गरी घरमै प्याड बनाउने र प्रयोग गर्ने मन छ । त्यसो त उनी महीनावारी हुँदा नरम सूतीको कपडा नै प्रयोग गर्छिन् । तर कार्यक्रममा सिकेको तरीका उनलाई फरक लाग्यो । अर्को कुरा , उनी महीनावारी हुँदा प्रयोग भएका कपडालाई धोएपछि अरू कपडाले छोपेर घाममा सुकाउँथिन् । तर कपडाले नढाकी चर्को घाममा सुकाउँदा रराम्रो हुने उनले कार्यक्रमबाट थाहा पाइन् ।


आर्थिक हिसाबले पनि घरेलु प्याड नै ठीक हो भन्ने लागेको छ कक्षा ९ का विद्यार्थी रमेश जैसीलाई । उनी छरछिमेकका महिला दिदीबहिनीलाई घरेलु प्याड बनाउन सिकाउन सकिने बताउँछन् ।

सबै जना यसरी सँगै बसेर महीनावारी र प्याड बनाउन बनाउने तरीकाबारे सिक्न पाउँदा अभिभावक सरस्वती देवी सुनारलाई साह्रै रमाइलो लाग्यो । यसले गर्दा घरमा पनि श्रीमान श्रीमती छोराछोरीबीच छलफल गर्न कार्यक्रममा सहभागी भएकालाई अब लाज नहुने उनको विश्वास छ ।

७० वर्षका अभिभावक देवबहादुर थापा पनि कार्यक्रममा सहभागी थिए । उनका नाति र नातिनी जनज्योतिमा पढ्छन् । उनले ‘म पुरानो मान्छे हुँ, युवायुवतीसँग यसरी छलफल गर्दा रराम्रो लाग्यो’ भने । के थाहा भयो त कार्यक्रमबाट भन्दा उनको जवाफ थियो “महीनावारीका बेला सरसफाइ अनिवार्य हुन्छ र यसो भएन भने स्वास्थ्य रराम्रो हुँदैन ।” उनले विद्यालयमा किशोरीहरूको शौचालय भए पनि त्यति सफा नभएको बताए । विद्यालयका भाइबहिनीले अब सरसफाइमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

‘केड’ की प्रशिक्षक चमेली जीसीले घरेलु प्याडमा प्रयोग गरिने कपडा सफा र नरम हुनुपर्नेमा सजग गराउँदै खस्रो कपडा प्रयोग गर्दा घाउ हुने वा छाला पाछिन सक्नेमा सचेतगराइन् । ‘पुनः प्रयोगका लागि प्याड साबुनपानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ । यसो गर्दा कीटाणु मर्छन्, उनले भनिन् । जीसीका अनुसार कसैले देख्छ भनेर अरू कपडाले छोपेर सुकाउँदा वा ओसिलो ठाउँमा सुकाउँदा कीटाणु मर्दैनन् र संक्रमण पनि हुन सक्छ ।

जीवनज्योति माध्यमिक विद्यालयमा ८५० विद्यार्थी छन् जसमध्ये आधा छात्रा छन् । ‘महीनावारी सरसफाइ र प्याड निर्माण सम्बन्धी कार्यक्रमबाट व्यावहारिक सिकाइ त भयो नै, यस विषयमा खुला छलफल गर्ने माध्यम पनि बनेको छ’ विव्यस अध्यक्ष कमल जीसीलाई लागेको छ । यो सिकाइलाई प्रभावकारी बनाउन अभिभावक शिक्षक विद्यार्थीसँग आउने दिनमा अब विद्यालयले आफैं छलफल गर्ने उनको विश्वास छ ।

commercial commercial commercial commercial