हेराइ र बुझाइ

एउटा पन्थको जन्म !

प्रसंग केही सय वर्ष पहिलेको हो । एउटा व्यक्ति गम्भीर प्रकृतिको दुष्कर्म गर्दागर्दै पक्राउ प¥यो । दण्डका रूपमा उसको नाक काटियो । नकटो अनुहार लिएर गाउँमा बस्न सम्भव भएन । ऊ जंगलतिर पस्यो । वनको बाटो भएर कोही आउँदै वा जाँदै गरेको चाल पाउनासाथ ऊ बाघको छालामा बसेर ध्यानमग्न भएको ढोंग गर्ने गथ्र्यो; कसैसँग केही बोल्दैनथ्यो । समयसँगै मानिसले उसको दुष्कर्म बिर्संदै गए । बरु उसलाई साँच्चिकै तपस्वी ठान्नेहरूको संख्या बढ्दै गयो । उसको दर्शन गर्न मानिसको भीड लाग्न थाल्यो ।

यसरी वर्षहरू बित्दै जाँदा मौनब्रतधारी साधुबाट उपदेश सुन्न चाहने भक्तहरूको अनुनय–विनय बढ्दै गयो । एउटा युवक त आफूले शिष्य हुने संकल्प नै गरिसकेको बताएर दीक्षाका निम्ति अहोरात्र त्यहीं धर्ना कसेर बस्यो । हुँदाहुँदा भक्तहरूलाई उपदेश दिन थप विलम्ब गर्दा साधुको सबै पोल खुल्ने स्थिति पैदा हुन थाल्यो ।

त्यसैले साधुले एक दिन आफ्नो मौनब्रत तोड्दै शिष्य बन्न लालायित त्यो युवकलाई आफूछेउ बोलाएर “भोलि एउटा धारिलो तरबार लिएर आउनू” भनेर अह्रायो ।

युवक भोलिपल्ट सबेरै तरबार लिएर साधुसामु उपस्थित भयो । साधुले युवकलाई आफ्नो कुटीभन्दा टाढा घना जंगलको बीचमा पु¥याएर त्यही तरबारले एकै चोटमा उसको नाक काटिदियो । त्यसपछि उसले गम्भीर आवाजमा युवकलाई भन्यो, “बाबु, यो सम्प्रदायमा शिष्यको दीक्षा यसैगरी हुन्छ । मैले जसरी दीक्षा प्राप्त गरेको थिएँ, त्यही दीक्षा आज तिमीलाई दिएको छु । तिमीले पनि अवसर पाएको खण्डमा यसैगरी अरूलाई दीक्षा प्रदान गर्नू ।”

लज्जाका कारण युवकले आफूले पाएको यो ‘अद्भुत दीक्षा’ को रहस्य अरू कसैसँग भन्न–बाँड्न सकेन । बरु, ऊ पनि आफ्ना गुरुको आदेशको पालना गर्नतिर लाग्यो । परिणामतः त्यो देशमा नकटा साधुहरूको संख्या दिन दुगुना रात चौगुनाको दरले बढ्न थाल्यो । तिनको अलग्गै सम्प्रदाय नै खडा भयो, जसलाई उनीहरूले नाम दिएका थिए— ‘नकटा पन्थ’ ।

commercial commercial commercial commercial