‘जे गर्छु उत्तम गर्छु’

त्योदिन मैले दाइसित फेसबुक च्याटमा कुरा गरें । दाइ बीबीए पढ्न अमेरिका जानुभएको छ । हाम्रो स्कुलमा विद्यार्थीले ट्यावलेट, आइप्याड, ल्यापटप लगायत इन्टरनेट चलाउन मिल्ने ‘डिभाइस’हरू हप्तामा दुई दिन– शुक्रवार साँझदेखि शनिवार साँझसम्म मात्र चलाउन पाइन्छ । दाइसित गफिन मन लागेकाले मैले ‘आइपड टच’ शनिवार साँझ शिक्षकलाई फिर्ता नगरी आफैंसँग राखेकी थिएँ । स्कुलको नियम भंग गरेकोमा मनमा अलिअलि डर नलागेको होइन, तर मेरो नियत गलत थिएन ।

साथीहरूबाट कुरा ‘लिक’ नहुनेमा ढुक्क थिएँ । तर दुइ हप्ता पछि एक जना साथीबाट त्यो कुरा चुहिएछ । कुरा प्रिन्सिपलकोमा पुग्यो । मैले ढाँटेकोमा प्रिन्सिपल सरले धेरै नै चित्त दुखाउनुभयो । मलाई आफूले गरेको गल्ती सानो लागेको थियो । तर सरले चित्त दुखाएपछि विश्वास तोड्नु चानेचुने कुरा होइन रहेछ भन्ने अनुभव भयो ।

यस क्रममा मैले गहिरो शिक्षा पाएँ । पहिलो, आफूप्रति अरूले गरेको विश्वास तोड्नु हुँदोरहेन छ अनि दोस्रो, जसले अप्ठेरो पर्दा साथ दिन्छ, असली साथी उही रहेछ ।

तीन वर्ष अघिको कुरा हो, एक जना साथीले अर्को साथीको बारेमा आधाउधी कुरा गरेछ । त्यसले गर्दा हामी साथीहरू बीच ठूलै असमझदारी पैदा भयो । त्यस घट्नाबाट मैले थाहा पाएँ, आधा कुरा शेयर गर्ने र आधा मात्र जानकारी लिएका भरमा धारणा बनाउने दुवै कुरा गलत रहेछ । त्यसपछि मैले मनमनै निश्चय गरेकी छु, जुन सुकै टपिकमा पनि शेयर गरे पूरै गर्छु, आधा गर्दिन ।

मेरो दाइले पनि यही स्कूलमा पढ्नु भयो । उहाँले स्कुलमा आफ्नो यस्तो हुन्छ, उस्तो हुन्छ भनेर गरेको बयानका कारण म यो विद्यालयमा आउन अत्यन्तै उत्सुक थिएँ । विद्यालय आइपुगेको पहिलो दिन अनौठो महसुस भयो । पनौती (काभ्रे) को ठाउँ, यो शिक्षक, विद्यार्थी, वातावरण सबथोक एकदमै नयाँ । भक्तपुरको घरमा छँदा मैले घरभित्रका काम खासै केही पनि गरेकी थिइन । तर यहाँ त आफ्नो ओछ्यान आफैँ मिलाउनुपर्ने, आफैँ नुहाउनुपर्ने ! धेरै काम आफैँ नै गर्नुपर्ने ! शुरुमा त म बढो असमञ्जस्यमा परेकी थिएँ । तर त्यस्तो अलमल धेरै दिन रहन पाएन । होस्टल जीवनको दिनचर्यामा आफूलाई सहजै फिट गर्न सकें ।

हामी यहाँ बिहानै झिसमिसेमै उठ्छौं । मुख धुने दाँत माझ्ने गरेपछि खेल्छौँ । ध्यान र एसेम्बली गरिसकेपछि खाजा खान्छौँ । त्यसपछि लगत्तै हाम्रो स्कुलको औपचारिक कक्षा शुरु हुन्छ । दिउँसोका खाना, ‘ब्रेक’, फेरि कक्षापछि ४ बजेतिर पढाइ सकिन्छ । साँझमा एकछिन आराम गर्यो, फेरि खेल्यो, पढ्यो, म्युजिक, डान्स वा अरु यस्तै रुचि लागेको कृयाकलापमा भाग लियो, बेलुकीको खाना खाएपछि बल्ल होस्टलको कोठामा गएर बिछ्यौनामा पल्टिन पाइन्छ । त्यसपछिको केही समय चाहिँ कोठाका साथीहरूसित गफिने हो । दश बजेतिर हामी सबै सुतिसक्छौँ । होस्टलमा बिताएको ६ वर्षको अनुभव भन्नुपर्दा, मेरो उमेर समूहका हरेक मानिस कम्तीमा २ वर्ष होस्टल बस्नैपर्छ । किनभने, यसले मात्र हामीलाई स्वावलम्बी र स्वनिर्भर बनाउने रहेछ ।

हाम्रो विद्यालयमा हरेक महीना विद्यार्थीहरूको मूल्याङ्कन हुनेगर्छ । यहाँ पढ्न थालेपछि पहिलो महीनामा भएको मूल्याङ्ककनमा म ‘राम्रै’ विद्यार्थी ठहरिन पुगेछु । त्यसले मलाई थप मिहिनेत गर्न हौस्यायो । यहाँ विद्यार्थीलाई किताबको किरो हुन प्रेरित गरिँदैन । ब्यक्तिमा निहीत प्रतिभाको प्रस्फुटन, ब्यक्तित्व विकास, सीप विकास र ज्ञान आर्जनका पक्षलाई सन्तुलित तवरले अघि बढाउन प्रेरित गरिन्छ । यहाँको वातावरण पनि त्यस्तै छ । मौका पाउनासाथ म साँझमा २०/२५ मिनेट भए पनि उपन्यास, कथा या यस्तै किताबहरूमा आँखा घुमाई हाल्छु ।

स्कुलको पुस्तकालयमा त्यस्ता किताब प्रसस्तै छन् । मैले अँग्रेजी उपन्यास र कथा पढेँ । ‘अ हन्ड्रेड नेम्स’, ‘रिच ब्रदर्स रिच सिस्टर’, ‘नोट बुक’ मलाई बढी मन परेका उपन्यास हुन् । हरेक किताबमा धेरैवटा सन्देश हुने रहेछन् । कुन सन्देश लिने र कुनलाई छाड्ने भन्ने कुरा प्रत्येक पाठकको रुचीको कुरा हो । म चाहिँ किताबका पात्रहरूमा देखिएका कमजोरी आफूमा नदेखियून् भन्नेमा चनाखो हुने गर्छ । एउटै कुरालाई पनि कसरी मौलिक र फरक तरीकाबाट अभिब्यक्त गर्न सकिन्छ भन्ने जान्न पनि नयाँ नयाँ किताब पढ्नुपर्ने रहेछ । विदेशी किताब पढ्दा त्यहाँको समाज, सँस्कृति, सोच्ने तरीका, परिवेश सबै कुरा बुझन पाइन्छ । किताब पढ्ने कुरा बानी पनि रहेछ, जति बढी पढ्यो, उति नै पढौँ पढौँ लाग्ने !

मलाई सानै देखि बोल्न औधि मन पथ्र्यो, स्कुलमा हुने हरेकजसो कार्यक्रममा बोल्ने गर्छु । त्यसले मेरो बोल्ने कलामा पनि राम्रै सुधार भएको छ । गत वर्ष भारतको लखनउको सिटी मन्टेश्वरी विद्यालयले आयोजना गरेको कार्यक्रममा पनि मैले बोलेँ । स्याबासी पाएँ । हाम्रो स्कुलमा ‘राम्रो भाषण गर्ने विद्यार्थी’को परिचय बनेको छ मेरो ।

हाम्रो स्कुलमा अतिरिक्त कृयाकलापहरू धेरै नै हुन्छन्— सँगीत, नाँच, खेलकुद, लेखन आदि राम्ररी सिक्ने भनेको ‘गरेर’ नै रहेछ । किताबले दिएको सूचना, सूत्र र ज्ञानलाई हामीले ब्यवहारमा प्रयोग गरेर हेर्यौ भने मात्रै हामीले राम्ररी सिक्दा रहेछौँ, प्रष्ट तरीकाले बुझ्दा रहेछौँ ।

हाम्रो स्कुलले हामीलाई देशभित्रका हिमाल पहाड तराइदेखि विदेशको पनि एक्पोजर दिने गरेको छ । यस्तो सुविधा साधारणतया स्कुलहरूमा पाउन सकिँदैन । कक्षा ६ मा पढ्दा मैले फिलिपिन्समा गणितको अन्तरराष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिने अबसर पाएकी थिएँ । त्यहाँ हाम्रो स्कुलबाट ४ जना विद्यार्थी र २ जना शिक्षक गएका थियौँ । त्यहाँ हामीले पजल बनाएका थियौँ, जसले तेस्रो पुरस्कार हात पार्यो । त्यो कार्यक्रममा भाग लिने बेला हामीले चाहिने जति तयारी गर्न पाएका थिएनौँ । केही हासिल गर्नुछ भने राम्रो तयारी चाहिँदोरहेछ भन्ने कुरा त्यसबखत मैले  भेउ पाएँ । गत साल लखनउको कार्यक्रममा नाँच, सृजनात्मक लेखन र कोलाज प्रतियोगितामा भाग लिएँ । हाम्रो विद्यालयबाट हरेक वर्ष त्यहाँ हुने कार्यक्रममा भाग लिने गरिन्छ ।

विद्यालयको समग्र वातावरण वालमैत्री छ । गल्ती गर्दा सम्झाइ बुझाइ गर्ने काम यहाँ धेरै हुन्छ, जसले हामीलाई सुध्रने प्रशस्त मौका उपलब्ध हुन्छ । नियत नै गलत भएको भए छुट्टै कुरा, अन्जानवस भएको गल्ती यहाँ क्षम्य हुन्छ । गल्ती नै गरिहाले पनि सकारात्मक सोच विकास गर्ने किसिमले दण्ड दिइए जस्तो गरेर काम लगाइन्छ । प्रिन्सिपल ज्योतिमान शेरचन ज्यादै नै उदार प्रकृतिको हुनुहुन्छ । हाम्रा हरेक शिक्षकको ब्यक्तित्व पृथक खालको छ । किशोर शिक्षाका शिक्षक सुनिल रिमालको ब्यक्तित्व आकर्षक छ । मलाई के भएको छ, मनमा के कुरा खेल्दै छ भन्ने कुरा मैले भन्दै नभनी थाहा पाउनुहुन्छ । बाबा जस्तै माया गर्नुहुन्छ । नेपालीका गुरु कमल ज्ञवाली रातभरी जागा बसेर धेरै राम्रो तयारी गरेर भोलिपल्ट हामीलाई पढाउनुहुन्छ । उहाँको मुखबाट गाली झल्काउने एक शब्द पनि निस्कदैन । रिचार्ड मोक्तान त पर्फेक्ट लाग्छ । बोल्न, पढाउन, नेतृत्व गर्न मात्र होइन, उहाँ जुनसुकै प्रश्नको पनि तुरुन्तै सहजै सटिक जवाफ दिनसक्ने विलक्षण क्षमताका धनी हुनुहुन्छ ।

त्यति हुँदा हुँदै पनि स्कुलमा केही सुधारको खाँचो छ । कक्षालाई सूचना प्रविधिमा आधारित बनाउनु आवश्यक छ । डिजिटल ह्वाइट वोर्ड थप्नुपर्छ । साथसाथै, ट्याब्लेट, ल्यापटप, मोवाइल जस्ता ग्याजेटहरूलाई कक्षामा भित्र्याउने मात्र होइन, अबको पढाइ÷सिकाइ त्यसमै आधारित बनाउनुपर्छ । प्रविधिले दिएको अबसर र सुविधालाई उच्चतम रुपमा प्रयोग गर्न कन्जुस्याइँ गर्नुपर्ने कुनै कारण छैन ।

पहिले मलाई डाक्टर बन्ने रुचि थियो । पछि वकिल बन्नतिर मन तानियो । आजकाल चै शिक्षक हुने चाहना पलाएको छ । शायद मलाई वच्चा धेरै मन पर्ने भएकोले पनि यस्तो लागेको होला । मेरा कति साथीहरूको लक्ष्य पैसा कमाउने छ । तर मेरो लक्ष्य त्यस्तो छैन । जो सित पैसा हुन्छ, उसित उसका वास्तविक आफन्त र हितैषी कम हुन्छन् । पैसाले खुशी र आनन्द दिँदैन । यो कुरा मैले नजिकबाट देखिसकेँ । त्यसैले म भविष्यमा सामाजिक क्षेत्रका कामहरूमा नै लाग्छु । यसैमा नै करिअर बनाउँछु । जे गर्छु, उत्तम गर्छु,  म आफू सन्तुष्ट हुने र मेरा अभिभावकलाई पनि सन्तोष मिल्नै नै काम गर्छु ।

(प्रजापति मल्पि इन्टरनेश्नल स्कुल पनौतीमा कक्षा १० की छात्रा हुन् ।)

commercial commercial commercial commercial