स्कूलमा सहकारीको लहर !

महोत्तरीको सीमावर्ती धनुषाको गाउँ भूचक्रपुरस्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयले अभिभावक र शिक्षकहरूबाट मासिक रु.१०० का दरले बचत गराउन थालेको दुइ वर्ष भयो । यो दुई वर्षमा यस स्कूलले करीब रु.३३ लाख बचत गरिसकेको छ । प्रधानाध्यापक यादव कार्कीका अनुसार, हालसम्मको बचतलाई अभिभावकहरूकै बीचमा ऋण प्रवाह गरिएको छ र त्यसको व्याजबाट स्कूललाई मासिक रु.२० हजार आम्दानी हुन थालिसकेको छ ।

ढल्केवर किम्लिपुरस्थित राष्ट्रिय निमाविले पनि २०६७ वैशाख देखि बचत शुरू गरेको छ र अहिलेसम्म शिक्षक र अभिभावक गरी करीब २०० जनाले मासिक रु.५० का दरले बचत गरेका छन् । प्रअ नीलप्रसाद बाँस्तोलाका अनुसार हालसम्म सो बचतबाट रु.३ लाख ९१ हजार जम्मा भइसकेको छ । “यो बचतलाई बचतकर्ता अभिभावकहरूकै बीचमा ऋण लगानी गरिएको छ ।” बाँस्तोला भन्छन्, “यो कार्यक्रमबाट स्कूललाई मासिक रु.३ हजार १०० आम्दानी हुन थालिसकेको छ ।


धनुषाकाग्रामीण वस्तीमा दुई वर्षयता आठवटा विद्यालयले शिक्षक–अभिभावकको संयुक्त पहलमा विद्यालयमा आधारित सहकारीको अवधारणा अनुसार वचत तथा ऋण कार्यक्रम शुरु गरेका छन् ।


विद्यालयमा थप आर्थिक स्रोतको सृजना गरी गुणस्तर विकास को लागि अभिभावकको सहभागिता बढाउने बचतको अवधारणा दुई दशक देखि ग्रामीण विकास को क्षेत्रमा क्रियाशील धनुषा सेवा समितिका संस्थापक समीर घिमिरेले ल्याएका हुन् (हे.वार्ता) ।ग्रामीण विकास का विभिन्न क्षेत्रमा क्रियाशील यो संस्थाले विगतमा प्रौढ शिक्षा, शिक्षक तालिम, विद्यालय बाहिरका बालबालिकाको लागि शिक्षामा काम गरिसकेको छ भने स्कूलहरूलाई बचत तथा ऋण परिचालनलगायत सहकारी व्यवस्थापनका आधारभूत तालिम पनि यही संस्थाले दिएको छ । यस अवधारणामा आधारित रहेर हालसम्म ८ वटा विद्यालयले बचत कार्यक्रम शुरू गरिसकेका छन् भने आसपासका त्यति नै संख्यामा विद्यालयहरूले यसलाई अनुसरण गर्ने तयारी गरिरहेका छन् ।

स्कूलका अभिभावक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरू सम्बन्धित स्कूलको सहकारी संस्थाका सदस्य हुन पाउने प्रावधान छ । मासिक बचतबाट प्राप्त रकमलाई अभिभावकहरूको समूहगत जमानीमा इच्छुक अभिभावकलाई वार्षिक १८ प्रतिशत व्याजमा ऋण दिइन्छ । यसमध्ये २ प्रतिशत सहकारी व्यवस्थापन खर्च राखेर बाँकी १६ प्रतिशतमध्ये आधा स्कूलको खातामा आम्दानी बाधिन्छ भने आधा सहकारीका सदस्य अभिभावकहरूमा मुनाफा वितरण गरिन्छ । शिक्षक र अभिभावकबाट बचत भएको रकमको व्यवस्थापकीय कामको जिम्मेवारी स्कूलका शिक्षक/लेखापाललाई दिने गरिएको छ ।

विद्यालयमा आधारित सहकारीको स्थापनाको मुख्य ध्येय स्कूलको गुणस्तर अभिवृद्धि नै भएको विद्यालयको भनाइ रहेको छ । “निःशुल्क शिक्षा घोषणा गरे पनि स्कूल चलाउनका लागि चाहिने जति पैसा सरकारले दिँदैन ।” राष्ट्रिय निम्न माध्यमिक विद्यालय सीतापुरका व्यवस्थापन अध्यक्ष सजनसिंह दनुवार भन्छन्, “विद्यार्थीसित शुल्क लिन नपाइने र अरू कुनै स्रोत नभए पछि यो बाटो लिन हामी बाध्य भएका हौं । दुई वर्षको प्रयोगले हामीले लिएको बाटो सही रहेछ भन्ने निष्कर्षमा पुगेका छौं ।”

त्यसो त गाउँमा विद्यालयको गुणस्तर सुधारको लागि यसरी अभिभावकलाई मासिक रूपमा निश्चित रकम बचत गर्न राजी गराउनु त्यति सहज अवश्य पनि थिएन । यस अवधारणाका बाहक र स्कूलमा सुधार चाहने व्यवस्थापन समिति तथा सकारात्मक सोच भएका शिक्षकले निकै पापड बेल्नु परेको थियो । निमावि जमुनीबासका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर लामा शुरूका दिनहरूको तीतो अनुभव सुनाउँदै भन्छन्, “अरू स्कूलले झै हामी पनि स्कूलको अर्थोपार्जनका लागि सहकारी खोलौं भन्दा शुरूमा त प्रअले यसो गरे भने मैलेगोली खानुपर्छ भनेर उल्टै हामीलाई अत्याए । अनि हामीले १०/१५ जना अभिभावकबाट बचत शुरू गर्यौ । विस्तारै अभिभावकहरूको संलग्नता बढ्दै गयो । अहिले आएर प्रअ तथा शिक्षकहरूले पनि यो ठीक रहेछ भन्ने महसूस गरेका छन् र यस कार्यमा संलग्न भएका छन् । रराम्रो कामको थालनी गर्दा झ्ण्झ्ट र व्यवधान व्यहोर्नु परे पनि धैर्य राखेर काममा निरन्तरता दिइयो भने अन्ततः सबैले साथ दिने रहेछन् ।”

बचत अनुसार आम्दानी
बचत जति बढी भयो, स्वाभाविक रूपमा उति नै बढी आम्दानी हुनजान्छ । बचतको थालनी गरेका विद्यालयहरूको बचतको अवस्था (हे. तालिका) ले पनि त्यो कुरा लाई स्पष्ट पार्दछ । करीब रु.३३ लाख बचत गर्ने सीतापुरको स्कूलले मासिक रु.२० हजार आम्दानी गर्न थालिसकेको छ भने करीब रु.५० हजार बचत गर्ने हरिहरपुरको स्कूलले मासिक रु.३५० मात्र आफ्नो खातामा जम्मा गर्न पाएको छ । बढी बचत हुनुको मुख्य कारण अभिभावकको सहभागिता र बचत रकमको मात्रा नै हो । सीतापुरको स्कूलका अधिकांश अभिभावक बचत कार्यक्रममा सरिक भइसकेका छन् भने अरू स्कूलमा कतै आधा र कतै त्योभन्दा पनि कम अभिभावकले चासो देखाएका छन् र तिनको बचत रकम पनि कम (मासिक रु.५०) छ । पछाडि परेका, कम आय भएका मानिसहरूको बाहुल्य भएको यसग्रामीण वस्तीमा अभिभावकको तिर्नुे क्षमता कम भएकाले कम रकम राखिएको यसका अगुवाहरूको भनाइ छ । अभिभावकहरूमा यस कार्यक्रम माथि विश्वास बढ्दै जाँदा मासिक बचत रकमलाई बढाउँदै लैजान सकिने प्रशस्त संभावना छ, जसले विद्यालयको आम्दानी ह्वात्तै बढाइदिनेछ ।

तर कम बचत गर्दैमा केही बिग्रिहालेको छैन । थोरैबाट पनि आशलाग्दो सुरुआत हुनसक्छ भन्ने कुरा को दृष्टान्त ढल्केवरको निमाविले प्रस्तुत गरेको छ । सहकारीको भविष्यप्रति एकदमै आशावादी प्रअ नीलहरि बाँस्तोला प्रारम्भिक दिनहरू सम्झ्ँदै भन्छन्, “रु.५० बचतले के नै पो होला र ! कस्तो झन्झ्टिया काममा लागियो जस्तो लाग्थ्यो, तर यति थोरै रकमबाट दुई वर्षमा चमत्कार  अनुभव गर्न पाइयो ।” उनको अनुमान अनुसार, मासिक रु.५० नै बचतग¥यौैं भने पनि अबको १० वर्षपछि हराम्रो बचतले रु.३० लाख नाघ्नेछ र आम्दानी पनि ७गुणाले बढ्नेछ । अभिभावकलाई चन्दा भारबाट मुक्त गर्न चाहने अरू विद्यालयले आफूहरूले जस्तै सहकारी कार्यक्रम सञ्चालन गर्नु पर्ने उनको सुझाव छ । स्कूलमा सँगै भेटिएका व्यवस्थापन समितिका सदस्य होमप्रसाद शर्माको निष्कर्ष छ, “विद्यालयलाई आत्मनिर्भर बनाउने दरिलो र एक मात्र आधार विद्यालयमा आधारित सहकारी नै हो ।”

केही विद्यालयमा गरिएको सहकारीको छोटो समयको प्रयोगले हौसिएका यस अवधारणाका सूत्रधार समीर घिमिरे चाहिं नयाँ सपना बुन्न थालेका छन् । भन्छन्, “जब बच्चा उच्च शिक्षा हासिल गर्न जान्छ, त्यतिबेला सावाँव्याजसहित उसलाई फिर्ता दिने नीति बनाउनुपर्छ, जसले उसको उच्च शिक्षालाई सहज र सम्भव तुल्याइदिन्छ ।”

बढ्यो आशा
सहकारीमा बचत गर्न र ऋण लिनको लागि भने पनि महीनामा कम्तीमा एकपटक अभिभावक स्कूल पुग्न थालेका छन्, जसले विद्यालय व्यवस्थापन समिति, शिक्षकसितको अन्तरक्रियालाई बाक्लो तुल्याइदिएको छ । र, सहकारीको मुख्य अभिप्रायः स्कूलको गुणस्तर अभिवृद्धि रहेको र सहकारीको नाफाको आधा हिस्सा स्कूलले पाउने भएकाले पनि यस्तो भेटघाटमा स्कूलको सुधारबारे विचार –विचार हुनु स्वाभाविकै हो । यस्तो नियमित विचार र छलफल ले विद्यालय र अभिभावकबीचको सम्बन्धगाढा त बनाउँदै गएको छ नै, साथसाथै नयाँ नयाँ संभावनाका ढोकाहरू पनि खुल्दै जान थालेका छन् ।

त्यसको एउटा दृष्टान्तको रूपमा सबैभन्दा बढी बचत गर्न सफल राष्ट्रिय निमावि सीतापुरलाई लिन सकिन्छ, जसले सहकारीबाट मासिक रूपमा रु.२० हजार आउन थालेपछि स्कूलमा कम्प्युटर ल्याव नै स्थापना गर्ने योजना बनाएको छ । केही गरेको देखेकाले एउटा गैर सरकारी संस्थाले केही कम्प्युटर दिने आश्वासन दिएपछि सहकारीबाट आएको पैसाले कम्प्युटर शिक्षक राख्ने सोच बनाइएको प्रअ कार्की बताउँछन् । “यो सब सहकारीकै देन हो”, उनी भन्छन् । अरू कतिपय विद्यालयले चाहिं बचत रकमलाई तत्काल खर्च न गर्ने र ठोस योजना बनाएर गुणस्तरीय शिक्षाको लागि लगानी गर्ने सोच बनाएका छन् । र, यो यस क्षेत्रका विद्यालयहरूको सोच्ने तरीकामा आएको महत्वपूर्ण परिवर्तनको संकेत हो ।

राष्ट्रिय निमावि ढल्केवरका प्रअ नीलहरि बाँस्कोटाको अनुभवमा, बचत कार्यक्रमले अभिभावकहरूमा नयाँ किसिमको आशाको सञ्चार गराए को छ । “पहिले पहिले जे गर्न पनि सरकार वा दाताको मुख ताक्नुपथ्र्यो”, उनी भन्छन्, “बचत कार्यक्रमको अनुभवले हामी शिक्षक र अभिभावक दुवैले थाहा पायौं कि स्कूलको गुणस्तर सुधारमा हामीले अरूको मुख ताक्नु नपर्ने रहेछ ।” सीतापुरका प्रअ यादव कार्की त झन् विद्यालयको प्रगतिमा धेरै आशावादी बनेका छन् । भन्छन्, “हामीले दश वर्षअघि यो आइडिया प्रयोग गर्न पाएको भए आज हामी कहाँ पुग्थ्यौं कहाँ । अबको दश वर्षपछि हामी पूरा आत्मनिर्भर हुनेछौं र स्कूलको गुणस्तर माथि पुग्नेछ ।”

त्यसो त सहकारीले नै सुधार प्रक्रियाको बीजारोपण गरेको भने होइन । एक्सन एड को सहयोगमा धनुषा सेवा समितिले चलाएको कार्यक्रमले यी विद्यालयहरूमा यी सुधारको सूत्रपात गरेको हो । पाँच वर्षअघि सो कार्यक्रम लागू भएका यस भेगका १३ वटा सार्वजनिक स्कूलहरूमा सुधार प्रक्रियालेगति लिन थालेको हो । सबैमा उस्तैगतिमा सुधार आउन नसकेको भए पनि बहुसंख्यक स्कूलहरूमा सेवा क्षेत्रका अधिकांश बालबालिका विद्यालयमा भर्ना भएका छन् । कक्षा छाड्ने दर कम भएर गएको छ । स्कूलमा अभिभावकको बढ्दो सक्रियताले शिक्षकहरू नियमित मात्र भएका छैनन्, विद्यार्थीको सिकाइमा ध्यान दिन नैतिक दबाब र उत्प्रेरित गर्ने दुवै काम गरेको छ । परिणामस्वरुप शिक्षक, अभिभावक र विद्यार्थी सबैले केही वर्षअघिको तुलनामा स्कूलको पढाइमा महत्वपूर्ण सुधार आएको प्रत्यक्ष अनुभूति गरेको पाइयो । शिक्षक प्रतिनिधिले भ्रमण गरेका सबै विद्यालयका कक्षामा विद्यार्थी अटाई–नअटाई गरी जस्तापाताले छाएको छानामुनि बसेर भदौकोगर्मीमा खलखली पसिना काढ्दै पढेको देखि यो ।

राजनीतिक हस्तक्षेप, सरकारी संयन्त्रको अक्षमता र शिक्षक स्वयंको उदासीनता लगायतका कारणहरूले सार्वजनिक विद्यालयहरूको स्तर माथि उठ्न नसकेको र सोही कारणले यी विद्यालयहरूको जनविश्वासगिर्दै गएको यो अवस्थामा तिनैमध्येका केही स्कूलमा सुधारको आशा जाग्नु चानचुने कुरा होइन । झन् कुशासन, भ्रष्टाचार, अनियमितता र नातावादका लागि कुख्याती कमाएको तराईको आठभाइ जिल्लामध्ये एक धनुषाका केहीग्रामीण वस्तीमा यस्तो आशाको सञ्चार हुनु झनै आश्चर्यचकित तुल्याउने कुरा हो ।

सुधारको थालनीले समग्र टीममा नयाँ रक्तसञ्चार गराए को आभास दिन्छ । त्यसको ठोस अभिव्यक्तिको रूपमा शिक्षक र अभिभावकले देख्न थालेको सपनालाई लिन सकिन्छ । धेरैले स्कूलले आफ्नो भेगमा, केहीले जिल्लास्तर मा र कुनै कुनैले जनकपुर अञ्चलस्तर मै नमूनाको विद्यालय बनाउने सपना देख्न थालेका छन्, जुन ज्यादै खुशीको कुरा हो ।

सञ्जालः सिक्ने–सिकाउने थलो
यही १४ भदौ मध्यान्हमा यस क्षेत्रका विद्यालयहरूको सञ्जालको बैठक आदर्श राष्ट्रिय मावि, लालगढमा बसेको थियो, जहाँ शिक्षक प्रतिनिधि पनि पर्यवेक्षकको रूपमा उपस्थित थियो । बैठकमा सहभागी हुनुअघि आमन्त्रित विद्यालयका प्रअ र व्यवस्थापन समितिका पदाधिकारीहरूले चार वटा छुट्टाछुट्टै समूह बनाई आयोजक आदर्श माविका कक्षाहरूको अवलोकन गरेका थिए । ती चार समूहले कक्षा व्यवस्थापन, निरन्तर मूल्याङ्कन पद्धति, विद्यार्थी उपस्थिति र सहकारी कार्यक्रम सम्बन्धी सो स्कूलको ताजा स्थिति र प्रगतिको अनुगमन गरेका थिए । सबल पक्ष र सुधार गर्नु पर्ने पक्ष भनी अनुगमनको नतिजालाई दुई भागमा विश्लेषण गरी सञ्जालको बैठकमा प्रस्तुत गरिंदोरहेछ । कक्षा व्यवस्थापन समूहको तर्फबाट राष्ट्रिय निमाविका प्रअ यादव कार्कीको प्रस्तुतिसित बैठक आरम्भ भएको थियो । उनको भनाइको सार थियो, “कक्षा ३ सम्म बालकेन्द्रित शिक्षण पद्धतिलाई अनुशरण गरिएको रहेछ । कक्षा ३ को जिम्मेवारी चार्ट निकै रराम्रो लाग्यो । बच्चाहरूलाई रराम्रोसित बस्नको लागि पर्याप्त कार्पेटको अभाव रहेछ । पैसा नभए सुकुललाई नै प्रयोग गरेर काम चलाउन सकिन्छ । शैक्षिक सामग्रीको प्रयोग हुनुपर्ने जति नभएको पाइयो । बच्चाहरूको लागि उपयुक्तगोलाकार टेबलहरूको अभाव रहेछ । हामी आशा गर्छौं कि यी अभावहरू आगामी केही महीनाभित्रै पूर्ति हुनेछ ।”

यस्तै गरी निरन्तर मूल्याङ्कन पद्धति  (क्यास) अनुगमन समूहको तर्फबाट राष्ट्रिय प्रावि धनौडी, बेंगाडावरका प्रअ जनार्दन कोइरालाले त आफूहरूले हालसम्म पनि यो पद्धतिलाई कार्यान्वयनमा नलगेकोमा पश्चात्ताप महसूस गरे । “हामीलाई तीन वर्ष देखि जिल्ला शिक्षा कार्यालयले क्यास लागू गर्नु स् भनिरहेको थियो, तर हामीलेगरौंलागरौंला भनेर टारिरहेका थियौं । तर यसको उपलब्धि आज आफ्नै आँखाले देखेपछि चैं यो तीन वर्ष खेर फालिएछ भन्ने महसूस भयो ।” उनले बैठकमा जतिसक्दो छिटो क्यास लाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गर्दै सिक्नका लागि आफूहरू यस स्कूलमा आउने बताए । बाँकी दुई वटा समूहको तर्फबाट सुझावहरू आएपछि आयोजक स्कूलका प्रअ हरिप्रसाद काफ्लेले प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

यसपछि सञ्जालको बैठकमा हरेक स्कूलको प्रगति विवरण सम्बन्धित स्कूलका प्रअ र व्यवस्थापन समितिका पदाधिकारीले सुनाएका थिए । साथसाथै आफ्नो स्कूलले सामना गर्नु परिरहेको चुनौती र समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने बारेमा उनीहरूले विचार –विचार पनि गरेका थिए । खास गरी विद्यालयमा साधनस्रोतको जोहो गर्ने र पढाइको स्तर कसरी सुधार्ने भन्ने नै सवालमै सबभन्दा बढी छलफल भएको थियो । यही १५ असोज दुर्गा तुल्सी रा.प्रावि हरिहरमा सञ्जालको अर्को बैठक बस्ने निर्णय गर्दै उक्त बैठक समापन भएको थियो । २०६५ साल माघ देखि आयोजित यस्तो बैठक विगतमा दुई या तीन महीनाको अन्तरालमा हुँदै आएको आदर्श माविका व्यवस्थापन अध्यक्ष टंकप्रसाद बरालले जानकारी दिए । सहकारी विकास र स्कूलको गुणस्तर सुधारमा केन्द्रित रहेर छलफल चार घण्टा भन्दा बढी समय भएको थियो ।

यस्तो तरीकाले बैठक गर्दा मुख्यतया तीन वटा फाइदा भएको उनीहरूको निष्कर्ष छ । पहिलो , हरेक नयाँ बैठक नयाँ विद्यालयमा हुने भएकाले उसलाई स्कूल देखाउन लायकको बनाउन र केही न केही नयाँ गरिरहेका छौं भनेर देखाउने गरी काम गर्न नैतिक दबाब पर्दोरहेछ । दोस्रो, भेलामा धेरै वटा विद्यालयको प्रगति विवरण आदानप्रदान हुने भएकाले एक अर्कोसित सिक्ने अवसर दिंदोरहेछ । तेस्रो, अरूले केही गरेको देखेर आफ्नो स्कूलमा पनि केही नयाँ गर्ने उत्प्रेरणा प्रदान गर्दोरहेछ । चौथो, विभिन्न विद्यालयबीच साझ मुद्दा र लक्ष्यमा सहकार्य गर्ने अवसर दिंदोरहेछ । “यस्तो बैठक धेरै नै उपलब्धिमूलक हुँदोरहेछ ।” राष्ट्रिय निमावि पुष्पलपुरका शिक्षक अभिभावक संघका अध्यक्ष उपेन्द्र साह भन्छन्, “फत्तुरकागफ गरेर बस्ने अवस्था नै छैन ।”

चुनौती पनि छन्
विद्यालयमा आधारित सहकारीको अवधारणा आफैंमा जति नूतन, सृजनशील र प्रभावकारी देखि ए पनि यो चुनौतीरहित भने छैन । बढ्दो बचतसँगै व्यावसायिक तवरबाट व्यवस्थापन गर्ने दक्षताको खाँचोको महसूस यसका अगुवा प्रअ र व्यवस्थापन पदाधिकारीले गर्न थालिसकेका छन् । त्यसनिम्ति तत्काललाई सहकारीको कार्यमा संलग्न विद्यालयकै शिक्षकको दक्षता अभिवृद्धि गर्नु को विकल्प छैन । तर शिक्षकलाई यस काममा ल गाउँदा उसको मूल दायित्व अर्थात् शिक्षणमा समय कम हुन जाँदा त्यसको प्रत्यक्ष मार विद्यार्थीलाई पर्न जाने खतरा पनि उत्तिकै छ ।

मुख्य चुनौती चाहिं दिइएको ऋण समयमै व्याजसहित कसरी उठाउने भन्ने नै हो । ऋण लिएर टाप दिने समस्याले करोडौंको कारोबार गरेका कैयन् सहकारी धराशायी भएका छन् । यो रोग यहाँ पनि नसर्ला भन्न सकिन्न । यसबाट कसरी जोगिने भन्ने चुनौती सबभन्दा ठूलो हो, जसले सहकारीको अवधारणा र स्कूलमा आउँदै गरेको परिवर्तनको भविष्य निर्धारण गर्ने छ । त्यसबाहेक, केहीगरौं भन्ने भावनाका कारण शुरू शुरूमा राम्ररी काम भए पनि समय बित्दै जाँदा यसका व्यवस्थापक वा अगुवामा लालच पैदा नहोला भन्न सकिन्न । धन देखेपछि महादेवका त तीन नेत्र भने झै बचत रकम बढ्दै जाँदा त्यस माथि आँखा लगाउनेहरूले अनेकन तिकडम र दुष्प्रयत्न न गर्लान् भन्न सकिन्न । यी चुनौतीको सामना गर्न सके यो अवधारणाले पूर्णतः साकार रुप लिनेछ ।


तराइमा परिवर्तन असम्भव छैन
समीर घिमिरे, संस्थापक, धनुषा सेवा समिति

विद्यालयमा आधारित सहकारी खोल्ने अवधारणा कसरी आयो ?
चार वर्षअघि एक्सन एड  को शिक्षा कार्यक्रममा एक साझेदारको रूपमा हाम्रो संस्था पनि छानियो । यो परियोजनाको मुख्य ध्येय सबै बच्चा स्कूलमा जाऊन्, कोही पनि विद्यालय बाहिर नपरून्, शिक्षा सबै नेपालीको मौलिक अधिकारको रूपमा स्थापित गराउने, निःशुल्क प्राथमिक शिक्षालाई प्रत्याभूति गर्ने थियो ।

एक्सन एड  को सहयोगका कारण केही पैसा स्कूलमा गएको थियो । तर उसको आर्थिक सहयोगमा केही सुधारका कामहरू भए । त्यसले हामी सबैमा गरे हुने रहेछ भन्ने विश्वास र नयाँ आशा जगायो । तर उसको सहयोग त सधैंका लागि होइन । त्यसपछि स्कूल सुधारको लागि आवश्यक साधन स्रोतको जोहो कसरी गर्ने भनेर सोच्ने क्रममा विद्यालयमा आधारित सहकारीको अवधारणाको जन्म भएको हो । केही वर्षअघि म रामेछाप घुम्न जाँदा त्यहाँको सहकारी संस्थाले धेरै गरेको देखें । त्यहाँबाट अभिप्रेरित भएर यो अवधारणाको जन्म भएको हो ।

शिक्षक, अभिभावक र व्यवस्थापन समितिका मानिसहरू यस अवधारणाप्रति कसरी विश्वस्त हुन गए त ?
म स्थानीय भएको र यहाँका गाउँले तथा शिक्षकहरूसित आत्मीय सम्बन्धले केही काम गर्‍यो । तर हामीले मानिसमा केही गरौं भन्ने भावना, ऊर्जा र विश्वासको वातावरण बनाउनको लागि व्यावहारिक तरीकाहरू अपनायौं । शिक्षक र व्यवस्थापन समितिको टीमलाई राम्रो गरेका झापा र इलामका केही स्कूल घुमायौं । अरूका सफलताका कथाहरू सुनायौं । सिनेमा पनि हेरायौं । मुख्य कुरा विश्वासको वातावरण नै रहेछ । नेतृत्व गर्ने मानिसप्रति भरोसा उत्पन्न गर्न सकियो, नेतृत्व गर्नेले पनि छलछाम नगरी इमानदारी र निष्ठापूर्वक काम गरिदियो भने शिक्षक र अभिभावक दुवैले विश्वास गर्दा रहेछन् । मुख्य कुरा गरे सकिने रहेछ, परिवर्तन आउने रहेछ भन्ने कुराको बोध र स्कूलको व्यवस्थापन समिति र प्रअले अभिभावकको विश्वास जित्न सके भने स्कूलमा सुधार आउन समय लाग्दोरहेनछ ।

तराईमा सुधारको काम गर्न धेरै कठिन छ भनिन्छ नि ?
यो मानिस ठग होइन, यसले साँच्चै हामीलाई माया गर्छ, केही गर्न चाहन्छ भन्ने अनुभूति दिलाउन सकियो भने जस्तोसुकै समाजमा पनि मानिसलाई जगाउन सकिंदोरहेछ । पहाडको तुलनामा केही बढी जटिलता तराईमा भए पनि परिवर्तनमा काम गर्न असम्भव रहेनछ । पारदर्शिता र उत्तरदायित्व कायम गर्न सकियो भने विश्वासको वातावरण बन्न आरम्भ हुँदोरहेछ ।  

माओवादी आन्दोलनले थिलथिलो बनेको तराईको समाज मधेश आन्दोलनले झ्नै जर्जर बनायो । यस भेगमा बसोबास गर्ने मधेशी र पहाडी मूलका हामी सबै मानिसहरूमा अब पनि केही गरिएन भने त हाम्रो समाज समाजै रहँदैन भन्ने भावना पैदा भएको थियो । त्यही भावनाले नै हामीलाई एकजुट गरायो र सुधारको लागि पहल र प्रयत्न गर्न प्रेरित गर्‍यो । र, हामीले स्कूलमा सुधारलाई नै पहिलो प्राथमिकता दिनु उचित ठान्यौं । संकट पनि अवसर सिद्ध हुँदोरहेछ । संकटबाट निराश हुने वा पयालन हुने होइन, त्यसलाई झ्न् ठूलो अवसरमा बदल्न सकिनेरहेछ । त्यसनिम्ति इच्छाशक्ति, आशा र निरन्तर लागिपर्ने साहस मात्र चाहिन्छ । परिवर्तन त्यसैले ल्याउँदोरहेछ ।

सहकारीले विद्यालयलाई के के फाइदा दिनसक्छ ?

यहाँका धेरै विद्यालयमा चाहिने जति शिक्षक सरकारले दिनसकेको छैन । झ्न् निमावि, मावि तहमा त सरकारी दरबन्दी एउटा पनि छैन । त्यसैले हाम्रा सामुदायिक विद्यालयमा पैसाको सबभन्दा ठूलो खाँचो छ । त्यस्तै, विद्यालयमा राम्रो पुस्तकालय, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला छैन । पैसा भएपछि त यी अभावहरू पनि पूर्ति गर्न सकिने भो नि !

शुल्क उठाउन सरकारले दिंदैन, उठाउन पाए पनि समुदायका बहुसंख्यक मानिसहरूले धेरै तिर्न सक्दैनन् । त्यसैले सहकारीको माध्यमबाट त एकातिर अभिभावकले बचत गरेर थोरै भए पनि व्याज खान पाउने भो, अर्कातिर आवश्यक परेको बेला ऋण पनि पाउने भो । विद्यालयमा अभिभावकको नियमित उपस्थिति, रेखदेख हुने भो । पहिले पहिले पनि स्कूलमा अभिभावक त आउँथे, स्कूल राम्रो बनाऊँ भन्ने सपना त हुन्थ्यो, तर साधन स्रोत चाहिं थिएन । अब अभिभावकसित आफ्नै बलबुतामा बनेको सहकारीको पैसा छ र एक एक गरेर उनीहरूको सपना पनि पूरा हुँदै जान पाउनेछ । स्कूलमा आफ्नै बुतामा साधन स्रोतको जोहो भएपछि त शिक्षाको गुणस्तर सुधारका लागि जे पनि गर्न पाइने भयो नि !

सुदर्शन घिमिरे, धनुषामा


 

commercial commercial commercial commercial