दण्डरहित वातावरण सिर्जनाका केही उपाय
१. योजना निर्माण र निर्णय प्रक्रियामा विद्यार्थीलाई सहभागी गराउनेः विद्यार्थीको सहभागितामा कक्षाका लागि नियम बनाउनुहोस् । त्यसमा विद्यार्थीले गर्नु हुने व्यवहार सबै स्पष्ट र संक्षेपमा लेखिएको हुनुपर्छ । विद्यार्थीलाई विद्यालयमा सिकाइ उद्देश्य हासिल गर्न सघाउने सबैभन्दा प्रभावकारी उपाय उनीहरूका बारेमा निर्णय गर्ने अवसर उनीहरूलाई नै प्रदान गर्नु हो । कक्षा–कोठाका नियम उल्लंघन भएमा भोग्नुपर्ने परिणामबारेगहिरिएर छलफल गरी विद्यार्थीले छोटो र स्पष्ट नियम बनाएमा उनीहरूले नै महत्वपूर्ण निर्णयकर्ताको भूमिका खेल्न सक्छन् ।
२. सहृदयी एवं विवेकशील बन्नु होस्ः विद्यार्थीले शिक्षकको व्यवहार अनुकरण गर्छन् । यदि तपाईं अविवेकी ढंगले विद्यार्थीलाई हप्काउनुहुन्छ, थर्काउनुहुन्छ वा पिट्नुहुन्छ भने तपाईंलाई नै विद्यार्थीले खराब बानी व्यवहारको नमूना या अनुकरणको पात्रका रूपमाग्रहण गर्छन् । कुनै बेला बालबालिका जानी जानीकन शिक्षकलाई रीस उठाउँछन् र आफूप्रति शिक्षकको ध्यानाकर्षण गर्छन् । यसो गर्न पाउ‘दा ज्यादै रमाउ‘छन् पनि । यो कुरा लाई शिक्षकले बुझन जरुरी हुन्छ ।
३. सम्मान दिनु र राम्रो व्यवहारको प्रशंसा गर्नु: शिक्षकबाट प्राप्त हुने आदर, सम्मान, प्रशंसा विद्यार्थीका लागि निकै महत्वको हुन्छ । जब शिक्षकले विद्यार्थीको रराम्रो व्यवहारप्रति ध्यान दिन्छन् र त्यसको प्रशंसा गर्छन्, तब विद्यार्थीहरूले पनि त्यस्तै व्यवहार दोहोर्याउने सम्भावना हुन्छ ।
४. अध्यापन गर्दा रमाइलो क्रियाकलाप समावेश गर्नु होस्ः कक्षामा छलफल वा अन्य गतिविधि गर्दा विद्यार्थीलाई रमाइला गतिविधिमा पनि समावेश गराउनु होस् । बालबालिका रमाइलो गर्न, हँसिमजाक गर्न, अरूको गतिविधिमा सहभागी हुन र अरूबाट प्रशंसित हुन मन पराउँछन् ।
५. विद्यार्थीलाई गल्तीबाट सिक्न सिकाउनु होस्ः ‘गल्ती’ आफैंमा असफलता होइन भन्ने कुरा दोहोर्याई–तेहर्याई बुझाउनुहोस् ।
६. विद्यार्थीको घरमा सकारात्मक टिप्पणीहरू पठाउनुहोस् । त्यस्ता टिप्पणी तयार पार्दा खास गरी सुधारका प्रयास र रराम्रो व्यवहारमा जोड दिनुहोस् ।
७. हरेक विद्यार्थीसँग आपसी विश्वास र सम्मान का आधारमा व्यक्तिगत सम्बन्ध कायम गर्ने प्रयास गर्नु होस् । विद्यार्थीको घरेलु र पारिवारिक परिवेशको पनि अद्यावधिक जानकारी राख्नुहोस् । आवश्यकता अनुसार घरमा पनि जानुहोस् ।
८. दयाभाव र दृढतालाई एकैसाथ लानुहोस्ः तपाईं ‘साथी’ हुनुहुन्छ, तर निश्चित प्रकारको व्यवहार स्वीकार गर्नु हुन्न भन्ने छाप विद्यार्थीको मनमा पार्न नचुक्नुहोस् ।
९. विद्यार्थीका मनोवैज्ञानिक वा शारीरिक समस्या बुझने प्रयास गर्नु होस् । आवश्यक परे डाक्टर वा मनोविचारकर्ताकोमा जान सल्लाह दिनुहोस् ।
१०. विद्यार्थीले असल व्यवहार देखाउँदा हरेक पटक प्रशंसा गर्नु होस् र स्यावासी दिनुहोस् । स–साना कमी–कमजोरीलाई बढी महत्व नदिनुहोस् । आफूले फेला पारेका विद्यार्थीका समस्या अरू शिक्षकहरूसँग छलफल गर्नु होस् ।
११. खराब व्यवहार गर्ने विद्यार्थीलाई एक्लै भेटेर अरू माथि अभद्र व्यवहार न गर्न सल्लाह दिनुहोस् । समूहमा सकेसम्म कसैको पनि व्यक्तिगत टीकाटिप्पणी न गर्नु होस् ।
१२. आम प्रकृतिका समस्या र तिनको समाधान समूहमा छलफल गर्ने, गल्तीको कारण पत्ता लगाउने र विद्यार्थीहरूलाई स्वयं निर्णय गर्न दिने । आवश्यक भएमा अभिभावकसँग परामर्श गर्ने गर्नु होस् ।
१३. आफ्नो कार्यको समीक्षा गर्न विद्यार्थीलाई अवसर दिने । उनीहरूलाई आफ्ना कुरा हरू भन्न प्रोत्साहित गर्ने ।
सामान्य वैकल्पिक विधि
- यसमा विभिन्न प्रकारका व्यावहारिक र मनोवैज्ञानिक विधिहरू प्रयोग गरी विद्यार्थीलाई उसको आफ्नो व्यवहारमा सुधार ल्याउने मौका दिइन्छ । सजायको सट्टामा प्रयोग गरिने केही सामान्य वैकल्पिक विधिः
- ध्यान विकर्षित गरे मा,गफ वा महत्वहीन कुरा गरे मा विद्यार्थीहरूको बस्ने क्रम परिवर्तन गर्न सकिन्छ वा अन्तर–समूहगत छलफल मा सहभागी गराउन सकिन्छ ।
- समूह छलफल मा मौन रहने र बढी कुरा गर्ने विद्यार्थीहरूलाई प्रश्न सोध्न सकिन्छ ।
- गलत कार्य गर्ने वा अभद्र व्यवहार गर्ने विद्यार्थीहरूलाई छुट्टै निगरानी गर्न सकिन्छ ।
- गृह कार्य पूरा न गरी विद्यालय आउनेलाई टिफिन समयमा गृह कार्य पूरा गराउन सकिन्छ ।
- निश्चित दुव्र्यवहारका लागि तय गरिएको परिणाम अनुरुप कक्षा सकिएपछि बढार्ने, सफा गर्ने वा छरिएका कागजहरू उठाउने जस्ता अतिरिक्त कार्यहरू गराउन सकिन्छ ।
- कक्षा नियन्त्रण गर्ने कार्य दिई अभद्र व्यवहार गर्ने विद्यार्थीहरूलाई उत्तरदायित्व बोध गराउन सकिन्छ ।
- खेल्ने समय घटाई अतिरिक्त गृह कार्य गर्न दिन सकिन्छ ।
- ‘मनिटर’ आदि तोकेर कक्षामा चकचक गर्ने, हल्ला गर्ने वा झगडा गर्ने विद्यार्थीहरूलाई कक्षा अघिल्तिर को बेन्चमा ल्याउन सकिन्छ ।
- गल्ती गरे बापत अतिरिक्त क्रियाकलाप गर्न लगाउन सकिन्छ ।
(देवेन्द्र आलेले सजायरहित सिकाइ सम्बन्धी शिक्षक प्रशिक्षणका लागि तयार पारेको स्रोत सामग्री)



