सजायरहित शिक्षण केहीले त थालिसके !

कुनैबेला ललितपुर, डुकुछापस्थित चण्डीदेवी प्राविका प्रअ सीताराम खड्का विद्यालय नआउने खबर पाएको दिन छात्रछात्रा खुशीले दंग पर्थे किनभने त्यो दिन उनीहरूले पिटाइ खानुपर्दैनथ्यो । तीन वर्षअघिसम्म यहाँका विद्यार्थीले राम्रै सजाय पाउँथे– डेस्क माथि उभ्याउने, छडीले पिट्ने, उठबस गराउने देखि ‘कुखुरा’ बनाउनेसम्मका ।गालीगलौजको त हिसाबै भएन । सबैजसो शिक्षक कक्षामा छडी बोकेर जान्थे । प्रअ खड्काकै शब्दमा विद्यार्थीमाझ उनी ‘सबैभन्दा बढी पिट्ने सर’का रूपमा चिनिन्थे ।


बालबालिकालाई त्रासरहित वातावरणमा पठनपाठन गर्नु पर्ने मान्यताले व्यापकता पाउँदै आए पनि नेपालका बहुसंख्यक विद्यालयमा यस सम्बन्धी अवधारणाले बल्ल प्रवेश पाउन थालेको देखिन्छ । यता आएर केही विद्यालयले बालमैत्री र सजायरहित अभ्यास को सुरुआतथालि पनि सकेका छन् ।


अहिले परिस्थितिले पूरै कोल्टे फेरेको छ । शैक्षिक वर्ष २०६७ देखि चण्डीदेवीमा छात्रछात्रालाई शारीरिक दण्ड,गालीगलौज जस्ता सबैखाले सजाय दिन छोडिएको छ । शिक्षक–कक्षमा टाँसिएको १५ बुँदे प्रतिबद्धतामा लेखिएको छ, ‘विद्यार्थीलाई कुनै पनि सजाय दिने छैनौं ।’ प्रअ खड्का भन्छन्, “हाम्रो स्कूलमा विद्यार्थीलाई पिट्न,गाली/बेइज्जती गर्न र उपनाम दिएर बोलाउन पाईंदैन ।”

शिक्षकहरूका अनुसार, गृह कार्य न गर्ने विद्यार्थीलाई न गर्नु को कारण खोजेर कक्षामै गर्नका निम्ति प्रेरित गरिन्छ । कक्षा ५ की छात्रा कृतिका बुढाथोकी भन्छिन्, “ गल्ती भएको बेलामा पनि माया गरेर सम्झाइबुझाइ सिकाउनु हुन्छ । हामी कसैलाई पनि पिट्नुहुँदैन ।” छात्रछात्रामा डरत्रास रहेको पाइँदैन । शिक्षकसँग निर्धक्क बोल्न थालेका छन् । शिक्षक कृष्णकमल बानियाँ भन्छन्, “पहिलेपहिले हामीले कक्षामा कुनै कुरा सोध्दा हत्तपत्त जवाफ दिंदैनथे । अहिले मिले पनि नमिले पनि आफूलाई लागेको कुरा फ्याट्टै भनिहाल्छन् ।” अन्य कक्षागत क्रियाकलाप मा उनीहरूको सहभागिता बढेको छ । रराम्रो काम गर्दा ‘स्याबास्’ भनेर प्रशंसा गर्न थालिएको छ ।

लुनिभा बालसरोकार समूह, वल्ड भिजन इन्टरनेशनल, नेपाल लगायतका संस्थाको पहलमा चण्डीदेवी प्राविमा बालमैत्री शिक्षण सिकाइको अभ्यास थालिएको हो । भयरहित र सजायरहित सिकाइलाई पनि बालमैत्री विद्यालयको एउटा अंग मानिन्छ । यता आएर चण्डीदेवीका शिक्षकले भयरहित अभ्यास को सान्दर्भिकता र महत्वलाई राम्रैसँग महसूस गरेको भान हुन्छ । शिक्षक विष्णुहरि दनुवार भन्छन्, “बालबालिकाका असल क्रियाकलाप को प्रशंसा गर्दा उनीहरूको मनोबल झन् बढ्दो रहेछ ।”

चण्डीदेवी प्राविको नर्सरी कक्षा ।

बालमैत्री अभ्यास कै प्रभावका कारण नजिकैका बोर्डिङका बालबालिका समेत चण्डीदेवीमा ल्याइन थालेका छन् । डुकुछापकैगणेश माविकी शिक्षक पार्वती तिमल्सिनाले सँगैको निजी स्कूलमा कक्षा १ मा पढ्ने छोरा सिद्धान्तलाई त्यहाँबाट झ्किेर असारको पहिलो साता चण्डीदेवीमै भर्ना गरिदिएकी छिन् । उनी भन्छिन्, “बोर्डिङमा छँदा स्कूल जाने बेला सधैं रुन्थ्यो । बलजफ्ती पठाउनुपथ्र्यो । अहिले ‘स्कूल जाऊ’ भन्नै पर्दैन । आपैंm रमाएर जान थालेको छ ।”

चण्डीदेवी प्राविमा शिक्षकहरूका भनाइमा, भयरहित शिक्षण अभ्यास थालिएयता विद्यालयमा धेरै सकारात्मक परिवर्तन देखि न थालेका छन् । छात्रछात्राको विद्यालय छोड्ने (ड्रप आउट) दर शून्यमा झरेकाे छ । प्रअ खड्काका अनुसार, यो दर विगतमा ३० प्रतिशतसम्म हुन्थ्यो । यो विद्यालयमा पढ्ने छात्रछात्रामध्ये ९२ प्रतिशत दनुवार समुदायका छन् । विद्यार्थीको नियमित उपस्थिति दर पनि बढेको शिक्षकहरूको भनाइ छ । अर्का शिक्षक रामकृष्ण दनुवार भन्छन्, “शिक्षकबाट पिटिने डरले कतिपय विद्यार्थी घरबाट स्कूल नआई खोलातिर खेल्न जान्थे । अहिले त्यो क्रम पूरै रोकिएको छ ।” सजायको क्रम रोकिएपछि विद्यार्थीको सिकाइमा सकारात्मक परिवर्तन आएका दृष्टान्त समेत भेटिएका छन् (हे. बक्स) ।


सजाय रोकिएपछि...

चण्डीदेवी प्राविका छात्र धीरेन्द्र महर्जन कुनै बेला शिक्षकबाट खुबै कुटिन्थे । घरमा बुबाले पनि उस्तै पिट्ने । पिटाइकै कारण उनी विद्यालयमा पनि नियमित थिएनन् । हाजिरी रजिष्टर अनुसार, कक्षा ३ (२०६५) मा उनी ११७ दिन विद्यालयमा उपस्थित थिए भने ६४ दिन अनुपस्थित । कक्षा ४ मा त फेलै भए ।

जब, चण्डीदेवी प्राविले सजाय दिन छाड्यो, धीरेन्द्र नियमित रूपमा विद्यालय आउन थाले । कक्षा ५(२०६८)मा ६ दिन मात्रै अनुपस्थित रहे । पिटिन छोडेपछि उनको विद्यालय उपस्थिति दर मात्रै बढेन, कक्षा ५ मा ५८.५७ ल्याउन सके र तृतीय स्थानमा रहे । धीरेन्द्र भन्छन्, “पहिले त कुटाइ खाने डरले स्कूल जानै मन लाग्दैनथ्यो । सरले पिट्न छाडेपछि चाहिं नियमित गएँ । त्यसैले राम्रो गर्न सकेको हुँ ।” धीरेन्द्र हाल डुकुछापकै गणेश माविमा कक्षा ६ मा पढ्दैछन् । 


  वैष्णवीको उस्तै प्रयास
कक्षा २ सम्म कीर्तिपुर, पाँगास्थित नवज्योति प्राविमा पढेकी अस्मिता तामाङ कक्षा ३ मा कीर्तिपुरकै वैष्णवी माविमा भर्ना भइन् । वैष्णवीमा एक साता पढेपछि उनले अर्की साथी अस्मिता थापा मगरलाई पनि यहीं भर्ना हुन अनुरोध गरिन् । साथीलाई पनि आफू पढेकै स्कूलमा बोलाउनुको कारणबारे तामाङ भन्छिन्, “यहाँ मिसले धेरै माया गर्नु हुन्छ । अनि उसलाई पनि यहीं पढौं भनें ।” तामाङ स्कूललाई ‘घरभन्दा पनि रमाइलो’ ठान्छिन् । मगर पनि नवज्योतिको भन्दा वैष्णवीमा रमाएकी छिन् । भन्छिन्, “घरमा ममीले भन्दा पनि मिसले बढी माया गर्नु हुन्छ ।”

कीर्तिपुर, भाजङ्गलमा रहेको वैष्णवी माविले २९ भदौ २०६७ देखि बालमैत्री र सजायरहित शिक्षण सिकाइको अभ्यास शुरू गरेको हो । यहाँ विद्यार्थीलाई शारीरिक दण्ड दिन, होच्याएर बोल्न रगाली गर्न नपाइने नियम बसाइएको छ । उक्त नियमको व्यावहारिक अभ्यास कक्षाकोठामा पनि देख्न सकिन्छ । १२ साउनमा शिक्षक प्रतिनिधि वैष्णवी स्कूल पुग्दा शिक्षक जानुका केसी कक्षा १ का बालबालिकालाई नेपाली वर्णमालाको ‘एकार’को चिनारी सिकाउँदै थिइन् । उनले विद्यार्थीलाई पालैपालो ‘क’ देखि ‘ज्ञ’सम्मको ‘एकार’ अक्षर पढ्न लगाइन् । छात्र दिपेश ठाकुरले सबै पढेर सुनाएपछि शिक्षक केसीले भनिन्, ‘ल हेर ! दिपेशले सबै भन्यो । ल उसलाई ‘थ्याङ्स’ भनौं त !’ अनि कक्षाका सबैले ‘थ्याङ्स’ भन्दै ताली बजाए । केसी भन्छिन्, “रराम्रो कामको प्रशंसा गरिदिंदा बालबालिकामा अझै राम्रोगरौं भन्ने प्रेरणा जाग्दो रहेछ ।”

यो विद्यालयमा शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित र अन्तरक्रियामुखी बनाइएको छ । यसो गर्दा सिकाइका निम्ति छात्रछात्राको रुचि र सहभागिता बढेको शिक्षकहरूको अनुभव छ । विद्यार्थीले अघिल्लो दिनको गृह कार्य न गर्दैमा सजाय पाउँदैनन् । शिक्षक जानुका केसी भन्छिन्, “त्यस्ता विद्यार्थीलाई गृह कार्य न गर्नु को कारण सोध्छु र कक्षामै गर्न ल गाउँछु । उनीहरू पनि खुशी भएर गर्छन् ।” यही अभ्यास अन्य कक्षामा पनि देखिन्छ । कक्षा ५ का छात्र सूर्य माझी भन्छन्, “हामीलाई मिसले कहिल्यै पिट्नुहुन्न ।गाली पनि गर्नु हुन्न । त्यसैले मिससँग डर लाग्दैन ।”

शिक्षकहरूको अनुभवमा सजायरहित शिक्षण थालिएपछि शिक्षक र विद्यार्थीको आत्मीयता बढेको छ । अर्की शिक्षक मञ्जु केसीले यस्तै अनुभव सँगालेकी छन् । आफू बिरामी हुँदाहुँदै पनि उनी ५ साउनमा कक्षामा पढाउँदै थिइन् । त्यत्तिकैमा एउटी छात्राले भनिछन्, ‘मिस ! तपाईंलाई सञ्चो नभए बेञ्चमा सुत्नुस् । हामीले लेखेर बस्छौं नि !’ छात्राको त्यो भनाइले आफ्ना आँखाबाट आँशु झरेकाे शिक्षक केसीले सुनाइन् । “विद्यार्थीलाई माया गरे उनीहरूबाट आफूले पनि माया पाइँदोरहेछ”, उनी भन्छिन् । वैष्णवी माविमा कक्षा १–६ र ७–९ को पठनपाठन भिन्दाभिन्दै भवनमा सञ्चालित छ । प्रअ युवराज न्यौपानेको मूल्याङ्कनमा कक्षा १–६ मा बालमैत्री अभ्यास को कार्यान्वयन सन्तोषजनक रहे पनि कक्षा ७–१० मा भने अपेक्षित सुधार हुनसकेको छैन ।


रिपोर्टिङ गर्दागर्दै...

दण्डरहित शिक्षण अभ्यासको रिपोर्टिङ गर्ने सिलसिलामा यो संवाददाता १० साउनमा ललितपुर, भोलढोकास्थित ललितकल्याण केन्द्र निमावि पुग्यो । विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार संरचना केही भिन्न जस्तो देखिन्थ्यो । प्रअ रमेश श्रेष्ठले ६–७ वर्षयता बालमैत्री र दण्डरहित शिक्षण अभ्यास थालिएको जनाए । श्रेष्ठसँगको कुराकानीपछि म शिक्षण सिकाइको अवलोकन गर्न थालेँ ।

अघिल्लो पिरियडमा नर्सरीका बालबालिकालाई नाचगान गराइरहेका शिक्षक जीवन शाक्य कक्षा १ मा प्रवेश गरे । उनी विद्यार्थीलाई ‘मिलेर बस, मिलेर बस’ भन्दै थिए । त्यत्तिकैमा आकाश लामा नाम गरेका बालकको जीउमा उनले ड्याम्म पिटे । बालकका आँखामा आँशु टिलपिलाउँदै थिए । मैले सोधेँ, “किन पिट्नुभयो बच्चालाई ?” शाक्यले भने, “यहाँका बच्चा कस्ता छन्, तपाईंलाई के थाहा ? देख्नुभएन नटेरेको ?” “त्यसरी पिट्न हुँदैनथ्यो नि !” मैले यति भन्नासाथ उनी रिसाउँदै ‘बाहिरका मान्छे आएर टेन्सन दिन्छन्, पढाउँदिनँ’ भन्दै कक्षाबाट बाहिरिए । खासमा ती बालकको कुनै गल्ती थिएन । ‘शान्त भएर नबसेको’ निहुँमा उनी पिटिएका थिए ।

शाक्य नाचगानका निम्ति निजी स्रोतमा राखिएका शिक्षक थिए । त्यो घटनाबारे प्रअ श्रेष्ठलाई सोध्दा उनले भने, “उहाँ राम्रोसँग आँखा देख्नुहुन्थेन । कहिलेकाहीं आउनुहुन्थ्यो, सीधै कक्षामा गएर पढाउनुहुन्थ्यो र उतैबाट जानुहुन्थ्यो । त्यो घटना सुनेपछि मैले उहाँलाई ‘त्यसरी पिट्न हुँदैनथ्यो नि’ भनेर सम्झएँ । त्यसपछि उहाँले पढाउनै छाड्नुभएको छ ।”

त्यसपछि मैले कक्षा २ का छात्रछात्रालाई शिक्षकले दिने सजायबारे जिज्ञासा राखेँ । उनीहरूले पनि ‘होमवर्क’ नगर्दा कहिलेकाहीं संगीता मिस (संगीता श्रेष्ठ)ले दण्ड दिने गरेको बताए । ललितकल्याणमा बालमैत्री शिक्षणको अभ्यास थालिए पनि त्यो प्रयास पूर्णतः सार्थक भएको देखिएन । प्रअ श्रेष्ठले भने, “कहिलेकाहीं आक्कल–झुक्कल रूपमा पिटपाट भएको हुनसक्छ । तर, सजाय दिने हाम्रो नीति छैन ।”


बढ्दैछ उपलब्धि
बालमैत्री शिक्षण अभ्यास को दुई वर्षमा चण्डीदेवी प्रावि र वैष्णवी माविका विद्यार्थीको सिकाइ उपलब्धि दर उकालो लाग्न थालेको छ । विगतमा ४० प्रतिशतको हाराहारीमा रहेको चण्डीदेवीको औसत सिकाइ उपलब्धि अहिले ५५–६० प्रतिशत पुगेको छ । २०६७ सालमा चण्डीसहित आदर्श सौल उमावि स्रोत केन्द्र अन्तर्गतका १२ वटा सामुदायिक विद्यालयमा एकैसाथ बालमैत्री अभ्यास थालिएको थियो ।

वैष्णवीको औसत सिकाइ उपलब्धि दरमा अझ बढी सुधार भएको देखिन्छ । शैक्षिक वर्ष २०६७ मा कक्षा ३ को सिकाइ उपलब्धि दर नेपाली (४७.४३%), अंग्रेजी (६०.३५%), गणित (६३.१७%), सामाजिक (५९.२७%) र विज्ञान (६२.४९%) थियो । २०६८ सालमा यो दर क्रमशः ७८.३७%, ७८.६२%, ७५.८७%, ७७% र ८८.३७% पुगेको देखिन्छ । अन्य कक्षाको सिकाइ उपलब्धिमा पनि यस्तै सुधार आएको बताइएको छ । यसमा विद्यार्थी पनि थपिंदै गएका छन् । २०६७ मा ९६ जना विद्यार्थी रहेकोमा २०६८ मा त्यो संख्या १३७ र यो वर्ष १४७ पुगेको छ ।

शिक्षक  मासिक, २०६९ भदौ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial