जिज्ञासा जवाफ

शैक्षिक कर्जा पाइन्छ ?

म प्राथमिक तहमा २८ वर्ष देखि कार्यरत स्थायी शिक्षक हुँ । मैले २०७५/०५/२९ गते अनिवार्य अवकाश पाउनेछु । सन्तानलाई उच्च शिक्षा अध्ययनका निम्ति विदेश पठाउन कर्मचारी सञ्चय कोषमार्फत शैक्षिक कर्जा पाइन्छ भन्ने सुनेको छु । के यो साँचो हो ? यदि हो भने त्यसको प्रक्रिया र सीमा कति हो ?
गोविन्द दाहाल
पञ्चकन्या मावि, चारपाने–७, झपा

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता शिक्षक/कर्मचारीलाई शैक्षिक कर्जा दिने गरेको साँचो हो । कर्जाको सीमा चाहिं स्वदेशमै अध्ययन गर्नका निम्ति रु.९ लाख र विदेशका निम्ति रु.१२ लाख छ । उक्त कर्जाको ब्याजदर हाल वार्षिक ११ प्रतिशत निर्धारण गरिएको छ । त्यसका लागि देहाय बमोजिमको शर्त पूरा हुनुपर्छः
–    सेवाबाट अवकाश पाउने अवधि कम्तीमा पाँच वर्ष बाँकी हुनुपर्नेछ ।
–    कोषले तोके बमोजिमको धितो राख्नुपर्नेछ ।
–    सम्बन्धित विश्वविद्यालयमा भर्ना भएको र अध्ययनका निम्ति लाग्ने खर्च विवरण पेश गर्नु पर्नेछ ।
–    विदेश पढ्न जानेको हकमा भिसा लागेको हुनुपर्नेछ ।
राजेन्द्र काफ्ले
प्रमुख, सञ्चयकर्ता सेवा तथा सुविधा विभाग
कर्मचारी सञ्चय कोष

ग्रेड कहिले बढ्छ ?

सरकारले समय समयमा तलब स्केल बढाउँदै आए पनि ग्रेड नबढेको लामो समय भयो ।ग्रेड रकम कहिले बढाउने योजना छ ?
रामचन्द्र सापकोटा
सरस्वती उमावि, कुडारी, जुम्ला

लामो समय देखि शिक्षक/कर्मचारीकोग्रेड नबढेको महसूस हामीले पनि गरेका हौं । अर्थ मन्त्रालय जतिसक्दो छिटोग्रेड रकम बढाउने योजनामा छ ।
लोकदर्शन रेग्मी
प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा
अर्थ मन्त्रालय

योग्यता कति हो ?

निम्नमाध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत स्थायी शिक्षकको योग्यता कतिलाई मानिन्छ ? यदि स्नातकलाई मान्ने हो भने बी.ए. र एकवर्षे बी.एड.को श्रेणीलाई सम्बन्धित तहको योग्यता र तालिम दुवैमा समावेश गर्न मिल्छ कि मिल्दैन ?
भीमप्रसाद श्रेष्ठ
जनता उमावि, बिर्घा, स्याङ्जा

हाल निम्नमाध्यमिक द्वितीय श्रेणीमा दुई किसिमका शिक्षक छन् । एउटा निम्नमाध्यमिक तृतीय श्रेणीमा स्थायी नियुक्ति पाई द्वितीय श्रेणीमा बढुवा भएका; अर्को खुला प्रतिस्पर्धाबाट सीधै द्वितीय श्रेणीमा नियुक्ति भएका (यो व्यवस्था अहिले छैन, तथापि सीधै द्वितीय श्रेणीको नियुक्ति पाएका शिक्षकहरू अहिले पनि कार्यरत छन्) । तृतीय श्रेणीबाट द्वितीयमा बढुवा भएका शिक्षकको न्यूनतम योग्यता प्रमाणपत्र तह वा सोसरह र सीधै द्वितीय श्रेणीमा नियुक्ति पाएका शिक्षकको हकमा स्नातक वा सो सरहलाई न्यूनतम योग्यता मानिएको छ । बी.एड.लाई शैक्षिक योग्यता र तालिम दुवैको मान्यता प्राप्त छ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

यस्तो अन्याय किन

एसएलसी उत्तीर्ण भई र १० महिने तालिम पूरा गरेका शिक्षकलाई ‘विशेष पाठ्यक्रम’को परीक्षामार्पmत कक्षा १२ उत्तीर्ण गर्ने मौका दिइयो । तर, त्यसरी कक्षा १२ उत्तीर्ण गरेका शिक्षकलाई विभिन्न कारण देखाएर निम्नमाध्यमिक तहको शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन र स्नातक तहको अध्ययनबाट बञ्चित गरियो । यस्तो अन्याय किन ?
पुस्तर ाज कँडेल
चण्डीदेवी निमावि, हर्दिनेटा–९,गुल्मी
ज्ञानेन्द्र कुमार पुलामी
मनकामना प्रावि, सिलुवा–६, पाल्पा

शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, शैक्षिक जनशक्ति विकास केन्द्र र उच्चमाध्यमिक शिक्षा परिषद्बीच छलफल गरेर यो समस्यालाई निरुपण गर्ने निचोडमा पुगिएको छ । हालै सम्पन्न उच्चमाध्यमिक शिक्षा परिषद्को २२औं बैठकले पनि म्यान्डेट दिएको छ । हामी छिट्टै नै यसबारे छलफल गरी टुंगोमा पुग्नेछौं ।
नारायणप्रसाद कोइराला
सहसचिव, उच्चमाध्यमिक शिक्षा परिषद्

व्यवस्थापन समितिमा गैर अभिभावक !

शिक्षा नियमावली, २०५९ (छैटौं संशोधन)को नियम २४ मा लेखिएको छ, ‘विद्यालयले विद्यार्थीका बाबु, आमा, दाजु, दिदी, भाइ, बहिनी, बाजे, बज्यै वा विद्यार्थीको पालनपोषण गर्ने र पठनपाठनको व्यवस्था मिलाउने व्यक्ति बाहेक अन्य व्यक्तिलाई अभिभावकको रूपमा राख्न हुँदैन । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरू छनोट गर्ने प्रयोजनको लागि विद्यार्थीका बाबु, आमा, बाजे वा बज्यै मात्र अभिभावक मानिनेछ ।’ तर, राजनीतिक भागबण्डाका आधारमा नियमले तोके बाहेकका गैर अभिभावकहरू व्यवस्थापन समितिमा रहेका उदाहरण थुप्रै भेटिएका छन् । त्यसो गर्न मिल्छ र ?
विमलप्रसाद देवकोटा
जनज्योति उमावि, लालबन्दी, सर्लाही

विद्यार्थीका बाबु, आमा, बाजे र बज्यैबाहेकका व्यक्तिहरू विद्यालय व्यवस्थापन समितिमा रहनु नियम विपरीत नै हो । कुनै विद्यालयमा त्यस्तो पाइएको छ भने जिल्ला शिक्षा कार्यालयमा उजुरी दिन सकिन्छ ।
लक्ष्मण बस्याल
शाखा अधिकृत, शिक्षा विभाग

सामाजिक अध्ययनः स्नातकमै छैन

स्नातकोत्तर तहमा सामाजिक अध्ययन विषय छ कि छैन ? छ भने यसको पठनपाठन कहाँ हुन्छ ?
जनकप्रसाद आचार्य
प्रभात मावि, पालुङमैनादी–३, पाल्पा

स्नातकोत्तर तहमा मात्र होइन, स्नातक तहमै सामाजिक अध्ययनको पठनपाठन हुँदैन । सामाजिक अध्ययनलाई बी.एड.मा समावेश गर्ने गरी हामी यसको पाठ्यक्रम तयार गर्दैछौं ।
प्रा.कुलनरसिंह श्रेष्ठ
सहायक डीन, शिक्षाशास्त्र संकाय, त्रिवि

आदेश निकासा दिइँदैन

जिशिका, खोटाङले सामुदायिक विद्यालयहरूलाई निकासा वा आदेश अख्तियारी पत्र नै नदिई सीधै ब्याङ्क खातामा रकम जम्मा गर्दै आएको छ । सम्बद्ध अधिकारी सँग यसबारे सोध्दा जनशक्ति र साधन स्रोतको अभावका कारण त्यस्तो पत्र दिन नसकिएको जवाफ पाइयो । एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई स–शर्त अनुदानको पत्र नदिंदा निम्न कुरा हरूमा असर परेको देखिन्छः

शिक्षा नियमावलीको नियम १६५ मा ‘विद्यालयले प्राप्त रकम जुन कामको लागि खर्च गर्न निकासा भएको हो सोही काममा मात्र खर्च गर्नु पर्नेछ’ भनी लेखिएको छ । तर, आदेश नै जारी नभएको अवस्थामा ‘तोकिएको काम’ नै छुट्टिंदैन ।

ब्याङ्क हिसाब विवरण प्राप्त भएपछि मात्र विद्यालयले सोही आधारमा निकासा आम्दानी गर्नु पर्ने बाध्यता छ, ब्याङ्क विवरण ढिलो गरी प्राप्त भएमा वा प्राप्त नै नभएमा वा त्रुटिपूर्ण विवरण प्राप्त भएमा हिसाब मिलानमा समस्या आउन सक्छ । रकम निकासा गर्दा अख्तियारी पत्र पनि सँगै दिनुपर्ने होइन र ?
लीलाध्वज केसी
लेखा व्यवसायी, खोटाङ

ब्याङ्क खातामा रकम जम्मा गरे पछि त्यो रकमको प्रयोजन खुल्ने गरी अख्तियारी पत्र विद्यालयलाई दिनैपर्ने हुन्छ । जस्तो कि; शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयमा बजेट निकासा गर्दा त्यसको अख्तियारीपत्र पनि दिंदै आएको छ ।
कृष्णबहादुर खड्का
प्रमुख लेखा नियन्त्रक, शिक्षा विभाग

‘नन क्रेडिट’ परीक्षाः उमाविमै पर्छ ?

शिक्षाशास्त्र सङ्कायतर्फ मूल विषय अंग्रेजी राखेर उमावि र स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले स्नातक तहमा नेपाली विषयमा ‘नन क्रेडिट’ परीक्षा दिन उमावि तहमा पनि नेपालीको ‘नन क्रेडिट’ परीक्षा दिनुपर्छ कि पर्दैन ? अनि यसरी ‘नन क्रेडिट’ परीक्षा दिंदा अभ्यास शिक्षण गर्नु पर्छ कि पर्दैन ?
गोपी तामाङ
सरस्वती प्रावि, खर्कभञ्ज्याङ, रामपुर–५, रामेछाप

अंग्रेजीमा बी.एड. गरेको व्यक्तिले स्नातक तहमै सीधै नेपाली विषयको ‘नन क्रेडिट’ परीक्षा दिन पाउँदैन । त्यसका लागि पहिले कक्षा ११ र १२ मा ‘नन क्रेडिट’ परीक्षा दिनुपर्ने हुन्छ । ‘नन क्रेडिट’मा अभ्यास शिक्षण गर्नु पर्दैन ।
प्रा. कुलनरसिंह श्रेष्ठ
सहायक डीन, शिक्षाशास्त्र संकाय, त्रिवि

चित्त न बुझदो व्यवस्था

शिक्षक सेवा आयोग नियमावली अनुसार बढुवाको लागि गरिने विज्ञापनमा ज्येष्ठता बापत २.२५ अंक र समान तह र समान श्रेणीमा अस्थायी सेवा बापत १.२५ अंक प्रति वर्ष प्राप्त गर्ने लेखिएको छ । तर, अस्थायी सेवाको अंकगणना गर्दा हाल कार्यरत तह र श्रेणीभन्दा माथिल्लो पदमा भएमा अस्थायी सेवाको अंकगणना गर्ने व्यवस्था छैन । कुनै शिक्षकले माथिल्लो तह र श्रेणीमा अस्थायी सेवा गरी तल्लो तह र श्रेणीमा स्थायी भई बढुवा हुने समयमा माथिल्लो तह र श्रेणीको ज्येष्ठता र अनुभव बापतको अंक नदिइनु उसमा ज्येष्ठता र अनुभव छैन भन्नु सरह भएन र ?
शोभाकान्त शर्मा
सिद्धार्थ उमावि, फेदीखोला, स्याङ्जा

मेरा प्रश्न

मैले त्रिभुवन विश्वविद्यालय (प्राइभेट) बाट मानविकी सङ्कायमा नेपाली, राजनीतिशास्त्र र अर्थशास्त्र मूल विषय लिई आई.ए. तथा त्रिविबाटै नेपाली विषयमा बी.एड. उत्तीर्ण गरेको छु । हाल त्रिवि, सानोठिमी क्याम्पसबाट एम.एड.(नेपाली)को दोस्रो वर्षको परीक्षा तयारीमा छु । म ‘नन क्रेडिट’ विषय अन्तर्गत अंग्रेजी लिई स्नातक गर्न चाहन्छु । यसको लागि प्रमाणपत्र तह देखि नै परीक्षा दिनुपर्छ कि सीधै स्नातकको परीक्षा दिन पाइन्छ ? साथै एम.एड. उत्तीर्ण गरे पछि मैले सीधै व्यवस्थापन सङ्कायमा स्नातक वा स्नातकोत्तर गर्न पाउँछु कि पाउँदिनँ ?
तारानाथ नेपाल
झ्र्पिु उमावि, सिन्धुपाल्चोक

प्रमाणपत्र तहमा मूल विषय अंग्रेजी पढेको व्यक्तिले मात्रै बी.एड.मा सो विषयमा ‘नन क्रेडिट’ परीक्षा दिन पाउँछ । त्यसैले तपाईंले कक्षा ११ र १२ देखि नै अंग्रेजी विषयको ‘नन क्रेडिट’ परीक्षा दिनुपर्ने हुन्छ ।
प्रा. कुलनरसिंह श्रेष्ठ
सहायक डीन, शिक्षाशास्त्र संकाय, त्रिवि

एम.एड. पूरा भएपछि तपाईंले व्यवस्थापन संकायबाट स्नातकोत्तर (एमबीएस) गर्न पाउनुहुनेछ ।
सुशीला चालिसे
उप–प्रशासक, व्यवस्थापन संकाय, त्रिवि

तपाइँले भनेको कुरा व्यावहारिक रूपमा एकदमै सान्दर्भिक देखिन्छ । तर, हामी नियमले बाँधिएका छौं । नोकरीको ज्येष्ठतागणनामा माथिल्लो तह र श्रेणीको अनुभव बापतको अंक दिनका निम्ति नियमावलीमै संशोधन गर्नु पर्ने हुन्छ । त्यो नभई हामीले पनि केही गर्न सक्दैनौं ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

टीपीडीः लिनैपर्ने हो र ?

म २०५४/०५/१८ देखि हालसम्म प्राथमिक तहको अस्थायी शिक्षक छु । मेरो शैक्षिक योग्यता बी.एड. हो र १० महिने तालिम पनि लिइसकेको छु । हाल आएर प्रायः शिक्षकले शिक्षकको पेशागत विकास (टीपीडी) तालिम लिइरहेका छन् । सबै शिक्षकले टीपीडी तालिम लिनैपर्छ भन्ने छ र ? नलिंदा भविष्यमा कुनै असर त पर्दैन नि ?
दुधालाल घलान
मावि कर्मिडाँडा हरिहरपुर–९, सिन्धुली

कार्यरत शिक्षकलाई शिक्षण सिकाइमा पुनर्ताजगी गराउने र कक्षाकोठाका समस्या सम्बोधन गर्ने गरी टीपीडीको ढाँचा बनाइएको हो । टीपीडी तालिम लिनैपर्छ भन्ने बाध्यात्मक व्यवस्था छैन । तालिम लिएमा तपाईंकै पेशागत क्षमता र दक्षता विकास मा सहयोग पुग्ने हो । आफ्नो पेशागत सीप विकास बढाउन चाहने वा नचाहने भन्ने निर्णय लिने अधिकार चाहिं तपाईंलाई नै छ ।
दीपक शर्मा, उपनि र्देशक
शैक्षिक जनशक्ति विकास केन्द्र

नियुक्तिगणनाः कुन मितिको ?

म २०६२/११/२५ देखि स्रोतव्यक्ति दिपेन्द्र कुमार बीसीको लियन पदमा जय जनता मावि, जोरेबाँझ्, दैलेखमा माध्यमिक तृतीय श्रेणीको गणित शिक्षकका रूपमा अध्यापन गर्दै आएको थिएँ । जिशिका, दैलेखले २०६६/०५/२९ मा पत्र पठाई मलाई शान्ति मावि, लालीकाँडाको माध्यमिक तह(राहत)तर्फ गणित शिक्षकका रूपमा पदस्थापन गरेको छ । अब मेरो नियुक्तिगणना कुन मितिको हुन्छ ?
वीरेन्द्र कुमार बीसी
शान्ति उमावि, लालीकाँडा–६, दैलेख

तपाईंले कुन प्रयोजनको निम्ति नियुक्तिगणनाको प्रसङ्ग उठाउनुभएको हो भन्ने कुरा जिज्ञासाबाट खुल्दैन । सट्टा शिक्षक र राहत अनुदान दुवै फरक किसिमका शिक्षण सेवा हुन् । त्यसैले सट्टा शिक्षकको हकमा नियुक्ति पाएको मिति देखि छोडेको मितिसम्म र राहतको हकमा पनि नियुक्ति भए देखि को छुट्टाछुट्टै अवधिगणना हुने देखिन्छ । यदि तपाईंलाई आफ्नो शिक्षण ‘करिअर’मा निरन्तरताको प्रमाण चाहिएको हो भने जिशिका र सम्बन्धित विद्यालयबाट आवश्यक कागजात बनाउन सक्नुहुनेछ ।
गणेशप्रसाद पौडेल
उपनि र्देशक, शिक्षा विभाग

commercial commercial commercial commercial