दलीय राजनीतिको दोष
सामुदायिक विद्यालय किन आजभन्दा हिजो राम्रो ?
सामुदायिक विद्यालय २०४६ सालभन्दा अघि राम्रै अवस्थामा थिए । त्यसताका शिक्षकहरू प्रत्यक्ष राजनीतिक चलखेलमा लाग्न पाउँदैनथे; आफ्नो काम तथा प्रधानाध्यापकप्रति वफादार भएर काम गर्दथे । त्यसबेलाको प्रशासनको पनि आफ्नै आदरणीय शक्ति थियो । राजनीतिमा लागेको वा विद्यालय प्रधानाध्यापकको आज्ञा नमानेको सूचना भएमा विभागीय कारबाही हुने तथा जागिर नै खोसिने हुनाले शिक्षकहरू आफ्नो कार्यमा लगनशील थिए । निजी विद्यालयहरू कम थिए र थोरै विद्यार्थी मात्र निजीमा जान्थे । २०४६ सालपश्चात् शिक्षकहरू पनि स्पष्टतः राजनीतिक दलमा देखा पर्न थाले । अन्य शिक्षकको तुलनामा राजनीतिक संलग्नता भएका शिक्षकको मान र महत्व बढी देखि न थाल्यो । प्रअ बन्ने, पायक पर्ने ठाउँमा सरुवा हुने; सेवासुविधा लिने, तालिममा सहभागी हुने वा गरिमामय स्थानमा पुग्नको लागि सेवा प्रवेश र मर्यादाको क्रम भन्दा पनि राजनीतिक दलसँग को निकटता बढी उपयोगी हुन थाल्यो । परिणामस्वरुप, मर्यादा र अनुशासनमा रही शिक्षण सेवामै ध्यान केन्द्रित गर्नेहरू पाखा लाग्न थाले र निराश भए । परिणामतः राजनीतिबाट टाढा रहेका शिक्षकहरू पनि सरुवा देखि उच्च पदसम्म पुग्नको लागि चक–डस्टर, पाठ्यपुस्तकभन्दा क्रमशः राजनीतिक दलको आज्ञा मान्नेतिर नै लहसिन लागे । पढाएर भन्दा भनसुनबाट नै सबै कुरा हुन्छ भने किन दुः ख गर्ने ? शिक्षकहरू राजनीतिक दलको पछि लाग्न थालेपछि उनीहरूको अनुपस्थितिको कारणले गर्दा विद्यार्थीहरू नपढी घर फर्किन बाध्य हुन थाले । अभिभावकहरू जो शिक्षित र आर्थिक अवस्था रराम्रो भएका थिए तिनले आफ्ना नानीहरूलाई निजी तथा शहरका राम्रा विद्यालयमा स्थानान्तर गरे । स्थानीय स्कूलमा समस्याग्रस्त र अशिक्षित अभिभावकका नानीहरू मात्र बाँकी रहन थाले । यसरी शिक्षक स्वयंले आफ्नो विद्यालयको वातावरणलाई धुमिल्याउने काम गरेको देखिन्छ ।
सामुदायिक विद्यालयको अवस्था खस्किनुमा पहिलो र महत्वपूर्ण कारकतत्व भनेको नै राजनीतिक दलमा शिक्षकहरू प्रत्यक्ष संलग्न हुनु हो । यसोभन्दा कसैलाई चोट पुग्छ भने म क्षमा माग्न चाहन्छु । तर फेरि पनि भन्छु, कारण यही हो ।
सामुदायिक विद्यालयको अवस्था खस्किनुमा पहिलो र महत्वपूर्ण कारकतत्व भनेको नै राजनीतिक दलमा शिक्षकहरू प्रत्यक्ष संलग्न हुनु हो । यसोभन्दा कसैलाई चोट पुग्छ भने म क्षमा माग्न चाहन्छु । तर फेरि पनि भन्छु, कारण यही हो । फरक फरक राजनीतिक दलमा सहभागी शिक्षकहरू एकअर्काको शत्रुको रूपमा उभिने तथा प्रधानाध्यापकलाई दमनात्मक काम गर्न लगाउने र नमानेमागालीगलौज वा अपमान गर्ने कारणले गर्दा स्कूलमा मिलेर काम गर्ने वातावरण नै हुँदैन । शिक्षकहरूबीच नै द्वन्द्वको स्थिति रहने; शिक्षण र कक्षा क्रियाकलाप मा शिक्षकले कम समय दिने आदि कारणले गर्दा विद्यार्थीहरू निजी विद्यालयतिर लाग्न बाध्य भएको पाइन्छ ।
विषयवस्तुमा किन कमजोर ?
गोरु बाठो र तगडा भए हली पनि उस्तै नै चाहिन्छ । अर्थात् कक्षामा विद्यार्थीहरू जान्ने, मेधावी र पढाइप्रति उत्सुक छन् भने शिक्षकले जहिले पनि रराम्रो तयारी गरेर कक्षा प्रवेश गर्नु पर्छ । मेधावी विद्यार्थीहरूको ज्ञानको क्षेत्र नै फराकिलो हुन्छ । कमजोर, अनियमित र समस्याग्रस्त विद्यार्थीको सिकाइको क्षेत्र सीमित हुन्छ । कमजोर विद्यार्थीहरूलाई आफ्नो पाठ्यपुस्तकमा भएका विषयवस्तु नै अपार हुन्छ । कक्षामा नियमित उपस्थित नहुनाले उनीहरूलाई विषयवस्तु तथा पाठ नै थाहा हुँदैन । जहिले पनि एउटै पाठ दोहोर्याउनुपर्ने, आधारभूत ज्ञान मात्र प्रदान गर्नु पर्ने हुनाले शिक्षकलाई अन्य विषयवस्तु हेर्नै नपर्ने हुन्छ । विद्यार्थीहरू पढाइमा कमजोर र न्यून उपस्थिति भएपछि शिक्षकलाई पनि पढाउन अल्छी लाग्ने, पढाए तापनि कक्षामा अनुपस्थित हुनेहरूलाई दोहोर्याउनुपर्ने हुनाले पाठ नबढाउने, आलस्य आउने गर्द छ । तसर्थ शिक्षकहरू पनि पत्रपत्रिका तथा पुस्तक पढेर ज्ञानको क्षेत्र वृद्धि गर्नु भन्दा पनि साधारण ज्ञान प्रदान गर्नमा नै व्यस्त हुन्छन् ।
सुधार सम्भव छ त ?
कुनै पनि कुरा बिग्रिनुको पछाडि केही कारण हुन्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा पनि केही कारण छन् । हामी शिक्षक ज्ञान उपार्जन गर्न सक्ने, समाज परिवर्तन गर्न सक्ने, अज्ञानीलाई ज्ञानी बनाउन सक्ने क्षमताका भण्डार हौं । हामी आफंै परिवर्तनको लागि तयार होऔं, अवस्य हराम्रो विद्यालयमा परिवर्तन आउँछ । तर बिगार गर्न जति छिटो हुन्छ, सपार्न निकै लामो समय लाग्छ । एउटा भनाइ छ, “संसार बदल्न शुरू आफैंबाट गर्नुपर्छ ।” हो भोलि हामी विद्यालयलाई कस्तो बनाउने, कस्तो जनशक्ति उत्पादन गर्ने आज नै योजना बनाएर लागौं । जति विद्यार्थी छन् तिनैबाट शुरू गरौं । हराम्रो विद्यालयको अवस्था जहाँ छ त्यहींबाट उठौं, जति छ त्यसैबाट शुरू गरौं भोलिको परिवर्तनको लागि ।
सूचना र प्रविधिले गर्दा हामी शिक्षकभन्दा हाम्रा विद्यार्थी समसामयिक घटना तथा परिवर्तनको बारेमा बढी जानकारी हासिल गरिरहेका हुन्छन् । हाम्रा कतिपय विषयवस्तु र शिक्षण विधिहरू पुराना र बेकम्मा भइसकेका छन् । मोबाइल इन्टरनेट, इमेल, इन्टरनेटमा च्याट गर्ने , विभिन्न वेबसाइट, बजारमा आएका नयाँ–नयाँ बहुप्रविधिबाट पढाइ हुने तरिका आदिका कारणले विद्यार्थीहरू चलाख र चनाखो हुन्छन् । केही दिनको लागि आफूसँग पनि केही हुनै पर्छ । विद्यार्थीहरूको नजरमा शिक्षक जान्ने व्यक्तिको रूपमा रहेको हुन्छ । विद्यार्थीले प्रविधि सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासा शिक्षकसामु राख्दछन् र यसको सही जवाफ नपाएमा वागाली गरे मा विद्यार्थीहरू उक्त शिक्षकप्रति नकारात्मक दृष्टिकोण राख्ने गर्द छन् । तसर्थ हामी पनि समयसापेक्ष परिवर्तित हुनु आवश्यक छ ।
हामी शिक्षकले निम्न कार्यहरू गर्न सकेमा हाम्रो वर्तमान शिक्षाको स्तर मा सुधार आउनेथियो किः
– आफूले पढाउने विषयवस्तुको लागि इन्टरनेट तथा अन्य पुस्तकहरूबाट पनि थप जानकारी लिएर शिक्षण योजना बनाउने ।
– विषयवस्तुसँग सुहाउँदो शैक्षिक सामग्री प्रयोग गर्ने । महँगो सामग्री मात्र उत्तम हुन्छ भन्ने हुँदैन फालिएका र सस्तो वस्तुहरूको प्रयोग गरी विद्यार्थीको सहभागितामा सामग्री निर्माण गर्ने ।
– मोबाइल सेट चलाउन सक्षम हुने । मोबाइल इन्टरनेट जोडेर विभिन्न वेबसाइट खोज्ने, डाउनलोड गर्ने तरिका शिक्षकले पनि सिक्नुपर्छ । सिक्नको लागि कहिल्यै पनि लाज तथा संकोच मान्नुहुँदैन ।
– आफूले पढाएको वा बनाएको भिडियो भए युट्युवमा अपलोड गर्नु होस् र आफैंले पनि राम्ररी हेर्नुहोस् । तपाईंको गल्ती कहाँ भएको छ, आत्ममूल्यांकन गरी सुधार गर्नु होस् ।
– विभिन्न पुस्तक, शैक्षिक सामग्री, शैक्षिक सूचना, जानकारीहरू तथा पाठ्यक्रम आदि नेपालको शिक्षा विभाग (www.doe.gov.np), शैक्षिक जनशक्ति विकास केन्द्र (www.nced.gov.np), शिक्षा मन्त्रालय (www.moe.gov.np), बाट डाउनलोड गर्नु होस् । यस्तै शैक्षिक वेबसाइटको खोजी गर्नु होस् र आफूलाई काम लाग्ने सामग्री डाउनलोड गरेर राख्नुहोस् ।
– सूचनाप्रविधिमा सधैं चाख राख्नुहोस् । कुनै पनि नयाँ कुरा तथा जानकारीका बारेमा छिटो ‘अपडेट’ हुने प्रयत्न गर्नु होस् जसले तपाईंको जाँगर र जोशलाई इङ्गित गर्द छ ।
– कक्षाकोठामा जति जना विद्यार्थी भए तापनि पूरा तयारीका साथ उत्साहित भएर पढाउनु होस् किनकि तपाईंले पढाएको तथा गरेको क्रियाकलाप को सम्बन्धको जानकारी विद्यार्थीमार्फत अभिभावक तथा अन्य विद्यार्थीहरूमाझ् पुग्दछ । तपाईंको कक्षा शिक्षणको सम्बन्धमा विद्यार्थीमाझ् छलफल हुन्छ र यसले तपाईंको मूल्याङ्कन गर्द छ । अल्छी मानेर विद्यार्थीको डेस्क माथि बसेर, ढोकामा उभिएर , हाई गर्दै पढाउनु भयो भने विद्यार्थी पनि अल्छी मान्न थाल्दछन् र तपाईंको कक्षा शिक्षण निराशाजनक हुन्छ । विद्यार्थीले सोेधेको प्रश्नको उत्तर भरसक सही र चाँडो दिने कोशिश गर्नु होस् र उसलाई दिनुपर्ने पाठ्यपुस्तक तथा अन्य सामान जतिसक्दो चाँडो दिनुहोस् । विद्यार्थीहरू आफूले चाहेको वस्तु वा उत्तर जति सक्दो चाँडो पाउँछन् यस अवस्थामा बढी खुशी हुन्छन् ।
– पढाइको बीचमा हँसाउने चुट्किला वा ज्ञानवद्र्धक कुरा हरू पस्कनुहोस् जसले पढाइप्रति जागरुक हुन र अल्छीबाट मु्क्त हुनमा सहयोग गर्द छ ।
– परीक्षाका उत्तरपुस्तिका सहीरूपले परीक्षण गर्नु होस् । प्राप्ताङ्कहरू जोड्दा होशियार हुनुहोस् । उत्तरपुस्तिकाहरू परीक्षण न गरिकन अंक प्रदान गरेको वागलत तरिकाले परीक्षण गरिएको कुरा समाज मा पुगेमा तपाईंको वर्षाैं देखि को इज्जत क्षणभरमा नै समाप्त हुन्छ ।
– अभिभावकसँग पनि बेला–बेलामा भेट्ने गर्नु होस् । जहिले पनि ‘बच्चा जान्दैन, भनेको मान्दैन’ जस्ता नकारात्मक शब्दहरू मात्र प्रयोग न गर्नु होस् । बच्चाको बारेमा सकारात्मक पक्षहरू बताउनुहोस् किनकि अभिभावकलाई परिवर्तनको आभास हुन्छ । विद्यार्थीलाई जहिले पनि पहिलाको भन्दा रराम्रो भएको कुरा बताउनुहोस् ।
– विद्यार्थीले तपाईंलाई अपशब्द बोली हालेमा वा कुनै प्रसङ्गमा अटेर गरे मा तत्कालै कडा प्रतिकार न गर्नु होस् । विद्यार्थी भनेको समाज को ऐना हो । समाज मा नै त्यस्ता शब्द बोल्ने गरेको भए विद्यार्थीले पनि अप्रत्यक्ष रूपमा प्रयोग गर्द छ । यसलाई न्यूनीकरण गर्नको लागि उपाय खोज्नुहोस् । कारण पत्ता लगाउनुहोस् किन विद्यार्थीहरू असामाजिक कार्य गर्द छन् ? कुनै विद्यार्थीले कक्षामा ठूलो स्वरले बोल्ने, भनेको नमान्ने, असामाजिक क्रियाकलाप देखाउने गरेको भए उक्त विद्यार्थीले कतै तपाईंको ध्यान केन्द्रित गर्नको लागि उक्त क्रियाकलाप गरेको त होइन ? ध्यान दिनुहोस् । सबै आन्दोलन र अवज्ञा नकारात्मक नभई ध्यानाकर्षणको लागि समेत हुने गर्द छन् ।
– फुर्सदको समयमा पनि अन्य शिक्षक, अभिभावक र विद्यार्थीसँग बसेर वा उनीहरूका सामु मादक पदार्थ सेवन न गर्नु होस् । मादक पदार्थको सेवनले अपशब्द बोल्ने संस्कारका साथै तपाईंको पेशागत दक्षतामा पनि कमी ल्याउँछ । त्यस्तै चुरोट, खैनी पनि नखानुहोस् ।
– तास–जुवा कहिल्यै पनि नखेल्नुहोस् । फुर्सदको समयमा आफ्नो ज्ञानलाई सशक्त बनाउन थप शैक्षिक सामग्रीको अध्ययन गर्नु होस् । शिक्षक पत्रिका र यस्तै शैक्षिक गतिविधि सम्बन्धी अध्ययन गर्नु होस् ।
– नयाँ नेपाली चलचित्र बेलाबेलामा हेर्ने गर्नु होस् । विद्यार्थीहरू चलचित्र हेरेर पात्रले जे गर्छन् त्यसैको नक्कल गर्ने हुनाले चलचित्र हेर्दा शिक्षकलाई पनि विद्यार्थीको चालचलन बुझनको लागि सहयोग पुग्छ ।
– काम गरेको जति वर्ष भए तापनि मनमा जहिले पनि म नयाँ र कोरा शिक्षक छु भन्ने ठान्नुहोस् । आफ्नो शिक्षण पेशालाई आकर्षक तुल्याइराख्न नयाँ–नयाँ शिक्षण क्रियाकलाप सञ्चालन गर्नु होस् । तपाईंले ‘म अस्थायी, लियन, राहत, काम गरेको बीस वर्ष भइसक्यो, पेन्सन पाकिसक्यो’ जस्ता कुरा सोच्नुभयो भने यसले काम गर्ने जोश–जाँगरमा ह्रास ल्याउँदछ ।
– विद्यालयमा सधैं नमूना भएर काम गर्नु होस्, उत्साहित हुनुहोस्, विद्यार्थीसँग पनि दोहोरो वार्ता गरी पृष्ठपोषण लिनुहोस् । आफ्ना राम्रा र नराम्रा पक्षहरू छुट्याउनुहोस् ।
– तरकारी वा यस्तै अन्य केही कुरा विद्यार्थी तथा अभिभावकबाट सित्तैंमा लिने न गर्नु होस् । मूल्य तिरेर नै लिनुहोस् । कसैबाट बिना पैसा सामान लिने गर्नु भएको भए उसले भनेको पनि मान्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ ।
– आफ्नो शिक्षण क्रियाकलाप के–कस्तो अवस्थामा रहेको छ ? सो कुरा थाहा पाउन र पृष्ठपोषण लिन विद्यालयका प्रधानाध्यापक, विद्यालयका अन्य शिक्षक, स्रोतव्यक्ति, विद्यालय निरीक्षक वा विषय विशेषज्ञहरूद्वारा कक्षा अवलोकन गराउने गर्नु होस् ।
– विद्यार्थीहरू तपाईंको विद्यालयमा पढ्न आउँदैनन् भनेर चिन्ता न गर्नु होस्, बरु आउने वातावरण तयार पार्नतिर लाग्नुहोस् । विद्यालयमा बालमैत्रीपूर्ण शिक्षण सिकाइ योजना बनाउनुहोस् र विद्यार्थीहरूलाई परियोजना कार्य गराउनु होस् । शैक्षिक सामग्रीको निर्माण र भण्डारण, विद्यालयलाई आकर्षक र चुस्त बनाउने कुरा मा सधैं ध्यान दिनुहोस् । विद्यालयमा अभिभावक दिवस, विद्यालयको जन्मोत्सव, सरस्वती पूजा जस्ता विशेष समारोहमा अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई पनि निमन्त्रणा गर्नु होस् साथै उनीहरूको मान सम्मान मा विशेष ध्यान दिनुहोस् । तपाईंले गरेको क्रियाकलाप विस्तारै फैलिंदै जानेछ र तपाईंप्रति समाज तथा अभिभावकले भरोसा गर्ने छन् । तपाईंको लगनशील, मिहिनेतलाई सम्मान गर्दै क्रमशः विद्यार्थीहरू तपाईंको विद्यालयमा प्रवेश गर्ने छन् । जबरजस्ती विद्यार्थी नल्याउनुहोस्, उनीहरू स्वतः आउने वातावरणको निर्माण गर्नु होस् । विद्यालयमा आएका विद्यार्थीहरू केही कुरा सिकेर मात्र घर फर्कने वातावरण सुनिश्चित गर्नु होस् ।
हामी शिक्षक साँच्चिकै आफ्नो क्षमता प्रदर्शन गरेर शिक्षण पेशामा लागिपर्ने हो भने आजको खस्कँदो स्थितिमा रहेको सामुदायिक विद्यालयको शिक्षा पुनः केही वर्षभित्र नै प्रतिस्पर्धात्मक र सुधारयुक्त स्थितिमा फर्कनेछ । सामुदायिक विद्यालयमा कहिल्यै पनि पूरा समय पढाइ हुदैन भन्ने अभिभावकको गुनासोलाई मनन् गर्दै दश देखि चार बजेसम्म र हड्तालको समयको विकल्पमा पनि पढाउने गरे मा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुने कुरा मा दुईमत हुदैन । तपाईं हामीले विद्यालयमा शिक्षण गरेर नै जीवनगुजारा गर्नु पर्ने भएको ले यसलाई मर्यादित र सम्मानित पेशाको रूपमा स्थापित गरी प्रतिस्पर्धात्मक शिक्षा दिने थलोको रूपमा विकास गरिनु अति आवश्यक छ । तपाईं हामीले तलब र सुविधा लिने तर विद्यार्थी नै छैनन्, आउँदैनन् भनेर पन्छिन हुँदैन । विद्यार्थीहरू आएनन् ? किन आएनन् यसको कारण खोज्नुपर्छ । अभिभावक तथा विद्यार्थीहरूको सामुदायिक विद्यालयप्रति विश्वास घटेको छ, किन ? यसको कारण खोजी गर्नु आवश्यक छ । हराम्रो विद्यालयलाई एक्काइसौं शताब्दीको युग सुहाउँदो प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने थलोको रूपमा विकास गर्न आजबाट नै आवश्यक थालनीगरौं, परिवर्तन आउन सम्भव छ ।
गोकुण्डेश्वर बालमन्दिर उमावि, धनकुटा—५



