पढाइ सुधार्न मितेरी कक्षा

छात्रछात्राको चाप बढ्दै गएपछि झापाको दक्षिणी गाविस महारानीझाेडा–२ को स्कूलचौन उमाविले पूर्व प्राविमा समेत सेक्सन थप गरेको छ । छेउछाउका बोर्डिङ स्कूल छाडेर यो स्कूलमा भर्ना हुने संख्या बढ्दै गएपछि छात्रछात्राको संख्या ७०० नाघेको छ ।


कमजोर पठनपाठनका कारण सार्वजनिक स्कूलले छात्रछात्राको अभाव झेल्नु परेको बेला झपा र सुर्खेतका सुध्रिंदै गरेका विद्यालयलाई भने विद्यार्थीको चाप थेग्न गाह्रो परेको छ ।


स्कूलचौन उमाविको वार्षिक शैक्षिक नतिजा औसत ८० प्रतिशतभन्दा माथि रहेको छ । जिशिका झपाको मूल्यांकनमा यो स्कूल जिल्लाकै तेस्रो रराम्रो स्कूल हो । पूर्व प्राथमिक तहमा किन्डरगार्टेन प्रणाली अपनाइएको छ भने कक्षा २ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिएको छ । पठनपाठनलाई चुस्त राख्न साप्ताहिक जाँच प्रणाली अपनाइएको छ । साप्ताहिक रूपमा जाँच हुने भएपछि विद्यार्थीले नियमित रूपमा पढाइमा ध्यान दिनुपर्ने स्थिति सृजना भएको छ । तल्लो कक्षाका कमजोर विद्यार्थीलाई कक्षाको औसत स्तर मा ल्याउन विद्यालयले विशेष निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने गरेको छ । कक्षा ८, ९ र १० का छात्रछात्राले भने कोचिङ कक्षा पढ्न शुल्क तिर्नुपर्छ । २०६५ को एसएलसीमा यो विद्यालयले झपाको दोस्रो स्थानमा परेको थियो भने २०६६ र २०६७ मा पाँचौं ।

स्कूलको शैक्षिक नतिजा सुधारका लागि स्कूलचौन उमाविले अपनाएका विभिन्न विधिहरू मध्ये मितेरी कक्षा नितान्त नौलो हो ।गत साल देखि कक्षा ८, ९ र १० मा कार्यान्वयन गरिएको मितेरी कक्षाको अवधारणा अनुसार कक्षाका जान्ने विद्यार्थीसँग कम्तीमा पाँच जना कमजोरलाई मीत लगाइदिने र सिकाइ आदानप्रदान गर्न लगाउने गरिएको छ । मितेरी समूहमा परेका विद्यार्थीले स्कूल र स्कूल बाहिर पनि आफूले नजानेका विषयमा सामूहिक छलफल गर्ने र जान्नेले नजान्नेलाई सिकाउनु पर्छ । “मितेरी कक्षाका कारण मैले जानेका कुरा मीतलाई सिकाउने र मीतले जानेका कुरा मैले सिक्ने अवसर मिलेको छ, यसले सरहरू कक्षामा नहुँदा पनि गफिएर समय खेर फाल्ने परिपाटी रोकिएको छ”, कक्षा १० की प्रथम छात्रा झरना दाहाल भन्छिन् ।

विद्यालयले अपनाएको शिक्षक नियुक्तिको पारदर्शी र निष्पक्ष मापदण्ड तथा प्रक्रियाले गर्दा नयाँ शिक्षक नियुक्त गर्न रगतिला शिक्षकलाई सरुवा गरेर स्कूलमा ल्याउन सहयोग पुगेको प्रअ बाबुराम भण्डारीको अनुभव छ । दुई वर्षयता उनले कसैको दबाब विना चार जना शिक्षक नियुक्त गरेका छन् । शैक्षिक योग्यतालाई शिक्षक छनोटको मुख्य आधार बनाइएको छ । अहिले यो स्कूलमा २२ जना शिक्षक छन् । यहाँका शिक्षकलाई कुनै आर्थिक समस्या परेमा चार महीनासम्मको तलब पेश्की स्वरुप लिन सक्छन् । यसले आर्थिक तथा पारिवारिक चिन्ताबाट मुक्त भएर शिक्षकले कक्षाकोठामा रराम्रोसँग पढाउने विश्वास प्रअ भण्डारीको छ । यहाँका शिक्षकहरू पेशागत संघसंगठनको काजमा हिंड्न पाउँदैनन् ।

बन्दको हल्ला सुन्ने वित्तिकै स्कूल बन्द गर्ने आम प्रवृत्तिको अपवाद बनेको छ स्कूलचौन उमावि । १२ वैशाख २०६८ मा पूर्वाञ्चल बन्द थियो । तर, त्यो दिन स्कूलचौनको पठनपठन सुचारु थियो ।गत वर्ष सो स्कूल २३१ दिन खुलेको र २०४ दिन पठनपाठन भएको देखिन्छ । आर्थिक पारदर्शिता, अभिभावकसँग नियमित अन्तरक्रिया, शिक्षक शिक्षकबीचको एकता र टीम वर्क स्कूलचौनलाई रराम्रो पार्ने थप औजार देखिन्छन् । तैपनि प्रअ भण्डारी भन्छन्, “हामी रराम्रो भइसकेका छैनौं, रराम्रो बन्ने बाटोमा चाहिं पक्कै लागेका छौं ।” भण्डारीको सबल पक्ष नै व्यक्तिगत सक्रियता हो । उनी धेरै काम आफैं गर्न तम्सिन्छन् । यसले अरू शिक्षकलाई पनि कर्मशील हुन प्रेरित गरेको छ ।


नयाँ भर्नामा प्रवेश परीक्षा

झापाको दमक–२ स्थित हिमालय उमाविले विद्यार्थीको बढ्दो चाप थेग्न नयाँ भर्नामा प्रवेश परीक्षा प्रणाली शुरू गरेको छ । हाल यो उमाविमा १२०० विद्यार्थी र ३० जना शिक्षक छन् ।  

हिमालय उमावि राम्रो हुनुको एउटा कारण हो त्यहाँभित्र हुने विशुद्ध शैक्षिक क्रियाकलाप । राजनीतिले नगिजोलेका कारण विगत तीन वर्षयता यो स्कूलले एसएलसीमा ८० प्रतिशतभन्दा माथि नतिजा हासिल गरेको छ । शिक्षक समयमा कक्षामा जाने,गफ न गर्ने नियमित रूपमा गृह कार्य दिने र परीक्षण गर्ने परिपाटीले विद्यार्थीलाई पठनपाठनमा प्रेरित गरेको छ । हिमालय उमाविमा हरेक विद्यार्थीको गृह कार्य रेकर्ड गर्ने गरिएको छ । स्कूल नआउने विद्यार्थीले दैनिक रु.२ र कक्षा छाड्नेले रु.५ जरिवाना तिर्नुपर्छ ।

कक्षा ८ भन्दा माथिका लागि कोचिङ कक्षा चलाइएको छ । पूर्वप्राथमिक तहमा किन्डरगार्टेन पद्धतिमा पढाइ हुन्छ भने कक्षा ४ सम्म अंग्रेजी माध्यममा । भर्ना हुनका लागि प्रवेश परीक्षा दिनुपर्ने नियम कक्षा ४ सम्म कायम गरिएको छ । यसले आसपासका स्कूल माथि अप्रत्यक्ष रूपमा पढाइ सुधार गर्नु पर्ने दबाब परेको छ ।

यस स्कूलमा अध्यापन गर्ने सबै शिक्षकले आफ्ना छोरीछोरीलाई यहीं भर्ना गरेका छन् । शिक्षकहरूले निजी स्कूलमा पढ्दै गरेका छोराछोरीलाई समेत यही स्कूलमा सार्नुको कारण अरू केही नभएर स्तरीय र विश्वसनीय पठनपाठन नै हो । शिक्षक स्वयंले निजी स्कूलबाट छोराछोरी निकालेर यसमा भर्ना गरे पछि अरू अभिभावकमा पनि यस उमाविप्रतिको विश्वास बढेको छ । “निजी स्कूलबाट छोराछोरी निकालेर सरकारीमा हाल्न तयार हुनु सानो कुरा होइन, तर हामीले निजी स्कूलबाट आउने सबै छात्रछात्रालाई स्वागत गर्न सकेका छैनौं”, प्रअ विदुर खतिवडा भन्छन् ।

वार्षिक रु.२ करोड कारोबार हुने हिमालय उमाविमा विद्यार्थी चाप बढी भएका कारण कक्षा ९ र  १० मा चार/चार वटा सेक्सन छुट्याइएको छ । तैपनि अहिले एउटा सेक्सनमा ८५ जना विद्यार्थी छन् । अब चाहिं ५० जनाको एउटा सेक्सन बनाउने स्कूलको योजना छ । कक्षा ६ र ७ को प्रत्येक सेक्सनमा ९० जनासम्म राखिएको छ भने पूर्व प्राथमिक तहमा यस वर्ष देखि मन्टेसरी शिक्षण पद्धतिमा पठनपाठन गर्न शैक्षिक /भौतिक पूर्वाधार तयार गरिएको छ । हिमालय र चौन उमाविको सफलताले प्रअ र शिक्षकले प्रयास गरे सरकारी विद्यालयका पठनपाठन सुधार्न असम्भव छैन भन्ने स्पष्ट पार्छ ।
शिक्षक मासिक, २०६९ असार अंकमा प्रकाशित ।

commercial commercial commercial commercial