समसामयिक मामिला शिक्षणः किन र कसरी

विषय प्रवेश
निरन्तर–परिवर्तन समाज वा संसारको स्वभाव हो । क्षण, दिन, महीना वा वर्षैपिच्छे हुने परिवर्तनलाई पाठ्यक्रमको कुनै इकाईभित्र सीमित पार्न गाह्रो हुन्छ । त्यसैले यस्ता परिवर्तनलाई स्थान दिन सामाजिक विषयको पाठ्यक्रमभित्र ‘समसामयिक मामिला अध्ययन’ भनेर विशेष व्यवस्था गरिएको हुन्छ ।

समसामयिक मामिला (Current affairs) के हो ?
प्रसिद्ध विद्वान् जोन जेरोलिमेक (John Jarolimek) भन्छन्, “समसामयिक मामिला अन्तर्गत घटना (Event) तथा मुद्दा (Issue) दुवै सम्मिलित हुन्छन् । यसभित्र दुवैलाई एकीकृत रूपमा राख्दा यसको क्षेत्र अझै व्यापक हुन्छ । समसामयिक घटना त्यो हो जो घटिसकेको हुन्छ । त्यस्तो घटना हाम्रा लागि महत्वपूर्ण वा महत्वहीन जे पनि हुनसक्छ ।”

घटना र मुद्दा दुई पृथक् अवधारणा हुन् । घटना तथ्यमा आधारित हुन्छन् । यसमा सामान्यतः परस्पर विरोधी विचार हरू रहँदैनन् । यसमा यथार्थ कुरा लाई हुबहु वा जस्ताको तस्तै प्रस्तुत गर्ने गरिन्छ । कुनै व्यक्तिको विचार , टिप्पणी वा अनुमान ले यसमा स्थान पाउँदैन । तर त्यही घटना सम्बन्धमा सकारात्मक र नकारात्मक विचार, टीकाटिप्पणी, छलफल वा पक्ष–विपक्ष समूहमा विभाजित हुन्छन् भने त्यो मुद्दा वा सवालको रूपमा परिणत हुन्छ । उदाहरणका लागि; नेपालमा जेठ १४ गते संविधानसभाको विघटन हुनु घटना हो भने यो घटना किन घट्यो वा यसका कारक तत्वहरू के–के हुनसक्छन् ? यसले नेपाली राजनीतिमा के प्रभाव पार्न सक्ला जस्ता कुरा केलाउन थालेपछि यो मुद्दाको रूपमा परिणत हुन्छ । सामाजिक अध्ययनले सामाजिक जीवनका सबै पक्ष र विषयलाई समेटेको हुन्छ ।

समसामयिक मामिलाको शिक्षण किन ?
समसामयिक मामिलाको अध्ययनले हराम्रो वैयक्तिक र सामाजिक दुवै प्रकारको जीवनमा सहयोग पुर्याउँछ । यसले सामाजिक र अन्तर्राष्ट्रिय सद्भावको विकास मा पनि टेवा पुर्याउँछ । स्थानीय वा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाहरूको अध्ययनबाट एकअर्काप्रति प्रेम, सहयोग, सहानुभूति आदि भावनाको विकास गर्न र सम्भाव्य जोखिम वा खतराबाट जोगिन पनि मद्दत पुग्छ । अमेरिकाको आर्थिक मन्दीले त्यहाँका सँगै अन्य देशका बासिन्दालाई पनि प्रभाव पार्न सक्छ । त्यस्तै जापानमा आएको सुनामीले अन्य देशका मानिसहरूमा पनि सहानुभूति र सद्भाव उत्पन्न हुन्छ । यसले कुनै घटनाको प्रभाव विशेष ठाउँमा मात्र सीमित नभई चौतर्फी रूपमा फैलिन्छ भन्ने देखाउँछ । समसामयिक मामिलाको अध्ययनमा यस्ता विषयवस्तुहरूप्रति विशेष चासो राखिने गर्द छ ।
निम्न कारणले गर्दा सामाजिक अध्ययन विषयको शिक्षण अन्तर्गत समसामयिक मामिलाको अध्ययन गर्नु जरुरी देखिन्छः
–    छात्रछात्राहरूमा सामान्य ज्ञान वृद्धि गर्न,
–    मानिस तथा राष्ट्रबीचको सम्बन्धलाई बुझन तथा त्यसको मूल्याङ्कन गर्ने क्षमताको विकास गर्न,
–    एकाअर्काप्रति सहिष्णुता एवं सद्भावना कायम राख्न,
–    लोकतान्त्रिक आदर्श अनुरुपको उपयुक्त बानी, अभिरुचि तथा सीप विकास गर्न,
–    विभिन्न विवादको समाधान तथा अशुद्धिलाई हटाउने क्षमताको विकास गर्न,
–    छात्रछात्राहरूमा समालोचनात्मक निष्पक्षता जस्ता भावनाको विकास गर्न,
–    पाठ्यपुस्तकको विषयवस्तुलाई आधुनिक तथा पूर्ण बनाउन,
–    पाठ्यक्रमलाई समयसापेक्ष तथा सान्दर्भिक बनाउन,

समसामयिक मामिलाको शिक्षण गर्दा मुद्दा वा सवालको रूपमा रहेका कतिपय विवादास्पद विषयहरू हुनसक्छन् । यस्ता विषय शिक्षण गर्न निष्पक्षता, इमान दारी तथा विवेकशील र तार्किक जनशक्तिको आवश्यकता पर्दछ । तर त्यस्तो जनशक्ति अभावका कारण समसामयिक मामिला सम्बन्धी शिक्षण प्रभावकारी नभइरहेको अवस्था छ । सामाजिक अध्ययन कक्षालाई समुदायमा लग्ने र समुदायलाई कक्षाकोठाभित्र ल्याउने परम्पराको विकास गर्न सक्नुपर्दछ ।

सामाजिक अध्ययन अन्तर्गत समसामयिक मामिलाको शिक्षण गर्नु पर्छ भन्ने कुरा मा प्रायः एकमत नै पाइन्छ । तर यहाँनेर प्रश्न उठ्छ– कक्षामा यसलाई कसरी सञ्चालन गर्ने वा प्रभावकारी बनाउने त ? यसका लागि निम्नलिखित उपाय वा तरिकाहरू पनि अवलम्बन गर्न सकिन्छन्ः

–    दक्ष, प्रतिबद्ध तथा जागरुक शिक्षकको खाँचो पूरा गर्न शिक्षकहरूलाई तालिम प्रदान गर्ने , उनीहरूलाई अभिप्रेरित गर्ने , उत्प्रेरणा तथा सुविधा प्रदान गर्ने ।
–    दक्ष शिक्षकको अभाव भएका स्थानमा स्रोतव्यक्तिमार्फत समसामयिक मामिला विषयको शिक्षण हुने व्यवस्था मिलाउने ।
प्रत्येक सामाजिक अध्ययन विषयको घण्टीमा शुरूको केही मिनेट ‘आजका प्रमुख घटनाहरू’ वा दैनिक रूपमा कार्यतालिका अन्तर्गत नै छुट्टै घण्टीको व्यवस्था गरेर वा साताको अन्तिम दिन यसका लागि केही समय निर्धारण गरेर छलफल कार्यक्रमको आयोजना गर्न सकिन्छ । अथवा समसामयिक मामिलाको घटनालाई पाठसँगै आबद्ध पारी शिक्षण गर्न पनि सकिन्छ ।
शिक्षण सिकाइलाई परीक्षामुखी भन्दा पाठ्यक्रम तथा परिवेशमुखी र सान्दर्भिक बनाउन सक्नुपर्दछ ।

सूचनापाटीको प्रयोग, विद्यार्थीको समूह विभाजन अथवा भित्तेपत्रिकाको व्यवस्थाबाट पनि यस्तो शिक्षणको व्यवस्था गर्न सकिन्छ ।

अन्तरविद्यालय स्तर मा हाजिरीजवाफ वा वादविवाद प्रतियोगिताबाट पनि समसामयिक घटना वा मुद्दाहरूको शिक्षण गर्न सकिन्छ ।

उपर्युक्त उपायहरूमध्ये विद्यालयले आफ्नो आवश्यकता, क्षमता र सुविधा अनुसार विभिन्न कार्यक्रमको आयोजना गर्न सक्नुपर्दछ । यसबाट विद्यार्थीहरूले समकालीन विश्व, परिवेश र समयकोगति बुझन सक्षम हुन्छ र उनीहरूलाई आफ्नो ज्ञान ताजा पार्ने अवसर पनि प्राप्त हुन्छ । विद्यार्थीहरूमा स्वाध्यायन र स्वकार्यको बानीको विकास हुन्छ । उनीहरूको सामान्य ज्ञानमा वृद्धि भई बौद्धिक तथा सामाजिक विकास को सीपमा यसले पनि मद्दत पुर्‍याउँछ । साथै सामाजिक अध्ययनको उद्देश्य प्राप्ति अन्तर्गत नागरिक भावनाको विकास मा पनि यसले ठूलो टेवा पुर्‍याउँछ ।

commercial commercial commercial commercial