जाँतोको विज्ञान र प्रविधि

सरले गम्भीर भएर भने, “हो, तिमीले ठीक भन्यौ । तिमीले विज्ञानका कुरा जान्यौ, वैज्ञानिक भयौ । आमाले चाहिं विज्ञानको प्रयोग नै गर्नु भयो, त्यसैले उहाँ प्राविधिक हुनुभयो । तिम्रो घरमा विज्ञान र प्रविधि दुवै रहेछन् ।”

शनिबारको दिन । फुर्सदको बेला । मास्टर सा’ब गाउँ डुल्न निस्कन्छन् । एउटा विद्यार्थीको आँगनमा पुग्छन् । “ओहो ! सर आउनुभयो, नमस्कार” भन्दै सरिताले बाँसको मुडो र चकटी ओछ्याइदिन्छिन् । ९ कक्षाकी विद्यार्थी सरिता आमालाई शिक्षकको परिचय गराउँदै भन्छिन्, “उहाँ हराम्रो विज्ञान सर हुनुहुन्छ ।” नमस्कार साटासाट हुन्छ । “भाउजू के गर्दै ?” सर सोध्छन् । जवाफ आउँछ, “पीठो पिंध्दैछु बाबु ।” “मकै पिंध्दै कि पीठो पिंध्दै ?” मास्टर सा’ब हाँसो गर्छन् । “मकै पिंधेपछि पीठै त बन्ने हो नि !” भाउजू हाँस्छिन् ।

भलाकुसारी अगाडि बढ्दै जान्छ । जाँतो घुईं–घुईं घुमिरहन्छ । सरिताकी आमाको देब्रे हात बेलाबेलामा डालो र जाँतोबीच ओहोर–दोहोर गर्छ– मकैको घान हाल्न । जाँतोको मध्य भागमा अवस्थित मानीसँगैको प्वालबाट मकैका दाना खसिरहन्छन् । उता जाँतोको छेउतिर बाट विस्तारै–विस्तारै च्याँख्ला र पीठो बाहिर झ्र्दैछ । यत्तिकैमा सरिता सरलाई सोध्न पुग्छिन्, “अस्ति कक्षाकोठामा सरले जाँतो पनि एकप्रकारको मेसिन हो भन्नुभएको थियो । के यो जाँतो पनि मेसिन हो त सर ?”

शिक्षकले सरिताकी आमालाई एकछिन आराम गर्न अनुरोध गरे । उसै तगर्मीको दिन, त्यो पनि शनिबार ! आमा खाजा बनाउन भान्छातिर लागिन् । सर र सरिता जाँतोको माथिल्लो फग्ल्याँटो पल्टाउँदै त्यसको सम्म परेको तल्लो सतही भाग र तल्लो फग्ल्याँटोको माथिल्लो सतही भाग हेर्न थाल्छन् । ती दुवै सतही भाग आपसमा रगडिंदा मकै पिंधिन्छ भन्ने कुरा सरले बुझउँछन् । तर जाँतोका ती दुई पत्र चिल्ला वा चिप्ला भएमा मकै पिधिंदैन । किनभने त्यतिबेला त्यहाँ मकै पिंध्न चाहिने घर्षण र शक्ति पैदा हुँदैन । त्यसैले जाँतोका ती दुई रगडिने भागलाई फलामको छिनोले ठुगेर खस्रो बनाइएको हुन्छ । खस्रो सतह रगडिएपछि शक्ति पैदा हुन्छ । त्यस्तो शक्तिलाई घर्षण शक्ति (friction) भनिन्छ ।

यति कुरा बताएपछि जाँतोको माथिल्लो भाले फग्ल्याँटोलाई तल्लो पोथी फग्ल्याँटो माथि खप्टाउने काम हुन्छ । तल्लो फग्ल्याँटोको बीचमा फलामको मानी ठोकिएको हुन्छ । माथिल्लो अर्थात् भाले फग्ल्याँटोको बीचमा प्वाल पारिएको हुन्छ । त्यही प्वालमा मानी छिराएर जाँतो घुमाउने काम गरिन्छ । जाँतो नघुमेसम्म त्यहाँ मकै पिंध्ने घर्षण शक्ति पैदा हुँदैन । जाँतो घुमाउनका लागि भाले फग्ल्याँटोको एकछेउमा काठको हातो ठोकिएको हुन्छ । यो हातो जाँतोको केन्द्रस्थलबाट जति टाढा भयो उति कम बल प्रयोग गरे पुग्छ । किनभने जाँतोको मानीले अडेसो (fulcrum) को काम गर्द छ । बल लगाउने अर्थात् इफोर्ट (effort) दिने ठाउँ भनेको हातो हो । अडेसो (fulcrum) र इफोर्ट (effort) को दूरी जति टाढा भयो उति नै यान्त्रिक लाभ (mechanical advantage) हुन्छ । त्यही कुरा कक्षाकोठामा उत्तोलक (lever) बारे चर्चा भएको कुरा शिक्षकले स्मरणगराउँछन् । त्यसका साथै जाँतोको साइज अर्थात् व्यास मान्छेको हातले भ्याउने भन्दा ठूलो गर्न नमिल्ने कुरा पनि शिक्षकले सम्झउँछन् ।

मकै पिसिरहँदा पिस्नेको बलले जाँतोको माथिल्लो फग्ल्याँटोलाई स्थिर अवस्थाबाट चलायमान अवस्थामा परिणत गरिदिन्छ । तल्लो फग्ल्याँटोले माथिल्लो फग्ल्याँटोलाई चलायमान हुन बाधा खडा गर्द छ । परिणामतः त्यहाँ घर्षण पैदा हुन्छ । तर त्यसलाई पनि जितेर जाँतो घुमाउने काम हुन्छ । त्यसबेला मानी अड्याएको ठाउँनेरबाट अन्नकागेडा जाँतोभित्र हुल्ने काम हुन्छ । दुई सतहको घर्षणमा मकैकागेडा पेलिन थाल्छन् । जाँतोको बोझ् र घुमाइले गर्दा अन्नकागेडा फुट्न थाल्छन् । घुमाउरो चालले गर्दा फुटेकागेडाहरू झन्–झन् पेलिंदै बीच भागबाट अर्थात् केन्द्रस्थलबाट छेउ–छउतिर घचेटिन थाल्छन् । अन्त्यमा पीठो र च्याँख्ला बनेर जाँतोबाट बाहिर झ्र्न थाल्छ ।

जति जोडले जाँतोको घुमाइ हुन्छ त्यही अनुपातमा छिटोगतिमा मकै पेलिएर पीठो बन्दै बाहिर निस्कन्छ । यसप्रकार घुमिरहेको चक्काले अरू पदार्थलाई आफ्नो केन्द्रस्थलभन्दा टाढा फ्याँक्ने शक्तिलाई ‘सेन्ट्रीफुगल फोर्स’ (centrifugal force) भनिन्छ । यो अचम्मको शक्ति हो । घुमिरहेको जाँतो वा घट्टको चक्कामा अन्न राख्दा त्यसको प्वालभित्र नछिरेका अन्नकागेडाहरू उछिट्टिएर पर जान्छन् । पानी पोखिए पनि त्यसलाई परसम्म फ्याँकिदिन्छ । यस्तै कुरा बताउँदै गर्दा आमा थालभरी भुटेका मकै र त्यसको साथमा स्टीलकोगिलासभरी मही लिएर आउनुभयो ।

गर्मीको दिन । भुटेको मकै र त्यसका साथमा मही । के चाहियो र ? मास्टर सा’ब खाजामा मस्त भए । सरिता चाहिं आमालाई भन्न थालिन्, “हराम्रो जाँतो त विज्ञानको साँचो पो रहेछ आमा ! कति धेरै विज्ञानका कुरा सिकाउँदो रहेछ यसले ।” सरले थपिहाले, “के के सिक्यौ, आमालाई भन त !” सरिता निकै खुशी थिइन् र भन्न थालिहालिन्, “पहिलो कुरा त जाँतोगह्रुँगो ढुंगाले बनेको हुन्छ । यसको बोझले थिच्ने काम गर्छ । त्यो गुरुत्व अर्थात् gravity को विषय भयो । जाँतोमा पृथ्वीको गुरुत्व शक्तिको प्रयोग भएको हुन्छ । अनि जाँतोको हातो र मानीको सम्बन्धले गर्दा यो एउटा सरलयन्त्र (simple machine) पनि हुन गएको छ । यसले सरल यन्त्रकै सिद्धान्त अनुसार काम गर्छ । जाँतो घुमाउँदा त्यसको चाल (motion) र त्यसले सिर्जेको घर्षण शक्ति (friction) का कारण अन्नकागेडा पेलिन्छन्–पिसिन्छन् । पीठोलाई जाँतोको बाहिर फ्याँक्न सेन्ट्रीफुगल फोर्स (centrifugal force) ले काम गर्छ । ठीक हो सर ?” सरले गम्भीर भएर भने, “हो, तिमीले ठीक भन्यौ । तिमीले विज्ञानका कुरा जान्यौ, वैज्ञानिक भयौ । आमाले चाहिं विज्ञानको प्रयोग नै गर्नु भयो, त्यसैले उहाँ प्राविधिक हुनुभयो । तिम्रो घरमा विज्ञान र प्रविधि दुवै रहेछन् ।” यति भन्दै मास्टर सा’ब मही–मकैको निम्ति धन्यवाद दिंदै डेरातिर लाग्छन् ।

commercial commercial commercial commercial