के भयो ? के भएन ?
घट्दो उमेरमा सिकाउ
संस्कारले सिकायो ६ वर्षमा अक्षर सिकाउने । सबै धर्मावलम्बीले त्यही गर्यौ । तर साठी वर्षे नेपाली शिक्षाले दुई वटा कुरा भित्र्यायो-मन्टेसरी र किन्डरगार्टन शिक्षा । यो शिक्षाले गर्दा अक्षरारम्भको उमेर घट्यो । यो आयातीत सोचलाई हामीले निजी क्षेत्रको जिम्मा लगाइदियौं । अहिले पनि नर्सरी र केजी निजी शिक्षालयकै पेवा भएका छन् । नेपाली विद्यालयले भने शिशु कक्षा र बालशिक्षा (early childhood development) दुईवटा परम्परा ल्यायो । शिशु कक्षा मौलिक जस्तै थियो । पाँच वर्ष नपुगेका स–साना बालबालिकालाई एउटै कक्षामा छुट्टै समूह बनाएर पढाउने । यो बुद्धि मख्तवमा छ । मदरसामा छ । गुम्बामा छ । आश्रममा छ । नेपालीका विद्यालयमा छ । विद्यालयमा पनि चल्ने यो शिशु कक्षा अब बिरानो हुन लाग्यो । किनकि यसको ठाउँ बालशिक्षाले लिंदैछ । कोटा नपुग्ने ठाउँमा शिशु कक्षा, कोटा पुगे बालशिक्षा, पैसा पुगे मन्टेसरी र किन्डरगार्टन । शिक्षा अहिलेको यथार्थ बनिसकेको छ । अर्थात् नाम जे लिए पनि ६ वर्षे शिक्षारम्भको बुद्धि घटेर तीनवर्षे बन्यो । यो काम ठीक बेठीक के होला, परिवर्तन भने पक्कै हो ।
विज्ञानले भन्यो— बच्चालेगर्भमै सुन्न सक्छन् । स्केण्डेनेभियन देशका आमाहरू अहिले त्यही काममा लागेका छन् ।गर्भवती हुँदा देखि नै बच्चाले सुन्ने गरी कथा भन्ने । कुरा सिकाउने । यसको अर्थ हो अबको बच्चा खाली टाउको जन्मँदैन । जानकार जन्मन्छ । तीन वर्षमै कलम समाउन सिक्छ । ६ वर्ष कुर्दैन ।
महाभारतका पात्र अभिमन्युलेगर्भमै सिके । विज्ञानले भन्यो- बच्चालेगर्भमै सुन्न सक्छन् । स्केण्डेनेभियन देशका आमाहरू अहिले त्यही काममा लागेका छन् । गर्भवती हुँदा देखि नै बच्चाले सुन्ने गरी कथा भन्ने । कुरा सिकाउने । आफ्ना ‘अमूल्य बच्चा’ लाई गर्भ देखि नै जानकार बनाउने । यसको अर्थ हो अबको बच्चा संज्ञानात्मक सिद्धान्त (cognitive theory) ले भने जस्तो खाली टाउको जन्मँदैन । जानकार जन्मन्छ । तीन वर्षमै कलम समाउन सिक्छ । ६ वर्ष कुर्दैन । तर साठी वर्षे नेपाली शिक्षाले भने यतातिर ध्यानै दिएको छैन । खाली आमा शिक्षित भए बच्चा शिक्षित हुन्छ भन्ने रट लगाइरहेको छ । यस अर्थमागर्भवती आमालाई शिक्षा त दियो तरगर्भस्थ शिशुलाई अभिमन्यु जस्तै बनाउने सोचलाई कार्यान्वयन गरे न ।
पूर्व विद्यालयको पढाइ
विगत साठी वर्षमा पूर्व–विद्यालय शिक्षा स्थापित भयो । सरकारी विद्यालयमा एकवर्षे बाल विकास का नाममा । कक्षा एकमा उमेर समूह नमिले शिक्षककै निर्णयमा शिशु कक्षाको नाममा । शहरी व्यस्त बाबुआमाका लागि बाल स्याहार केन्द्रका नाममा । नर्सरी स्कूलका नाममा । किन्डरगार्टन र मन्टेसरीका नाममा । परीक्षणको तौरमा पूर्व–उत्प्रेरक कार्यक्रम (early stimulation program) का नाममा । प्रवेश विन्दु कार्यक्रमका नाममा । समुदायमा आधारित बाल विकास कार्यक्रम (community based ECD) का नाममा । प्रश्न यहीं रह्यो यी कार्यक्रमहरू कहाँ रहे ? पूर्व उत्प्रेरक कार्यक्रम र प्रवेशविन्दु कार्यक्रम सेभ द चिल्ड्रेनका परियोजना बनिरहे । नर्सरी, केजी र मन्टेसरी शहरबजारका पेवा कार्यक्रम हुन पुगे । विद्यालयमा आधारित बाल विकास केन्द्र र समुदायमा आधारित बाल विकास केन्द्र कोटामा पहुँच हुने ठाउँका भए । दुर्गम र अन्तरकुन्तरका वस्तीमा चाहिं शिक्षककै लहडमा चल्ने शिशु कक्षा चलिरहे । यसरी साठी वर्षको हाम्रो प्रयास शहरमै धेरै अल्झीयाे । धनीकै घरदैलोमा रम्यो । गरीबको निम्ति हिजो जे थियो आज पनि त्यही स्थिति हात लाग्यो । त्यसैले अझै पनि ३० प्रतिशत बालबालिकालाई पूर्व विद्यालय शिक्षाको पहुँच छैन । ती अझै ६ वर्ष कुरिरहेछन् । बढी उमेर (over age) बालबालिकाको कक्षा १ को प्रवेश दर ले भन्छ– ती त अक्षरारम्भमै ढिला भइसके । अरूहरू अगाडि दौडिइसके ।
विद्यालयीय संरचना
कति वर्षको कुन तह हुने ? माथि थप्ने कि तल बढाउने ? साठी वर्षको दौड त्यति रह्यो । त्यसैले कहिले तीनवर्षे प्रावि । कहिले चारवर्षे प्रावि । कहिले पाँचवर्षे प्रावि । प्राथमिक । उच्च प्राथमिक । कहिले मिडिल स्कूल । कहिले निम्नमाध्यमिक । माध्यमिक । उच्च माध्यमिक । कहिले तीनवर्षे आधारभूत । कहिले पाँचवर्षे आधारभूत । अहिले आठवर्षे आधारभूत । कहिले आधारभूत र प्राथमिक शिक्षा छुट्यायौं । तीनवर्षे आधारभूत । पाँचवर्षे प्राथमिक । यसरी हेर्दा हाम्रो बुद्धि दश कक्षामै तल माथि गर्ने रह्यो । अहिले कलेजलाई तल झर्यौं । स्कूल बनायाै । कलेजमा एक वर्ष थप्यौं । अब दुई वर्ष थप्ने उपक्रम गर्दैछौं । केहीमा थपिसक्यौं । यति गर्दा गर्दै पनि सबै बालबालिकालाई आधारभूत शिक्षा दिन सकेनौं । भर्नै नभएका पाँच प्रतिशतको तथ्याङ्कले त्यही भन्छ । १०० जना भर्ना हुँदा झण्डै ६० प्रतिशत मात्र आठ कक्षा पुग्ने अहिलेको तथ्याङ्कले सोही कुरा लाई इङ्गित गर्छ ।
शिक्षामा व्यावसायिकता
शिक्षा र श्रम जोड्ने बोलीले सधैं निरन्तरता पायो । राजनीति परिवर्तन हुँदा पनि नफेरिएको बोली । यसका लागि साठी वर्षमा थरीथरीका बुद्धि ल्यायौं । २०१६ सालको बहुप्राविधिक स्कूल । २०१८ सालतिर को विषयगत स्कूल । नर्सिङ स्कूल । कृषि स्कूल । २०२८ सालपछि को ४०० पूर्णाङ्कसम्मका साधारण, व्यावसायिक र प्राविधिक स्कूल । अहिले पनि त्यही कुरा गरिरहेका छौं । बोलीको निरन्तरता । हालसालै अर्को बोली थपिएको छ । नरम सीप (soft skill) । कसरी नरम सीप दिने ? गरम सीप र नरम सीप कसरी जोड्ने ? कसरी साधारण शिक्षालाई व्यावसायिक शिक्षामा बदल्ने ? कसरी व्यावसायिक शिक्षालाई साधारण शिक्षामा जान लगाउने ? अझै प्रश्न त्यहीं छ । अनुत्तरित प्रश्न । किनकि ६० वर्षमा पनि व्यावसायिक र प्राविधिक शिक्षाको लगानी शैक्षिक बजेटको ३ प्रतिशतभन्दा माथि बढेकै छैन । बढ्ने सम्भावना पनि छैन । क्याम्पस तहमा त झनै बिजोग छ । व्यावसायिक एवं प्राविधिक सीप खोज्ने धेरै । सीप भएका थोरै व्यक्ति पनि बेरोजगार । व्यावसायिक बेरोजगार । प्राविधिक बेरोजगार । व्यावसायिक र प्राविधिक शिक्षा नपाएकै कारण बनेका बेरोजगार । अर्ध बेरोजगार । आफैं केही गर्न नचाहने सौखिन बेरोजगार । यस अर्थमा शिक्षा र उत्पादन जोडिएन । श्रम र शिक्षा जोडिएन । पढाउँदै नरम सीप दिने रगरम सीपको सम्भावना देखाइदिने चेत शिक्षकमा आएन । सीप नै सिकाउने स्कूल कलेज खोल्न राष्ट्रिय ढुकुटी भएन । त्यसैले साठी वर्षसम्म व्यावसायिक र प्राविधिक शिक्षाको कुरा गफ भयो । गँजडीगफ ।
शिक्षामा गुणस्तर
शुरूका दिनमा पहुँच रहर भयो । तर गुणस्तर चाहिन्छ भन्ने कुरा मा विमति रहेन । त्यसैले तथ्यांकीय गुणस्तर को खोजी भयो । कक्षा छोड्ने (dropouts) कम भए । कक्षा दोहोर्याउने (repeaters) कम भए । धेरै भर्ना भए । अंग्रेजीमा औसत अंक पनि ल्याए । डा. तीर्थ खनियाँको कक्षा ५, ८ र १० को अध्ययनले पनि त्यसै भन्यो । यस अर्थमा गुणस्तर भनेको क्षमता बुझएिन । तथ्यांक बुझियाे । अहिले पनि त्यही रीत छ । त्यसैले कतै पनि विद्यार्थीको क्षमता उल्लेख छैन । यो विद्यार्थीमा अफिस सञ्चालनको क्षमता छ । व्यवस्थापनको क्षमता छ । सर्जक दिमाग छ । यो यो सिर्जना गरिसकेको छ । यस्तो अर्थमा मापनको आधार बनेकै छैन । कलेज र विश्वविद्यालयमा पनि त्यही हाल छ । अंग्रेजी माध्यमका स्कूल कलेजले अंग्रेजी बोल्नु र धेरै अंक ल्याउनुलाई गुणस्तर मानेका छन् । सामाजिक घुलनशीलता पो गुणस्तर हो कि ? वस्तुलाई गहिरिएर बुझने सिकाइ शैली पो गुणस्तर हो कि ? बहुआयामिक ढंगले वस्तु पढ्ने क्षमता पो गुणस्तर हो कि ? स्वरोजगार बन्ने तर्किव पो गुणस्तर हो कि ? पेशाको लगनशीलता पो गुणस्तर हो कि ? अभिभावक र बजारलाई सन्तुष्टि दिने तागत पो गुणस्तर हो कि ? व्यक्तिकै आत्मसन्तुष्टि पो गुणस्तर हो कि ? यस्ता ‘होकिहरू’ यकिन गरी गुणस्तर को कसी बनेको छैन । यस अर्थमा साठी वर्षमा पनि गुणस्तर को समयसापेक्ष परिभाषा बनेको छैन । मापो तयार भएकै छैन । आफूले आफैंलाई गुणस्तरीय छु वा छैन भनी नाप्ने मापो । मैले पढाएका विद्यार्थी गुणस्तरीय हुन् कि हैनन् भनी नाप्ने मापो । मेरा छोराछोरी गुणस्तरीय छन् वा छैनन् भनी अभिभावकले स्वयं पहिचान गर्ने मापो । रक्तचाप आफैंले नाप्ने यन्त्र जस्तो ।गर्भिणी भएँ वा भइनँ भनी स्वयं थाहा पाउने यन्त्र जस्तो ।
शैक्षिक योजना र साक्षरता
साठी वर्षअघि केन्द्रीय योजना थियो । क्रमशः योजना विकेन्द्रित भयो । अहिले विद्यालय सुधार योजना । गाउँ वा नगर शिक्षाको योजना । जिल्ला शिक्षा योजना । वार्षिक रणनीतिक योजना (ASIP) । यसरी हेर्दा ६० वर्षमा सर्वत्र योजना बनिसके । हामी सबै योजनाविद् भइसक्यौं । केन्द्रमा पनि हालसम्म ७ वटा शिक्षा योजना तयार भइसके । तर प्रश्न रह्यो—योजना अरूलाई बनाइदियौं । सबैले बनाउने । लागू गर्ने चाहिँ वार्षिक रणनीतिक योजना मात्रै । यस अर्थमा हामी बेकामे योजनाकार बन्यौं । अव्यावहारिक । अनावश्यक ।
तथ्यांकले भन्छ— ६२ प्रतिशत नेपालीहरू साक्षर भयौं । ६ वर्ष माथिका साक्षर । सोही तथ्यांकले भन्छ— अहिले करीब ६० लाख निरक्षर छौं । साक्षरता दर २ प्रतिशत हुँदा साठी वर्षअघि हामी ६४ लाख निरक्षर थियौं । संख्यात्मक हिसाबले भन्दा हराम्रो प्रगति चार लाख रहेछ । अर्थात् साक्षरताको प्रतिशत बढाएछौं । उल्लेख्य रूपमा निरक्षरको संख्या घटाएनछौं ।
उच्च शिक्षा
५२ वर्षअघि आफैं विश्वविद्यालय बनायौं । अहिले ९ वटा विश्वविद्यालय छन् । चार वटा बन्ने क्रममा छन् । १८ वटा संसद्मा दर्ता भएका छन् । यसरी बहुविश्वविद्यालयहरू बनाउने खेल चलेको छ । ६ दशकको खेल । तर बुद्धि एउटै छ– सरकारी ढुकुटीको आश गर्ने । जुनखाले विश्वविद्यालय खोले पनि जति विद्यार्थी पढाए पनि विश्वविद्यालय अनुदान आयोगले रकम दिने । पराश्रयी विश्वविद्यालयहरू । कोही स्वदेशमा माग्ने । कोही विदेशमा माग्नेहरू । काठमाडौं विश्वविद्यालय पनि अपवाद बनेन । यति हुँदाहुँदै पनि त्रिभुवन विश्वविद्यालय एक्लैले ९०–९५ प्रतिशत विद्यार्थी बोकिरह्यो । अरूलेगफ धेरै गर्यौ । उल्लेख्य काम भने गरे नौं । किनकि सबै विश्वविद्यालय शिक्षण–विश्वविद्यालय नै बनायौं । अनुसन्धानमा खर्चिन सकेनौं । खर्चिए पनि थोरै खर्चियौं । समुदाय सेवा भनेको दाताले पैसा दिए मात्रै गर्ने काम बन्यो । यस अर्थमा पूर्ण विश्वविद्यालय बनेनौं । बहु–विश्वविद्यालय ९ख्भचकष्तष्भक० को डिग्री दिने प्रयास नै थालेनौं । आफ्नै विश्वविद्यालयगतिलो हो भन्ने आत्मरतिमै बाच्यौं । विश्वविद्यालयलाई जनचासोमा आवद्ध गर्न पनि सकेनौं । जनज्ञान खोजाउनेमा । जनतालाई सिकाउनेमा । उनैसँग सिक्नेमा । यस अर्थमा हामी हाम्रा विश्वविद्यालयहरू “आइभोरी टावर” नै बनिरह्यौं । यति हुँदाहुँदै पनि त्रिभुवन विश्वविद्यालयले बीए देखि सबै तहमा द्वैध मोड (Dual mode) खोल्ने निर्णय गरयो । पूर्वाञ्चल विश्वविद्यालयले शिक्षाशास्त्रमा दूरशिक्षा कार्यक्रम चलायो । काठमाडौं विश्वविद्यालयले एम.एड.मा अनलाइन शिक्षा चलायो ।
विश्वविद्यालय कसका लागि ? सबैलाई ? बुद्धि भएका केहीलाई ? धनीलाई ? यो प्रश्नको सहज जवाफ दिन सकेनौं । मिडियासँग सहकार्य गरी खुला विश्वविद्यालय सञ्चालन गर्ने बुद्धि दुई दशक देखि आयो । कार्यान्वयन भएन । बरु विदेशी खुला विश्वविद्यालय भित्रयाउने काम चाहिं भइरह्यो । प्राविधिक विषय र महँगो शुल्क लिने विश्वविद्यालयले पैसा हुनेलाई पढाइरह्यौं । नहुनेलाई छात्रवृत्ति दिँदा पनि भनसुनमै लागिरह्यौं । उपलब्ध आमसञ्चारका माध्यमहरूलाई प्रयोग गरी सबैले उच्च शिक्षा पाउने प्रयास नै थालेनौं । व्यावसायिक एवं प्राविधिक विश्वविद्यालय बनाउने रहर गर्दा पनि गरीबकै लागि भन्ने सोच बनेन । उनकै घरदैलोमा पढाउने प्राज्ञिक विश्वविद्यालय । घरदैले प्राविधिक एवं व्यावसायिक विश्वविद्यालय ।
६० वर्षमा धेरै स्नातक बनायौं । दीक्षा दियौं । दीक्षोपरान्त उनीहरूको गुनासो शुरू भयो । शिक्षकले नै रराम्रो सिकाएन भन्ने गुनासो । राजनीतिज्ञले बिगार्याे भन्ने गुनासो । यस्तो अवस्थामा मेरो दीक्षालाई मैले उपयोग गर्ने कसरी भन्ने सोच्न र सोचाउनै सकेनौं । यस अर्थमा दीक्षान्त समारोह शिक्षान्तमा परिणत भयो । अब पढ्नु पर्दैन भन्ने कुरा को प्रमाणपत्र । अर्थात् दीक्षित हुने हाम्रा स्नातक–स्नातकोत्तरहरूले दीक्षा र शिक्षाको भेद नै बुझेनौं । बुझनै चाहेनौं । बुझेका भए आफ्नो बानीव्यहोरा बदल्नै चाहेनौं । सकेनौं । त्यसैले सरकारसँग भन्नगयौं “जागीर दे । नभए बेरोजगार भत्ता दे ।”
साठी वर्ष बिते अब गर्ने के त ?
६ वर्ष लागेपछि को स्कूल । ६० वर्ष पहिलेकै बुद्धि हो यो । अब यो बुद्धि फेर्नुपर्ने भयो । चाहियोगर्भस्थको शिक्षा । आमसञ्चारका माध्यमबाट गर्भिणीको घरदैलोमा पुग्ने शिक्षा । तिनकै टोलीमा गरिने छलफल े शिक्षा ।गर्भिणी सर्कलको शिक्षा । सर्कललाई शिक्षा । बच्चा जन्मेपछि सुत्केरी सर्कलको शिक्षा । अविवाहित महिलालाई तयारीको शिक्षा ।
हिँड्न थालेपछि अर्कै शिक्षा चाहियो । मौखिक शिक्षा । शहरीकरण बढ्न थाल्यो । परिवारहरू एक्लिन थाले । आमाहरू बेफुर्सदिला भए । बुबाहरूको पनि त्यही हालत भयो । यो स्थितिमा वस्ती शिशु स्याहार केन्द्र र वस्ती बाल विकास केन्द्र अहिलेको नियति बन्यो । त्यो नियतिलाई नियमित गर्न कि सञ्चारका साधनमा नवीन शिक्षा राखिरहनु परयो कि व्यवस्थित वस्ती विकास गर्न थाल्नु परयो । पहिलो सहज छ । दोस्रो खर्चिलो छ ।
अनिवार्य शिक्षा इतिहासको रहर हो । तर कसले अनिवार्य गर्ने ? कुन संयन्त्रले ? ६० वर्षमा टुंगो नभएको कुरा यही हो । स्थानीय सरकारले ? कर्मचारीतन्त्रको तल्लो निकायले ? जनताका आ–आफ्ना रैथाने संरचनाले ? जागरुक अभिभावकले ? स्थानीय तहमा बोलवाला भएको राजनीति दलले ?
निःशुल्क शिक्षा पनि टुंगो लागेको छैन । सरकारले बेहोर्ने खर्च चाहिं टुंगो भयो । राजस्वबाट यति बेहोर्ने भन्ने टुंगो भयो तर निःशुल्कभित्र खाजा पर्छ भने तिर्नुे को ? जुत्ता पर्छ भने दिने को ? ल्यापटप पर्छ भने बेहोर्ने को ? यस्ता कुरा को टुंगो ६० वर्षले गरेको छैन । आवश्यकता बढ्दै जाने हुनाले निःशुल्क ‘बेकामे प्रयास’ बन्न सक्छ । दिनेको धेरै जाने । लिनेलाई हात्तीको मुखमा जीरा हुने । त्यसो हुँदा सरकार र अभिभावकको लगानीको अनुपात तोक्नुपर्ने हुन्छ । बाल विकास मा यो अनुपात । प्राथमिकमा यो अनुपात । माध्यमिकमा यो अनुपात ।
व्यावसायिक र प्राविधिक शिक्षा दिने साठी वर्षकै रहर हो । पैसा पुग्दैन भन्ने पनि साठी वर्षभरिकै बुझइ हो । ट्रेड परिवर्तन न गरे बिक्री योग्य व्यवसाय बन्दैन । स्वीकारिएकै कुरा हो । त्यसैले भोलिको बाटो प्रविधिउन्मुख बनाउने हो । व्यवसायोन्मुख बनाउने हो । यी दुवै कामका लागि साधारण शिक्षकलाई नै पुनः अभिमुखीकरण गर्ने हो । छोटो अवधिको तालिम दिने निजी संस्थालाई गुहार्ने हो । स्वाध्याय सामग्रीबाटै प्रविधि र व्यवसाय सिकाउने हो । अरू रहरले गाउँमा बस्ने गरीबलाई छुँदैन । मध्यमवर्गी मात्रै लाभान्वित हुने हो । अवसरको भोको । धेरथोर लगानी गर्न सक्ने व्यक्ति । फाइदा लिने त्यही हो ।
खुला मोड, खुला विद्यालय, खुला विश्वविद्यालय साठी वर्षले बनाएन । जमर्को चाहिं गरयो । अब जाने त्यतै हो । आंशिक विद्यार्थी । पूर्णकालीन मिडिया । जहाँ पुगे पनि पढ्न सकिने परिवेश । यता नलागी धरै छैन । रित्तिंदै गएका स्कूलले त्यही भन्छन् । अनियमित विद्यार्थीको ताँतीले त्यही भन्छ । व्यक्तिभन्दा मेशिन पाल्न सजिलो र सस्तो हुने परिवेशले त्यसैको वकालत गर्छ । जे विषय पनि पढाउने । क्रेडिट कोर्ष । नन क्रेडिट कोर्ष । प्रविधिपिच्छेको कोर्ष ।
सबैलाई उच्च शिक्षा । साठी वर्षले त्यता लगेन । अब लाने त्यहीं हो । किनभने गरिखानेलाई पढ्ने ठाउँ छैन । जो छ भन्छौं त्यसले झूठ विद्यार्थीलाई सही बनायौं । विद्यार्थी अनियमित छ भन्ने बुझयो । उसलाई नियमित जाँचमा बस्न दियौं । त्यो सैतानी बदल्ने दिन अब आए । बरु भन्नुपरयो— यो विद्यार्थीले एस.एम.एस.बाट पढ्यो । इन्टरनेटबाट जाँच दियो । यसले २० वटा आंशिक कोर्ष लियो । तीन वटा विश्वविद्यालयको कोर्ष पढ्यो । त्यही बीचमा चार वटा अनुसन्धान गरयो । एउटा नयाँ विचार जन्मायो । त्यसैले ऊ बी.ए. लेभलको तागत राख्छ । विद्यार्थीले आफ्नो योग्यता आफैं निर्धारण गर्न सक्ने सूचकाङ्क निर्माण । जहाँबाट पनि पढ्ने विद्यार्थी । पढाइने विद्यार्थी । स्वदेशका । विदेशका । यसरी अबको साठी वर्षमारूपान्तरित हुने कि ? प्रविधिमै पढेर र पढाएर । विद्यार्थीबाटै किताब लेखेर । लेखाएर । पढ्ने र पढ्न पठाउनेकै पाठ्यक्रम लागू गरेर । विश्वको जाँचमा स्थानीयता जोडेर । सिक्ने सिकाउनेको सञ्जाल बनाएर । स्कूल, कलेज र विश्वविद्यालयलाई सेमिनारस्थल बनाएर । शिक्षकलाई शोध–निर्देशक बनाएर । आफैंले आफैंलाई गुणस्तर निर्धारक बनाएर । मेरोगुण यो, स्तर यो भन्न सक्ने तागतवाला विद्यार्थी बनाएर । ज्ञानमा यो स्तर का । सीपमा यो स्तर का । चिन्तनमा यो स्तर का । पुस्तौनी अन्तरसम्बन्ध राख्नेमा यो स्तरका ।



