शिक्षामा प्रविधिको उपयोग
प्रविधिका फाइदाहरूका बारेमा शिक्षक को फागुन (२०६८) अङ्कमा प्रशस्त चर्चा भएको छ । म यहाँ यसलाई अलि अर्को पाटोबाट पनि हेर्न चाहन्छु ।
शिक्षाशास्त्री, शिक्षा प्राविधिक तथा शिक्षा मनोवैज्ञानिकहरू सिकाइ कसरी प्रभावकारी हुन्छ भनेर निरन्तर अध्ययन/अनुसन्धान गरिरहेका छन् । यस क्रममा प्रविधिले सिकाइमा पार्ने असर वा गर्ने योगदानलाई पनि हेरिरहेका छन् । हरेक नयाँ प्रविधि आउँदा सिकाइमा क्रान्तिकारी परिवर्तन आउने अपेक्षा गर्ने गरिए तापनि अहिलेसम्मका अध्ययनबाट सिकाइमा प्रविधिले सीमान्त रूपमा मात्र असर पार्ने गरेको देखि एको छ ।
प्रविधिले सूचना दियो, धेरैसम्म पुग्न मद्दत गरयो तर सिकाइको गुणात्मकता पर्याप्त बढाएन । प्रविधिले ‘ध्यान केन्द्रित’गराउँछ भन्ने आम मान्यताको परीक्षण गर्दा के पाइयो भने त्यो ‘नवीनताको असर’ मात्र रहेछ; केही समयपछि त्यसको प्रभाव घट्दै जाँदो रहेछ । बाबु–आमाले ल्याएका महङ्गा खेलौना छाडेर केटाकेटीले भाँडा–कुँडा बजाएर मजा लिएको हामीले आफ्नै आँखाले देखेका छौं । केही सिकाइहरू प्रविधिले भन्दा पनि त्यसले ल्याएका भिन्न तरिकाहरूका कारण भएको देखिन्छ । उदाहरणका लागि, प्रोजेक्टरबाट एउटा चित्र देखाएर छलफल गर्ने कुरा लिऊँ । त्यसको प्रभाव प्रोजेक्टरबाट हुने प्रदर्शनमा होइन शिक्षकको तरिका र प्रश्नमा निर्भर हुन्छ । कक्षाबाट झयाल बाहिर देखाएर वा पोस्टर प्रदर्शन गरेर छलफल गर्नु उत्तिकै प्रभावकारी तरिका देखि एका छन् । यसको मतलब, प्रविधि केही पनि होइन भन्न खोजिएको भने होइन । केही विषयहरू यस्ता छन् जहाँ प्रविधिले अन्यथा गर्नै नसकिने अवसरहरू दिन्छ । उदाहरणका लागि काम गरिरहेको मुटु वा पातले गर्ने प्रकाश संश्लेषणबारे बताउन । यस अर्थमा सीमित अवस्था मात्र यस्ता देखि ए जो वास्तविक वस्तुबाट सिकाउन नसकियोस् ! यथार्थमा वास्तविक वस्तुबाट सिकाइको गुणस्तर अझ राम्रो हुन्छ ।
प्रभावकारी सिकाइ बारे अध्ययन गरिरहेका मनोवैज्ञानिकहरूको एक तहमा के सहमति छ भने सिक्नका लागि सिकारु जति एकाग्र हुन सक्यो त्यति नै सिकाइ प्रभावकारी हुन्छ । उनीहरूलाई प्रविधिको बाढीले ल्याउने ‘अन्यमनष्कता’ बाट सिकारुलाई कसरी बचाउने भन्ने चिन्ता लागेको छ । अति सूचना, अति व्याख्या, अति सरलीकरणले मान सिक बोझ (Cognitive load) बढाउँछ, एकाग्रता भङ्ग गर्द छ; अवलोकन क्षमताको ह्रास गर्द छ । (यस अर्थमा शिक्षकको प्रविधि सम्बन्धी फागुन (२०६८) अङ्कको आवरण पृष्ठ निकै आक्रामक लाग्छ) ।
हाम्रा धेरैजसो शिक्षक मित्रहरूसँग कुरा गर्दा प्रायशः दुईवटा प्रतिर क्षात्मक जवाफ पाइने गर्छन्ः पहिलो ; सरकारको नीति ठीक छैन । (जसको अर्थ सामान्यतः हामीलाई सुविधा पुगेन र स्थायी गरे न भन्ने हुन्छ ।) दोस्रो; शैक्षिक सामग्री छैन (दुनियाँ कम्प्युटर युगमा पुगिसक्यो ।) शिक्षकले यति विधि प्रविधिको प्रचारबाजी गरे पछि पढाउन कोशिश गरिरहनु भएका शिक्षकमा एक त हतासा आउन सक्छ, अर्कोतर्फ निहुँ तेस्र्याएर नपढाउने शिक्षकहरूको कुतर्क थप मजबूत हुनपुग्छ ।
यथार्थमा, प्रविधि सहायक सामग्री मात्रै हो । शिक्षणको केन्द्र शिक्षक नै हो । एउटा उत्प्रेरित शिक्षकलाई सहायक सामग्रीले केटाकेटीको सिकाइ रोक्न दिँदैन । शिक्षक आफैंले पनि कैयौं शिक्षण सामग्री चुट्किमा बनाउन सक्छन् । प्रविधि शिक्षाको उच्चतम बिन्दु होइन । त्यसैले ‘प्रविधि–श्रेष्ठता’ को भ्रमले शिक्षकमा हीनता थप्नुहुँदैन । असल सिकाइ त ‘शिक्षक–श्रेष्ठता’ बाट मात्र हुन सक्छ । एकाग्रता सिकाउन पूर्वीय धर्म र दर्शनले देखाएको बाटो पनि हामीसँग छ ।
सिकाइ प्रविधिले प्रभावकारी बनाउन सकिने देखि एको एउटा क्षेत्र निर्माण र पुनर्निर्माणको हो ।
एउटा चिनियाँ कहावत छ—
म सुन्छु, बिर्सन्छु
देख्छु, सम्झन्छु
म गर्छु, बुझछु
व्यावहारिक प्रयोगमा टाढै रहे पनि ‘प्रति बच्चा एक ल्यापटप’ को एउटा सैद्धान्तिक आधार यो हो । कम्प्युटरले केटाकेटीलाई वास्तविक वस्तु ‘खर्च’ न गरी निर्माण र पुनर्निर्माण पनि गर्ने अवसर प्रदान गर्द छ । तर यसमा पनि ध्यान दिनुपर्ने पक्षहरू भने छन् । कम्प्युटरमा सिकेर मात्र कसैले वास्तविक अर्थमा ‘पाकविद्या’ सिक्न सक्छ कि सक्दैन ? सीधै पकाउन सिक्नु र कम्प्युटरमा पकाउनुमा कति फरक होला ? सँगै; १० मिटर लामो पुल बनाउँदै भत्काउँदै गर्न सम्भव हुन्छ कि हुँदैन ?
प्रविधि र ‘ग्याजेट्स’को सदुपयोग ती वस्तुलाई आत्मसात न गरी गर्न सकिन्न । एकपटक भारतमा एक सज्जन छाता टेकेर हिँडिरहेका थिए । एउटा लुटेराले उनी माथि आक्रमण गरयो । उनले छाताले हिर्काएर लुटेरो भगाए । छाता भाँचिएर कच्याककुचुक भयो । लुटेरो अदृश्य भएपछि उनले सम्झिए– उनी त ‘ब्ल्याकबेल्ट’ प्राप्त कराँते खेलाडी थिए ! बेलामा सम्झेका भए उनी त्यो लुटेरालाई छाता प्रयोग न गरिकनै लखेट्न या समाएर पुलिसकहाँ बुझाइदिन सक्थे । यसको मतलब के हो भने प्रभावकारी उपयोगका लागि प्रविधि वा ‘ग्याजेट’लाई राम्ररी आत्मसात् गर्नु जरुरी हुन्छ । प्रविधिमा भर पर्दै जाँदा यो कुरा लाई बिर्सन मिल्दैन ।



