बदलिंदो आकाश फेरिंदो धर्ती
म्यापलक्रोफ्ट नामक बेलायती कम्पनीले जलवायु परिवर्तनका कारण विश्वका मुलुकहरू कसरी जोखिममा पर्छन् भनी केही समय अगाडि गरेको लेखाजोखाको विवरण सार्वजनिक भएको छ । त्यसले नेपाललाई सर्वाधिक जोखिममा पर्ने देशहरूमध्ये चौथो स्थानमा देखाएको छ । मुलुकहरूको स्थिति आकलन गर्न कम्पनीले ३६ वटा सूचकहरू प्रयोग गरेको थियो । उक्त लेखाजोखाका केही सीमितता हुँदाहुँदै पनि यसले विश्वका अरू मुलुकको तुलनामा नेपालको स्थिति कस्तो छ त भन्ने तुलनात्मक परिदृश्य हाम्रासामु प्रस्तुत गरेको छ ।
तर जलवायु परिवर्तनको वास्तविक असर ठम्याउन ‘नेपाल’ भनेर मात्र पुग्दैन । १ लाख ४७ हजार वर्गकिलोमिटर क्षेत्र ओगटेको हराम्रो मुलुकमा हिमाल, पहाड, उपत्यका, दून, चुरे, भावर र तराई भूभाग अवस्थित छन् । यो भूभागमा तीन करोड नेपाली बसोबास गर्छन् । नेपालीहरूको सामाजिक संरचना र तौरतरिका ठाउँपिच्छे फरक छन् । यी सामाजिक चालचलन र संरचनाको निर्माणमा भूभाग र स्थानीय जलवायुको समेत भूमिका रहेको हुन्छ । हाम्रा पुर्खाहरू हजारौं वर्ष देखि यहाँको जलवायु र भौगोलिक विविधतासित अभ्यस्त रहँदै आएका हुन् । ऐतिहासिक, राजनीतिक, भूराजनीतिक र संरचनागत कारणले आधुनिक विकास को मान कमा नेपालीहरू अझै पछि छौं । थुप्रै नेपालीले अझै पनि पानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा सुचारु रूपमा पाउन सकेका छैनन्, पाउँदै नपाउने पनि धेरै छन् ।
माथिको सन्दर्भले दुई वटा प्रश्न उठाउँछ । पहिलो हो, नेपालको कुन क्षेत्र वा भाग जलवायु परिवर्तनका कारण बढी जोखिममा परेको छ त ? प्रश्न उठाउँदै सोधौं– यो क्षेत्र पूर्वी पहाडको ताप्लेजुङ हो या तराईको झपा ? हिमालपारिको मुस्ताङ हो वा दक्षिणमा रहेको मर्चवार ? सुदूरपश्चिमको कैलाली हो वा बैतडी ? यसभन्दा पनि तल्लो प्रशासनिक इकाइबारे प्रश्न उठाउनु जरुरी हुन्छ । खास जिल्लाको कुनचाहिँ गाविस बढी जोखिममा पर्छ त ? त्यतिले पनि नपुग्न सक्छ । त्यस अवस्थामा गाविसभन्दा तल वडा र गाउँस्तर मा समेत पुग्नु जरुरी हुन्छ ।
हराम्रो भूधरातलमा जलवायु परिवर्तनका कारण जोखिममा नपर्ने कुनै जिल्ला, गाविस वा वडा छैनन् । सबै कुनै न कुनै स्तर मा जोखिममा पर्छन् नै । जोखिम घटाउन जे–जस्ता तौरतरिका कार्यान्वयन गर्नु पर्ने हो त्यसका लागि एउटा क्षेत्रको तुलनामा अर्को क्षेत्र किन र कसरी बढी जोखिममा पर्छ भन्ने कुरा पनि यकिन गर्नु पर्ने हुन्छ । जोखिमको प्रकृति र त्यसको सही कारण थाहा पाएपछि नै निराकरणका उपयुक्त विधि र उपाय पहिल्याउन सहज हुन्छ ।
क्षेत्रको पहिचान एउटा पाटो हो तर यो नै पूर्ण कार्य भने होइन । खास क्षेत्रभित्र को बसोबास गर्छन्, त्यहाँको सामाजिक चरित्र कस्तो छ, त्यहाँ सीमान्तकृतस्तर मा कुन घरपरिवार छन् ? भन्ने जानकारी लिनु पनि निर्णयका लागि आवश्यक आधार हुन् । क्षेत्र चिनेपछि त्यहाँको सामाजिक संरचनाअन्तर्गत के–कस्तो स्थिति छ भन्ने निर्णय धेरै हदमा स्थानीय छलफल बाट निकाल्न सकिन्छ । सामाजिक विज्ञानले सो गर्ने विधि पनि अगाडि सारेको छ; जुन नेपालमा व्यापक प्रयोग भएका छन् र हुने गर्छन् ।
मध्य नेपालको हिमालपारि रहेको मुस्ताङ देखि तराईको कपिलवस्तु जिल्लाले माथि उल्लिखित विविधता प्रतिबिम्बित गर्छन् । यस क्षेत्रका जिल्लाहरूको भौगोलिक र सामाजिक एवं जलवायु चरित्र भिन्नभिन्न छन् । मुस्ताङ जिल्लाका १६ वटा गाविसमध्ये कागवेनी एउटा हो । कागवेनीका विभिन्न वडाहरू एकै किसिमका छैनन् । कागवेनीका बासिन्दाको जनजीविका पर्यटन व्यवसायमा पनि आधारित छ । केही वर्ष अगाडि सम्म मुस्ताङ जिल्ला पुग्न पोखराबाट हवाइजहाज लिनुपथ्र्यो या पदयात्रा गर्नु पथ्र्यो । वेनी–जोमसोमको बाटो जोडिएपछि हिजोआज मोटरबाटोबाट पनि जोमसोम पुग्न सकिन्छ । मोटरबाटोले त्यस जिल्लाका र छेउछाउका बासिन्दालाई आवतजावत गर्न सजिलो त पारेको छ तर यसले आफ्नै खालका चुनौतीहरू पनि सामुन्ने ल्याउने छ । त्यस्ता चुनौती बुझने र तिनलाई निदान गर्ने क्षमता स्थानीय समाज मा भइरहनु आवश्यक हुन्छ ।
यसै गरी अन्य उदाहरणहरू पनि लिन सकिन्छ– म्याग्दीको राम्चे, कास्कीकोरूपातालछेउ रहेकोरूपाकोट, पाल्पाको मदनपोखरा, कपिलवस्तुको दुविया र अर्घाखाँचीको हंसपुर । कागवेनीलगायत यी पाँचवटा गाविसमा विगत दुई वर्ष देखि आइसेट–नेपालका विश्लेषकहरू जलवायु परिवर्तनको जोखिम आकलन गर्न र त्योसित अभ्यस्त रहने विधि जान्न त्यस क्षेत्रका बासिन्दा, शिक्षक, स्थानीय अधिकारी हरू र कृषकसित सहकार्य गर्दैछन् । यस सहकार्यमा चुनौतीहरूका साथै स्थानीयस्तर मा हुँदै गरेका सिर्जनाहरू जलवायु परिवर्तनका प्रभावसित अभ्यस्त रहन उपयोगी विधिका रूपमा देखिन्छन् ।
कागवेनी, राम्चे ररूपाकोट गाविसका अनुभव प्रस्तुतगरौं । कागवेनीका घरपरिवार पर्यटन व्यवसायमा संलग्न छन् । तिनको चासो र व्यवहार– आफ्नो व्यवसाय उन्नति गर्ने तर्फ छ । यसो हुनु अनौठो होइन । पर्यटन व्यवसायलाई जलवायु परिवर्तनको प्रभावले नकारात्मक असर पारेमा कागवेनीका घरपरिवारको जनजीविका जोखिममा पर्छ । भविष्यको एउटा परिदृश्य परिकल्पनागरौं । वैज्ञानिक अध्ययनले भन्छन्– उच्च भेगमा तापक्रम बढ्ने क्रम तल्लो भेगभन्दा बढी छ । आजभन्दा ३० वर्षपछि पनि कार्बनडाइअक्साइड उत्सर्जनको दर सँगै तापक्रम पनि बढ्दै जाने हो भने हाम्रा उच्च भेगमा तापक्रम बढ्ने दर झन् माथि जानेछ भनेर अनुमान गर्न सकिन्छ । त्यसो भयो भने के होला ? उच्च भागका हिउँ, हिउँ पग्लेर आउने पानीका स्रोत र हिमनदीमा कस्तो प्रभाव पर्ला ? हिमाल हिउँले सेता रहलान् वा हिउँ नहुनाका कारण चट्टान मात्र देखि ने होला ? त्यस्तो बेलामा पर्यटन व्यवसाय कस्तो जोखिममा पर्ला ? अझ् सम्भावना परिकल्पनागरौं । हिउँ पर्ने क्षेत्रमा हिउँको सट्टा वर्षा हुने र त्यसको दर बढ्दै जाने हो भने स्थानीय भूधरातल र त्यहाँ बस्ने मान्छे, वस्तुभाउ र वनस्पतिलाई कस्तो असर पर्ला ? जोखिम आकलन गर्न आवश्यक प्रश्नहरू हुन्, यी । यस्ता प्रश्नले हामीलाई यस्तो भएमा के गर्न उचित हुन्छ भन्ने सम्भावना खुट्याउन र लागू गर्न सहयोग गर्छन् ।
एक किसिमबाट भन्ने हो भने उत्सर्जनको धेरै जिम्मा विकसित मुलुकहरूको भागमा पर्ने हुँदा समस्या सिर्जना हराम्रो भूक्षेत्रभन्दा टाढा हुन्छ । त्यस्तो उत्सर्जनमार्फत समस्या सिर्जना गर्नमा कुनै जिम्मा नभएका तप्का जोखिममा पर्छन् । त्यसो हुँदा जलवायु न्यायको हिसाबले उत्सर्जन न्यूनीकरण गर्ने दायित्व ती मुलुकहरूको हो । यो मागमा निरन्तर डटेर पैरवी गर्नु जरुरी छ । तर विगतमा विश्व वायुमण्डलमा फालिएका घातकग्यासका कारण स्थानीय जलवायुमा परिवर्तन भइरहन्छ र जोखिमहरू बढ्न थाल्ने छन् । यस्तो हुँदैन भन्न कसैले सक्दैन । तर वैज्ञानिक विधिहरू स्थानीयस्तर मा यस्तै प्रभाव पर्छ भन्ने किटान गर्न असमर्थ छन् ।
धौलागिरि हिमाल शृङ्खलाको दक्षिणमा रहेको राम्चे गाउँको सन्दर्भ कागवेनीभन्दा फरक छ । राम्चेमा कच्ची बाटो पुगेको छ जसले गर्दा आवतजावत सजिलो हुनथालेको छ । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको पहलमा त्यहाँ इन्टरनेट सुविधा उपलब्ध छ । राम्चेवासीहरू इको–पर्यटन र सामुदायिक लज प्रवद्र्धन गर्न लागिपरेका छन् । त्यहाँका आलु एवं स्थानीय उपजमा ह्रास आउन थालेको छ । कागवेनीमा अभ्यस्त रहन गरिने तौरतरिका राम्चेमा उपयोगी हुँदैनन् ।
यी दुईभन्दा फरक सन्दर्भ लेखनाथ नगरपालिकाको सिमानामा अवस्थितरूपाकोट गाउँ ररूपातालमा अनुभव हुन्छ । यो गाविस मध्यपहाडी भेगको उपत्यका छेउमा अवस्थित छ । आवतजावत कागवेनी र राम्चेको तुलनामा सहज छ । सामाजिक संरचना पनि माथिका दुई गाविसको तुलनामा भिन्न छ । तर तीन वटै गाविसहरूमा प्रचलित परिवेश छिटोछिटो परिवर्तन हुँदैछन् । यी परिवर्तन जलवायु परिवर्तनका कारण नै भएका हुन् भनी भन्न सकिँदैन । एक किसिमबाट समयको यात्राले ल्याएका परिवर्तन हुन्, यी । यस्ता परिवर्तनले कसैलाई मौका सिर्जना गरिदिएको छ भने कसैलाई छैन । चुनौतीसित जुध्ने व्यवहार पनि यी तीन ठाउँमा एकैनासका छैनन् । जलवायु परिवर्तनले यस्ता क्षेत्रहरूमा आफ्नै खाले थप दुर्बलता सिर्जना गर्छ र सामाजिक तप्कालाई भिन्नभिन्न तरिकाले प्रभाव पार्छ । जलवायु प्रभावले पार्ने दुर्बलता विद्यमान सामाजिक र आर्थिक प्रणालीभित्रै चलायमान हुन्छ । समाज को यस्तो चरित्र नबुझी जलवायु परिवर्तनसित अभ्यस्त रहनु परयो भन्ने आख्यान प्रस्तुत गर्दैमा तौरतरिका र विधि स्थापित हुन सक्दैनन् । मानव समाज ले गर्दै गरेका क्रियाकलाप भित्र नै जोखिम घटाउने क्रियाकलाप जोड्नु आवश्यक हुन्छ ।
कुनै पनि समाज मा व्यक्ति; घरपरिवार र समुदायहरू आफूले भोग्ने गरेका विभिन्न खाले चुनौतीसित आफ्नै तरिकाले जुध्ने गर्छन् । कतिपय स्थितिमा के गर्ने भन्ने निर्णय उनीहरूको आफ्नै अर्थात् स्वतस्फूर्त हुन्छ; यद्यपि व्यक्ति, घरपरिवार र समुदाय मुलुकको बृहत् परिवेशभित्रै रहने गर्छन् । स्वतस्फूर्त व्यवहारको परिधि बुझन सके राज्यले वा अन्य निकायले गर्ने अनुकूलनको प्रयास कस्तो हुनुपर्छ भन्ने व्याख्या गर्न सजिलो पर्छ ।
कास्की जिल्लाकोरूपातालमा चल्दै गरेको प्रक्रिया स्वतस्फूर्त व्यवहारको एउटा उदाहरण हो । जैविक विविधतामा धनीरूपाताल केही वर्षअगाडि ह्रासोन्मुख थियो । त्यहाँका माछा र जैविक विविधता लोप हुने क्रममा थिए । सन् १९९५ मा ताल छेउछाउ बस्ने बासिन्दाहरू सङ्गठित भएर ताल संरक्षणका लागि एउटा सहकारीगठन गरे । सहकारीको उद्देश्य तालमा माछा पाल्ने, हानिकारक झरहरू सफा गर्ने , वृक्षरोपण एवंगह्रा सुधार जस्ता क्रियाकलाप द्वारा जलाधार क्षेत्र संरक्षण गरी तालमा बग्ने थिग्रेनीको परिमाण कम गर्ने जस्ता क्रियाकलाप सञ्चालन गर्ने थियो । यी प्रक्रिया हाल निरन्तर छन् । माछा बेचेर आएको रकम सहकारीका सदस्यहरूमा बाँडफाँड गरिन्छ ररूपातालको जलाधारमा संरक्षण कार्यमा प्रयोग पनि । राज्यको संविधान र कानूनले सङ्गठित हुने, स्रोत खोज्ने एवं संरक्षणका क्रियाकलाप लागू गर्ने माहोल प्रदान गरेको हुँदा यस्तो व्यवहार सम्भव भयो । सहकारीगठन गरी ताल संरक्षण गर्ने निर्णय स्थानीय बासिन्दाको हो; केन्द्रीयस्तर या विभागको होइन । यस्तो प्रयासबाट थुप्रै फाइदा भएका छन् तर चुनौतीहरू पनि मनग्ये छन् ।
जलवायु परिवर्तनका कारणरूपाताल जलाधार क्षेत्रमा वर्षाको चरित्रमा फेरबदल भई भविष्यमा मुसलधारे पानी परेर थिग्रेनी बग्ने दर बढ्न सक्ने एउटा ठूलो चुनौती हो । यसो भयो भने तालमा पानीको आयतन घट्न सक्छ, पानीको चरित्रमा परिवर्तन हुनसक्छ जसको नकारात्मक असर मत्स्यपालनमा पर्न सक्छ । जलवायु परिवर्तनको आँखा प्रयोग गरी भविष्यमा यस्तो हुनसक्ने सम्भावना परिकल्पना गर्दा त्यस्तो भविष्यसित कसरी अनुकूल रहने भन्ने प्रश्नको जवाफ खोज्न मद्दत पुग्छ ।
रूपातालमा जस्तै विभिन्न खाले चुनौतीहरूसित जुध्न नेपालमा सामुदायिक र व्यक्तिगतस्तर मा अनगिन्ती प्रयासहरू भई नै रहेका छन् । यस्ता प्रयासहरूले नै मुलुकको जिजीविषा निरन्तर राख्न सघाइरहेका हुन् । जलवायु परिवर्तनसित अनुकूल रहने रणनीतिहरू यस्ता प्रयासहरूसँग जोड्नु एउटा लाभदायक उपाय हुनसक्छ । त्यसनिम्ति, समुदाय वा स्थानीय स्तर मा मानिसहरू आफैंले स्वतस्फूर्त रूपमा गरिरहेका कामलाई विधि/प्रणालीमार्फत व्यवस्थित तुल्याउन राज्य पनि लाग्नुपर्छ ।
(दीक्षित र खड्का आइसेट नेपालमा अनुसन्धानरत छन् ।)



