एसएलसी २०६८: अलिअलि सुध्रियो

२०५० सालमा कैलालीबाट सर्लाही, हरिपुरस्थित महावीर जनता उमाविमा सरुवा भएका शिक्षक शिवशङ्कर मिश्र बितेका १८ वर्षमा एसएलसी परीक्षामा एक पटक पनि निरीक्षक बसेनन्, बस्न पनि चाहेनन् । बसुन् पनि कसरी ! परीक्षा केन्द्र तोकिएका विद्यालयका शिक्षकहरू निरीक्षक हुन पाउँदैनथे । निरीक्षकका निम्ति अरू नै विद्यालयका शिक्षक र असम्बन्धित व्यक्तिहरूबीच मारामार चल्थ्यो । त्यस्ता व्यक्तिहरू केन्द्राध्यक्षलाई पैसा समेत बुझाएर निरीक्षक बन्थे, जसको एक मात्र ध्येय हुन्थ्यो, परीक्षार्थीलाई चिट चोराउने ।

यसपालि स्थिति उल्टियो । परीक्षा समन्वय समिति, सर्लाहीले केन्द्र तोकिएको विद्यालयका प्रावि र निमावि तहका शिक्षक बाहेक अरूले निरीक्षक बस्न नपाउने व्यवस्था गरयो । परिणामतः निमावि शिक्षक मिश्रले पनि निरीक्षक बस्ने मौका पाए । स्थानीय प्रशासनले समेत कडाइ गरेका कारण परीक्षामा निकै सुधार पनि आयो । शिक्षक मिश्र भन्छन्, “पहिलो पटक एसएलसीमा निरीक्षक बनेको हुँ । सार्थक भएजस्तो लाग्यो ।गत सालको तुलनामा चिटिङमा धेरै नियन्त्रण भयो ।” निमित्त जिशिअ ठूलोबाबु दाहालको नेतृत्वको अनुगमन टोलीले परीक्षाको दोस्रो दिन महावीरबाट ६ जना परीक्षार्थीलाई निष्काशन गरेको थियो ।

सर्लाहीका सबैजसो परीक्षा केन्द्रमा विगतको तुलनामा चिटिङ नियन्त्रण भएको स्थानीय व्यक्तिहरूको कथन छ । सुरक्षाकर्मीले हरेक केन्द्रको मूलगेटमा परीक्षार्थीको शरीर छामेर चिट खोसेका थिए । शंका लागेका परीक्षार्थीलाई जुत्ता–मोजा समेत खोल्न लगाइएको थियो । जेसिज सेकेण्डरी स्कूल, मलङ्गवाका परीक्षार्थी अजित जैसवालले भने, “पहिले त यसरीगेटमा ‘चेक’ हुन्थेन । यसपालि त धेरै कडा भयो ।”गत सालसम्म असम्बन्धित व्यक्तिहरू परीक्षा केन्द्रमा छिरिरहेका हुन्थे । केन्द्र बाहिर चिट चोराउनेको भीड लाग्थ्यो । यस पटक त्यस्तो खासै देखि एन । सर्लाहीका प्रजिअ रामप्रसाद थपलिया भन्छन्, “विगतको तुलनामा यस वर्षको परीक्षामा सुधार आएको छ । शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, अभिभावक र नागरिक समाज को सक्रियता भएमा जाँच सुधार्न सकिने रहेछ भन्ने निचोडमा पुगिएको छ ।”

एसएलसी परीक्षा अवधिभर सिरहा र सप्तरीमा पनि स्थानीय प्रशासनले सक्रियता देखाएको थियो । सप्तरीका जिशिअ दोलराज पाण्डेका अनुसार, त्यहाँ यसपालि ४२ जना परीक्षार्थी निष्काशनमा परे भने दुई जना नक्कली परीक्षार्थी र २७ जना निरीक्षक पक्राउ परे । त्यस्तै सिरहामा ४२ परीक्षार्थी निष्काशनमा परे भने ७ जना नक्कली परीक्षार्थी र चिट चोराउने १० जना निरीक्षकलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सिरहामा परीक्षा सञ्चालनअघि ३६ बुँदे आचारसंहिता बनाइएको थियो । परीक्षाको चार दिनअघि जिल्लामा क्रियाशील राजनीतिक दलले परीक्षालाई मर्यादित बनाउनका निम्ति सार्वजनिक अपील गरेका थिए । परीक्षामा अमर्यादित कार्य गर्न खोज्ने १४ केन्द्राध्यक्षको परीक्षा केन्द्र हेरफेर गरिएको थियो । यसले पनि परीक्षा सञ्चालनमा सुधार ल्याएको जानकारी सिरहाका जिशिअ हरि वस्तीले दिए । सप्तरी र सिरहाका कतिपय केन्द्रमा सुरक्षाकर्मी र अभिभावकहरूबीच झ्डप पनि भएका थिए । हनुमान नगर उमावि केन्द्रमा कडाइ गरेको भन्दै अभिभावकले सशस्त्र प्रहरी जवान लीलाबहादुर विश्वकर्मालाई निर्घात कुटेका थिए । केही केन्द्रमा एउटै बेञ्चमा ३–४ जनासम्म बसेर चिट चोरेका उदाहरण भेटिएको थियो ।


लज्जाका प्रतीक !

नयाँ संविधान बनाउने जिम्मा पाएका सभासद् कानूनको खिल्ली उडाएर खेताला परीक्षार्थी राख्छन् भने त्योभन्दा लज्जाजनक के होला ? यसपालिको एसएलसीमा एनेकपा माओवादीका सभासद् प्रेमबहादुर पुलामीले आफ्नो नाममा अरूलाई जाँच दिन लगाएर कानूनको उल्लंघन त गरे नै, एसएलसी जाँचको मर्यादालाई नै चुनौती दिएका छन् । मकवानपुर–२ बाट निर्वाचित सभासद् पुलामीले आफ्नो सालो साहित्य लामालाई परीक्षा दिन लगाएका थिए । रौतहट, जुडिबेलास्थित परीक्षा केन्द्रबाट प्रहरीले १४ चैतमा लामालाई पक्राउ गरे पछि यो रहस्य खुलेको हो ।

जनज्योति उमावि, चन्द्रनिगाहपुरबाट सभासद् पुलामीको परीक्षा आवेदन भरिएको थियो । संसद् सचिवालयको अध्ययनले पनि सभासद् पुलामीले गैर कानूनी काम गरेको पुष्टि गर्दै त्यसको प्रतिवेदन सभामुख सुवास नेम्वाङलाई दिएको छ । तर सभामुख नेम्वाङले आफूले केही न गरी पुलामीलाई कारबाही गर्न भनी माओवादीका मुख्य सचेतक देव गुरुङलाई निर्देशन दिएका छन् । आफ्ना सभासद्का अपराध ढाकछोप गरी चोखो देखाउनुपर्ने पदीय दायित्व बोकेका प्रमुख सचेतक गुरुङले पुलामीलाई कारबाही गर्ने कल्पना कसैले पनि गरेका छैनन् ।


नक्कली परीक्षार्थीको दैनिक ज्याला रु.२ हजार !
बाँकेमा ९ जना नक्कली परीक्षार्थी पक्राउ परे । कोहलपुरस्थित ज्ञानकुञ्ज उमावि परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा युवराज धिताल, प्रदीप बुढा, सुरेश विश्वकर्मा, लोकेन्द्र शाही, हर्कबहादुर थापा, रामजी थारू, लक्ष्मण शाही, नवीन डीसी र बीरबहादुर रसाइली छन् । यीमध्ये एक जनाले प्रतिदिन दुई हजार रुपैयाँ पाउने शर्तमा अर्काको नाममा परीक्षा दिएको बयान दिएका छन् । अरूले चाहिँ आफ्नै परिवारकै सदस्यका निम्ति परीक्षा दिएको बताएका छन् ।

बाँकेका प्रजिअ ढुण्डीराज पोखरेलका अनुसार, उनीहरूलाई शिक्षा ऐन, २०२८ को प्रावधान बमोजिम कारबाही अघि बढाइएको छ । ऐनको दफा १७ मा अरूको नाममा परीक्षा दिने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

पनि काको निचोड
विगतको तुलनामा यस पटकको एसएलसी परीक्षा मर्यादित भएको स्वाभाविक निचोड परीक्षा नियन्त्रण कार्यालयले निकालेको छ । परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार, परीक्षा सञ्चालनका क्रममा कारबाहीमा परेका परीक्षार्थी, नक्कली परीक्षार्थी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकका सम्पूर्ण विवरण जिशिकासँग मागिएको छ । अमर्यादित क्रियाकलाप मा संलग्न शिक्षकलाई शिक्षा विभागमार्पmत कारबाही गरिने जानकारी नियन्त्रक रिमालले दिए । उनले भने, “जाँचमा अमर्यादित गतिविधि गरेका शिक्षकको विवरण जिशिकाबाट आउनासाथ शिक्षा विभागमा पठाउँछौं । उनीहरूलाई विभागबाट सजाय हुन्छ ।”

प्रमोद आयाम, श्रवण देव, राजविराज/कृष्ण अधिकारी , नेपालगञ्ज

commercial commercial commercial commercial