पुस्तक मेला
३० वैशाख २०६९ देखि काठमाडौंमा ‘सोह्रौं नेपाल शैक्षिक एवं पुस्तक प्रदर्शनी’ हुने भएको छ ।ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस र राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको संयुक्त आयोजनामा उक्त मेला हुन लागेको हो । पुस्तक प्रदर्शनी ७ जेठसम्म चल्नेछ ।
पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष रामचन्द्र टिमोथीका अनुसार, मेलामा स्वदेशी र विदेशी प्रकाशक तथा बिक्रेताका करीब ६० वटा स्टलहरू रहने छन् । प्रदर्शनीमा राखिने पुस्तकहरूमा कम्तीमा १० देखि अधिकतम ५० प्रतिशतसम्म छूट दिइने बताइएको छ । मेलामा शिक्षा सम्बन्धी; विज्ञान, साहित्य, सूचना–प्रविधि, व्यवस्थापन, कृषि जस्ता विषयवस्तुका पुस्तकहरू रहने छन् । “पाठकले एउटै थलोमा नयाँ–पुराना पुस्तकका बारेमा जानकारीसँगै सहुलियत दरमा खरीद गर्न पनि पाउने छन्”, अध्यक्ष टिमोथीले भने । मेलामा वैदेशिक उच्च शिक्षाबारे जानकारी दिने गरी शैक्षिक परामर्शदाताहरूको शैक्षिक प्रदर्शनी समेत रहनेछ । करीब एक लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन् ।



