सम्बन्ध न खोज्ने हो, हामी सक्छौं !
शिक्षक भाग्यमानी छौं— जसको जेमा सम्बन्ध खोजे पनि हुने । शिक्षक र विद्यार्थीको । विद्यार्थी विद्यार्थीको । विद्यार्थी र अभिभावकको । विद्यार्थी र पढ्ने शैलीको । शिक्षक र पढाउने शैलीको । विद्यार्थी र बाह्य पाठ्यपुस्तकको । शिक्षक र राजनीतिक सोचको । घरको काम र पढाइको समयबीचको । यस्तै अनेकन् विषयवस्तुको ।
आखिर सम्बन्ध न खोजे ?
मानव शास्त्रीहरू समाज मा बसे । मानवीय सम्बन्ध खोजे । म्याक्स वेबरले खोज्दा धर्म र मानव सम्बन्ध ।गर्जले खोज्दा सम्बन्धको अर्थ । बोडर्यूले खोज्दा व्यवहार र तर्क । माक्र्सले खोज्दा उत्पादन र सम्बन्ध । हामीले के खोज्ने ? समाज शास्त्रीले त्यही गरे । दुर्खाइमले खोज्दा काम र संरचनाबीचको सम्बन्ध । माक्र्सवादीले खोज्दा अर्थ र संरचनाको सम्बन्ध । पूर्वीय पुर्खाले पनि त्यसै गरे । चाणक्यले राजनीति र मानव को सम्बन्ध । कपिलमुनिले जगत र अध्यात्मको सम्बन्ध । बुद्धले खोज्दा बुढ्याईं, बिरामी र मृत्युको निदान तथा सृष्टिको सम्बन्ध । शिक्षाका हस्तीहरूले पनि त्यसै गरे । बालबालिका र सिक्ने सिकाउने वस्तुको सम्बन्ध ।
अर्थात् विज्ञले खोज्ने सम्बन्ध रहेछ । केको सम्बन्ध ? कोसँग को सम्बन्ध ? यी सम्बन्ध खोज्नेहरूको विधि फरक थियो । कोही समाज मै बसे । कोही स्कूलमा । कोही कारखानामा बसे । कोही ध्यानमा । कोही अधिकारवालासँग बसे । कोही विपन्न समाज मा । यस अर्थमा समाज ज्ञानप्रदायक रहेछ । व्यक्ति स्वयं ज्ञान प्रदायक रहेछ । प्रक्रिया वा विधि स्वेच्छाको रहेछ । चाहिने कुरा घोत्ल्याईं रहेछ । खोज्ने कुरा मा घोत्लिने । खोजाउने कुरा मा घोत्लिने । यो काम एकल रहेछ । सामूहिक रहेछ । सामूहिक र एकलबीचको अन्तरक्रिया रहेछ । आफैंमा अन्तरक्रिया गरे पनि हुने । अरूमै अन्तरक्रिया गरे पनि हुने । चाहिने कुरो रहेछ– केमा घोत्लिने भन्ने निधो । केको सम्बन्ध कोसँग खोज्ने भन्ने निधो । कसरी त्यो सम्बन्ध खोज्ने भन्ने निधो । के यी तीन निधो गर्न सक्छौं त ?
खोजे कसरी ?
जिउनेहरूले खोजे । कसरी जिउँदा रहेछन् भनी सोच बोकेकाहरूले खोजे । पहिलो खाले व्यक्तिले खोज्दा खोज (search) भयो । हिमाल, पहाड र मधेशमा बाटो खोज्ने जिउनेहरू हुन् । उनीहरूले नदी पछ्याए । पहाड पछ्याए । भञ्ज्याङ पछ्याए । घाँटी पछ्याए । खोजको तर्किव त्यही हो । अनुसन्धान गर्नेहरू अझ्गहिरिए । किन त्यही बाटो खोजे ? कसरी त्यो बाटो पत्ता लगाए ? कसले पत्ता लगायो ? कसले थप्यो ? कसले वैकल्पिक बाटो खोज्यो ? कसले ठूलो बाटो बनायो ? किन ? पशुपालन गर्न ? पशुजन्य उत्पादन बेच्न ? बेचेकोबाट आर्जेको कुरा ले के गरे ? बेच्ने को थियो ? पुरुष ? महिला ? युवा ? प्रौढ ? बालबालिका ? किन्ने र बेच्नेको शक्ति सम्बन्ध के थियो ? किन त्यस्तो शक्तिसम्बन्ध बन्यो ? लैङ्गिक संरचनाले हो ? जातले हो ? जातिले हो ? धर्मले हो ? पढाइलेखाइले हो ? भाषाले हो ? बाध्यताले हो ? वातावरणले हो ? यी र यस्ता प्रश्नले सम्बन्ध खोजाउँछ । लिने र दिने बीचको सम्बन्ध । दिने दिनेहरूको सम्बन्ध । लिने लिनेहरूको सम्बन्ध । अर्थात् कसरी जिउँदा रहेछन् भनी खोज्नेहरूले जिउनेहरूकै ज्ञानमा थप प्रश्न जोडे । ती सबै प्रश्नको उत्तर खोजे । कसैले कुनै पाटोबाट । कसैले कुनै पाटोबाट । उदाहरण दिऊँ बालबालिकाले गणित कसरी सिक्छन् भन्ने कुरा को । सुझ् (insight) वालाले बुझे झवाट्टै सिक्छन् । सिक्ने प्रक्रिया व्यवहारमा देखि न्न । दिमागी प्रक्रिया पनि तेजिलो हुन्छ । संज्ञान (cognitive) वालाले बुझे– सिक्ता आकृति (mental trace) बन्छ । आकृतिमै प्रक्रिया समाहित हुन्छ । अनि बालबालिकाले सिक्छन् । व्यवहारवादीले बुझे– सिक्नेले व्यवहारमा देखाउँछ । गर्दै सिक्छ । हेर्दै सिक्छ । बोल्दै सिक्छ । निर्माणवादी (constructivist) ले बुझे– संलग्नता (involvement) ले सिक्छ । विनिर्माणवादीले बुझे ओल्टाइपल्टाइ गरेर सिक्छ । विचार उल्टाए हुन्छ । सिकाइ उल्टाए हुन्छ । आफैंमा प्रश्न गरे हुन्छ । अरूलाई प्रश्न गरे हुन्छ । आफू र अरूबीच अन्तरक्रिया गरे हुन्छ । बाह्य अन्तरक्रिया । आभ्यन्तरिक अन्तरक्रिया । यसको अर्थ हो– अनुसन्धान टुङ्गिएको छैन । टुङ्गिदैन । किनभने जिउने प्रक्रिया बदलिन्छन् । प्रत्येक बदलावमा नयाँ ज्ञानको उत्पत्ति हुन्छ । यसको अर्थ हो– सिकाइ शाश्वत हुँदैन । सिक्ने क्रम शाश्वत हुँदैन । शाश्वत हुने भनेको– सिक्ने रहर । कसरी सिक्ता रहेछन् भन्ने रहर ।
माथिको छलफल बाट थाहा लाग्यो– प्रश्न गर्नु अनुसन्धानात्मक विधि रहेछ । प्रश्नउपर घोत्लिने विधि रहेछ । एउटाको उत्तर अर्कोको उत्तरसँग भिडाउने विधि रहेछ । मिल्दा उत्तरबाट निर्णायक मत दिने विधि रहेछ । यस क्रममा अनुसन्धाताले गर्ने हर क्रियाकलाप विधि रहेछ । सोही विधिको लेखोट अनुसन्धान विधि रहेछ । सोधे प्रश्नोत्तर विधि । हेरे अवलोकन विधि ।गहिरिँदै प्रश्नोत्तर गरिरहे अन्तर्वार्ता विधि । विशेष समूहसँग विशेष कुरा खोजे लक्षित समूह छलफल विधि (focus group discussion) । त्यही विधिमा उपयोग गरिने हथौडा साधन (tools/instrument) रहेछ । आफूले आफैंलाई सीमित गर्ने साधन । सोधेर पत्ता लगाए सोध्नु साधन हो । प्रश्नहरूको सँगालो । अवलोकन गर्नु साधन हो । के अवलोकन गर्ने भन्ने कुरा लेखन गरे साधन बन्छ ? यस अर्थमा खोज्ने तरीका आ–आफ्नै हुने रहेछ । एकल विधि मात्रै अस्वीकार्य रहेछ । एकल साधन मात्र अस्वीकार्य रहेछ । तथ्याङ्कलाई प्रमाणीकरण गर्ने तरीका ।
प्रस्तुत गरे कसरी ?
गणितज्ञले सूत्र बनाए । लम्बाइपट्टिका दुईवटा भित्ता बराबर छन् । a2 । चौडाइपट्टिका दुई वटा भित्ता पनि बराबर छन् । b2 । एकापट्टिको लम्बाइ a हो । अर्कोपट्टिको b हो । त्यसैले ab । यस्ता भित्ताहरू लम्बाइमा पनि छन् । चौडाइमा पनि छन् । अर्थात् दुईतिरै छन् । त्यसैले 2ab । अनि समग्रमा भने (a+b)2= a2+2ab+b2 । त्यही कुरा लाई वैज्ञानिकले अर्कै तरीकाले प्रस्तुत गरे । आफ्नै सूत्र बनाएर । गणितज्ञबाट सापटी लिएर । मानव शास्त्रीको अर्कै तरीका रहेछ । बाक्लो विवरण (thick description) । घर यस्तो थियो । नाप यो थियो । सामान (artifacts) यी थिए । भित्तामा चित्र थियो । जनावरको चित्र । देवताको चित्र । चित्रको मानव र जनावरको सम्बन्ध यस्तो थियो । समाज शास्त्रीले अर्को तरीका खोजे । घर त्यस्तो बनाउनुमा के कारण छ । बाह्य कारण (outward criticality) । आधुनिकोत्तर समाज शास्त्री र मानव शास्त्रीले आन्तरिक कारण (inward criticality) खोजे ।गीतावादीले बाह्य र आन्तरिक कारणको अन्तरसम्बन्ध (outward inward/inward outward criticality) खोजे । एक अर्कोमा । गणितज्ञको प्रस्तुतिमा abc को समीकरण । ab, ac, bc, ba, ca, cb । यसरी हेर्दा प्रस्तुति पनि प्रस्तोताको शैली रहेछ । दख्खलको क्षेत्रबाट प्रस्तुति बनाउने । कोही नाम राखेर प्रस्तुत गर्दा रहेछौं । संरचनावादी (structuralist) । फलानो विषयको प्रस्तुति यस्तो हुन्छ भन्नेहरू । यस्तो हुनुपर्छ भन्नेहरू । संरचना बदल्न सक्छौं भन्नेहरू (anarchist) प्रश्न रहेछ– खाका (format) मा प्रस्तुत गर्ने कि खाकाहीन खाका (formatless format) बनाउने । आफ्नै प्रस्तुतिको शैली ।
निचोड के निकाले ?
अनुसन्धान पूर्ण हुँदैन । पूर्णताउन्मुख हुन्छ । हिन्दूको पुख्र्यौली शब्दावलीमा ‘पूर्णात् पूर्णमिदं’ । त्यसैले भनिदिए– गणितको यो सूत्र हो । स्थिति बदलिए सूत्र बेकामे हुन्छ । चौडाइ र लम्बाइका दुई वटा भित्ता बराबर नभए a2 हुँदैन । b2 पनि हुँदैन । यसो नहुँदा भित्ताको नाप त हुन्छ । सूत्र मिल्दैन । अर्को सूत्र चाहिन्छ । वैज्ञानिकले पनि त्यसै भने । नून बन्न NACL2 चाहिन्छ । सोडियमको एक; परमाणु क्लोरिनको दुई परमाणु । कुनै पनि तŒवको परमाणु फेरिए सूत्र फेरिन्छ । सत्य फेरिन्छ ।
मानव शास्त्रीले पनि त्यही कुरा स्वीकारे । केटीको संख्या कम भयो, राउटेले विधवा विवाह स्वीकारे । केटीको संख्या धेरै हुँदा तिनै विधवा त्यक्त थिए । समाज शास्त्री पनि त्यही ड्याङका हुन् । उनले पनि भनिदिए—संरचना फेरिए शक्तिसम्बन्ध फेरिन्छ । ठूला जहान (joint family) मा बस्ने पुरुषले बच्चाको हेरचाह गर्दैन । साना जहान (neclues family) मा बस्नेले नहेरी धरै छैन । तर बाल स्याहार केन्द्र खोल्नासाथ पुनः सम्बन्ध बदलिन्छ । यसरी हेर्दा सम्बन्ध बदलिने चिज रहेछ । वस्तु बदलिने रहेछ । संरचना बदलिने चिज रहेछ । सूत्रहरू बदलिने सत्य (relative truth) रहेछन् । त्यसैले बुद्धले भने झै बदलावमै वस्तु पढ्नुपर्ने रहेछ । सम्बन्ध पढ्नुपर्ने रहेछ । सत्य पढ्नुपर्ने रहेछ । किनकि मानव आफैं बदलिँदो रहेछ । उमेरमा । अनुभवमा । शिक्षामा । पढाइमा । पर्यावरणमा । प्रविधिमा ।
शिक्षकले के को सम्बन्ध खोज्ने त ?
शिक्षक भाग्यमानी छौं । जसको जेमा सम्बन्ध खोजे पनि हुने । शिक्षक र विद्यार्थीको । विद्यार्थी विद्यार्थीको । विद्यार्थी र अभिभावकको । एउटा कक्षाका विद्यार्थी र अर्को कक्षाका विद्यार्थीको । विद्यार्थी र पढ्ने शैलीको । शिक्षक र पढाउने शैलीको । विद्यार्थी र बाह्य पाठ्यपुस्तकको । विद्यार्थी र अतिरिक्त क्रियाकलाप को । शिक्षक र राजनीतिक सोचको । राजनीतिक दल र विद्यार्थीबीचको । घरको काम र पढाइको समयबीचको । सामाजिक मान्यता र विद्यार्थीको शैक्षिक उपलब्धिको । भाषिक समूह र पढ्ने शैलीको । यस्तै अनेकन् विषयवस्तुको । अझ् सानो कुरा खोज्ने हो भने– कलम समाउने तरीका र विद्यार्थीको उपलब्धिको । अक्षर लेख्ने तरीका र आत्मविश्वासको । अवधारणा बनाउने तरीका र सामाजिक परिवेशको । चिट चोर्ने चोराउने र शैक्षिक –सामाजिक परिवेशको । हल्ला गर्ने र सामाजिक मनोदशाको । लैङ्गिक सोच र जातजातिको । अपाङ्गता र समायोजन शैलीको ।
माथिका केही विषयहरू हुन् । घोत्लिन मिल्ने । ती विषयमा शिक्षक घोत्लिन सक्छौं । वेबरले झै अथ्र्याउन सक्छौं । बोडर्यूले झै तर्क खोज्न सक्छौं । माक्र्सले झै आर्थिक निर्णयवादी (economic determinist) बुद्धि बनाउन सक्छौं । डेरिडाले झै विकल्प खोज्न सक्छौं । बुद्धले झै सापेक्षता (relativity) चिनाउन सक्छौं । कपिलमुनिले झै द्वैध अस्तित्व बोध गराउन सक्छौं । उद्दोलकले झै विकल्प बनाउँदै सत्य खोज्दै गर्न सक्छौं । नेडित नेडति बनाउन सक्छौं ।रूसोले झै प्राकृतिक र कृत्रिम सम्बन्ध चिनाउन सक्छौं ।
यस्ता अनेकौं ‘सक्छौंहरू’ बीच दिनहुँ रहने हामी शिक्षक किन चूप छौं ? यति त भन्न सक्छौं कि मैले दश वर्ष पढाएँ । विद्यार्थीको गणित सिक्ने चारवटा शैली पत्ता लगाएँ । जोड्ने शैली । घटाउने शैली । अनुपात निकाल्ने शैली । अथवा भन्न सक्छौं– मैले मेरै शरीरबाट अनुपात सिकाएँ । नलीखुट्टाको नापबाट । नाकका प्वालको नापबाट व्यास सिकाएँ । मेरै शरीरबाट विज्ञान सिकाएँ । कानमा जाने हावा र मुखमा जाने हावाको मात्राबाट । हावा जाँदा आउने आवाजबाट । त्यसैबाट अर्थशास्त्र सिकाएँ । धेरै खाँदा र थोरै खाँदाको अनुभूतिबाट । अन्तरसम्बन्ध सिकाएँ– मन थाके शरीर थाक्छ भनेर । शरीर थाके– मन सुस्ताउँछ भनेर । धनात्मक ब्रह्म ऊर्जा (positive cosmic says) लिए शरीर हल्का हुन्छ भनेर । ऋणात्मक ब्रह्म ऊर्जा लिए शरीर भारी हुन्छ भनेर । मनभारी हुन्छ भनेर । यसो गर्दा बाहिरिने आँखा भित्रिन्छ । भित्रिने आँखा शोधकर्ता हुन्छ । कतै हामी शिक्षकले त्यसतर्फ पनि सोच्ने कि ? मन नपरेकै पेशा भए पनि पेशाकर्मी बन्ने कि ? मन परेको पेशा हो भने त्यसैमा पहिचान बनाउने कि ? मूर्दा कुर्ने थलो हो भने पनि हिन्दूका राजा हरिश्चन्द्रको बुद्धि भित्रयाउने कि ? अहिले झै धिक्कारमै जिन्दगी जिउने कि ? हामै्र मर्जी । हाम्रै अर्जी । हामीलाई नै अर्जी ।



