सबै बदल्यौं भएनः शिक्षक नै बदलिने कि ?

‘केटीले आँटे एकै छिन, केटाले आँटे वर्ष दिन ।’ गाउँघरको यौनोत्तेजक उखान हो यो । यो उखानलाई शिक्षकमा ढालौं । अभिभावकले आँटे वर्ष दिन । विद्यार्थीले आँटे वर्ष दिन । शिक्षकले आँटे एकै छिन । किनकि जुनखाले भए पनि हामी शिक्षक हौं । खाल बदल्न रहर भए पुग्छ । पेशाकर्मी बन्ने रहर । त्यही सानो रहरले विद्यार्थी सिक्न थाल्छ ।

के बदलौं ?
नीति बदल्यौं । वर्गको शिक्षा जनमान समा पुग्यो । अब पढ्नेहरूले अधिकार बुझे । पढाउनेहरूले कर्तव्य । समस्या रह्यो पढ्नेहरूलाई स्कूल ल्याउने । फेरि नीति बदल्यौं—स्कूल नै बालबालिकाको घरमा जाने । विकल्प मिल्यो । बस्ती मिलेन । छरिएको बस्ती । एक्लिएको स्कूल । पाँच प्रतिशत भन्दा कम स्कूल नजाने बालबालिका । घरघरमा गएर पढाउन नसक्ने शिक्षक । यहाँ शिक्षा नीतिले मात्र काम गरे न । बस्ती नीति आएन । व्यवस्थितग्रामीण बस्तीको नीति । शिक्षकको नियत बदल्ने नीति । पाठ्यक्रम र पाठयपुस्तकले लोभ्याउला कि ? सोच त्यही बन्यो । त्यसैले पाठ्यक्रम बदल्यौं । आवश्यकबाट अपेक्षित पाठ्यक्रम बन्यो । बहिर्मुखीबाट अन्तरमुखी पाठ्यपुस्तक बन्यो । तर पनि शैली एउटै रह्यो । पाठ्यक्रम नपढ्ने । नपढाउने । पाठ्यपुस्तक घोकाउने । सोचाउने बनाउन सकेनौं । परीक्षा बदले पो हुने हो कि ? त्यो पनि गर्यौ । निर्णयात्मक (summative) बाट निर्माणात्मक (formative) परीक्षा लियौं । पटकेबाट निरन्तर मूल्याङ्कन गर्यौ । त्यहाँ पनि अर्को स्थिति भेट्यौं । जाँचको नाम बदलियो । प्रक्रिया बदलियो । जाँचको अभ्यान्तर बदलिएन । विद्यार्थी डराइरह्यौं । शिक्षक हाकिम बनिरह्यौं । जाँच दिने र लिनेको सम्बन्ध तहगतै (hierarchical) रहिरह्यो । बरू शिक्षक नै चोराउन थाल्यौं । चोर्न थाल्यौं । हराम्रो चोर्ने/चोराउने बुद्धिले हामी घट्यौं । विद्यार्थीलाई घटायौं । शिक्षक पो बदल्ने कि ? अर्को सोच बन्यो ।

यसरी एकपछि अर्को पक्ष बदल्ने काम २००४ साल देखि गर्यौ । ६४ वर्षपछि हेर्दा पनि एउटै कुरा पायौं । शिक्षकले सीप सिके । ज्ञान पाए । आत्मविश्वास बढाए । तर गरेनन् । अध्ययनहरूले त्यही भने । भन्दैछन् । अर्थात् तालिम बेकामे बन्यो ।

तलब पो बदल्ने कि ? २०२८ सालमा त्यो पनि गर्यौ । अब त होला कि ? २०६८ सालमा हेर्दा धेरै तलब खानेले राम्रो पढाए, थोरै खानेले नराम्रो भन्न पनि सकेनौं । सरकारी र निजी स्कूल दुवैको नतिजाले त्यही भन्यो । विश्व परिवेशमा पनि यस्ता अध्ययनहरू रहेछन् । तिनले भने—बोनस दिऔं । इनाम दिऔं । तलब बढ्दैमा शैक्षिक स्तर बदलिन्छ भन्ने आधार छैन । किन यस्तो विडम्बना ? अब बदल्ने के त ? नीति ? बदल्ने ठाउँ नै रहेन । पाठ्यपुस्तक र पाठ्यक्रम ? शिक्षकले नै उजिल्याए भएन र ? घाँसी हँसिया उद्याउन जान्दो रहेछ । विश्वकर्मा पाइन मिलाउन जान्दो रहेछ । परियार टाल्न/उधार्न र मिलाउन सक्दो रहेछ । तर शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तक उजिल्याउँदा रहेनछौं । परीक्षा नियमित बनाउँदा रहेनछौं । अब गर्ने के ? किनकि जसले जहाँ र जसरी जे बदले पनि विद्यार्थीसम्म पुग्ने हामी शिक्षक नै रहेछौं । नीति कार्यान्वयन गर्ने हामी । पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने हामी । शिक्षण गर्ने हामी । परीक्षा गर्ने हामी ।

शिक्षक नै बदलिने कि ?
इतिहासले भन्छ—बदल्ने ठाउँहरू ठम्याइए । बदल्ने कामहरू पनि भए । शब्दान्तर होलान् । बदलान्तर रहेनन् । अनिवार्य र निःशुल्क शिक्षा; व्यवसायोन्मुख शिक्षा; प्राविधिक शिक्षा; व्यावहारिक, वैज्ञानिक र जनमुखी शिक्षा । नीतिगत रटहरू यिनै हुन् । राजनीतिक दलहरूले मानेका । पञ्चायती शिक्षाले लेखेका । बेलाबखतका आयोगले बोलेका । अहिलेका शिक्षक युनियन रगणतान्त्रिक शैक्षिक मञ्च तथा मधेशी शिक्षक युनियनले सकारेका । यस अर्थमा नीति बदल्न पुगेछ । पाठ्यक्रम र पाठ्यपुस्तक शिक्षकका औजार रहेछन् । आफैंले उजिल्याउन सकिने रहेछ । परीक्षा र मूल्याङ्कन हाम्रै लहड र तागतमा बदल्न मिल्ने रहेछ । शिक्षक तालिम पनि हामीले नै सिक्न, प्रत्याभूति  (reflect) गर्न र सिकाउन मिल्ने कुरा रहेछ । यस अर्थमा हामी कडी रहेछौं । अब कडी नै बदलिने कि ?

कडी बदल्ने शिक्षक युनियनहरूले एकैथरी शिक्षक देखे । टेड युनियनको शब्दावलीमा ठीकै हो । भुक्तभोगीले भने थरीथरीका शिक्षक देख्यौं । बालबालिकाको सिकाइ र आफ्नो पढाइबारे कुरा गर्ने पेशाकर्मी । देश विकास मा कुरा गर्ने राजनीतिक दलका मित्रकर्मी । आफ्नैगथासो बोक्ने हरामकर्मी । चोर्नेगाईले पेट भर्ने बुद्धि बोकेका चासचुसे चरुवाकर्मी । कित्तामा नछुट्टिएका अलमलकर्मी । सीमा नाघ्ने तागत भएका बहुक्षमताकर्मी । सबैखाले ‘कर्मीहरू’लाई हामीले एउटै तालिम दियौं । पूर्वव्यवहार (entering behaviour) नजानेकाहरूले । तालिममा पूर्व व्यवहार पढाउने ढोंगीहरूले । आफू पूर्व व्यवहारबारे अचेत भएकाहरूले । त्यसैले हामीलाई शिक्षक स्वयं बदलिने तर्किव नै भएन ।

शिक्षक सहजै बदलिँदा रहेछौं । मेरो अनुभवले त्यसै भन्छ । बदल्ने तर्किव भने एउटै होइन रहेछ । जस्तो पेशाकर्मी शिक्षक बदल्न सहजता चाहिने रहेछ । कुटमिरोको घाँस झर्ने बच्चालाई पृथ्वीको गुरुत्वाकर्षण कसरी पढाउने ? भकुण्डो खेल्न पाउनेलाई नि ? प्लानिटोरियम देखेकालाई नि ? यही प्रश्न काफी हुने रहेछ पेशाकर्मीलाई । शैक्षिक सामग्री बनाउनु पनि नपर्ने । विद्यार्थीको अनुभूतिमा पढाइ पनि जोडिने । शिक्षक आफैंले प्रत्याभूति गर्ने । विद्यार्थीको अनुभव अनुसार प्रतिवर्ष आफूले आफैंलाई अद्यावधिक गर्ने । मित्रकर्मी बदलिने अर्को तर्किव चाहिने रहेछ । तपाईंको राजनीतिक दल अनुसार शिक्षा कस्तो हुनुपर्छ ? शिक्षक कस्तो हुनुपर्छ ? पढाइ कस्तो हुनुपर्छ ? पाठ्यक्रम र पाठ्यपुस्तक कस्तो हुनुपर्छ ? परीक्षा कस्तो हुनुपर्छ ? प्रश्नैप्रश्नले मित्रकर्मीको दलीय शैक्षिक सोच दुहुने । दुहेपछि सोध्ने—तपाईंले भने जस्तो शिक्षा यही स्कूलमा दिन के गर्नु परयो ? तपाईंकै दलको शिक्षक राख्ने ? तपाईंकै दलको पाठ्यक्रम लागू गर्ने ? परीक्षा प्रणाली शुरु गर्ने ? पढ्ने/पढाउने शैली प्रयोग गर्ने ? यस्ता प्रश्नको उत्तर मित्रकर्मीसँग भए काम थाल्ने । नभए उसैलाई पेल्न थाल्ने । यसो गर्नाले मित्रकर्मीको देश बनाउने सोच कक्षामा उत्रन थाल्छ । अन्यथा उसले सुनौलो हात (golden handshake) माग्न थाल्छ । सास सहितको अलबिदा खोज्न थाल्छ ।

हरामकर्मी बदलिने बेग्लै तर्किव रहेछ । हेलम्बुमा भेटिएकी अमेरिकी प्राध्यापकको बुद्धि । उनले भनिन्— काम न गरी कसरी दाम लिन सकेका ? तपाईंको घरमा काम न गर्ने ज्यामीलाई ज्याला दिने चलन छ र ? छैन भने तपाईंले कामै न गरी दाम लिन मिल्छ र ? हरामको खाना खानुहुन्छ र ? इहलोकमा हराम बनिने रकम । परलोकमा पाप बोक्ने रकम । ईश्वर नमान्ने हो भने—कामभन्दा दाम धेरै लिने घुस्याहा । यसरी उनलाई थकाउनुपर्छ । नङ्ग्याउनुपर्छ । समाज मा । पेशाकर्मी जमातमा । जहाँ तहाँ । अनि जिस्क्याउनुपर्छ—पश्चात्ताप कसरी गर्ने हरामको रकम खाएकोमा ? ३० पुस्तासम्मका बालबालिकालाई अन्याय गरेकोमा ? गर्ने प्रक्रियामा आबद्ध भएको मा ? यसरी पश्चात्ताप गर्नेहरू स्वतः तालिमप्राप्त हुन्छन् । रत्नाकरहरू वाल्मीकि बने जसरी । अर्थात् उनको तालिम उनै गर्छन् । राम भनेर तर्ने कि रहिम भनेर । बुद्ध भनेर तर्ने कि तागेरानिङ भूमाङ भनेर । इशु भनेर कि साम्यवादी देव (माक्र्स, माओ, लेनिन) पुकारेर । उत्तर उनै खोज्छन् ।

चरुवाकर्मी बदलिने छुट्टै तर्किव हुने रहेछ । कहाँको घाँस मिठो भन्ने प्रश्न गरेर । जहाँ मिठो त्यहीं तिम्रो ठाउँ बनाऊ भनेर । शिक्षण मिठो नलागे छोड । अन्यत्र जाऊ । मिठो लागे अन्यत्र जान छोड भनेर । मिठो कसरी हुन्छ ? उत्तर चरुवाकर्मीसँगै छ । चोर्ने/चोराउने बुद्धिसँगै छ । तालिम पनि उनीहरूसँगै हुन्छ । किनकि चर्दाचर्दै उनीहरूले अनेकन सीप बनाएका हुन्छन् । दुनियाँ देखेका हुन्छन् ।

अलमलकर्मी शिक्षकहरू नमुनाले बदलिने रहेछन् । ठडिने थाँक्रो भने चाहिने रहेछ । ‘म भएँ जे पर्लागर’ यसरी आश्वस्त गराउने व्यवस्थाले उनमा तागत भरिने रहेछ । सिक्ने तागत । खोज्ने तागत । नमुना अनुसार बुन्ने तागत । यसको अर्थ हो— यस्ताखाले शिक्षकलाई सशक्तीकरण गरे पुग्ने रहेछ । तर बहुक्षमताकर्मी शिक्षकले भने अवसर खोज्दो रहेछ । झयाङ्गिने अवसर । सबैतिर हात हाल्ने अवसर । यस्ता अवसर दिन/दिलाउन तालिमदाताहरूको क्रियाशीलता चाहिने रहेछ । प्रत्येक अवसरबाट शिक्षामा के ल्याउनुहुन्छ ? यही प्रश्नले बहुक्षमताकर्मी शिक्षकलाई ऊर्जा दिँदो रहेछ । पसल चलाउँदाको अनुभवबाट शिक्षामा के जोड्ने ? राजनीतिक दलको नेतृत्वबाट के जोड्ने ? ठेक्कापट्टाबाट के जोड्ने ? अरू स्कूल कलेजमा पढाउँदाको अनुभवबाट के जोड्ने ? यी र यस्ता प्रश्नले बहुक्षमताहरू एकत्रित हुने रहेछन् । जहाँ एकत्रित गरे पनि हुने ढङ्गले ।

निचोड
‘केटीले आँटे एकै छिन, केटाले आँटे वर्ष दिन ।’ गाउँघरको यौनोत्तेजक उखान हो यो । यो उखानलाई शिक्षकमा ढालौं । अभिभावकले आँटे वर्ष दिन । विद्यार्थीले आँटे वर्ष दिन । शिक्षकले आँटे एकै छिन । किनकि जुनखाले भए पनि हामी शिक्षक हौं । खाल बदल्न रहर भए पुग्छ । पेशाकर्मी बन्ने रहर । त्यही सानो रहरले विद्यार्थी सिक्न थाल्छ । चरा किन उड्यो ? भैंसी किन उडेन ? भँगेरा कति माथि उड्यो ? परेवा नि ? परेवा घरेलु भयो, भँगेरा किन भएन ? यी र यस्ता स–साना प्रश्नले विद्यार्थी आफैं खोज्छ । प्रश्न दिने कला हामी शिक्षकसँग छ । हुन्छ । हुनुपर्छ । जुनखाले शिक्षकले पनि प्रश्न गर्न सक्छौं । आफैंले आफूलाई प्रश्न । पैसाको दुरुपयोग गर्ने भ्रष्टाचारी भए । समयको दुरुपयोग गर्ने नि ? पेशाको दुरुपयोग गर्ने नि ? जिम्मेवारीको दुरुपयोग गर्ने नि ? कर्तव्यको दुरुपयोग गर्ने नि ? क्षमताको दुरुपयोग गर्ने नि ? यस्ता प्रश्नले हराम्रो तक्मा बदलिने रहेछ । शिक्षकलाई अभिभावकले दिएको अनपेक्षित तक्मा । विद्यार्थीले दिएको अनाहक तक्मा ।

के हामी यसरी झण्डै शताब्दी अघिकागिजुभाईलाई उत्तर दिन सक्छौं ? के नेपालका मौलिकगिजुभाई बन्न सक्छौं ? के निष्ठावान पेशाकर्मी शिक्षक हुन सक्छौं ? के जेन्दाआवेसाका महर्षिले विश्व बदल्न आफैं बदलिएको दृष्टान्त लागू गर्न सक्छौं ? के नेपालमा काम गर्ने जापानी महिलाले भने झै शिक्षक पेशाबाट आर्जेको खाना खाएर अरूको कुरा गर्ने र काममा जाने संस्कार बदल्न सक्छौं ? सक्यौं भने तालिम त अनुभवले दिन्छ । जिज्ञासाले दिन्छ । परिवेशले दिन्छ । हिजो यसरी पढाएँ, आज बदलौं न त भन्ने रहरले दिन्छ । यो पाठ यो सन्दर्भमा कसरी पढाउने भन्ने प्रश्नले दिन्छ । कतै शिक्षक स्वयंले बदलिने तर्किव खोज्ने कि ?

commercial commercial commercial commercial