शिक्षक आन्दोलन तन्किँदै
नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले ४७ सूत्रीय माग राखेर ९ फागुन २०६८ देखि सञ्चालन गरेको संयुक्त शिक्षक आन्दोलन माओवादीको सरकार र विशेषतः त्यसका नेता शिक्षामन्त्री दीनानाथ शर्माका निम्ति अप्ठ्यारो चुनौती बन्न पुगेको छ । शिक्षक प्रतिनिधि र शिक्षा मन्त्रालयबीच फागुनको अन्तिम सातासम्म वार्ता जारी रहे पनि समस्याको निकासा फेला पर्ने सम्भावन क्षीण देखि एको छ ।
आफ्ना र स्कूल कर्मचारीका समेत माग पूरा गराउन युनियन र मञ्चले यसबीचमा सबै जिल्ला सदरमुकाममा प्रअ, स्रोतव्यक्ति र स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेर आन्दोलन शुरु गरेका थिए । फागुनको दोस्रो र तेस्रो सातामा शिक्षकहरूले एकातिर पार्टी प्रतिनिधिसँग छलफल गरेका थिए भने अर्कातिर शिक्षा मन्त्री र शिक्षा प्रशासकका कार्यक्रम बहिष्कार तथा धर्ना, तालाबन्दी, असहयोग जस्ता विरोध कार्यक्रम पनि सँग सँगै सञ्चालन गरेका थिए । १५–१९ फागुनमा चाहिँ स्कूल बन्द गरेर शिक्षकहरूले विरोध जुलुस तथा सभा गरेका थिए । जुलुस र धर्नाका क्रममा ठाउँठाउँमा प्रहरीसँग झ्डप हुनुका साथै कैयौं शिक्षकहरूगिरफ्तारीमा पनि परेका थिए ।
शिक्षामन्त्री दीनानाथ शर्माले चाहिँ मन्त्रिपरिषद्ले शिक्षा ऐनको आठौं संशोधन पारित गरिसकेकोले अब शिक्षक आन्दोलनको औचित्य सकिएको बताउने गरेका छन् । शिक्षा ऐनको संशोधन अध्यादेशबाट गराए र भए पनि शिक्षक–कर्मचारीका माग पूरा गर्न आफू लागि परेको शिक्षामन्त्री शर्माको दाबी छ । उनले शिक्षकहरूलाई आन्दोलन छाडेर कक्षामा फर्किन पटक–पटक आग्रह गरेका छन् । युनियन र मञ्च पनि सरकारले अस्थायी शिक्षक र स्कूल कर्मचारीका समस्या समाधान गरी सहयोगी कार्यकर्ताको तलब बढाइदिएमा आन्दोलन टुङ्ग्याउन तत्पर देखिन्छन् । तर, शिक्षा ऐनको संशोधन नभई ती माग पूरा गर्न नसकिने अडानमा शिक्षा मन्त्रालय देखि एको छ ।
उमावि शिक्षक पनि आन्दोलनमै
यसैबीच नेपाल सामुदायिक उमावि शिक्षक युनियनले आफ्नो पेशागत आन्दोलन जारी राख्ने जनाएको छ । सामुदायिक उमाविका शिक्षा र शिक्षकको सेवासँग सम्बद्ध १५ सूत्रीय माग राखेर १३ फागुन २०६८ देखि शुरु भएको पहिलो चरणको युनियनको आन्दोलन फागुनको अन्तिम साता सकिएको थियो । युनियनले सरकारसँग सामुदायिक उमाविमा विषयगत दरबन्दी सृजना गरिनुपर्ने, सामुदायिक उमाविलाई आर्थिक दायित्व सहित स्थायी सम्बन्धन दिइनुपर्ने, उमावि शिक्षालाई निःशुल्क गरिनुपर्ने लगायतका नीतिगत मागहरू अघि सारेको छ ।



