आलु–प्याजबाट अक्षय कोष !

२ पुस २०६५ मा एक अपरिचित वृद्धले ज्ञानदा मावि, हेटौँडाको कार्यकक्षमा एकत्रित शिक्षकहरूसँग एउटा प्रस्ताव गरे , “मसँग रु.२,१०० छ । यो पैसा म विद्यालयलाई दिन चाहन्छु । यसबाट अक्षय कोष खडा गरौँ ।” शिक्षकहरूको प्रारम्भिक प्रतिक्रिया स्वाभाविक थियो, “यति पैसाले के अक्षय कोष खोल्ने ?”

तर तत्कालै अर्को प्रस्ताव अघि सारे, “हो यो पैसा थोरै नै हो । तर विद्यार्थीलाई हरेक शुक्रबार आफ्नो भान्छाबाट एउटा आलु वा प्याज ल्याउन लगाऊँ । त्यो नभए एक रुपैयाँ राख्न लगाऊँ । त्यही आम्दानीलाई अक्षय कोषमा थप्दै जाऊँ !” वृद्धको यो प्रस्तावमा सबैको मन मिल्यो । विद्यालयको स्रोतबाट त्यति नै रकम थपेर रु.४,२०० को अक्षय कोष स्थापना गरियो ।

त्यसपछि ; हरेक शुक्रबार विद्यार्थीहरू घरबाट आलु–प्याज ल्याउन थाले । यो कार्य स्वेच्छिक थियो । नजिकका पसलेले बजार मूल्यभन्दा एक रुपैयाँ कम दिएर स्कूलमा जम्मा भएको आलु–प्याज किनिदिन थाले । अक्षय कोष कार्यक्रम आलु–प्याजमा मात्रै सीमित रहेन । शिक्षक–विद्यार्थीबाट पुराना कीला/काँटी, फलामका टुक्रा र हेटौँडाका ६ वटा होटलमा विद्यालयको नाममा ठूला बाल्टिनहरू राखेर ‘कोल्ड ड्रिङ्स’का बोतलका बिर्को पनि सङ्कलन गर्न थालियो । यस्ता सबै चिजको बिक्रीबाट उठेको रकमबाट अक्षय कोष ठूलो हुँदै गयो ।

हाल विद्यालय व्यवस्थापन समितिका सदस्य राम कुमार विष्टको संयोजकत्वमा ९ सदस्यीय ‘ज्ञानदा बृहत् शैक्षिक कोष समिति’ जिल्ला प्रशासन कार्यालयमा दर्तागराइएको छ । विभिन्न व्यक्तिको सहयोगमा रु.५०–५० हजारका तीन वटा उप–कोष पनि बनाइएका छन्– पूर्णभद्र ढुङ्गाना स्मृति कोष, सुशीला पाण्डे शैक्षिक पुरस्कार कोष र योगबहादुर एण्ड कुन्ती स्मृति कोष । विद्यालयले अक्षय कोषका निम्ति रु.५,००१ को आजीवन सदस्यताको व्यवस्था गरेको छ । शिक्षक एवं अक्षय कोष समितिका सदस्य–सचिव हयग्रीव आचार्यका अनुसार, शिक्षक, अभिभावक, राजनीतिकर्मी, उद्योगी/व्यवसायी लगायत ४० जनाले आजीवन सदस्यता लिएका छन् । रु.२,१०० बाट बीजारोपण भएको अक्षय कोषमा अहिले रु.७ लाख नाघेको छ ।

अक्षय कोषका प्रस्तावक वृद्ध थिए– चितवन, बछ्यौलीका ७१ वर्षीय समाज सेवी हिमकान्त शर्मा न्यौपाने । ज्ञानदा माविका प्रअ रामसागरगुरागाइँले भने, “वृद्ध मानिसको प्रस्तावमा भद्रता देखेर हामीले स्वीकारेका थियौँ । अहिले त नसोचेको सफलता पाइएको छ ।” ज्ञानदाको ‘आलु–प्याज सङ्कलन कार्यक्रम’ले हालसम्म निरन्तरता पाउँदै आएको छ ।

अक्षय कोषको रकम रु.१० लाख पुगेपछि त्यसबाट प्राप्त हुने व्याजबाट विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, कापी, कलम उपलब्ध गराउने र परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्ने लक्ष्य लिइएको जानकारी शिक्षक हयग्रीव आचार्यले दिए ।
प्रमोद आयाम, हेटौंडा

विद्यालयको सक्षमता मापन हुँदै

आधारभूत तहमा प्रभावकारी शिक्षण सिकाइका निम्ति हाम्रा सामुदायिक विद्यालयहरू कत्तिको सक्षम छन् ? विद्यालयमा न्यूनतम भौतिक तथा शैक्षिक पूर्वाधार पुगेको छ कि छैन ? सरकारले पहिलो पटक यसको खोजी गर्ने तत्परता देखाएको छ ।
शिक्षा विभागले विद्यालयको न्यूनतम सक्षमताको अवस्थाबारे पाँचवटा सूचक तयार गरेर जिल्ला शिक्षा कार्यालयमार्फत सबै विद्यालयमा यसको सर्वेक्षण फाराम पठाएको छ । त्यसमा कक्षाकोठा, शिक्षक, पाठ्यपुस्तक, शौचालय र शिक्षण सिकाइ सामग्री/बुक कर्नरलाई सक्षमताको न्यूनतम सूचक मानिएको छ । खास गरी दातृ संस्थाले यसमा चासो देखाएपछि यस्तो विवरण सङ्कलन थालिएको जानकारी विभागका अधिकारी हरूले दिएका छन् ।

कक्षाकोठाको भौतिक अवस्था (घामपानी छेक्ने/नछेक्ने), शिक्षक सङ्ख्या पुगे/नपुगेको, विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाए/नपाएको, शौचालयको सङ्ख्या(छात्राका निम्ति छुट्टै भए/नभएको ) विवरण सर्वेक्षण फाराममा समेटिने छन् । साथै, विद्यालयमा पाठ्यक्रम, शिक्षक निर्देशिका, बालसन्दर्भ सामग्री र बुक कर्नर भए/नभएको अवस्थालाई पनि यो सर्वेक्षणले देखाउने छ । विभागका उपनि र्देशकगणेश पौडेलले भने, “स्तरीय शिक्षाका निम्ति हाम्रा विद्यालयहरू सक्षम छन् वा छैनन् भन्ने परिणाम यो सर्वेक्षणले देखाउने छ । त्यसैका आधारमा भावी बजेट र कार्यक्रमहरू केन्द्रित हुनेछन् ।” यस्तो विवरण फागुनको दोस्रो साताभित्र विभागमा आइपुग्ने बताइएको छ ।

बुनिया विवादले विद्यालय बन्द !

शिक्षक नियुक्ति र व्यवस्थापन समितिका पदाधिकारीको चयनमा विवाद हुँदा विद्यालय बन्द भएका घटना त कैयन् पटक देखे, सुनिएकै हो । तर, सप्तरीको एउटा विद्यालयमा ल्याइएको बुनिया पत्तै नदिई विद्यार्थीले खाएको निहुँमा शिक्षकले ९ दिन विद्यालय बन्द गरेका छन् ।

सुन्दा उदेक लाग्ने यो घटना सप्तरीको बभनगामाकट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह उमाविको हो । १६ माघको सरस्वती पूजाको प्रसादको निम्ति तयार गरेर एउटा कोठामा राखिएको बुनिया विद्यार्थीले पहिल्यै ढोका खोलेर खाइदिएको झेंकमा शिक्षकले विद्यालय बन्द गरिदिए । विद्यालयका सहयोगी शिवशङ्कर मण्डलले भने, “बुनियाकै विषयलाई लिएर शिक्षक र विद्यार्थीबीच भनाभन भयो र शिक्षकले ताला लगाइदिए ।”

२४ माघमा शिक्षक, विद्यार्थी र अभिभावकबीचको संयुक्त बैठकले आउँदा दिनमा समझ्दारी गरेर अघि बढ्ने सहमति गरे पछि ताला खोलिएको छ । प्रअ मेदनारायण देव भने विद्यार्थीले उद्दण्डता देखाएका कारण पठनपाठनको वातावरण नभएकाले ताला लगाइएको बताउँछन् । उनले भने, “विद्यार्थीले ढोकै फोडेर बुनिया झ्किेपछि विवाद भयो । उनीहरूले शिक्षक माथि दुव्र्यवहार गरे । त्यो अवस्थामा पठनपाठन गर्ने अवस्था नभएर बन्द गरेका हौँ ।”

सदरमुकाम राजविराजबाट १२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने लक्ष्मीबल्लभ उमावि जिल्लाकै पुरानो विद्यालयको सूचीमा पर्छ । यहाँ करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् । जिशिकाका अधिकृतहरूले भने विद्यालय बन्द भएको घटनाप्रति अनभिज्ञता जनाएका छन् ।७
श्रवण देव, राजविराज

वाणिज्य ब्याङ्कको शिक्षक केन्द्रित योजना

राष्ट्रिय वाणिज्य ब्याङ्कले विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक–प्राध्यापकहरूलाई लक्षित गर्दै विशेष बचत तथा कर्जा सेवा योजना ल्याएको छ । स्थायी शिक्षक तथा प्राध्यापकहरूले यो सुविधा पाउनेछन् ।

ब्याङ्कद्वारा २६ माघमा जारी प्रेस विज्ञप्ति अनुसार, शिक्षक–प्राध्यापकले शून्य मौज्दातमा ‘शिक्षक बचत खाता’ खोल्न सक्नेछन् । यस खाताअन्तर्गत दैनिक मौज्दातमा ५ प्रतिशत ब्याज, निःशुल्क डेविट(एटिएम) कार्ड, ई–ब्याङ्किङ, एसएमएस ब्याङ्किङसँगै अन्तरशाखा कारोबारमा शुल्क नलाग्ने (एबीबीएस सेवा) लगायतका सुविधा दिइने ब्याङ्कले बताएको छ ।

उक्त निक्षेप योजनामा सहभागी हुने शिक्षक–प्राध्यापकले लकर सेवामा २५ प्रतिशत र रु.५० हजारसम्मको सुनचाँदी कर्जामा ०.५ प्रतिशत र छोराछोरीको शैक्षिक कर्जा सेवामा ४० प्रतिशत छुट प्राप्त गर्ने छन् । ट्राभलर्स चेकमा लाग्ने सम्पूर्ण शुल्कमा छुट दिइनेछ ।  

साथै, शिक्षक–प्राध्यापकलाई सहुलियत व्याजदरमा रु.५ लाखसम्म कर्जा सुविधा उपलव्धगराइने वाणिज्य ब्याङ्कले जनाएको छ । राष्ट्रिय वाणिज्य ब्याङ्कका देशभरका सबै शाखाबाट यो सुविधा उपलब्ध हुनेछ । ब्याङ्कका ६३ जिल्लामा १३८ शाखाहरू छन् ।

commercial commercial commercial commercial