अबको प्राथमिकता पूर्वप्राथमिक-बालविकास केन्द्र

कोटेश्वरको ग्रामर मन्टेसरीको उज्यालो तथा फराकिलो कोठामा २० माघ २०६८ मा ७ जना बालबालिका स्वतन्त्ररूपले आ–आफ्नो धुनमा मग्नमस्त थिए । कोही सेतो पाटीमा अङ्क/अक्षर लेख्दै थिए त केही शैक्षिक सामग्रीसँग खेल्दै थिए । कसैलाई कुनै सहयोग जरुरी पर्दा शिक्षक रिकम राई नानीहरू नजिक पुगिहाल्थिन् ।

साढे दुई वर्ष देखि ६ वर्ष उमेर समूहका बालबालिकाका निम्ति त्यहाँ दैनिक जीवनमा उपयोग हुने गतिविधि (प्राक्टिकल लाइफ एक्टिभिटी) सिकाउन आवश्यक थुप्रै सामग्री राखिएका छन् । नानीहरू ती सामग्रीको सहयोगमा स्वअभ्यास गर्छन् । उनीहरूलाई गणित र भाषाको अवधारणा बसाउन सहयोग पुर्‍याउने सामग्रीको व्यवस्था छ । करिब रु.७ लाखमा किनिएका यस्ता तीन सय सामग्रीले मन्टेसरी कक्ष चिटिक्क छ । शिक्षक रिकम राई भन्छिन्, “साना नानीहरूलाई स्वतन्त्र रूपमा शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । तिनै सामग्रीको प्रयोगबाट नानीहरूमा भाषा, गणित, दैनिक जीवनमा आइपर्ने काम र पाँच ज्ञानेन्द्रियले थाहा पाउने कुराहरूको अवधारणा विकास हुन्छ ।”

त्यहाँ बालबालिकाका निम्ति डेस्क–बेन्चको हैन कपडाका चकटी राखिएको छ । बालबालिका स्वयंले झिकेर प्रयोग गर्न सक्ने गरी शैक्षिक सामग्री होचा र्‍याकमा राखिएका छन् । नानीहरूले यताउता सार्न सक्ने आकारका साना टेबुलको व्यवस्था छ । यहाँ घोकाउने, दबाब दिएर सिकाउने, नानीहरूलाई तँ भन्ने, चर्को स्वरमा बोल्ने, फकाउने, कुनै कुरा दिएर वा भनेर लोभ्याउने काम हुँदैन, नानीहरूलाई तपाईं भनिन्छ । “तैपनि अभिभावकहरू अझै पनि छोराछोरी मन्टेसरीमा राख्न तयार देखिँदैनन्, किनभने उनीहरू नानीहरूलाई घोकाउने, श्रेणी र तहगत रूपमा विभाजन गर्ने, गृह कार्य तथा कक्षा कार्यमा लगाउने, सामूहिक रूपमा यो लेख, यो पढ, भनेको मन पराउने चरणबाट मुक्त हुनसकेका छैनन्”, ग्रामर मन्टेसरीका संयोजक जयकुमार राइले शिक्षकसँग भने ।

मन्टेसरीको मज्जाः कोटेश्वरको ग्रामर मन्टेसरीमा खेल्दै सिक्दै नानीहरू ।

मन्टेसरी कक्षा शुरु गर्नु अघिग्रामरले अभिभावकलाई मन्टेसरी सिकाइ पद्धतिबारे अन्तरक्रियात्मक प्रशिक्षण चलाएको थियो । त्यसै गरी शिक्षकहरूलाई ९ महिना लामो तालिम दिइएको थियो । सबै पूर्वाधार तयार भएपछि गएको वर्ष देखि शुरु गरिएको उक्त मन्टेसरीलाई जिशिका काठमाडौँले ‘क’ श्रेणीमा सूचीकृत गरेको छ । संयोजक राई भन्छन्, “बालबालिकाको सबैभन्दा महत्वपूर्ण उमेर ६ वर्षसम्म हो, यो उमेरका नानीहरूमा विकास भएको धारणा आजीवन कायम रहन्छ, त्यसकारण ६ वर्षसम्मका नानीहरूलाई अरूलाई भन्दा बढी ध्यान दिनुपर्छ ।” मन्टेसरी सिकाइपद्धति खर्चिलो, नयाँ, सबैको जानकारीमा नभएकाले धेरैजसो शहरिया अभिभावक किन्डरगार्टेन पद्धति रुचाउँछन् । स्कूल जाने वित्तिकै क ख र ए बी सी डी सिक्नुपर्छ भन्ने अभिभावकको धारणा रहेका कारण कोटेश्वरकोग्रामर कलेजले मन्टेसरी शुरु गरे पनि किन्डर गार्टेन पनि हटाएको छैन ।

किन्डरगार्टेनको कथा
२० माघ २०६८ मा साढे २ वर्ष देखि ६ वर्षसम्मका नानीहरूग्रामर मन्टेसरीमा आफैँ सिकिरहेको बेला नजिकैकोग्रामर एल केजी मा चाहिँ पाँच जना नानीलाई एउटै टेबुलमा राखेर शिक्षक प्रतिमा राई अङ्ग्रेजी शब्द लेख्न सिकाउँदै थिइन् । शिक्षक राई कापी जाँचेर कसैलाई ए प्लस कसैलाई बी कसैलाई सी दिएर नानीहरूको मूल्याङ्कन गर्दै थिइन् । “मन्टेसरी र किन्डरगार्टेनको सिकाइ पद्धतिमा ठूलो अन्तर छ, किन्डरगार्टेनमा हामी निर्धारित पाठ्यक्रम पढाउँछौँ, मन्टेसरीमा नानीहरूले स्वतन्त्र र व्यक्तिगत तवरमा सिकिरहेका हुन्छन्”, उनी भन्छिन् । एउटै उमेर समूहका नानीहरूलाई दुईथरी पद्धतिमा सिकाउँदा तिनको सिकाइ स्तर फरक हुन्छ । किन्डरगार्टेनमा नानीहरूको लेख्ने/पढ्ने स्तर जाँचेर प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजी हुँदै कक्षा एकमा पुर्‍याइन्छ । मन्टेसरीमा भने भिन्नभिन्न उमेर समूहका नानीहरूलाई ६ वर्षको उमेरसम्म एउटै चिल्ड्रेन हाउसमा राखेर कक्षा १ मा भर्ना गरिन्छ ।

कतिपय निजी स्कूलमा शैक्षिक /भौतिक पूर्वाधार नभए पनि मन्टेसरी बोर्ड चाहिँ झुण्ड्याएको भेटिन्छ । तर, त्यस्ता नाम मात्रका मन्टेसरीमा प्रायः किन्डरगार्टेन पद्धतिमै पठनपाठन हुन्छ । नामधारी मन्टेसरीको फन्दामा शहरका शिक्षित अभिभावकहरू पनि परेका छन् । केही निजी स्कूलले भने युरोकिड्स नामको अर्को बालविकास कार्यक्रम चलाएका छन् ।

किन्डरगार्टेनको कथाः ग्रामर किन्डरगार्टेनको एलकेजीमा नानीहरूलाई सिकाउँदै शिक्षक प्रतिमा राई ।

टुहुराको ग्रीनतारा
काठमाडौँको आरुबारीस्थित चाइल्ड हेभन इन्टरनेशनल स्कूलले निमुखा अभिभावकका सन्तान र टुहुरा नानीहरूका निम्तिग्रीनतारा मन्टेसरी चलाएको छ । दुई वटा सेक्सनमा ३०/३० जना नानीहरूलाई दुई/दुई जना शिक्षकले सिकाउने/सघाउने गरेका छन् त्यहाँ । यहाँ पनि नानीहरूले पढेर होइन, आफैँले अभ्यास गरेर सिक्छन् । टुहुरा नानीहरूलाई निःशुल्क र अरूलाई मासिक रु.५०० मा मन्टेसरीमा राख्ने गरिएको छ ।

ग्रीनतारा मन्टेसरीले शोभा राईलाई मारिया मन्टेसरीले भारतको चेन्नईमा खोलेको मन्टेसरी तालिम केन्द्रमा प्रशिक्षण लिन पठाएको छ । उनी आउँदो वैशाखमा फर्किएपछि ग्रीनतारा अरूग्रीन हुने त्यहाँका शिक्षकहरूको अपेक्षा छ । बालविकास को लागि मन्टेसरी पद्धति प्रभावकारी सावित भए पनि यसबारे अभिभावकलाई बुझाउन कठिन भएको अनुभव त्यहाँका शिक्षकहरूको पनि छ ।ग्रीनताराका प्रअ अर्जुनमणिगुरागाईंको बुझइ छ, “बालविकास को लागि घरमा पनि मन्टेसरीकै वातावरण चाहिन्छ । हराम्रो चुनौती अभिभावकलाई मन्टेसरी सिकाइ पद्धति र बालविकास को कुरा बुझाउनु हो ।” तीन वर्षअघि शुरु गरिएको उक्त मन्टेसरीमा त्यसअघि किन्डरगार्टेन थियो ।

शिक्षा विभागको स्कूल लेभल एजुकेशन स्टाटिस्टिक अफ नेपाल २०१० का अनुसार देशभरिमा मन्टेसरी, किन्डरगार्टेन, युरोकिड्ससहित ४ हजार ३१६ निजी बालविकास केन्द्र छन् भने सरकारी स्कूल र समुदायमा आधारित सामुदायिक बालविकास केन्द्रको सङ्ख्या २६ हजार ७७३गनिएको छ । यसरी देशभरका जम्मा ३१ हजार ८९ निजी र सामुदायिक बालविकास केन्द्रमा अहिले ४ लाख ८८ हजार ९१६ बालिका र ५ लाख २९ हजार ६२७ बालक गरी जम्मा १० लाख १८ हजार ५४३ नानीहरू रहेको सरकारी आकलन छ । शिक्षा विभागको तथ्याङ्कले ६ वर्षमुनिका ७३ प्रतिशत बालबालिका बालविकास मा भर्ना भएका र बाँकी २७ प्रतिशत अझै बालविकास केन्द्रको पहुँच बाहिर रहेको देखाउँछ ।

सकारात्मक सुरुआत
निजी स्कूलका मन्टेसरी र किन्डरगार्टेन जस्ता बालविकास केन्द्रमा सिक्ने/पढ्ने अवसर पाउने ‘भाग्यमानी’ बालबालिका १ लाखभन्दा बढी छैनन् । पाँच वर्षमुनिका ९ लाखभन्दा बढी बालबालिका अहिले समुदाय र सरकारी विद्यालयमा खोलिएका बालविकास केन्द्रमा छन् । बालविकास को अवधारणा नयाँ भए पनि नेपालमा बालविकास केन्द्रको स्थापना र विस्तार द्रूतगतिमा भइरहेको छ । ‘सबैका लागि शिक्षा’ कार्यक्रम अन्तर्गत नेपालले सन् २०१५ सम्ममा ७४ हजार बालविकास केन्द्र खोल्ने लक्ष्यका साथ २०५९ साल देखि समुदायमा आधारित बालविकास केन्द्र स्थापना गर्न थालेको हो । तर, पछि आएर यो लक्ष्य ५६ हजार बालविकास केन्द्रमा झरिएको छ । यो सङ्ख्या पनि कुल स्कूल सङ्ख्याको करिब दोब्बर हो ।

सरकारीका सारथिः ललितपुरको पाटनढोकास्थित शान्ति विद्याश्रम प्राविका ६ वर्षमुनिका नानीहरू ।

त्यसो त बालविकास केन्द्रमा नपुगेका नानीहरूलाई सोझै कक्षा १ मा भर्ना गर्ने गरिएको छ । शान्ति विद्याश्रम प्रावि पाटनढोका, ललितपुरको कक्षा १ मा भर्ना गरिएकी पाँच वर्षीय करिना तामाङ यसकै दृष्टान्त हुन् । बाबुआमा दुवैले अन्यत्र विवाह गरेर करिनालाई बिचल्ली पारेपछि ठूलीआमाले उनलाई शान्ति विद्याश्रममा कक्षा १ मा भर्ना गरे की हुन् । करिना भन्छिन्, “ममी नयाँ बुबासँग विवाह गरेर जानुभयो, बुबाले पनि नयाँ ममी ल्याउनुभयो, म ठूलो ममीसँग बस्छु ।”

बिहान १० बजे घरमा खाना खाएर आउने करिनाले फेरि खान पाउन अपरान्ह तीन बज्नुपर्छ । स्कूलपछि उनी ठूलीआमाको डेरामा पुगेर खाजा खान्छिन् । “यस्ता नानी देख्दा बालविकास शब्दकै उपहास भए जस्तो लाग्छ”, शान्ति विद्याश्रमकी शिक्षक प्रभा पोखरेल भन्छिन् । बालविकास केन्द्रका लागि नानीहरूलाई खाजाको व्यवस्था छैन ।

करिनाको जस्तै कथा छ उक्त स्कूलका कक्षा १ का पाँच वर्षका विशाल सुवालको पनि । बालविकास केन्द्र कहिल्यै नदेखेका उनलाई सोझै कक्षा १ मा राखिएको छ । बाबुले छोडेर हिँडेपछि आमाले अर्काको घरमा काम गरेर पालनपोषण गरे की छन् विशाललाई ।

ग्रामीण तथा शहरी भेगका आर्थिक अवस्था कमजोर भएका अधिकांश अभिभावकले बालबालिकालाई सामुदायिक बालविकास केन्द्र र कक्षा १ मा भर्ना गर्ने गरेको पाइन्छ । तर, बालविकास केन्द्रमा राखिएका नानीहरूको सिकाइ उपलब्धि दर कक्षा १ मा सोझै भर्ना गरिएका नानीहरू भन्दा रराम्रो रहने गरेको शिक्षा विभागको प्रारम्भिक बालविकास शाखाकी अधिकृत सविता दङ्गाल बताउँछिन् । उनले भनिन्, “बालविकास भनेको स्कूलका लागि तयार गर्ने हो । बालविकास मा राखिएका नानीहरूको स्कूल छाड्ने दर कम तथा सिकाइ उपलब्धि पनि रराम्रो देखि एको छ ।”

विकसित देशहरूमा कलिला बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र सरसफाइलाई अत्यधिक जोड दिने गरिएकाले नेपालमा पनि बालविकास लाई महत्व दिन थालिएको छ । शिक्षा मन्त्रालयले २०६१ मा बनाएको नेपालमा प्रारम्भिक बालविकास सम्बन्धी रणनीति अनुसार शिक्षा विभागले प्रारम्भिक बालविकास सम्बन्धी निर्देशिका, प्रारम्भिक बालविकास केन्द्रको न्यूनतम राष्ट्रिय मापदण्ड, मार्गदर्शक पुस्तिका, बालविकास केन्द्रका पदाधिकारीका लागि हाते पुस्तिका, बालविकास केन्द्र खोलिएका स्कूलका प्रअ तथा शिक्षक सम्बन्धी अभिमुखीकरण पुस्तिका, बालविकास को पेडागोजी प्याकेज, सहयोगी कार्यकर्ताका लागि पुनर्ताजगी तालिम आदि जस्ता बालविकास सम्बन्धी सामग्री तयार गरेर स्कूल–स्कूलमा पढाउने गरेको छ । विभागले प्रअ, शिक्षक, बालविकास केन्द्र व्यवस्थापन समितिका पदाधिकारी र केन्द्रका सहयोगी कार्यकर्तालाई बालविकास का विभिन्न पक्षमा नियमित रूपमा प्रशिक्षण पनि दिने गरेको छ ।

विभागले यो वर्ष बालविकास केन्द्र व्यवस्थापनका लागि वर्षको एक हजार, बालविकास कार्यक्रम खर्च ११ करोड र हिमाली भेगका सहयोगी कार्यकर्ताका लागि मासिक २ हजार ६००, तराई, पहाड र उपत्यकाका लागि २ हजार ४०० का दरले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । अब पीसीएफ मोडालिटीमा वार्षिक प्रति बच्चा १०० उपलब्ध गराउने तयारी गरिएको विभागकी अधिकृत दङ्गाल बताउँछिन् । “बालविकास कार्यक्रम शुरु भएको छ, तैपनि लगानी न्यून छ, गुणस्तर बढाउन लागत नबढाइ सुख छैन”, उनले भनिन् । शिक्षा नियमावलीको नियम ६८ अनुसार बालविकास केन्द्र खोल्ने अनुमति स्थानीय निकायले दिने व्यवस्था छ भने अनुगमन चाहिँ जिल्लास्थित प्रारम्भिक बालविकास परिषद्ले गर्छ ।

अबका चुनौती
केही निजीस्तर मा खुलेका पूर्व प्राथमिक स्कूलको भौतिक शैक्षिक पूर्वाधार सन्तोषजनक भए पनि न्यून लगानीका कारण धेरैजसो सामुदायिक बालविकास केन्द्रमा साना नानीहरू रमाउने खालको पूर्वाधार र शैक्षिक सामग्रीको अभाव छ । विकसित राष्ट्रमा सबैभन्दा बढी लगानी बालविकास मा हुन्छ ।  तर, नेपालमा भने पूर्व प्राथमिक तहमा भन्दा बढी लगानी प्राथमिक तहमा छ । बालविकास मा बजेट नपुगेका कारण शिक्षा विभागले निर्धारण गरेका बालविकास रणनीति, लक्ष्य र मापदण्ड समेत पूरा हुन नसकेको देखिन्छ । त्यसैले बालविकास मा लगानी बढाउने कुरा मा सरकारको ध्यान जानु जरुरी देखिन्छ ।

बालविकास को अवधारणा अनुसार तिनलाई हुर्काउने/सिकाउने सहजकर्ता/शिक्षकहरूको पनि ठूलो अभाव छ । निम्न शैक्षिक योग्यताका सहजकर्ताको भरमा अधिकांश बालविकास केन्द्र चलेका छन् । स्नातक गरेर बालविकास सम्बन्धी तालिम लिएका व्यक्तिलाई पूर्व प्राथमिक तहको शिक्षक हुन योग्य मानिने सर्वस्वीकृत मापदण्ड भए पनि नेपालमा १० कक्षा उत्तीर्ण गरी ९० दिने तालिम लिएका व्यक्तिलाई बालविकास केन्द्रको सहयोगी कार्यकर्ता बनाउने प्रचलन छ । त्यस्ता कार्यकर्ता पनि अन्यत्र राम्रा अवसर पाए त्यतै लाग्ने गरेका छन्, जसलाई शिक्षा विभागले चुनौतीको रूपमा लिएको छ । “न्यून पारिश्रमिकका कारण सहयोगी कार्यकर्ताको ड्रपआउट हुन्छ, त्यसलाई रोक्न सकिएको छैन,  विभागकी शाखा अधिकृत सविता दङ्गाल थप्छिन् ।

सरकारी बालविकास केन्द्रको मात्र होइन मन्टेसरी र किन्डरगार्टेनका शिक्षकले पनि काम अनुसारको दाम नपाएको गुनासो गरेका छन् । “ठूलो काम थोरै दाम जस्तो स्थिति छ”, ग्रीनतारा मन्टेसरीकी शिक्षक मीना बस्यालको कथन छ ।  

शिक्षा विभाग र केही निजी संस्थाले बालविकास का बारेमा शिक्षक तालिम दिने गरे पनि बालविकास को बारेमा स्तरीय तालिम दिने संस्थाको खाँचो छ । स्वदेशमै लामा–छोटा अवधिका बालविकास सम्बन्धी तालिम लिएका शिक्षकहरू पनि आफूले पाएको बाल शिक्षण सीपसँग सन्तुष्ट हुनसकेको देखिँदैन । मन्टेसरी पद्धतिको तालिम दिने आधिकारिक संस्था भारतको चेन्नईमा मात्र छ । उक्त तालिम लिन १० लाखभन्दा बढी लाग्छ । तर, नेपालमा थोरै रकममा उक्त तालिम दिने संस्थाहरू भए पनि ती तालिमको विश्वसनीयता सन्देहरहित छैन ।  

तथापि बालविकास कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प छैन किनभने एउटा बालक केही समयका लागि, त्यो पनि एकपटक मात्र बालक रहन्छ । बालविकास बाट बञ्चित बालकले जीवनको जग बलियो पार्ने अवसरगुमाउँछ । अहिले फरक फरक बालविकास केन्द्रमा भिन्न पद्धतिको सिकाइमा सिकिरहेका/हुर्किरहेका बालबालिकाको भविष्य र जीवनस्तर उस्तै हुन नसक्ने लगभग पक्का छ । रराम्रो वातावरण र सिकाइ पाएका बालबालिकाको भविष्य उज्ज्वल हुन्छ भने कमजोर र दयनीय वातावरणमा हुर्केका नानीहरूको भविष्य कमजोर हुन्छ । त्यसकारण अहिले बालविकास केन्द्रमा आएका १० लाख र बालविकास को पहुँच बाहिर रहेका ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षालाई कुनै पनि बहानामा उपेक्षा र बेवास्ता गरिनुहुँदैन, किनभने भोलिको देश र समाज कस्तो हुन्छ भन्ने कुरा आजका बालबालिकाको हुर्काइ/सिकाइमा निर्भर छ ।

commercial commercial commercial commercial