खाँचो भूकम्पबाट बच्ने सीपको
“धन्न साँझ्का बेला भुईंचालो गयो”, पाँच वर्षीय इशारा राईकी आमा बबिता भन्छिन्, “छोरी स्कूलमा हुँदा गएको भए... !”
खोटाङ कुभिण्डे–३ की बबिताले भूकम्प गएको १ असोज साँझ्को घटना सुनाइन्, “भुईंचालोको होहल्ला चल्न थाल्यो अत्तालिएर छोरीलाई अँगाल्न पुगेँ । त्यसबेला त विस्तारै डर लाग्यो । तर भोलिपल्ट छोरी पढ्ने स्कूलको कक्षाकोठा भत्किएको देखेपछि भने झन् बढी डर लाग्यो ।” कुभिण्डेस्थित रत्नराज्य लक्ष्मी माविको कक्षा–१ को कोठा भत्किएर डेक्सबेञ्च भाँचिएको दृश्यले बबिताको मनमा गहिरो त्रास रोप्यो ।
भुईंचालो कुनै पनि बेला जान सक्छ । तर यस भेकका विद्यालय भवन भत्केको देख्नेहरू ‘धन्न भुईंचालो बेलुका गयो’ भनेर चित्त बुझाउने गर्छन् । भुईंचालो बारे रराम्रोसित बुझाउने र त्यसबाट जोगिन सिकाउने कार्यक्रम यो क्षेत्रका कुनै पनि विद्यालयमा छैन । रत्नराज्य लक्ष्मी माविका अधिकांश छात्रछात्राले भुईंचालोबारे नबुझेको जनाए । विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी निरौला विद्यार्थीलाई यसबारे सिकाउने पाठ्यक्रम नभएको भनेर पन्छिए । त्यस दिनको अशुभ टरेको बुझेपछि स्थानीय अभिभावक लेखराज श्रेष्ठलाई भुईंचालोबाट बच्ने सीप स्कूलले दिनुपर्ने अनुभूति भएको छ । उक्त विद्यालयको कक्षा ३, ९ र १० का कोठा पूरै भत्किएका छन् । ती कक्षामा क्रमशः ४८, ८५ र ६८ जना विद्यार्थी छन् ।
१ असोजमा ताप्लेजुङ र भारतको सिक्किम सिमानालाई केन्द्र बिन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्पले खोटाङमा २१ वटा विद्यालय भत्किए । ८० भन्दा बढी विद्यालय चर्किएको शिक्षा कार्यालय दिक्तेलमा निवेदन परेको छ ।
२०४५ सालको भुईंचालोले सय बढी बिद्यालय पूर्ण ध्वस्त हुँदा भूकम्प पुनस्र्थापना कोषबाट भूकम्प प्रतिरोधात्मक विद्यालय बनाइए पनि त्यसलाई बेवास्ता गरी भवन निर्माण भइरहेको सरस्वती मावि दिक्तेलका शिक्षक मेघनाथ घिमिरे बताउँछन् ।
विद्यार्थीलाई भुईंचालोबाट बच्ने सीप सिकाउने सवाल जिल्लामै नउठेको दिक्तेल स्रोत केन्द्रका स्रोतव्यक्ति झ्नक थापा बताउँछन् । भूकम्प सम्बन्धी कुनै कार्यक्रम नभएकाले विद्यार्थीलाई त्यसबारे सीप सिकाउन नसकिएको शिक्षा कार्यालयको कथन छ । ताप्लेजुङ र पाँचथरपछि खोटाङमा भुईंचालोले बढी क्षति गरेको छ ।
खोटाङ



