रूख नाचे, हामी हाँस्यौं

हाम्रो घर पाटनमा भए पनि पिताजी चाहिँ काठमाडौँको महाराजगञ्जमा डेरा लिएर बस्नुहुन्थ्यो । म पनि बेलाबेलामा पिताजीसँगै बस्न जान्थेँ । त्यहाँ झलकराम भन्ने मेरो एउटा साथी थियो । भुईंचालो आएको दिउँसो हामी पिताजीको डेराकै पेटीमा बसेर खेल्दै थियौं । अघिल्तिर बकाइनोका तीन–चार वटारूख थिए । त्यत्तिकैमा तीरूख त तल– माथि गर्दै नाच्न थाले । चरा पनि यताउता उडे । त्यसरीरूख नाचेको कहिल्यै नदेखेका हामीलाई त्यो दृश्य त्यसै–त्यसै रमाइलो लाग्यो । दुई भाइ पेट मिचीमिची हास्न थाल्यौं ।

यति नै बेला पिताजीका घरबेटी कराए, “भुईंचालो आइरहेछ, तिमीहरू के हाँसेर बस्छौ ? यो हाँस्ने बेला हो र ?” नभन्दै वरपर बाक्लो धुलो उड्न थाल्यो । जताततै रुवाबासी र हाहाकारको आवाज आउन थाल्यो । घरबेटीले भनेपछि पो भूकम्पबारे चाल पाइयो । नत्र त्यसअघि भूकम्प के हो, कस्तो हुन्छ भन्ने थाहै थिएन ।

यता घरमा आमा सुत्केरी हुनुहुन्थ्यो । घर र आमाको पीर मान्दै पिताजी र म महाराजगञ्जबाट पाटनतिर हान्नियौं । बाटोमा धेरै घर भत्किएका भेटिए । कतै जमिन पनि फाटेको देखि न्थ्यो । घर पुग्दा अत्यासै लागेर आयो । तीनतले घरको भुईंतला मात्रै बाँकी रहेछ । धन्न आमा र नवजात बहिनीलाई चाहिँ केही भएको रहेनछ । अहिले पो सञ्चारमाध्यमबाट भूकम्पबाट जोगिन ढोकाको चौकोस, टेबुलमुनि बस्नुपर्छ भन्ने जस्ता अनेकौं उपायहरू सुनिन्छन् । त्यतिबेला न सञ्चारमाध्यम थिए, न त कसैले त्यस्ता उपाय र ज्ञानको चर्चा नै गर्थे ।

९० सालको महाभूकम्पमा म १३ वर्षको थिएँ । दरबार हाईस्कूलमा कक्षा ४ मा पढ्दै थिएँ । दरबार स्कूलको माथिल्लो तला भत्कियो । घण्टाघर तीन टुक्रा भयो । तर, त्रिचन्द्र कलेज र वीर पुस्तकालयको भवन भने भत्किएन । घण्टाघरको चारैतिर खुला बरण्डा थियो । त्यहीँ बीच–बीचमा खाडी–कपडाको पर्दाले छेकेर दरबार स्कूलका कक्षा–कोठा बनाइएको थियो । विद्यालय भवन मर्मत नहुञ्जेल हामीले त्यहीँ पढ्यौँ । यताको पाटन हाईस्कूलको पनि माथिल्लो तला भत्कियो । लगनखेलको पोखरी नजिकै टहरा बनाएर पाटन स्कूलको पढाइ सुचारु गरिएको थियो । यी दुई वटा बाहेक अरू विद्यालय उतिबेला थिएनन् ।
खास गरी निदाल र दलिनमा चुकुल कसेर बलियो पारिएका घरहरू जोगिए । चुकुल ठोकिएकै भएर मेरो घरको पहिलो तलाले भूकम्पलाई थेग्यो । तर, त्यसरी चुकुल नकसिकन माटोकोगारोबाट बनेका कच्ची घरहरू चाहिँ भत्किए । भूकम्पले धेरै देवालयमा क्षति पुग्यो । प्यागोडा शैलीका ४–५ तले मन्दिर पनि भत्किए । तर आश्चर्य ! पाटनको कृष्ण मन्दिर भने एकइन्च पनि चर्किएन ।

काठमाडौँको टुँडिखेल भूकम्प पीडितले भरिएको थियो । पीडितको उद्धार र आश्रयस्थलका अहिलेको जस्तो ठूला पाल तिनताका पाइन्थेनन् । कपडाले बारबेर गरेर शिविर बनाइएका थिए, त्यसमा पराल पनि राखिएको हुन्थ्यो । विपद्का बेलामा उद्धार गर्ने रेडक्रस र परोपकार जस्ता संस्था पनि त्यतिबेला थिएनन् । बचेकाहरू प्रायः ‘भाग्यले बाँचियो’ भन्थे । भूकम्पको केही दिनपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ‘भूकम्प पीडित उद्धार संघ’ खडा गरे । महाङ्काल मन्दिर परिसरको टहरोमा उद्धार संघको कार्यालय राखिएको थियो ।

सिद्धिचरण श्रेष्ठ लगायत त्यसबेलाका नाम चलेका लेखकहरू त्यो उद्धार संघमा थिए । त्यो संघले काठमाडौँ, भक्तपुर र पाटनका निम्ति छुट्टाछुट्टै टोलीहरू खटाएर भूकम्पीय क्षतिको लगत लियो । क्षति हेरेर टोलीले ऋण पनि बाँडेको थियो । त्यो ऋण पछि प्रधानमन्त्री जुद्धले मिनाहा गरिदिए ।

भूकम्पको विनाशपछि मानिसहरूमा बलियो घर बनाउनुपर्छ भन्ने चेतना पलाउन थाल्यो । उतिबेला सिमेन्ट थिएन ।गारो त माटाकै लगाउनुपर्दथ्यो । तराईबाट झ्किाइएका डकर्मीले धेरै बेरसम्म मुछेरगारो लगाउने माटोलाई लेसाइलो बनाउँथे । त्यो माटो ईंटकोगारोमा सिमेन्ट लगाए जस्तै लपक्क टाँसिन्थ्यो । तराईका मानिसहरूको काठमाडौँ आउने क्रम त्यसैबेला देखि शुरु भएको हो ।गारो माटाकै भए पनि मानिसहरू छानो चाहिँ जस्ताकै हाल्नुपर्छ भन्न थाले । त्यसबेला भारतमा पनि नपाइएर बेल्जियम देखि जस्ता झ्किाइएको सम्झना छ, मलाई । त्यसपछि त जस्ताले घर छाउने लहरै चल्न थाल्यो ।

भूकम्प आउनुको वैज्ञानिक कारणबारे त्यतिबेला कसैलाई थाहा थिएन । मानिसहरू भूकम्पलाई दैवी शक्तिले निम्त्याउने परिणामको रूपमा अथ्र्याउँथे । वंशावली अनुसार, १९९० सालभन्दा सय वर्षअघि त्यस्तै ठूलो भूकम्प आएको थियो । त्यसैले ९० सालको भूकम्पसम्म आइपुग्दा ठूलो भूकम्पको अनुभव बोकेकाहरू शायद कोही थिएनन् पनि होला । हामीले पनि आफ्ना अग्रजहरूबाट भूकम्पका कथा र अनुभव सुन्ने मौका पाएनौं ।

त्यो भूकम्पको विनाशले मानिसहरूमा सोचाइ र व्यवहारमा धेरै किसिमका परिवर्तन ल्याइदियो । मुख्य कुरा त भूकम्पको बारेमा चेतना जाग्यो । फेरि यस्तै भूकम्प आयो भने के गर्ने , कसो गर्ने भन्ने विषयमा चर्चा हुन थाले । विपद् आइपर्दा घरबाट बाहिरिनका लागि सजिलो होस् भनेर घरका ढोकाहरू पनि अलि अग्ला र चौडा बनाइन थाले । त्यसअघि निहुरिएर पस्नुपर्ने ढोका हुन्थे । सडक चौडा पार्ने क्रम शुरु भयो । काठमाडौँको ‘न्यूरोड’ भूकम्पपछि नै बनाइएको हो । टुँडिखेल देखि बसन्तपुर र भोटाहिटी देखि इन्द्रचोकसम्मका घरहरू त्यतिबेलाकै उपज हुन् ।

अहिले काठमाडौँमा भवन निर्माण र जनसङ्ख्या दुवै तीव्र रूपमा बढ्दो छ । ९० सालमा पीडितको उद्धारका लागि टुँडिखेल र अरू खाली ठाउँहरू धेरै थिए । तर अब त्यत्रै भूकम्पगइहाल्यो भनेपाल टाँगेर पीडितलाई राख्ने ठाउँ पनि छैन । यस्ता विषयमा समय छँदै सोच्नुपर्छ, उपाय पहिल्याउनेतिर लाग्नुपर्छ ।
(वार्तामा आधारित)

commercial commercial commercial commercial