धरनी डगमग डोले !

२०४६ सालपछि तराईकागाउ“मा खर र खपडाले छाएका घरहरू बदलिएर पक्की बन्न थालेका छन् । खर र खपडाले छाएका घरहरू भूकम्प आउँदा हल्लिन्थे, भासिन्थे, तर खतरनाक हुँदैनथे । दुई दशकयता यहाँ ईंटको पर्खाल भएका घरहरूको थुप्रो लागेको छ । यी घरहरू भूकम्पका दृष्टिकोणले जोखिमयुक्त छन् ।

गाउँघरका पुराना मानिसहरू आफ्नो उमेर बताउनु पर्दा वि.सं. १९९० को भूकम्पलाई सम्झ्ने गर्छन् । उक्त महाभूकम्पलाई आधार मानेर आºनो उमेर निक्र्योल गर्ने पुस्ताका मानिस पातलिँदै गए पनि अझै पनि भेटिन्छन् । धेरैले भन्ने गर्छन्, “भूकम्प जाँदा म यति वर्षको/वर्षकी थिएँ; अहिले कति भएँ आफैँ थाहा पाउनुस् !”

महाभूकम्पलाई सम्झउने स्थानीय भाषामा लेखिएका तुकबन्दी र काव्य पनि प्रशस्त पाइन्छन्; जो लोक शिक्षाका महत्वपूर्ण आधार भएका छन् । महाभूकम्पका बारेमा मैथिली भाषामा दुइटा पुस्तक छापिएका छन् । त्यसमध्ये कविवर सीताराम झ रचित ‘भूकम्प वर्णन’ नेपालको मध्य र पूर्वी तराई भेकमा निकै लोकप्रिय रहेको छ । महाभूकम्पको केही वर्षपछि लेखिएको त्यस पुस्तकले तात्तातै जानकारी प्रवाह गरेर लोकलाई शिक्षित तुल्याउने काम गरेको थियो । त्यसपछि साहित्यकार कृष्णनन्दन सिंहले ‘कम्पकारिका’ अर्थात् भूकम्पचरित्र लेखे । २०२९ सालतिर प्रकाशित भएको यो पुस्तकले पनि भूकम्पबारे सर्वसाधारणलाई शिक्षित र सूचित तुल्याउन महत्वपूर्ण योगदान पुर्याएको छ । सीमावर्ती भारतीय मिथिला क्षेत्रमा प्रकाशित यी दुई पुस्तकले भूकम्पका असरहरूका बारेमा मार्मिक चित्रण गरेका छन् ।

कम्पकारिका मा महाभूकम्पको सजीव चित्र यसरी प्रस्तुत गरिएको छः
“तीन मिनट के छल भूकम्प,
राजा रंक सभक हडकम्प
पहिल मिनट उड्ल हतास,
दोसर क्रम भ्रम– भू–भूवास
तेसर मिनट अनुभव की कहुँ,
नास्तिक तक चिकडय हरि पदगहुँ ।”

नेपाली अनुवाद
तीन मिनट भूकम्प आयो,
राजा रङ्कमा भागदौड मच्चियो ।
पहिलो मिनटमै होस हवास उड्यो,
दोस्रो मिनेटमा पृथ्वी नै फूटेको भ्रम हुन गयो  
तेस्रो मिनेटको अनुभव के भनौं–
नास्तिक समेत हरिभजनगाउने भए ।

यो कविताले तीन मिनेट गएको भूकम्पका कारण ठूला–साना, राजा–रङ्क, धनी– गरिब सबै सबै आत्तिएको जनाउ दिन्छ । यति हुँदाहुँदै पनि भूकम्पको सकारात्मक योगदानलाई कविले बढी महत्व दिएका छन्– नास्तिकहरू पनि हरिभजनगाउन थाले !
भूकम्पप्रति मानिसहरूको प्रतिक्रियाको वर्णन यस्तो छ— जो जहा“ थिए, त्यहीँ ओत लागे । कोही चेपिए । कोही उम्किए । कपडा सिउने काम गरिराखेको दर्जी चाहिँ मेसिनसहित घरमै पुरियो । कवितामा भनियो– “दरजी दबल मसिनसहित कपडा के सिवितहि” ।

मैथिली साहित्यका समीक्षक डा. रामान न्द झ ‘रमण’ भन्छन्, “उसबेलाका कविहरूले ९० को महाभूकम्पलाई इतिहासको विध्वंसका रूपमा चिनाए । भीषण विनाशलीला देखेका कविहरूले आफ्नो अभिव्यक्ति पनि त्यसै गरी दिए । त्यसैले कविताहरू कारुणिक, मार्मिक र जानकारीमूलक हुन गए ।”
महाभूकम्प भएको चार दशकपछि कृष्णनन्दन सिंहले ‘कम्पकारिका’ लेखे । महाभूकम्पको छाप उनमा कति तीव्र र सघन परेको रहेछ भन्ने कुरा उनको कविताका यी हरफले स्पष्ट पार्छन्ः
“घरमे एकसरि हमही लाल,
भेल विवाहो पुरल न साल
जीवन यौवन पसरल थाल,
बाचल निश्चय कालकगाल”

(घरको एकमात्र पुत्र थिएँ । विवाह भएको एक वर्ष पनि पुगेको थिएन । जीवन र यौवन उत्कर्षमा थिए । धन्न मृत्युकोग्रासबाट बाँचियो ।)
२०४५ भदौ ५ गते आएको भूकम्पलाई पूर्वी तराईमा ९० पछि को ठूलो भूकम्पको रूपमा सम्झ्निे गरिन्छ । त्यस भूकम्पलाई सम्झिँदै डा. मुरलीधर झले लगत्तै ‘मैथिली भूकम्प काव्य’ सङ्ग्रह प्रकाशित गरे । यसमा नेपालका अन्य मैथिल कविका कविता पनि समावेश गरिएका छन् । यस सङ्ग्रहमा दुवै महाभूकम्पको विभीषिकाको वर्णन छ । कवि चन्द्रभानु सिंहले लेखेका छन्–
“की करैत छी की फुरैत अछि,
भूगर्भक रानी,
बकसि दिऔ जन निसहायके,
ज्वालामुखी भवानी”

(हे भूगर्भकी रानी !! के गर्दै छ्यौ, किन कम्पित छ्यौ । हे ज्वालामुखी भवानी ! हामी निसहाय मानिसलाई क्षमा गरिदेऊ ।)
यसरी मैथिली काव्यहरूमार्फत भूकम्पबारे जनजनलाई शिक्षा दिएका रहेछन्, अघिल्ला पुस्ताका मानिसहरूले । विपत्तिको बेलाको मानिसको मनोविज्ञानलाई कविहरूले केलाएका रहेछन् । डा. धीरेश्वर झ धीरेन्द्रले लेखेका छन्, “सोचैत अछि ओ, अरे ! ई भूकम्प घुरा आनलक/की मनुजता केर बोध ?” (म सोच्दछु, अहो ! भूकम्प आएको बेला मानिसमा मानव ताको बोध हुँदो रहेछ । यस्तो कसरी हुन्छ ?)
भोजपुरीका साहित्यकार उमाशङ्कर द्विवेदीले पनि बाल्यकालमा ९० को महाभूकम्प बेहोरे । उनले पनि तुकबन्दीहरू रचना गरे — “केतना साल मे धरति डोलल, केतना साल मे खसल आकाश” । (कुन सालमा भूकम्प आयो, कुन सालमा आकाश खस्यो ?) । यो तुकबन्दी सामान्य ज्ञान जाँच्नका लागि आज पनि ग्रामीण समाज मा प्रयोग गरिन्छ ।

नेपाल भूकम्पको जोखिम भएको भूगोलमा बसेको छ भन्ने वैज्ञानिक ज्ञान भर्खरै मात्र फैलिँदैछ । नेपालको तराई क्षेत्र पहिले देखि नै सघन जनसङ्ख्या भएको क्षेत्र हो । अहिले त देशको आधा भन्दा बढी जनसङ्ख्या तराईमा बसोबास गर्छ । नेपालका प्रमुख व्यापारिक शहर र औद्योगिक क्षेत्रहरू यहीँ छन् । तराईमा तीव्र रूपमा शहरीकरण भइरहेको छ । तर यहाँ भूकम्पबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखेर भौतिक संरचनाहरू बन्ने गरेका छैनन् । स्कूल, कलेज, सिनेमा घर, सभा गृह तथा पुल आदि सार्वजनिक महत्वका संरचना बनाउँदा भूकम्पलाई राम्ररी ख्यालमा राख्ने गरिएको छैन । भूकम्प प्रतिरोधी भौतिक संरचना बनाउ“दा भूकम्पबाट हुने मृत्यु र क्षति न्यून हुन्छ भन्ने तथ्यलाई नीति र व्यवहारको अभिन्न अङ्ग बनाउन बाँकी नै छ । विशेषज्ञहरू भन्छन्, “भूकम्प आफैँले मानिसलाई क्षति गर्दैन । मानिसले बनाएका घर लगायत कमजोर भौतिक संरचना भत्किँदा नै भूकम्प भयावह हुने हो । भूकम्पबाट त्यहीँ बढी क्षति हुन्छ जहाँका वस्ती असुरक्षित छन् ।”  

२०४६ सालपछि तराईकागाउ“मा खर र खपडाले छाएका घरहरू बदलिएर पक्की बन्न थालेका छन् । खर र खपडाले छाएका घरहरू भूकम्प आउँदा हल्लिन्थे, भासिन्थे, तर खतरनाक हुँदैनथे । दुई दशकयता यहाँ ईंटको पर्खाल भएका घरहरूको थुप्रो लागेको छ । यी घरहरू भूकम्पका दृष्टिकोणले जोखिमयुक्त छन् ।

नेपालको आर्थिक धमनी पनि भनिने पूर्व—पश्चिम राजमार्गका अधिकांश पूलहरू भूकम्प प्रतिरोधी प्रविधिबाट बनेका छैनन् । त्यस माथि नियमित मर्मतसम्भार र रेखदेख नहुँदा तिनको जोखिम अरू बढेको छ ।

भूकम्प प्राकृतिक प्रक्रिया हो । तर यसले सामाजिक क्षेत्रमा हिरो प्रभाव पार्दछ । यस सन्दर्भमा तराई केन्द्रित भएर खासै अध्ययन भएका छैनन् । यहाँ वस्ती बढेर शहर बनेका छन् । गुरुयोजना बनेर शहर विकास गर्ने प्रक्रिया चलेको छैन ।
यता आएर तराईका शहरहरूमा पनि अग्ला–अग्ला भवन बनाउने होडबाजी चलेको छ । वीरगंज र विराटनगर जस्ता उपमहानगरपालिका क्षेत्रमा समेत जथाभावी घर बनेका छन् । कतिपय टोलमा एम्बुलेन्स र बारुणयन्त्र छिर्न सक्दैनन् । यस्ता शहर–वस्तीमा भूकम्प आउँदा सुरक्षित रहनु त परैको कुरा , शव सङ्ग्रह गर्न पनि गाह्रो पर्दछ । बाँचेका र घाइतेहरूलाई आश्रय दिने खुल्ला ठाउ“ कहीँ कतै छैन ।ग्रामीण क्षेत्रका विद्यालय, गाविस भवन र अस्पताल भवनहरू जराजीर्ण छन् । यहाँ पुस्तौं पुस्ता देखि का जीर्ण घरहरूमा मानिसहरू बसोबास गरिरहेका छन् ।

तराईका आम मानिसहरूमा भूकम्पले पहाडी क्षेत्रमा मात्र बढी क्षति पुर्याउँछ भन्ने भ्रम छ । तर यथार्थ त्यो होइन । नेपालको पहाडसँगै तराई पनि भूकम्पीय जोखिमका दृष्टिले तातो तावा नै हो । ९० को महाभूकम्पलेगङ्गा नदीले बनाएको मैदानी क्षेत्रमै ताण्डव मच्चाएको थियो । तराईवासीले जति छिटो यस भ्रमबाट मुक्ति पाउँछन्, त्यहीगतिमा यहाँ भूकम्प सचेतता बढेर आउन सक्छ ।

भूकम्पबाट हुनसक्ने राष्ट्रिय विपत्तिलाई व्यवस्थापन गर्न तराईको भूभाग अत्यन्त उपयोगी हुन सक्छ । भूकम्पको जोखिमलाई ध्यानमा राखेर तराईका विभिन्न भागमा राष्ट्रिय खाद्यान्न केन्द्र स्थापना गर्न सकिन्छ । यहाँ सुरक्षित राखिएका खाद्यान्नलाई विपत्तिका बेला मुलुकभर वितरण गर्न सकिन्छ ।

देशभरि नै प्राकृतिक प्रकोप व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारी को काँधमा राखिएको छ । उनीहरू भूकम्प आएमा तत्काल राहत कसरी पुरयाउने भन्ने काममा अल्मलिन्छन् । तर उद्धार गर्ने , काम चलाउ समन्वय गर्ने , चेपिएकाहरूलाई निकाल्ने काम त खतरामा परिसकेपछि का काम हुन् । तर दुर्भाग्य, नेपालमा भूकम्पको खतराबाट बच्ने उपायका लागि आवश्यक पर्ने कामहरू हुनसकेका छैनन् ।

मैथिलीमा लोकोक्ति नै चलेको छ, ‘धरनी डगमग डोले’ (डगमग काम्छिन् धरती) । प्रकृतिको नियमलाई रोक्न सकिँदैन । भूकम्प आएपछि धरती काम्छिन् । त्यसबाट जोगिन सकिन्छ । थोरै सतर्कता मात्र अपनाउन सके सर्वनाशबाट बच्न सकिन्छ । 

commercial commercial commercial commercial