पाठशालाहरू किन शिक्षा प्रदान गर्दैनन् ?
जुन समाज मा बालबालिकाहरू र वृद्धवृद्धाहरूको दिनचर्यामा आपसी भेटघाट र मेलजुलको अवस्था रहँदैन, त्यहाँ न कुनै भविष्य हुन्छ न त कुनै अतीत, मात्र एउटा तन्किएको वर्तमान को निरन्तरता हुन्छ ।
म,यो सम्मान मैले वर्षांै देखि चिनेजानेका ती असल र राम्रा शिक्षकहरूका तर्फबाट स्वीकार्दैछु जसले बालबालिकासँग को आफ्नो अन्तरक्रियालाई सम्मान जनक तुल्याउन सङ्घर्ष गरेर ‘शिक्षा’ शब्दले कस्तो अर्थ बोक्नुपर्छ भनी परिभाषित गर्न अनन्त र अथक् प्रयत्न जारी राखे । एउटा ‘वर्ष–शिक्षक’ आफैँमा सर्वोत्कृष्ट शिक्षक नहुन पनि सक्छ । त्यस्ता व्यक्ति त प्रायः मौन स्वभावका हुने भएकाले सजिलै भेटिँदै भेटिँदैनन् । हो; एउटा ‘वर्ष–शिक्षक’ले बालबालिकाको सेवामा जीवन समर्पण गर्ने सार्वजनिक व्यक्तित्वका केहीगुणहरूको प्रतिनिधित्व भने गरेको हुन्छ । यो सम्मान लाई तिनै व्यक्तिहरू र आफ्नो समेत ठानीग्रहण गर्द छु ।
अहिले हाम्रा पाठशालाहरू ठूलो सङ्कटको घडीमा खडा छन् । पठनपाठन, लेखन र गणितका दृष्टिले अमेरिकी बालबालिका संसारका १९ वटा औद्योगिक राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो पङ्क्तिमा पर्न आउँछन्, बिल्कुल पिँधमा । विश्वको लागूपदार्थमा आधारित अर्थतन्त्र हाम्रै उपभोग र खपतमा निर्भर छ । यदि हामीले यति ठूलो मात्रामा नशामा मस्त सपनाहरू (Powdered dreams) खरिद न गरेको भए त्यो व्यापार अवश्य पनि फस्टाउने थिएन; धरासायी हुनेथियो । तर, विडम्बना त के छ भने हाम्रा पाठशालाहरू नै यिनका मुख्य बिक्री केन्द्र बन्न पुगेका छन् । हाम्रा किशोरकिशोरीहरूमा (१३–१९ वर्ष उमेर) आत्महत्याको दर संसारभरमा सबैभन्दा माथि छ र तिनीहरू अधिकांश धनीमानीका सन्तान हुन्छन्, गरिब र विपन्न हैनन् । नवविवाहित जोडीमध्ये ५० प्रतिशतको दाम्पत्य जीवन पाँच वर्षभन्दा पनि कम अवधिसम्म मात्र टिक्न थालेको छ, न्यूयोर्कको म्यानहाटनमा ।
हराम्रो विद्यालय—सङ्कट बृहत् सामाजिक सङ्कटको एक प्रतिविम्ब हो । हामीले हराम्रो आफ्नोपन (स्वत्व) हराइसकेका छौँ । बालबालिका र जेष्ठ नागरिकहरू आ–आफ्नै ठाउँमा थन्किएका छन् । ती सांसारिक क्रियाकलाप बाट अभूतपूर्व रूपमा टाढा पारिएका छन् । उनीहरूसँग कोही बातचित गर्दैनन् । जुन समाज मा बालबालिकाहरू र वृद्धवृद्धाहरूको दिनचर्यामा आपसी भेटघाट र मेलजुलको अवस्था रहँदैन, त्यहाँ न कुनै भविष्य हुन्छ न त कुनै अतीत, मात्र एउटा तन्किएको वर्तमान को निरन्तरता मात्र हुन्छ । वास्तवमा जुन प्रकारले आजभोलि हामी पारस्परिक अन्तरसम्बन्ध कायम राख्दैछौं, त्यहाँ ‘समुदाय’ भन्ने शब्द र अर्थ लागू नै हुँदैन । हामी एक सञ्जालमा आवद्ध जीवन बिताउँदैछौँ, समुदायमा हैन । त्यसले गर्दा मैले चिनेजानेसम्मका सबै मानिस एक्लो भएका छन्, हरेक व्यक्ति अकेला छन् । यो दर्दनाक नाटकको मुख्य नायकको भूमिकामा नपत्याउँदो तरिकाले पाठशालाहरू देखा पर्दछन् । समाज का विभिन्न वर्गबीचको खाडल निर्माणमा विद्यालयहरूको प्रमुख भूमिका त छँदैछ, साथै छटनीको संयन्त्र ९कयचतष्लन (sorting mechanism) को रूपमा पनि विद्यालयलाई नै प्रयोग गरेर हामी त्यस्तो जातीय प्रणाली (caste system) बसाउँदैछौँ जहाँ सडकमै सुत्ने, भीख माग्ने र बरालिने अवधूतहरू मात्र दृष्टिगोचर हुन्छन् ।
मैले आफ्नो २५ वर्षे शिक्षण जीवनमा एउटा चाखलाग्दो प्रवृत्ति अनुभव गरेको छु— संसारका ठूला र महत्वपूर्ण उद्योगधन्दा वा व्यवसायका लागि पाठशाला र पाठशालाको जीवनयापन पद्धति झन्झन् असान्दर्भिक बन्दै गइरहेको छ । आजका वैज्ञानिकहरू विज्ञान कक्षामा नै प्रशिक्षित भएका हुन्, राजनीतिज्ञहरू नागरिकशास्त्रका कक्षामा तथा कविहरू साहित्यको कक्षामा भन्ने कुरा मा कोही पनि विश्वास गर्दैनन् । सत्य कुरा त के हो भने पाठशालाहरूले आदेश पालना कसरी गर्ने भन्ने बाहेक अरू केही सिकाउँदैनन् । यो एउटा ठूलै रहस्यको विषय हो जस्तो लाग्छ मलाई । किनभने हजारौँ कृपालु तथा सेवाभावमा निष्ठावान् व्यक्तिहरू शिक्षकका रूपमा; सहयोगीका रूपमा वा कर्मचारीका रूपमा कार्यरत हुन्छन् तर पनि उनीहरूको देन उनीहरूको संस्थाको अमूर्त सैद्धान्तिक तर्कका सामुगौण भइदिन्छ । शिक्षकहरू निश्चित रूपमा चासो राख्दछन् र कडा परिश्रम पनि गर्द छन् तर उनीहरूका संस्था मनोदशाका पीडामा हुन्छन् सद्विवेक शून्य अवस्थामा । जब पाठशालाको घन्टी बज्छ; एउटा कविता रच्न व्यस्त किशोर पनि त्यसलाई चटक्क छोडेर अन्तै कक्षाकोठामा जानुपर्ने हुन्छ जहाँ एउटा पृथक् विषय; जस्तै मानिस र बाँदर एउटै वंशवृक्षका हाँगा हुन् भन्ने विषय स्मरण गर्नु पर्ने हुन्छ ।
यसप्रकारको अनिवार्य स्कूले जीवन पद्धति मासाचुसेट्स राज्यले सन् १८५० मा खडा गरेको व्यवस्था हो । त्यसको प्रतिकार पनि भएको थियो, बेलाबखत त बन्दुकै उठाउने काम पनि भयो । मासाचुसेट्सको जनसङ्ख्याको ८० प्रतिशतले प्रतिकार गरेको अवस्था थियो त्यो । अन्तिम प्रतिकारको पकड केप कडको वार्नस्टेवलमा (Barnstable on Cape Code) देखापरयो जहाँका जनताले आफ्ना बालबालिकालाई स्कूल पठाउन इन्कार गरे । १८८० मा त्यो क्षेत्र सैनिक कब्जामा परेपछि भने बालबालिकालाई सैनिक घेराबन्दीमा कवाज खेलाउँदै पाठशालासम्म लगिन थालियो ।
अब यहाँनेर एउटा अचम्मलाग्दो विषयतिर विचार गर्नु परेको छ । केही वर्षअघि, सिनेटर टेड केनेडीको कार्यालयले एउटा जानकारी पत्र सार्वजनिक गरेको थियो । त्यसमा दाबी गरिए अनुसार मासाचुसेट्समा प्राथमिक शिक्षा अनिवार्य गर्नु भन्दा पहिले साक्षरताको दर ९८ प्रतिशत थियो तर पछि आएर त्यो दर ९१ प्रतिशतबाट उँभो लागेन । सो अवस्था झण्डै १०० वर्ष पछि सम्म; सन् १९९० सम्म पनि कायमै थियो । मलाई लाग्छ, यस्ता कुरा तपाईंको रुचिमा पनि पर्नेछन् ।
यहाँनेर अर्को रहस्य पनि मननयोग्य छ । पाठशालाको शिक्षा घरमै अभियानले यताका दिनमा निकैगति लिएको छ । आज अमेरिकाका लाखौँ किशोरकिशोरीहरू पूर्णरुपेण आफ्नै मातापिताबाट शिक्षित हुँदैछन्; घरै बसी–बसी ।गत महिना एउटा अचम्मलाग्दो समाचार प्रसारण भएको थियो । त्यस अनुसार; घरमै विद्यालय शिक्षा हासिल गरेका बालबालिकाहरूको सोच्ने शक्ति औपचारिक तरिकाले सार्वजनिक स्कूलमा पढेका तिनका साथीहरू भन्दा ५ देखि १० वर्षले अगाडि छ ।
त्यसो त ‘हामी पाठशालाबाट छिट्टै मुक्त हुँदैछौँ’ भन्नेमा म विश्वास गर्न सक्दिनँ । मेरो जीवनकालमा त यस्तो हुँदै हुने छैन । तर यदि हामी अज्ञानताको बढ्दो प्रकोपलाई परिवर्तन गर्न वा उल्ट्याउन चाहन्छौँ भने चाहिँ हामीले बुझनैपर्छ— पाठशालाहरू आफ्ना ठाउँमा त होलान् तर तिनले शिक्षा प्रदान गर्दैनन् । यो संरचनामा नै निहित कुरा हो । यसको दोष न त शिक्षकमा जान्छ न त लगानी नै कम भयो भन्ने गुनासोमा । शिक्षा र पाठशालाको जीवनपद्धति कहिल्यै पनि एकै वस्तु बन्दैन । यो असम्भव छ ।
पाठशालाहरू (Schools) को रचना जनसङ्ख्याको ठूलो भेलालाई वैज्ञानिक तवरले व्यवस्थापन गर्ने साधनको रूपमा गरिएको हुन्छ । यस्तो संरचना तयार पार्ने कार्यमा शिकागो विश्वविद्यालयका होरास मान (Horace Mann) तथा बर्नार्ड सियर्स (Barnard Sears) तथा कोलम्बिया शिक्षक महाविद्यालयका थोर्नडाइक (Thorndyke) र अरू केही व्यक्ति पनि जिम्मेवार छन् । विभिन्न सूत्रहरूको प्रयोग गरेर पाठशालाहरूले यस्ता सूत्रधारी प्राणी उत्पादन गर्द छन् जसको बानीबेहोरा र आदत कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ र तिनलाई नियन्त्रण पनि गर्न सकिन्छ ।
यस कार्यमा पाठशालाहरू धेरै हदसम्म सफल पनि हुन्छन् । तर हराम्रो समाज आजभोलि विखण्डनतिर उन्मुख छ । यस्तो समाज मा त्यस्तो व्यक्ति मात्र सफल हुन्छ जो स्वावलम्बी छ, आत्मविश्वासी छ र आत्मपरक हुन्छ । किनभने समाज मा कमजोर वर्गको रक्षा गर्ने सामुदायिक जीवनपद्धति मरिसकेको छ । पाठशालाहरूबाट हुने उत्पादन मैले पहिल्यै भनिसकेँ, असान्दर्भिकै भइसकेको छ । पाठशालामा रराम्रोसँग अभ्यस्त भएका मानिसहरू असान्दर्भिक बनिसकेको अवस्था छ । तिनीहरू फिल्म बेच्ने काम गर्न सक्छन्, रेजर ब्लेड बेच्न सक्छन्, अखबार/पत्रिका बेचिहिँड्न सक्छन्, टेलिफोनमा बात मार्छन् वा झ्पिझ्पिे कम्प्युटरको अगाडि ध्यान शून्य भएर ट्वाल्ल बस्दछन् तर एक मानव प्राणीका रूपमा उनीहरू बेकम्मा भइसकेका छन् । अरूका लागि पनि बेकम्मा र आफ्नै लागि पनि बेकम्मा ।
मेरो विचार मा हराम्रो दिन दिनको दुर्गतिको कारण भन्नु नै हामी हाम्रा बालबालिकालाई निरर्थक ढङ्गबाट हुर्कन बाध्य गराउँदैछौँ । यही कुरा पअलगुडमेन (Paul Goodman) ले ३० वर्ष पहिले नै अघि सारेका थिए । विद्यालय र पाठशालाको सुधार गर्नु छ भने तिनका निरर्थक पक्षहरूमा ध्यान पुर्याउनु आवश्यक छ ।
कुनै व्यवस्थाले तपाईंलाई एउटै उमेर समूह र एकैखाले आर्थिक एवं समाज िकस्तर का व्यक्तिहरूसँग पृथक् समूहमा बस्न बाध्य बनाउँछ भने त्यो वाहियात कुरा हो । त्यो जीवन प्रतिकूल कुरा पनि हो । त्यस व्यवस्थाले मानव जीवनको व्यापक विविधताबाट तपाईंलाई पृथक् राख्दछ । बहुलताको शक्तिबाट पनि टाढा राख्दछ । वास्तवमा त्यसले तपाईंको आफ्नै अतीत र भविष्यबाट तपाईंलाई अलग्याइदिन्छ । टेलिभिजनले जस्तै गरी तपाईंको वर्तमान लाई तन्काइरहन्छ ।
त्यस्तो व्यवस्थाको भागी बन्नु वाहियात र जीवन प्रतिकूल पनि हुन्छ; जहाँ कुनै एक अपरिचित व्यक्तिको कवितावाचन सुन्न बाध्य हुनुपर्छ जुनबेला आफूमा भवन निर्माणका कुरा सिक्ने इच्छा खेलिरहेको हुन्छ । अथवा भनौँ जुनबेला आफूलाई कविता पढ्ने चाहना हुन्छ त्यसबखत कुनै अपरिचित व्यक्तिसँग भवन निर्माणको छलफल मा बस्न बाध्य हुनुपर्छ ।
यसै गरी तपाईंको स्वाभाविक जवानीका दिनहरू त्यस्ता संस्थामा व्यतीत हुन्छन् जहाँ बज्ने घण्टाको आवाजमा एक कक्षाबाट अर्को कक्षामा कुद्दै जाँदै गर्नु पर्ने हुन्छ । जहाँ निजीगोपनीयताको कुरै उठ्दैन र घरको आरामदायी निजी क्षणलाई पनि ‘ गृह कार्य’को बोझले पछ्याउँदै आउँछ ।
“उनीहरूले पढ्नचाहिँ कसरी सिक्छन् त ?” भनेर मलाई सोध्नुहुन्छ भने मेरो जवाफ हुन्छ, “मासाचुसेट्सले सिकाएको पाठलाई सम्झनुहोस् ।” यदि बालबालिकाहरूलाई एकै उमेर समूहका झुण्डमा घेराबन्दी न गरी उनीहरूलाई जीवनको सम्पूर्णता प्रदान गरिन्छ भने तिनीहरूले पढ्न सिक्छन्, लेख्न सिक्छन् र गणित पनि सजिलै भ्याउँछन् । कुरा यत्ति मात्र हो कि, पठनपाठनका विषयवस्तु उनीहरूको जीवन प्रवाहसँग प्रत्यक्ष सरोकार राख्ने खालको हुनुपर्छ । क्रमशः
शिक्षक एवं लेखक (John Taylor Gatto) ले संयुक्त राज्य अमेरिकाको ‘वर्ष–शिक्षक’ (Teacher of the Year) पुरस्कार ग्रहण गर्ने क्रममा ३१ जनवरी १९९० मा आयोजित समारोहमा गरेको भाषणबाट ।
स्रोतः www.naturalchild.org
अनुवादः डा. तीर्थबहादुर श्रेष्ठ



