एक पिताको पत्र शिक्षकलाई

श्रीमान् शिक्षकज्यू,
त्यहाँ मेरी छोरी गरिमा पनि पढ्छे । ऊ नियमित स्कूल जान्छे । कक्षाकार्य गर्छे । गृहकार्य ल्याउँछे । फेरि त्यसै गर्छे, जसो स्कूलमा गर्छे । शिक्षकले गर्न लगाए अनुसार खुरुखुरु गर्छे । ऊ सानै छे । उसको दिमाख खाली छ । ऊ जे सुन्छे, जे देख्छे, जे भोग्छे, त्यो दुरुस्त टिप्छे । एकएक विवरण सुरक्षित राख्छे । मौकामा प्रयोगमा ल्याउँछे ।

आज छोरी मजस्तै बन्ली कि भन्ने म चिन्तामा छु । मैले झैँ उसले पनि वर्तमान नभोगिकनै बिताउनु पर्ला कि भन्ने भयमा फँसेको छु । त्यसैले यो चिठी लेख्दैछु ।

महोदय, समाज ले जे भन्छ, त्यही मात्र मेरी छोरीले पढ्नु छैन । समाज त भन्छ, ‘पाठ्यक्रम दिएको छु, पाठ्यपुस्तक थमाएको छु, शिक्षकलाई तालिम दिएको छु, शिक्षक त्यसै अनुरूप पढाउँदैछन् ।’ तर के तोकिएको–तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ ? उचालेको कुकुरले मृग मार्न सक्छ ? सीमित ज्ञानले जीवनको अथाहगहिराइ पत्ता लगाउन सक्छ ? असम्भव ।

भो, मेरी छोरीलाई अतीत नघोकाउनुस् । ‘हिजो’ पढ्न थाल्दा मैले ‘आज’लाई नै भुलेँ र मेरो ‘भोलि’ अन्धकार भयो । ‘आज’लाई पढ्न पाएको भए म ‘भोलि’ आफैँ बनाउँथेँ । ‘हिजो’मा भुल्दा मेरा दुवै युग भताभुङ्ग र लथालिङ्ग भए । त्यसैले मेरी छोरीलाई वर्तमान पढाउनु स् । भविष्यको त्यसलाई चिन्ता हुने छैन । वर्तमान पढेका मान्छेले अतीत पनि बुझछन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिर बाट ठगिन्छन् । जसरी म ठगिएको छु, त्यसरी उसले ठगिन नपरोस् ।

महोदय, मेरी छोरीलाई श्रद्धा गर्न नसिकाउनु स् । मेरी छोरीलाई सम्मान गर्न नलगाउनुस् । मेरी छोरी माथि कुरा नथोपर्नुस् । मैले श्रद्धा गर्न सिकेँ । सम्मान गर्न सिकेँ । म माथि कुरा थोपरिए । म अहिलेसम्म थिचिइरहेको छु, निस्सासिइरहेको छु । न म आफू श्रद्धेय बनेँ न सम्मान नीय नै हुन सकेँ । म फगत अरूको इसारा र निर्देशनमा लुरुलुरु हिँड्ने र काम गर्ने रिमोटबाट सञ्चालित एक मेसिनतुल्य बनेँ । मैले छोरीलाई मजस्तो बनाउनु छैन । सक्नुहुन्छ भने मेरी छोरीलाई श्रद्धा गर्नु स्, सम्मान गर्नु स् । उसलाई विवेक प्रयोग गर्न दिनुस् । उसमा विचार पैदा हुन दिनुस् । विद्रोह गर्छे भने विद्रोह गर्न दिनुस् । विद्रोह दबाउन बलको प्रयोग न गर्नु स् । विद्रोहमा नवीन चिन्तन छ कि छैन ? विद्रोह ऊर्जाशील छ कि छैन ? मात्र त्यसको निरीक्षण गर्नु स् । विद्रोहका कारक तत्व पत्ता लगाउनुस् । समाधानका विकल्पहरू पारदर्शी ढङ्गले ओछ्याइदिनुस् । समाधान ऊ आफैँ खोज्छे ।  

मेरी छोरीले प्रतिस्पर्धामा कसैलाई उछिन्नुपरेको छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा विल्कुलै नदिनुस् । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मेरो मनमा वितृष्णा छ । प्रतिस्पर्धामा लागेर मैले आफूलाई हराएको र आफूलाई अलोकप्रिय बनाएको तीतो अनुभव आज पनि मसँग नै छ । मेरी छोरीले कक्षाका पैँतीस जनामध्ये प्रथम भई बाँकी चौतीस जनालाई पछि पारेर खुसी हुनुपरेको छैन । चौतीस जनाको मन कुल्चेर खुसी हुने शिक्षा चाहिएको छैन । मलाई प्रथम हुन आमाबुवा हर्दम करकर गर्नु हुन्थ्यो । सहज ढङ्गले मैले त्यो स्थान हासिल गर्न सकिनँ । बाङ्गोटिङ्गो बाटो अपनाएरै भए पनि त्यो स्थान हासिल गर्न पाए त आमाबुबाको ओठमा मुस्कुरा हट ल्याउन सकिन्थ्यो, शिक्षक वर्गबाट प्रशंसा बटुल्न सकिन्थ्यो भन्ने लाग्थ्यो । मैले त्यही बाटो पक्रिएँ ।

फलस्वरूप मैले आफूलाई बेचेँ । क्षणिक मुस्कुरा हट पनि ल्याउन सकेँ । तर त्यो मुस्कुरा हटको हत्या हुन धेरै काल पर्खनु परेन । मैले नै उहाँहरूको मुस्कुरा हटकोगला दबाएँ । फलस्वरूप उहाँहरू खिन्न हुनुभयो । कुपुत्रै जन्माएछौँ भनिरहनु भएको छ । मचाहिँ छोरीलाई कुपुत्री बनाउन चाहन्नँ । म छोरीलाई सुपुत्री बनाउन चाहन्छु ।

मेरी छोरीले कसैको प्रशंसाको भजनगाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालालाई स्वीकार्ने पक्षमा म छैन । प्रेमलाई दबाएर, माया र सहानुभूतिको घाँटी दबाएर प्राप्त गर्ने प्रमाणपत्रमा मेरो आपत्ति छ । प्रतिस्पर्धा गर्न सिकाउनु भयो, अरू जस्तै बन्न लगाउनुभयो भने मेरी छोरीले भन्न थाल्नेछे– ‘सबै म नै हुँ । हर कुरा नै म हुँ ।’ तर, म चाहन्छु– मेरी छोरीले भनोस्, ‘हामी नै सबै हौँ, सबै नै हामी हौँ ।’ यसो भन्ने अवस्था दिलाउन उसलाई प्रेम दिनुपर्छ, चैतन्य जगाउनुपर्छ, बाटो देखाउनुपर्छ । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनु पनि छैन । पछि पर्छे कि भनेर ठेल्नु पनि छैन । उसको लयवद्धतालाई स्खलन गर्नु परेको छैन ।

महोदय, समाज स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । त्यही समाज ले तपाईंहरूलाई हतियार बनाएको छ । समाज ‘सबैलाई बचाउन सिकाउनु स्’ भन्दैन, ‘आफैँ बच्न सिकाउनु स्’ भन्छ । शोषणको हतियार बनेर तपाईंहरू मेरी छोरीलाई शोषक बन्ने पाठ नसिकाउनु स् । बरू सक्नुहुन्छ भने हतियार बन्नबाट मुक्त हुनुस् । स्वार्थको भकारी भर्ने कामदार हुनबाट पाखै बस्नुस् । समाज जे भन्छ, त्यसका पछि पछि हिँड्ने अन्धो पथिक बन्दै नबन्नु स् । पहिले आफ्ना आँखा खोल्नुस् अनि मात्र अरूका आँखा खुल्ने कुरा बताउनुस् । पहिले आफूले आफैँलाई चिन्नुस् अनि अरूलाई चिनेको आभास दिलाउनुस् । आफ्नो विवेक र विचार बाँड्नुस्, तर विवेक र विचार लाद्ने गल्ती बन्दै न गर्नु स् । र, अन्त्यमा भनिदिनुस्– ‘मैले बाँडेका विचार माथि विचार गर । ती विचार ले समेत नपुगे पुनर्विचार गर । फेरि, आफ्नो विवेकले त्यसलाई मस्काऊ । कुनै विचार काम लाग्ने देख्यौ भने ती विचार मेरा होइनन्, आफ्नै ठान । विवेकसम्मत कुरा का पछि लाग । आफ्नो विवेकको मालिक आफैँ बन । कसैको विचार का पछि लाग्नुपरेको छैन । आफ्ना विचार लाई चट्टै त्याग्नु पनि परेको छैन । विचार जन्माउनमा तिमी पूरै स्वतन्त्र छ्यौ । विचार लागू गर्नमा तिमी पूरै अधिकारसम्पन्न छ्यौ ।’

महोदय, मेरी छोरीमा अहङ्कार जन्मनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टा प्रेमपूर्ण शिक्षा दिनलाई तपाईं प्रेमी बन्नु पर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । अहङ्कार भित्रयाउने शिक्षा प्राप्त गर्नु भन्दा प्रेम पैदा गर्ने अशिक्षा नै मेरी छोरीले पाउनु बेस हुन्छ । मैले जुन शिक्षा पाएँ त्यो खरो अनुशासनमा आधारित थियो । त्यो वस्तुनिष्ठ थियो । त्यो मेसिनरी थियो । त्यसै कारणले आज ममा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ । म भित्रको अहङ्कारले भनिरहेको छ, ‘म यत्ति धेरै पढेको मान्छे, अब हलो जोत्न सक्दिनँ । अब घाँस काट्न सक्दिनँ । अब पशुसेवा गरेर दुई पैसा आर्जनमा चित्त बुझाउन सक्दिनँ । सानोतिनो नोकरीमा चित्त बुझाउन सक्दिनँ । अब मैले त ठूलो पदवाला नोकरी पाउनुपर्छ । पशुको नोकर हैन, जनताको पनि होइन अब म सरकारको नोकर हुनुपर्छ ।’

अहँ, महोदय, मेरी छोरीले मसँग भएजस्तो अहङ्कारग्रहण गर्नु हुन्न । उसले त हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने पनि हुनुपर्छ । समय अनुसार उसले कुलपति पनि बन्नु पर्छ र परिस्थितिले डोहो¥याए अनुसार ज्यामी–मजदुर पनि हुन रुचाउनुपर्छ । उसको आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ । उसको भोक र सुर्ता औँलो ठड्याएर वा अरूलाई कज्याएर तलब भत्ता पचाउनेमा हैन, जुनसुकै भए पनि काम पाउँदिनँ कि भन्नेमा हुनुपर्छ ।

महोदय, मेरी छोरीले अनुशासन सिक्नु छैन । अनुशासनको पुजारी बन्दा मैले जुन तीतो यथार्थ भोगेँ, त्यो उसलाई भोगाउनु छैन । मेरो यथार्थ थियो– मैले मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरें भने, अनुशासन भङ्ग होला कि ! सजायको कठघरामा उभिएर स्पष्टीकरणको लामो बयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरुँला कि ! यस्तै त्रासमा म बाँचेँ । मैले मन खोलेर कुनै शिक्षकनजिक ओछ्याउन पाइनँ । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर रहनु परयो । नमीठो अनुभवको सिकार भइरहनु परयो । भय र त्रासले तर्सिरहनु परयो । उसले यस्तो नियति भोग्न नपरोस् । उसले मन खोल्ने मौका पाओस् । उसले ठीक–बेठीक भन्न पाओस् । उसले चेतना उघार्न पाओस् । उसले उज्यालो खोज्न र भोग्न पाओस् ।

मेरी छोरी मझैँ मेसिन हैन मान्छे बन्नु पर्छ । उसले दृष्टि र श्रवणयुक्त मनुष्य बन्न पाउनुपर्छ । उसले स्रष्टा र द्रष्टा दुवै हुन पाउनुपर्छ । ऊ घोकन्ते र अनुयायी हैन, विवेकी र चैतन्ययुक्त हुनुपर्छ । उसले जडबुद्धियुक्त हुनु छैन । ऊ आफ्नो जीवनप्रति सन्तुष्ट हुनुपर्छ । ऊ प्रेमले खारिएकी हुनुपर्छ । उसले जीवनको अपार आनन्द भोग गर्न पाउनुपर्छ । उसले भय र त्रास, ईष्र्या र आडम्बर, अन्धविश्वास र पाखण्डको भेउ छिचोल्नुपर्छ । ऊ जे जान्दछे, जे बुझदछे, त्यो उसको विवेक र विचार अनुरूप हुनुपर्दछ । ऊ अरूले खनेको पथमार्गी बन्दै बन्नु हुन्न । ऊसँग आफू हिँड्ने बाटो आफैँले खन्ने सामथ्र्य हुनुपर्छ । मजस्तो अरूले खनेको बाटोमा लुरुलुरु हिँड्ने आज्ञाकारी अनुचर मेरी छोरीले हुनु छैन ।

महोदय, उसको मन खाली हुनु हुन्न । ऊ खाली मन लिएर घर फर्कनु हुन्न । खाली मन शैतानको घर हुन्छ । दिनदिनै उसको मन भरिँदै जानुपर्छ । सिकेका कुरा मध्ये चाहिए जति स्मरणमा भण्डारण गर्छे र नयाँ कुरा का लागि ठाउँ खाली गर्न सक्छे । त्यो खाली पूर्ति गर्ने जिम्मा तपाईंको हो । कृपया, झुटो आश्वासन र असम्भव कुरा ले भर्दिने भुल कदापि न गर्नु होला । म उसलाई नयाँ मान्छे बनाउन चाहन्छु । मेरो चाहनामा कुठाराघात नहोस् । उसले भुल्नु हुन्न, उसले चुक्नु हुन्न । ऊ हर्दम होससहितकी जोसिली बन्नु पर्छ । उसले होसलाई नै धर्म र बेहोसीलाई नै पाप ठान्नुपर्छ । समय आउँदा हँसिमजाकले संसार हँसाउन र परिस्थितिले डाक्दा धीर र शालीनले खारिएको दुवै व्यक्तित्व देखाउन समेत सक्नुपर्छ । ऊ हाँसोमा रोदनको सतर्कता र रोदनमा आनन्दको उत्कट आभास पहिल्याउने हुनुपर्छ । मेरी छोरीले महत्वाकाङ्क्षाको महल ठड्याउनु छैन । मेरी छोरीले निस्सारको पाठ घोक्नु छैन । मेरी छोरीले जीवनबोधको अध्याय पढ्नुपर्छ । जीवनका पत्र, पत्र उल्टाउनुपर्छ ।

महोदय, पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो, सिकाइयो । शिक्षाको अभीष्ट त्यही क्रोधको पकडमा फँस्यो । त्यसैले राजनीति स्वार्थीहरूको, अरू क्षेत्र असफलहरूको फस्टाउँदो खेती ठहरियो । आज अभीष्ट उल्टिएको छ । नम्र बन्नेपालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्नेपालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु तपाईंको कर्तव्य भएको छ । विद्यार्थीले तपाईंबाट विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ । आजको शिक्षाले मेरी छोरीलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । त्यसैले त महोदय, अतीतबाट पाठ सिक्नुस् । तपाईंलाई अतीतले जन्मायो, मलाई अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमान ले जन्माएको छ । वर्तमान ले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नु पर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनु पर्छ ।

महोदय, यस युगले गहन जिम्मेवारी तपाईंको काँधमा सुम्पेको छ । पुरातनवादी सोचले जरागाडेको यो समाज ले सजिलै घुँडा टेक्दैन । विना विद्रोह परिवर्तन सम्भव छैन । यो समाज को सोचविरुद्ध विद्रोह गर्नु स् । रराम्रो अङ्कयुक्त प्रमाणपत्र प्राप्त गर्ने अन्तिम अभीष्टलाई धरासायी पार्नुस् । विवेकी र विचार वान जनशक्ति जन्माउने अठोट लिनुभयो भने तपाईं सफल बन्नु हुन्छ । तपाईं सफल हुनु भनेको मेरी छोरी सफल हुनु हो । सफल मान्छेले नै सफलता दिलाउन सक्छ । असफल मान्छेले त केवल अराजकताको माला पहिल्याउन सक्छ । सफल मान्छेलाई सबै थरीको मार्ग बोध हुन्छ । तपाईंको स्थिर भविष्य हुनु भनेको मेरी छोरीको समुन्नत भविष्यको आधारशिला खडा हुनु हो । अतः महोदय, तपाईंभित्र दीप बलेको छ वा छैन, हेर्नुस् । छ भने ठीक छ । हैन, छैन भने जानुस् पहिले आफूभित्रै दीप बाल्नुस् अनि मात्र मेरी छोरी जस्ता कहाँ पुग्नुस् ।
धन्यवाद !

प्रअ, लिटिल फ्लावर मा.वि., राजविराज–९, सप्तरी

commercial commercial commercial commercial