प्रगतिपथमा प्रगति शिक्षा सदन
पाठ्यक्रम विकास केन्द्रले २०६३ सालमा शुरु गरेको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (क्यास) ले ललितपुरको कुपण्डोलस्थित प्रगति शिक्षा सदनको एसएलसी परिणाम मात्रै सुधारेको छैन; पठनपाठन र छात्रछात्राको समग्र विकास मा समेत सकारात्मक योगदान गरेको छ ।
विद्यार्थीको सिकाइ उपलब्धि स्तर परीक्षण गर्ने आदर्श विधि ठानिएको भए पनि देशका अधिकांश सार्वजनिक विद्यालयमा यो मूल्याङ्कन प्रणाली प्रभावकारी ढङ्गले लागू हुन सकेको छैन ।
प्रगति शिक्षा सदनमा ‘क्यास’को प्रयोजनका लागि स्कूलका सबै छात्रछात्राको व्यक्तिगत मूल्याङ्कन फाइल तयार गरिएको छ । उक्त फाइलमा विषय शिक्षकले विद्यार्थीको हाजिरी, पाठगत परीक्षा, कक्षा कार्य, परियोजना कार्य, गृह कार्य र व्यवहारगत परिवर्तनका आधारमा दैनिक मूल्याङ्कन विवरण भर्ने गर्छन् । विषय शिक्षकहरूको मूल्याङ्कनका आधारमा कक्षा शिक्षकले हरेक विद्यार्थीको श्रेणीगत नतिजा निकाल्छन् । यसरी मूल्याङ्कन गर्दा रराम्रो, मध्यम र कमजोर विद्यार्थी छुट्टिने र कमजोरलाई सुधार गर्न नयाँ तरिका अपनाउन सहयोग पुग्ने गरेको प्रअ सूर्यप्रसाद घिमिरे बताउँछन् ।
निरन्तर मूल्याङ्कन पद्धतिबारे आफ्नो अनुभव सुनाउँदै प्रअ घिमिरे भन्छन्, “कापी जाँचेर अङ्क दिने बानी भएका शिक्षकलाई ‘क्यास’मा जान कठिन भए पनि यसले कालान्तरमा स्कूलको समग्र शैक्षिक स्तर बढाउन र व्यक्तिगत रूपमा छात्रछात्राको समग्र उपलब्धि नाप्न ठूलो सहयोग पुर्याउँछ । त्यसैले केही चुनौतीपूर्ण भए पनि यसलाई हामीले लागू गरेका छौं ।” उक्त स्कूलमा पहिलो प्राथमिकतामा कक्षा कार्य, दोस्रोमा पोजेक्ट वर्क र तेस्रोमा गृह कार्य राखिएको छ । “छात्रछात्रालाई आकर्षित गर्न र स्कूलप्रति अभिभावकको अपनत्व बढाउनका लागि यी कुरा ले धेरै ठूलो सहयोग गरेको अनुभूति गरेको छु”, प्रअ घिमिरे थप्छन् ।
प्रगति शिक्षा सदनको पठनपाठन रराम्रो हुनुको कारण निरन्तर विद्यार्थी मूल्याङ्कन मात्र भने होइन । यो स्कूलले विगत तीन वर्ष देखि नर्सरी, केजी र कक्षा १ मा कक्षा शिक्षण (ग्रेड टिचिङ) पनि शुरु गरेको छ । तीन वर्ष देखि ग्रेड टिचिङमा लागेकी शिक्षक विमला विष्टलाई अहिले कक्षा १ मा कक्षा शिक्षणको जिम्मा दिइएको छ । एउटा कक्षाको जिम्मा एउटा शिक्षकलाई दिँदा छात्रछात्राको सिकाइ उपलब्धिप्रति व्यक्तिगत रूपमा शिक्षक जवाफदेही हुने र अभिभावक पनि प्रसन्न हुने गरेका छन् । कक्षा शिक्षण प्रभावकारी भएका कारण कक्षा ३ सम्म विस्तार गर्ने योजना रहेको प्रअ घिमिरे बताउँछन् ।
पाठ्यक्रमको उद्देश्य हासिल गर्न यो विद्यालयमा शैक्षिक क्यालेन्डर पनि लागू गरिएको छ । अधिकांश विद्यालयका छात्रछात्रालाई कठिन लाग्ने गणित विषयलाई सजिलो पार्न प्रगति शिक्षा सदनले कक्षा ९ र १० का छात्रछात्राका लागि स्कूलमै निःशुल्क अतिरिक्त कक्षा चलाउने गरेको छ ।
सरकारी मापदण्ड अनुसार यो विद्यालय वर्षमा २२० दिन खुल्छ भने करिब २०० दिन कक्षा सञ्चालन हुन्छ । दैनिक आठ घण्टी पढाइ हुन्छ; छात्रछात्रा प्रायः खाली बस्नै पाउँदैनन् । पठनपाठन सुधारका निम्ति परीक्षामा नै सुधार गर्नु पर्छ भन्ने मान्यताका कारण प्रगति शिक्षा सदनमा हरेक साता इकाइगत परीक्षा (युनिट टेष्ट) लिने गरिएको छ । हरेक त्रैमासिक परीक्षा र अन्तिम परीक्षामा ललितपुरका ५२ वटा विद्यालयका निम्ति शैक्षिक समन्वय केन्द्र ललितपुरले बनाएको प्रश्नपत्र लागू गर्ने गरिएको छ । परीक्षाको प्रश्नपत्र बाहिरबाट निर्धारण हुने भएपछि शिक्षक माथि समयमा पठनपाठन पूरा गर्नु पर्ने दबाब पर्ने गरेको प्रअ घिमिरेको अनुभव छ ।
कक्षा १० सम्म ४७५ र कक्षा ११ र १२ मा ११० जना छात्रछात्रा अध्ययनरत यस विद्यालयमा कक्षा ४ देखि ८ सम्म कम्प्युटर शिक्षा लागू गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर बढाउन हरेक वर्ष रराम्रो गर्ने शिक्षक र छात्रछात्रालाई पुरस्कृत गर्ने नीति लिइएको छ । सम्बन्धित शिक्षकले पढाएको विषयमा छात्रछात्राले एसएलसी र अरू परीक्षामा हासिल गरेको नतिजा, स्कूलको विषयगत औसत उपलब्धि, शिक्षकको बिदा, अतिरिक्त कक्षाको सङ्ख्या र छात्रछात्राको मूल्याङ्कनका आधारमा हरेक वर्ष दुई जना उत्कृष्ट र एक जनालाई सर्वोत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गर्ने गरिएको छ । प्रअ घिमिरे स्कूल आएर छोराछोरीको पढाइ बारे सोधपुछ गर्ने अभिभावकलाई पनि बार्षिक रूपमा पुरस्कृत गर्ने योजनामा छन् ।
प्रतिबद्ध र उत्प्रेरित हेडमास्टर
प्रगति शिक्षा सदनको शैक्षिक स्तर माथि जानुमा प्रअको कुशल नेतृत्वले पनि उत्तिकै भूमिका निर्वाह गरेको देखिन्छ । २०६० सालमा घिमिरे प्रअ भएपछि विद्यालयको शैक्षिक /भौतिक अवस्था कायापलट मात्र भएन, यो स्कूल ललितपुरको एउटा नमुना सरकारी विद्यालय समेत बन्न सफल भएको छ । उक्त विद्यालयको २०६१ देखि २०६७ सम्मको एसएलसी परिणाम हेर्दा ९० देखि १०० प्रतिशतको बीचमा रहेको पाइन्छ । यसले अघिल्लो वर्षको एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई ललितपुरका सामुदायिक विद्यालयहरूमध्ये दोस्रो उत्कृष्ट स्थान हासिल गरेको थियो भने यो वर्ष नवौं स्थान ।
प्रगति शिक्षा सदनको आकर्षण कुनै निजी बोर्डिङको भन्दा कम लाग्दैन । १३ मङ्सिर २०६८ मा उक्त विद्यालयका कक्षा १० का छात्रछात्रालाई सामूहिक रूपमा “तपाईंहरूमध्ये कसैलाई निजी स्कूलमा पढ्न नपाएकोमा वा सरकारी स्कूलको विद्यार्थी भएको मा खिन्नताबोध भएको छ ?” भन्ने प्रश्न राख्दा अधिकांशबाट आएको जवाफको सार थियो, “हामी निजी स्कूलमा पढ्न नपाएकोमा खिन्न होइन, सरकारी विद्यालयको विद्यार्थी हुन पाएकोमागौरवान्वित छौं । हामी निजी स्कूलमा पढेका हाम्रा समकक्षीसँग जुनसुकै विषयमा प्रतिस्पर्धा गर्न सक्छौं । किनभने, हराम्रो विद्यालय शहरका धेरै निजी विद्यालय भन्दा रराम्रो छ ।”

उदयपुरबाट बाबुआमासँग राजधानी आएर प्रगति शिक्षा सदनको कक्षा ५ मा भर्ना गरिएका कक्षा १० का छात्र दीपेन्द्र खत्री सधैँ प्रथम हुँदै आएका छन् । उनी आसन्न एसएलसीमा विशिष्ट श्रेणी हासिल गरेर छात्रवृत्तिमा विज्ञान पढ्न चाहन्छन् । भविष्यमा चाहिँ उनको मुटुरोग विशेषज्ञ बन्ने लक्ष्य छ । दीपेन्द्रको जीवन लक्ष्य हासिल गर्नका निम्ति अभिभावकको आर्थिक हैसियत देखिँदैन । तर पनि उनी भन्छन्, “पैसा नभएर मेरो पढाइ रोकिन्न, रराम्रो अङ्क ल्याएपछि छात्रवृत्ति पाइन्छ, छात्रवृत्तिले डाक्टर बनाउँछ ।” रराम्रो अङ्क ल्याउनका लागि उनले विद्यालयको पढाइ बाहेक कतै अतिरिक्त शुल्क तिरेर ट्युसन/कोचिङ पढेका छैनन् । यी छात्रमा डाक्टर बन्ने आत्मविश्वास पैदा गर्न अरू कसैको होइन, प्रगति शिक्षा सदनका प्रअ र शिक्षकहरूको देन भेटिन्छ ।
शान्तिनगरमा बाबुआमासँग डेरामा बस्दै आएकी कक्षा १० की छात्रा शान्ति खड्का पनि हरेक दिन प्रगति शिक्षा सदन नै धाउँछिन् । किन त ? शान्ति भन्छिन्, “हराम्रो डेरा नजिकका स्कूल प्रगति जस्ता छैनन् । त्यसैले म शान्तिनगरबाट कुपण्डोल ओहोरदोहर गर्न गाह्रो मान्दिनँ ।” पठनपाठनको स्तर , आफू भन्दा अग्रज छात्रछात्राले गरेको उन्नति, स्कूल अनुशासन र शिक्षकको मैत्रीपूर्ण व्यवहारका कारण आफूले प्रगति शिक्षा सदनलाई रोजेको शान्तिको कथन छ ।
कक्षा ९ का हविन लामा निजी स्कूल छाडेर प्रगति शिक्षा सदनमा आएको डेढ वर्षभन्दा बढी भएको छैन । उनको अनुभव छ, “निजी स्कूलमा जान्ने विद्यार्थीलाई बढी ध्यान दिइन्छ । तर, प्रगतिमा जान्नेलाई भन्दा कमजोरलाई हौसला दिएर सिकाइन्छ ।”
प्रअ घिमिरेले आफ्नो स्कूलमा गरेका सकारात्मक कार्यलाई जिल्लाका अरू सरकारी विद्यालयमा फैलाउन शैक्षिक समन्वय केन्द्रमार्फत प्रयास गरेका छन् । शैक्षिक समन्वय केन्द्र उनी लगायत ललितपुरका सामुदायिक विद्यालयका प्रतिबद्ध प्रअहरूको संस्था हो । यसले विना राजनीति ललितपुरका ५२ वटा सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार अभियान चलाएको छ ।
यसनिम्ति परीक्षा तथा मूल्याङ्कन प्रणालीमा सुधार, रराम्रो गर्ने सरकारी विद्यालयको भ्रमण, शिक्षक–छात्रछात्रालाई सम्मान , शिक्षक तालिम तथा कार्यशाला, पाठ्यक्रम अनुसार पठनपाठन र सदस्य विद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरेको छ । केन्द्रका सचिव रहेका घिमिरेले थपे, “आफ्नो विद्यालय सपार्न महत्वपूर्ण भूमिका खेलेका प्रअहरूले सामुदायिक स्कूललाई सुधार गर्ने उद्देश्यले केन्द्र खोलिएको हो ।” केन्द्रले गरेको सबैभन्दा महत्वपूर्ण काम चाहिँ आफ्ना सदस्य स्कूलमा एउटै प्रश्नपत्रमा एकै पटक परीक्षा लिनु हो । यसले परीक्षामा मात्र सुधार होइन, पढाइमै सुधार गरेको छ । घिमिरेले केन्द्रमा राजनीति छिर्न नदिएको बताए । स्कूल वा शैक्षिक संस्थामा राजनीति छिर्यो भने स्कूललाई भन्दा बढी विद्यार्थीलाई सखाप पार्छ भन्ने घिमिरेको मान्यता छ ।



