शिक्षक चाहिदैंनन् कीरा फट्याङ्ग्रालाई !

हामी आफ्ना छोराछोरीलाई धेरै कुरा सिकाउन खोज्छौं, सिकाउन चाहन्छौं । हामी मात्र कहाँ हो र; काग, भँगेरा, जुरेली र अरू चराचुरुङ्गीहरू पनि आफ्ना बचेरालाई उड्न सिकाउँछन् । बाघ, सिंह र बिरालाहरू आफ्ना डमरु, छाउरा, छाउरीलाई सिकार गर्न सिकाउँछन् । आफ्ना सन्तति सक्षम होउन्, सिपालु होउन्, योग्य होउन् भन्ने सबै प्राणीको चिन्ता हुन्छ । र, बालबच्चालाई सिकाउँछन्, प्रशिक्षण दिन्छन्, तालिम दिन्छन् आदि इत्यादि । तर संसारमा यस्ता प्राणी पनि छन्, जसले आफ्ना आमा–बुबा लगायत पहिलो पुस्ताबाट केही सिक्न पाउँदैनन् । आफू जन्मँदा पुराना पुस्ता परलोक भइसकेका हुन्छन् । तैपनि , प्राणीजगतमा उनीहरू नै सबैभन्दा सफल, सबैभन्दा सबल र सबैभन्दा स्वावलम्बी छन् । प्राणीजगतको यो चरित्र कीरा–फट्याङ्ग्राको जीवनमा साकार हुन्छ ।

माहुरीलाई कुन फूलमा मह छ भनेर कसैले सिकाउनु पर्दैन, कोया फुटाएर बाहिर निस्कनासाथ आफैं उडेर पुतलीहरू आफ्नो जोडी भेट्न कहाँ पुग्ने र कुन फूलको रस चुस्ने भन्ने ज्ञान आफैंमा लिएर आएका हुन्छन् । कमिलाहरू जन्मनेबित्तिकै आफ्नो कर्म अनुसारको धर्म निर्वाह गर्न मिहिनेतमा जुटिहाल्छन्, मिलेमतोमा सङ्गठित भइहाल्छन् । कीरा–फट्याङ्ग्रामा यस्ता ज्ञान तत्वहरू वंशाणुगत संरचनाभित्र नै निहित हुन्छन् । यिनको जीवनचक्रमा सर्वप्रथम आमाको कोखबाट अण्डाका रूपमा स्थापित हुन्छन् । अण्डाबाट अति सक्रिय लार्भा अवस्थामा प्रवेश गर्छन् । लाभ्रेहरू विभिन्न खाद्यवस्तु खान सक्ने खाएर अघाएपछि कोया अवस्था (pupa) मा पुनः निष्क्रिय भएर बस्दछन् । त्यसबाट बाहिर निस्कँदा चटकीले चटक गरे झै ती लाभ्रे पूर्णतः वयस्क पुतली, माहुरी वा बारुलो बनेर अवतरण हुन्छन् । त्यसैले हामीले देख्ने साना पुतलीहरू ठूला पुतलीका बच्चा होइनन् । त्यस्तै साना–साना लामखुट्टे पनि ठूला लामखुट्टेका बच्चा होइनन् । बरु ती भिन्नभिन्न प्रजातिका हुन्छन् । कीरा–फट्याङ्ग्रामा हुने यो अद्भुत परिवर्तनलाई अङ्ग्रेजीमा मेटामर्फोसिस (metamorphosis) भनिन्छ । हुन पनि एक घिनलाग्दो झुसिले कीराबाट पुतलीको सौन्दर्यमा अवतरण हुनु निश्चय नै विस्मयपूर्ण घटना हो ।

प्राणीजगतको अस्तित्वको सङ्घर्षमा कीरा–फट्याङ्ग्रा सबैभन्दा सफल प्राणी मानिन्छन् । पृथ्वीतलको जस्तोसुकै विषमता वा विविधतामा पनि यिनीहरू आफूलाई अनुकूल बनाउन सक्दछन् । यिनीहरू खानाको लागि सामान्य फूल बीज–बिरुवा देखि कपडा, काठ–दाउरा जस्ता घरेलु सामग्री समेत छोड्दैनन् । सन्तान जन्माउने कुरा गर्दा एउटै माउबाट सयौंका सङ्ख्यामा सन्तान जन्माउन सक्दछन् । एउटा रानो माहुरीबाट हजारौं अरू माहुरी जन्मन्छन् । प्रत्येक दिन १५०० भन्दा बढी अण्डा दिन्छे एक रानो माहुरीले । कीरा–फट्याङ्ग्राहरू शरीरले पनि सानै हुन्छन् । जहाँ पनि अटाउन सक्छन् । धेरैका पँखेटा हुन्छन् । छिटो भाग्न र छिटो सफर गर्न पनि समर्थवान हुन्छन् । यी सबै कुरा भन्दा अझ् महत्वपूर्ण कुरा त; कीरा–फट्याङ्ग्राको शारीरिक बनावट स्थान अनुसार मिल्ने विशिष्ट प्रकारको हुन्छ । यिनका खाने मुख, चुस्ने अङ्ग, खुट्टाका आकार–प्रकार, पखेंटाका रुपरङ आदि विविधताले भरिपूर्ण हुन्छन् । कीराफट्याङ्ग्राको संसारभन्दा विविध र ठूलो संसार अरू प्राणीको छैन । वैज्ञानिकहरूले पत्ता लगाएका लगभग चौध लाख जीवप्राणी र वनस्पतिमध्ये सात लाख पचास हजार (५३.५७ प्रतिशत) त कीरा–फट्याङ्ग्राका प्रजाति नै छन् । यो सन् १९८० ताकाको तथ्याङ्क हो । प्रत्येक वर्ष नयाँ प्रजातिका सयौं सयौं कीरा–फट्याङ्ग्रा पत्ता लाग्दैछन् । पत्ता लगाउन बाँकीको सङ्ख्या अथाह छ । कीरा–फट्याङ्ग्रा भन्नाले तीन भागमा छुट्टिएको शरीर (टाउको, छाती र पेट) तथा ६ वटा खुट्टा भएका प्राणीलाई मात्र भन्न खोजिएको हो । माकुरा , शंखेकीरा,गड्यौला, जुका इत्यादि यसभित्र पर्दैनन् ।

संसारका कुनै पनि प्राणी पृथ्वीको जीवन्त प्रणालीमा बेकामका हुँदैनन् । सबैको आ–आफ्नै भूमिका हुन्छ । यहाँ चाहिँ हामी मानिसको निम्ति प्रत्यक्ष लाभ र हानि गर्ने कीरा फट्याङ्ग्राहरूका बारेमा बढी केन्द्रित रहन्छौं ।

हामी आफ्नो घर–दैलो, बारी, बगैंचा, खेत र चौरमा जाँदा विभिन्न जाति–प्रजातिका कीराफट्याङ्ग्रा वा तिनका लाभ्रे सलबलाएको देख्छौं । घरभित्रै पनि झ्ँिगा, साङ्ला, कमिला र धमिराले निकै दुः ख दिने गरेको हामीलाई थाहा छ । अझ् उडुस, उपियाँ, जुम्रा र लामखुट्टेको हैरानी त बयान गरिसाध्य छैन । हामीले आफ्नो शरीर, लुगाफाटा, ओढ्ने–ओछ्याउने र घरको आँगन–चोटा, कोठा र भान्छा सफा–सुग्घर नराखे यिनको बिगबिगीले बाँच्नै गाह्रो बनाइदिन्छ ।

हराम्रो बारी र बगैंचाका फूल–तरकारीका बिरुवामा पनि लाभ्रे, लाही, खुम्रे, खपटे,गवारो, फट्याङ्ग्रा, पतेरो आदि विभिन्न प्रकारका कीरा–फट्याङ्ग्रा (insects) ले ठूलो क्षति पुरयाउने गरेका छन् । विशेष गरेर सागपात, तरकारी र फलफूल खेतीलाई कीरा–फट्याङ्ग्राले अधिक सताउने गर्द छन् । तर धान,गहुँ, मकै, भटमास र दाल पनि तिनको प्रकोपबाट मुक्त हुँदैनन् । त्यसैले; विश्वमा कीटनाशक विषादी रसायनहरूको प्रयोग बढ्दो छ । यस्ता रसायनको अधिक प्रयोगबाट मानिस लगायत अरू पशुपन्छी र सिङ्गो वातावरण नै प्रदूषण हुने गरेका धेरै उदाहरणहरू छन् । तिनबाट स्वास्थ्यमा पर्ने दीर्घकालीन प्रभावका कारण आजभोलि कृत्रिम विषादीको प्रयोगमा सचेतना बढाउने काम पनि हुँदै आएको छ । यस्ता विषादीको अन्धाधुन्द प्रयोगबाट शत्रु कीरा मात्र हैन मित्र कीरा पनि नष्ट हुन्छन् । तर यहाँनेर ख्याल राख्नुपर्ने कुरा के छ भने; हामीले चिन्न सकेका दश लाख प्रजातिका कीरा–फट्याङ्ग्रामध्ये एक प्रतिशतले मात्र हानि–नोक्सानी पुरयाउँछन् । अरूले त फाइदै पुरयाउँछन् । एक प्रतिशतलाई नाश गर्दा बाँकी उनान्सय प्रतिशत पनि नष्ट हुने खतरा स्वतः स्पष्ट छ । भनिन्छ, यदि संसारबाट माहुरी लोप भयो भने मानिसको जीवन आधार चार वर्षमा समाप्त हुन्छ । यो भनाइ प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्सटाइनको हो भन्ने मौरी पालकहरूको दाबी छ ।

प्राणीजगतको सम्पूर्ण खाद्य पदार्थ वनस्पतिबाट प्राप्त हुन्छ । वनस्पतिजगतलाई जीवन्त राख्ने काममा कीरा–फट्याङ्ग्राको विशेष भूमिका हुन्छ– खास गरेर परागसेचन कार्यमा । माहुरी, बारुलो, भँमरा, पुतली, विभिन्न प्रकारका झ्ँिगाहरू आफू जन्मे देखि नमरुन्जेल फूल फुल्ने बिरुवाहरूको बिहेगराइदिने कार्यमा व्यस्त हुन्छन् । पुरोहितको मन्त्रोच्चारणझै लाग्ने तिनको भुनभुन आवाज भने पखेँटाको चालगतिबाट आउने हो; तिनकोगलाबाट होइन ।

विश्वको सर्वोत्कृष्ट मुलायम बस्त्र बन्ने रेशम धागोको स्रोत रेशम कीरा (Cater Piller) को कोयाबाट प्राप्त हुन्छ । त्यस्तै बहुउपयोगी लाहा पनि एक प्रकारको लाही कीराबाटै प्राप्त हुन्छ । चिठीपत्र सिलबन्दी गर्दा लाहाछाप लगाउने चलन हामीकहाँ छ । चीन, जापानमा कलात्मक भाँडाकुँडा, बटुको आदिमा आकर्षक पालिस लाहाबाटै लगाइन्छ । माहुरीको मह र मैन कति उपयोगी छ, त्यो भन्नै पर्दैन । त्यस्तै कतिपय कीराहरू विशेष गरेर लाभ्रे कीराहरू चराचुरुङ्गीका प्रमुख आहारा पनि हुन् । धमिरा मात्र खाएर जीविका गर्ने एन्ट इटर (ant eater) तथा अरू प्राणीको अस्तित्वमा कीराको महिमा ठूलै हुन्छ । नेपालको प्रख्यात जडिबुटी यार्सा गुम्बा पनि कीराकै लाभ्रेबाट बन्ने हो ।

कीरा–फट्याङ्ग्राको जीवनगाथा रोमाञ्चकारी र कौतुहलपूर्ण मात्र नभई तिनबाट मानिसले सिक्नुपर्ने ज्ञान गुनका कुरा पनि थुप्रै हुन्छन् । धमिराले निर्माण गर्ने माटाकागुँड कसरी वातानुकूल हुन्छन् ? अध्ययन–अनुसन्धानको विषय बन्दै आएको छ । खपटे कीराको जुधाइ हेरेर कुस्ती खेलको नयाँ दाउपेच पत्ता लगाउने तरखर पनि सुनिन थालेको छ । मानिसलाई हानि पुरयाउने कीराहरूलाई आफ्नो आहारा बनाएर जैविक सन्तुलनमा सघाउ पुरयाउने धेरै कीराका प्रजाति हुन्छन् । तिनमा टिके कीरा,गाइने कीरा, बारुला र कुमालकोटीका प्रसङ्गहरू रोचक हुन्छन् । तर, पुतलीका विभिन्न प्रजातिले प्रदान गर्ने सौन्दर्यतिर मानिसहरू अधिक आकर्षित हुने गरेका छन् । प्रकृतिको छटाको रूपमा पुतली हेर्न पर्यटकहरू नेपालमा पनि आउन थालेका छन् । पुतली (butterfly) को विश्व वैभवको २.६ प्रतिशत (६४० प्रजाति) नेपालमा विद्यमान छन् । तिनमा निशाचर पुतली भने समावेश छैन । यस्ता पुतलीलाई अङ्ग्रेजीमा मथ (moth) भनिन्छ । अक्सर रात परेपछि सक्रिय जीवनचर्या अपनाउने पुतली नै मथ हुन् । हराम्रो बत्तीमा झुम्मिएर ज्यान फाल्ने पुतली यिनै हुन् । दिया र पतङ्ग (पुतली) को कथा यिनै मथ पुतलीमा आधारित छ । दिउँसो बगैँचामा देखि ने पुतली वटरफ्लाई (butterfly) को कथा होइन त्यो ।

वटरफ्लाई पुतली दिनमा सक्रिय हुन्छन् भने मथ पुतली रातमा । ‘वटरफ्लाई ’ पुतलीको जुँगा सलक्क परेको धागो जस्तो मात्र हुन्छ तर मथ पुतलीका जुँगामा झुस पलाएको हुन्छ । नजिकबाट हेर्दा कपाल कोर्ने काँगियो जस्तो पनि देखिन्छ । वटरफ्लाई पुतलीहरू भुईंमा वा फूलमा बस्दा दुवै पँखेटा खप्टाएर बस्दछन्, हराम्रो हत्केलाले नमस्ते गरे झै । मथ पुतली बस्दा दुवै पँखेटा फैलाएर बस्दछन् । यसरी बस्दा एट्लासमथ (atlas moth) को पँखेटा ३० सेन्टीमिटरसम्म फैलिन्छ । कीरा–फट्याङ्ग्राको संसारमा यो सबैभन्दा ठूलो प्रजाति हो । यो प्रजाति नेपालमा पनि पाइन्छ । कीरा–फट्याङ्ग्रा, पुतली आदि प्राणीका रहस्य बुझदै जानुपर्छ; हामीमा संरक्षणको चेतना पनि खुल्दै जान्छ । क्रमशः

commercial commercial commercial commercial