जिम्मेवारी एकातिर काम अर्कातिर

सार्वजनिक स्कूलको शिक्षण कार्यलाई सहज र स्तरीय बनाउन सघाउने उद्देश्यले खोलिएका स्रोतकेन्द्र तथा त्यहाँ नियुक्त स्रोतव्यक्तिहरू जिशिकाको नियमित काममै सीमित भएका कारण स्कूल निरीक्षण, कक्षा अवलोकन र नमुना पाठ प्रदर्शन जस्ता महत्वपूर्ण कार्यहरू ओझाेलमा परिरहेका छन् ।

शिक्षा मन्त्रालयले १३ असोज २०६८ मा जारी गरेको स्रोतव्यक्ति व्यवस्थापन निर्देशिका मा स्रोतव्यक्तिले एक महिनामा कम्तीमा १० वटा विद्यालय निरीक्षण गरी तिनमा कम्तीमा दुईवटा नमुना पाठ प्रदर्शन गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अनुसार एउटा स्रोतव्यक्तिले एक महिनामा कम्तीमा २० वटा नमुना कक्षा लिनुपर्ने हुन्छ ।  

निर्देशिकाले नमुना पाठ प्रदर्शनपछि शिक्षक र छात्रछात्रासँग अन्तरक्रिया गर्ने , अर्को पटक कक्षा अवलोकन गर्दा आफूले लागू गरेको विधि स्कूलमा लागू भए/नभएको हेर्ने र त्यसबारे जिशिकालाई प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी पनि स्रोतव्यक्तिको काँधमा हालेको छ । उक्त निर्देशिकामा स्रोतव्यक्तिले स्कूलको सिकाइ उपलब्धि बढाउन शैक्षिक सत्र शुरु भएको एक महिनाभित्र सबै स्कूलको कक्षा १ देखि १० सम्मको परीक्षाफल विश्लेषण गरी स्रोतकेन्द्र मातहतका स्कूलहरूमा प्रदर्शन गर्ने तथा सबै अनिवार्य विषयको विषयगत नतिजा विश्लेषण गरी कमजोर विद्यालयको पठनपाठन सुधार गर्ने जिम्मेवारी पनि राखिएको छ । त्यस्तै स्रोतकेन्द्र अन्तर्गतका विद्यालयको नतिजा सुधार गर्ने योजना बनाइ कार्यान्वयन गराउने जिम्मेवारी पनि स्रोतव्यक्तिलाई नै दिइएको छ ।

स्रोतकेन्द्र सञ्चालन सम्बन्धी पुरानो निर्देशनमा पनि स्रोतव्यक्तिलाई ‘प्राविधिक शिक्षक’ भन्दै स्कूलको शैक्षिक गुणस्तर सुधारका निम्ति कक्षा अवलोकन, नमुना पाठ प्रदर्शन, विद्यालय निरीक्षण जस्ता जिम्मेवारी तोकिएका थिए । नयाँ तथा पुराना दुवै निर्देशिकाको मर्म देशभरिका १०५३ स्रोतकेन्द्रमा खटिएका स्रोतव्यक्तिलाई विद्यालयको पठनपाठन सुधार गर्नका लागि अधिकतम परिचालन गर्नु रहेको देखिन्छ । तर, यथार्थ चाहिँ केही बेग्लै भेटिन्छ । स्रोतव्यक्तिहरूलाई जिशिकाले आम रूपमा प्रशासनिक काममा लदाउने गरेको र स्कूलको सिकाइ सुधारको काम ओझाेलमा पार्ने गरेको पाइन्छ । व्यवहारमा, स्रोतव्यक्तिहरू स्रोतव्यक्ति नभएर जिशिकाका कर्मचारीमा परिणत भइसकेका छन् ।

काठमाडौंको नक्सालस्थित नन्दी मावि स्रोतकेन्द्रकी उमा रेग्मीले स्रोतव्यक्तिको जिम्मेवारी पाएको १४ वर्ष पूरा भए पनि उनले स्कूलको शैक्षिक अवस्था सुधारका निम्ति सार्थक भूमिका निर्वाह गर्न नसकेको अनुभव बटुलेकी छन् । उनलेगोर्खा, कपिलवस्तु, काभ्रे र काठमाडौँका आठ वटा स्रोतकेन्द्रमा काम गरिन् । नेपाली र सामाजिक विषयमा बीएड सकेर स्रोतव्यक्ति बन्दा उमालाई आफूले स्कूल सुपरीवेक्षण, कक्षा अवलोकन, नमुना पाठ प्रदर्शन आदि जस्ता विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी काम गर्नु पर्ला भन्ने नै लागेको थियो । तर, स्रोतव्यक्ति भएपछि उनले स्कूलको शैक्षिक उपलब्धि सुधारका काममा भन्दा बढी अरू नै काम गर्नु परेको छ । “म स्रोतव्यक्ति भन्दा बढी जिशिकाको प्रशासनिक कर्मचारी भएको छु । किनभने अहिले मलाई जिशिकाले लगाएको काम सक्न नै भ्याईनभ्याई छ” रेग्मीले भनिन् ।  

उमाको कात्तिक महिनाभरिको कार्यसूचीमा तथ्याङ्क सङ्कलन मुख्य काम थियो । सैनिक मुख्यालयले जिशिका काठमाडौंसँग काठमाडौंका विद्यालयलाई भूकम्पीय जोखिमबाट बचाउने रणनीति तय गर्न आवश्यक सूचना माग गरेकाले जिशिकाले रेग्मीसँग नन्दी मावि स्रोतकेन्द्र अन्तर्गतका ८१ वटा विद्यालयको भौतिक अवस्था, शिक्षक–विद्यार्थी विवरण, विपत व्यवस्थापनको तयारी, स्कूल नक्साङ्कन जस्ता पक्ष समेटेर तथ्याङ्क पठाउन भनेको छ । जिम्मेवारी बाहिरको र भैपरी आएको भए पनि यो कामका निम्ति अहिले देशभरिकै स्रोतव्यक्ति संलग्न छन् । “मेरो क्षेत्रका सबै स्कूलको विवरण तयार गर्न एक महिनाभन्दा बढी लाग्छ । अरू काम छाडेर पनि अहिले यही काम गरिरहेकी छु, जिम्मेवारी बाहिरका यस्ता काम आइरहन्छन, ती न गरी सुख पाईंदैन”, रेग्मीले भनिन् ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षाका निम्ति छात्रछात्राको रजिष्ट्रेशन फारम भराउने चटारोले पनि उमालाई छोपेको छ । ८१ स्कूलका कक्षा ८ को रजिष्टे«शन जिशिकामा पठाएपछि मात्र जिशिकाले प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षा तालिका तय गर्छ । रजिष्ट्रेशन समयमा न गरे जाँच नै प्रभावित हुन्छ । त्यसैले उमा अहिले सेनाले मागेको तथ्याङ्क र कक्षा ८ का छात्रछात्राको रजिष्ट्रेशन भराउने काममा व्यस्त देखिन्छिन् । स्रोतकेन्द्र अन्तर्गतका ८१ स्कूलको जिल्लास्तरीय परीक्षा सञ्चालनको जिम्मा पनि स्रोतव्यक्तिकै काँधमा हुन्छ ।

उमाको तात्कालिक कामको सूची यतिमै टुङ्गिदैन । केही समयअघि गएको भूकम्पले उनको काँधमा अर्को काम पनि थपिदिएको छ– आफ्नो स्रोतकेन्द्र अन्तर्गतका विद्यालयलाई भूकम्पमा जोगिने कार्ययोजना बनाएर पूर्वाभ्यास गर्न लगाउने । यसका लागि विद्यालयहरूलाई उनले सूचित गरिसकेकी छन् । उनी भन्छिन्, “समय मिलेपछि यो काम अघि बढाउँछु ।”

शिक्षकको पेशागत विकास (टीपीडी) तालिम लिएका शिक्षकको कक्षा अवलोकन गरी तिनलाई फिडव्याक दिने, तालिम आवश्यक रहेका शिक्षक पहिचान गरी तालिम आयोजन गर्ने , शिक्षा विभागले वर्षको दुईपटक निकाल्ने फ्ल्यास रिपोर्ट का लागि आफ्नो कार्य क्षेत्रका स्कूलको तथ्याङ्क तयार गरी जिशिकामा पठाउने जस्ता स्रोतव्यक्तिका नियमित जिम्मेवारी हुन् । उमा भन्छिन्, “म त कक्षा अवलोकन, नमुना कक्षा प्रदर्शन र स्कूल अनुगमनमा सीमित हुन पाए खुशी हुन्थे । तर, मेरो धेरै समय तथ्याङ्क सङ्कलन र बैठकमै जान्छ ।” उमाले महिनामा ४/५ वटा कक्षा पनि हेर्न भ्याएकी छैनन् ।

यी जिम्मेवारी पूरा गर्न एउटा स्रोतव्यक्तिलाई कम्तीमा एउटा कम्प्युटर, इन्टरनेटसहितको कार्यालय वा कोठा, कार्यालय सहयोगी, विद्यालय तहका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शिक्षा मन्त्रालय र विभागले निकालेका शैक्षिक प्रकाशन तथा निर्देशिका आदि जरुरी हुने देखिन्छ । तर, नन्दी स्रोतकेन्द्रसँग अरू त के एउटा कोठासम्म पनि छैन । स्कूलले दिएको एउटा टेबुल देखाउँदै उमा भन्छिन्, “यो पनि म र विनि चन्द्रा थापाले प्रयोग गर्ने गरेका छौं ।”

स्रोतव्यक्तिले शिक्षकको दरबन्दी अनुसारको तलबमा ‘फिल्ड भत्ता’ भनेर मासिक रु.१८०० पाउँछन् । हरेक स्रोतकेन्द्रलाई जिशिकाले वार्षिक रु.५० हजार उपलब्धगराउँछ । त्यसबाट रु.२५ हजार आफ्नो क्षेत्रको शैक्षिक अवस्था अनुसन्धान गर्न र बाँकी कार्यालय व्यवस्थापनमा खर्च गर्नु पर्छ । सो रकम स्रोतकेन्द्रका प्रअ र शिक्षकको बैठक राख्दाको चियाखाजामै सकिन्छ ।

देशका अधिकांश स्रोतकेन्द्रको अवस्था नन्दी स्रोतकेन्द्रको भन्दा भिन्न छैन । स्रोतव्यक्तिको रूपमा १० वर्ष काम गरे की काठमाडौंको शान्ति शिक्षा मन्दिर मावि ठहिटी स्रोतकेन्द्रकी स्रोतव्यक्ति त्रिपुरा शाह (५९) को भागमा ६० वटा स्कूल पर्छन् । शान्ति शिक्षा मन्दिर माविले स्रोतकेन्द्रका लागि स्कूलको एउटा कोठा दिए पनि त्यो कोठा बस्न लायक भने छैन । त्यो कोठमा स्रोतकेन्द्रका भन्दा बढी स्कूल पाठ्यपुस्तक र प्रयोगमा नआउने थोत्रा सामग्री थन्क्याइएका छन् । त्रिपुरा भन्छिन्, “विद्यालयको गुणस्तर सुधार सम्बन्धी काम गर्ने हो भने पनि एउटा स्रोतव्यक्तिलाई १० वटा भन्दा बढी विद्यालयको जिम्मेवारी दिनुहुँदैन, त्यस माथि स्रोत–साधन नै नभएपछि कसरी काम गर्नु ?”


नमुना बन्दै बौद्ध स्रोतकेन्द्र

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका निम्ति व्यवस्था गरिएका स्रोतकेन्द्रको भौतिक अवस्था कस्तो हुनुपर्ला भन्ने जिज्ञासा राख्दा धेरैजसोको जवाफ हुन्छ– छुट्टै कार्यालय, इन्टरनेट जडान गरिएको कम्प्युटर, टेलिफोन, स्रोतव्यक्तिका लागि टेबुल, कुर्सी, दराजसहितको न्यूनतम फर्निचर व्यवस्था, एक थान पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, तालिम निर्देशिका आदि । यस्तो स्रोतकेन्द्र स्थापना गर्न शिक्षा मन्त्रालयले कुनै स्रोतको व्यवस्था गरेको छैन । तर, सरकारी बजेट विना पनि काठमाडौंको बौद्ध माविले उपलब्ध गराए को एउटा कोठालाई त्यहाँका स्रोतव्यक्ति रामनारायण साहले स्रोतसाधनयुक्त तुल्याएका छन् ।

विद्यालयहरूको आर्थिक सहयोगमा साहले टेबुल, कुर्सी, स्रोतव्यक्तिको कार्यकक्ष, दराज, कम्प्युटर प्रिन्टर, पिजन होल, टेलिफोन आदि व्यवस्था गरेका छन् । उक्त स्रोतकेन्द्रमा विद्यालय तहको पाठ्यक्रम/पाठ्यपुस्तक; शिक्षक निर्देशिका, तालिम निर्देशिका, शिक्षा मन्त्रालयका शैक्षिक प्रकाशन, स्रोतव्यक्तिका निम्ति जारी गरिएका निर्देशिका तथा निर्देशनका अतिरिक्त स्रोतकेन्द्रको वार्षिक योजना, कार्यक्रम आदि पनि राखिएको छ । साह भन्छन्, “काम गर्ने हो भने स्रोत–साधनको खाँचो हुने रहेनछ । मैले स्थानीय स्रोतकै भरमा कार्यालय व्यवस्थापन गरेको छु ।”

शिक्षा बजेट तथा कार्यक्रममा स्रोतव्यक्तिको सहयोगी रहने व्यवस्था गरिएको छैन । तर, साहले मासिक रु.४१०० तलब दिएर कार्यालयमा एक जना सहयोगी पनि राखेका छन् । यो व्यवस्थाले स्रोतकेन्द्र अन्तर्गतका स्कूल र शिक्षकलाई सजिलो पारेको छ । स्रोतव्यक्ति कतै जाँदा पनि स्रोतकेन्द्र सधैँ १०–५ खुलेको हुन्छ । साहले आउँदो शैक्षिक सत्रसम्ममा स्रोतकेन्द्रका निम्ति एउटा क्यामरा र तालिम सञ्चालन गर्न प्रोजेक्टरको व्यवस्था गर्ने योजना बनाएका छन् ।

शिक्षक तालिम चलाउँदा हुने आम्दानी र आफ्नो क्षेत्रका विद्यालयले गर्ने आर्थिक सहयोगबाट स्रोतकेन्द्र व्यवस्थापन गरिएको साह बताउँछन् । स्थानीय स्रोत परिचालन गर्ने सीप साहले तालिमबाटै सिकेका हुन् । महोत्तरीका बासिन्दा साह २०५८ सालमा माविमा गणित शिक्षण छाडेर स्रोतव्यक्ति भएका थिए । स्रोतकेन्द्र व्यवस्थापन सम्बन्धी एकमहिने तालिम लिँदा साहले स्थानीय स्रोतबाट स्रोतकेन्द्र व्यवस्थापन कला सिकेका हुन् । उनले स्कूलहरूकै सहयोगमा कार्यालय व्यवस्थापन, शिक्षक तालिम, सरकारी निजी स्कूलबीच सहकार्य गरेर सिकाइ आदानप्रदान जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन् । साह भन्छन्, “काठमाडौंका २३ वटै स्रोतव्यक्तिलाई मैले गरेको काम हेर्न आग्रह गरेको छु । कम्तीमा काठमाडौंका स्रोतकेन्द्रलाई नमुना बनाऊँ भन्ने मेरो मान्यता हो । तर, साथीहरूले मेरो स्रोतकेन्द्र भ्रमण गर्ने फुर्सद पाउनुभएको छैन ।”

साहले विद्यालय निरीक्षण र कक्षा अवलोकनलाई मुख्य प्राथमिकता दिएका छन् ।गत वर्ष मात्र उनले शिक्षकको पेशागत विकास तालिममा सहभागी आफ्नो स्रोतकेन्द्र अन्तर्गतका स्कूलका ६० जना शिक्षकका कक्षा अवलोकन गरेर तिनलाई ‘फिडव्याक’ दिए । धेरै स्कूलमा कठिन मानिएको ‘निरन्तर विद्यार्थी मूल्याङ्कन’का लागि आफैँले फारम तयार गरेर यही वर्ष देखि आफ्नो क्षेत्रका स्कूलमा लागू गरेका छन् । “अधिकांश स्कूलमा निरन्तर विद्यार्थी मूल्याङ्कन कठिन भएको छ । तर म हराम्रो स्रोतकेन्द्रका स्कूलमा सफल बनाएर नमुना बन्न चाहन्छु”, उनी आफैँ विद्यालयमा गएर शिक्षकहरूलाई निरन्तर विद्यार्थी मूल्याङ्कनको फारम भर्न सिकाउँछन् । रराम्रो स्रोतव्यक्तिका रूपमा जिशिकाले साहलाई गत वर्ष पुरस्कृत पनि गरेको थियो ।

स्रोतव्यक्ति साहले आफ्नो स्रोतकेन्द्रका स्कूलमा कक्षा ३, ५ र ८ का परीक्षालाई स्रोतकेन्द्रस्तरीय तुल्याउनका निम्ति प्रस्ताव पनि गरेका छन् । तर सबै स्कूलका प्रअ त्यसका निम्ति तयार नभएका कारण आफ्नो प्रस्ताव सार्थक नभएको उनको कथन छ । निजी विद्यालयका शिक्षक र सरकारका शैक्षिक कार्यक्रमबीच ठूलो खाडल देखि एपछि साहले आफ्नो स्रोतकेन्द्रमा निजी र सरकारी विद्यालयका शिक्षकलाई एउटै थलोमा राखेर तालिम दिने गरेका छन् । उनी भन्छन्, “सामुदायिक र संस्थागत स्कूलबीचको सहकार्यले दुवैलाई फाइदा भएको छ । यो अभियान देशभरि नै सञ्चालन गरिनुपर्छ ।”                         


अध्ययनको सार
सान्त्वना मेमोरियल एकेडेमीले जुलाइ २०११ मा सार्वजनिक गरेको रोल अफ रिसोर्स सेन्टर फर इम्प्रुभिङ क्वालिटी एजुकेशन इन स्कूल नामक अध्ययनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नमा स्रोतव्यक्तिको भूमिका कमजोर रहेको देखाएको छ । उक्त अध्ययनमा स्रोतकेन्द्रहरू ‘स्रोतकेन्द्र’ नभई तथ्याङ्क सङ्कलन केन्द्र भएको निचोड पेश गर्दै १६.६६ प्रतिशत स्रोतव्यक्तिले मात्र कक्षा अवलोकन र नमुना कक्षा प्रदर्शन गरेको उल्लेख छ । त्यस्तै ३३.३३ प्रतिशत स्रोतव्यक्तिले साँच्चै विद्यालय निरीक्षण गरेको र २५ प्रतिशतले चाहिँ विद्यालय निरीक्षण गरेको फर्जी प्रतिवेदन तयार गर्ने गरेको खुलासा पनि गरेको छ । उक्त अध्ययनमा संलग्न अध्येतागोपाल शुभेच्छु जिम्मेवारी एकातिर र काम अर्कोतिर भएकाले स्रोतव्यक्तिले जिम्मेवारी अनुसार काम गर्न नसकेको बताउँछन् । उनी भन्छन्, “जे जिम्मेवारी हो त्यही काम दिनुपर्छ, एउटै व्यक्तिलाई सबै कामगर भनिएकाले स्रोतव्यक्ति र स्रोतकेन्द्रको औचित्यमै प्रश्न उठेको छ ।” उक्त अध्ययनले कागजी योजना र कार्यतालिका निर्माण, तथ्याङ्क सङ्कलन र रेकर्ड व्यवस्थापनको शतप्रतिशत कार्य स्रोतव्यक्तिले गर्ने गरेको देखाएको छ ।

स्रोतव्यक्तिले जिम्मेवारी अनुसार काम गर्न नसक्नुमा कुनै एउटा कारण मात्र जिम्मेवार देखिँदैन । देशभरिका ३३ हजार १६० विद्यालयको गुणस्तर सुधारको जिम्मा १ हजार ५३ जना स्रोतव्यक्तिको काँधमा छ । यो १ः ३३ को अनुपात हो । एउटै व्यक्तिको भागमा धेरै स्कूल परेकाले स्रोतव्यक्तिलाई भ्याईनभ्याई भएको छ । सान्त्वनाको अध्ययनले हिमालमा १ः ८–१०, पहाडमा १ः १०–१५, उपत्यका र तराइमा १ः १५–२५ को स्रोतव्यक्ति–विद्यालयको अनुपात कायम गरिनुपर्ने सुझाव दिएको छ । तर यो अनुपात कायम गर्न अरू २००० स्रोतकेन्द्र थप्नुपर्ने हुन्छ ।

स्रोतव्यक्तिको योग्यताको मापदण्ड र नियुक्ति प्रक्रियामा पर्याप्त पनि सुधारको खाँचो देखिन्छ । सिद्धान्ततः मावि शिक्षकको शैक्षिक योग्यता स्नातकोत्तर तुल्याइसकिएको छ । तर, स्रोतव्यक्ति व्यवस्थापन निर्देशिका मा स्रोतव्यक्ति अझै पनि शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण गरेको वा सो सरहको परीक्षा उत्तीर्ण गरी १० महिने तालिम लिएको हुनुपर्ने व्यवस्था छ । यसमा स्रोतव्यक्ति शाह भन्छिन्, “हामीलाई आफूभन्दा माथिल्लो शैक्षिक योग्यताको शिक्षकको कक्षा अवलोकन गरेर ‘फिडब्याक’ दिन असजिलो हुन्छ । किनभने कतिपय स्कूलमा हराम्रो भन्दा बढी शैक्षिक योग्यताका शिक्षक छन् ।”

एउटा स्रोतव्यक्तिले मावि तहका सबै विषयको कक्षा अवलोकन गर्न विभिन्न विषयको नमुना पाठ प्रदर्शन गर्न स्वाभाविकरूपमै असम्भव हुन्छ ।

विगतमा स्रोतव्यक्ति नियुक्तिमा प्रमुख भूमिका स्रोतकेन्द्र अन्तर्गतका विद्यालयका प्रअको हुने गरेको थियो । नयाँ निर्देशिकामा स्रोतव्यक्ति नियुक्तिमा स्रोतकेन्द्र अन्तर्गतका प्रअको भूमिका कटौती गरेर जिशिअलाई बढी जिम्मेवार बनाइए पनि स्रोतव्यक्ति नियुक्ति प्रक्रिया अझै पनि विश्वासिलो र पारदर्शी हुने देखिँदैन । निर्देशिकामा व्यवस्था गरिएका स्रोतव्यक्ति नियुक्तिका नयाँ मापदण्ड पर्याप्त देखिँदैनन् । स्नातकोत्तर गरेका बीच प्रतिस्पर्धा गराए र लोक सेवा आयोग वा त्यस्तै निकायले खुल्ला प्रतिस्पर्धाबाट स्रोतव्यक्ति नियुक्ति गरिनु उचित हुने राय सान्त्वनाको अध्ययनमा प्रकट गरिएको छ ।

स्कूलको शैक्षिक गुणस्तर सुधार र शिक्षकको पेशागत विकास मा सहयोग पुरयाउने उद्देश्यले व्यवस्था गरिएका स्रोतव्यक्तिलाई शिक्षा विभाग र जिशिकाको प्रशासनिक खाँचो पूर्ति गर्ने काममा सीमित गरिएका कारण स्रोतव्यक्तिको औचित्य र आवश्यकतामै प्रश्न उठ्न थालेको छ । स्रोतव्यक्तिलाई स्कूलको पठनपाठन सुधारका काममा लगाउने हो भने तिनको काँधमा हालिएका प्रशासनिक काम जिशिकाका कर्मचारी स्वयंले गर्नु पर्ने हुन्छ । कक्षा अवलोकन, नमुना पाठ प्रदर्शन र स्कूल निरीक्षणकै काममा केन्द्रित न गरी स्रोतव्यक्तिलाई दिइएका जिम्मेवारी पूरा हुने अपेक्षा गर्न सकिँदैन ।

commercial commercial commercial commercial