यसरी गर्न सकिन्छ कार्यान्वयन

परियोजना कार्यले कक्षाकोठामा सिकेको कुरा लाई दैनिक जीवनमा अथवा व्यवहारमा प्रयोग गर्न सिकाउँछ । त्यसैले यो शिक्षण विधि मात्र नभई मूल्याङ्कनको साधन पनि हो । हराम्रो विद्यालय तहको पाठ्यक्रमको सही कार्यान्वयनका लागि पनि कक्षाकोठा शिक्षणमा ‘परियोजना कार्य’को उपयोग जरुरी छ ।

शिक्षालाई व्यवहारमा काम लाग्ने बनाउनु हाम्रा लागि अहिलेको एउटा चुनौती नै बत्र पुगेको छ । शिक्षालाई जीवन या व्यवहारोपयोगी बनाउने धेरै उपाय हुनसक्छन् । तीमध्ये एउटा सरल उपाय चाहिँ शिक्षण विधिमा गरिने सुधार नै हुनसक्छ । खास गरी; शिक्षणमा ‘परियोजना कार्य’ (Project Work) को उपयोगबाट शिक्षालाई व्यावहारिक तुल्याउन सकिन्छ भत्रे विभित्र अध्ययन र अनुभवले देखाएका छन् । प्रायः सबैजसो विषयको पाठ्यक्रमको उद्देश्यमा ‘दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्ने सीपको विकास गर्ने ’ भन्ने उल्लेख भएको सन्दर्भमा पनि यो विधिको उपयोगिता छर्लङ्ग हुन्छ ।

‘परियोजना कार्य’ कसरी प्रयोग गर्ने ?
परियोजना कार्यलाई शिक्षण विधिका रूपमा प्रयोग गर्ने दुई वटा तरिका वा मार्ग (Approaches) छन्ः

पहिलो तरिका
यो तरिका अन्तर्गत पहिले शिक्षकबाट निश्चित विषयवस्तु शिक्षण गरी विद्यार्थीलाई निश्चित ज्ञान र सीप प्राप्त गर्ने अवसर प्रदान गरिन्छ; अनि यसरी सिकेको ज्ञान र सीपको सिर्जनात्मक र स्वनिर्देशित रूपमा उपयोग गरी ‘परियोजना कार्य’ सम्पादन गर्न लगाइन्छ । उदाहरणको लागि; एक जना शिक्षकले कक्षा ५ को गणित विषयको ‘क्षेत्रफल’ भन्ने एकाइ/पाठ यसरी शिक्षण गरे: उनले सर्वप्रथम कक्षामा क्षेत्रफलको अवधारणा, आयताकार वस्तुहरूको क्षेत्रफल निकाल्ने सूत्रबारे बताएर त्यही सूत्र प्रयोग गरी क्षेत्रफल निकाल्ने तरिका सिकाए । यति गरिसकेपछि विद्यार्थीलाई समूहमा विभाजन गरी विद्यालयको आयताकार चौरको क्षेत्रफल निकाली कक्षामा प्रस्तुत गर्ने ‘परियोजना कार्य’ दिए । यहाँ ती शिक्षकले परियोजना कार्यलाई पहिलो तरिका वा मार्गअनुरुप शिक्षण विधिका रूपमा प्रयोग गरे ।

दोस्रो तरिका
यो तरिका शिक्षकबाट हुने शिक्षण कार्य र परियोजना कार्य सँग सँगै एकीकृत (Integrated) रूपमा अघि बढ्छ । यसमा पहिले विद्यार्थीहरूलाई दिइने परियोजना कार्य तोकिन्छ, उक्त कार्य/समस्या सम्पादन/समाधान गर्न जान्नुपर्ने कुरा हरू (ज्ञान, सीप) यकिन गरी आवश्यक पर्ने विधि र अवधारणाका बारेमा छलफल गरिन्छ । अनि विद्यार्थीले परियोजना कार्य आफ्नै अगुवाइमा सम्पादन गर्द छन् । उदाहरणको लागि; एक जना शिक्षकले कक्षा ५ को गणित विषयको ‘क्षेत्रफल’ भन्ने एकाइ/पाठ यसरी शिक्षण गरे ; विद्यार्थीहरूलाई समूहमा विभाजन गरी विद्यालयको आयताकार चौरको क्षेत्रफल निकाली कक्षामा प्रस्तुत गर्ने परियोजना कार्य तोके । उक्त कार्य सम्पादनका लागि विद्यार्थीले जान्नुपर्ने र गर्नु पर्ने कुरा हरू (जस्तै आयताकार वस्तुको क्षेत्रफल निकाल्ने सूत्र, तरिका आदि)का बारेमा आवश्यकता अनुसार छलफल गर्दै ‘परियोजना कार्य’ गराए ।

यो दोस्रो तरिकालाई परियोजनामा आधारित सिकाइ (Project Based Learning- PBL) पनि भनिन्छ । परियोजनामा आधारित सिकाइ भनेको विद्यार्थीलाई सशक्तिकरण गर्ने शिक्षण रणनीति हो; जसबाट उनीहरूले आफ्नै प्रयासमा विषयवस्तुको ज्ञान प्राप्त गरी आफ्नो नयाँ बुझइलाई प्रस्तुतीकरणका विविध विधिमार्फत प्रदर्शन गर्द छन् ।

मूल्याङ्कन गर्ने साधनको रूपमा परियोजना कार्य
‘परियोजना कार्य’लाई मूल्याङ्कनको साधनको रूपमा पनि प्रयोग गरिन्छ । परियोजना कार्यलाई मूल्याङ्कनको साधनको रूपमा प्रयोग गर्दा विद्यार्थीको क्षमतालाई वास्तविक संसारको परिवेशमा मूल्याङ्कन गर्न सकिन्छ । यसबाट विद्यार्थीहरूको उच्च तहका दक्षताहरू, जस्तै; विश्लेषणात्मक सीप, संश्लेषात्मक सीप, समस्या समाधान सीप, समालोचनात्मक सीप, सृजनात्मकता, सहयोगात्मक सीप, लिखित वा मौखिक अभिव्यक्ति सीप आदिको मूल्याङ्कन गर्न सकिन्छ । उच्च तहका यस्ता दक्षताहरू प्रायः कापी–कलमका आधारमा लिइने परीक्षाबाट मूल्याङ्कन गर्न सकिँदैन । परियोजना कार्यलाई मूल्याङ्कनको साधनका रूपमा प्रयोग गर्दा विद्यार्थीको सिकाइ उपलब्धि र सिकाइ प्रक्रियाको पनि साथसाथै मूल्याङ्कन गर्न सकिन्छ । परियोजना कार्यलाई मूल्याङ्कनको साधनको रूपमा उपयोग गर्नका लागि विद्यार्थीहरूलाई परियोजना कार्य सम्पादन गर्न लगाउनुपूर्व विद्यार्थीहरूको समेत सहभागितामा उक्त कार्यसँग सम्बन्धित ‘रुब्रिक्स’ तयार पार्नुपर्दछ । रुब्रिक्स प्रयोग गरी परियोजना कार्यको माध्यमबाट विद्यार्थीमा विकास भएको उच्च तहका दक्षताहरू यथार्थपरक रूपमा मूल्याङ्कन गर्न सकिन्छ ।

परियोजना कार्य दिँदा ध्यान दिनुपर्ने कुरा

१. पाठ्यक्रमको उद्देश्य
जुनसुकै विषयको पाठ्यक्रममा पनि ‘कक्षाकोठामा सिकेका ज्ञान र सीपलाई दैनिक जीवनमा उपयोग गर्न सक्षम बनाउने’ भन्ने कुरा उद्देश्यका रूपमा उल्लेख भएको पाइन्छ । यसप्रकारको उद्देश्य परिपूर्तिका लागि परियोजना कार्य आवश्यक पर्दछ । त्यसैले विद्यार्थीलाई दिइने परियोजना कार्य अर्थपूर्ण र वास्तविक संसारको परिवेशसँग मेल खाने हुनुपर्दछ । अर्थात् विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञान, सीपलाई दैनिक जीवनको परिवेशमा प्रयोग गरी उच्च तहको दक्षता हासिल गर्ने अवसर प्राप्त हुने खालको हुनुपर्दछ । उदाहरणका लागि; कक्षा ३ को विज्ञान तथा वातावरण शिक्षा को ‘सजीव वस्तुहरू’ भन्ने क्षेत्र अन्तर्गतका बिरुवाहरूको वर्गीकरण पाठ शिक्षण गर्ने क्रममा ‘क’ भन्ने शिक्षकले विद्यार्थीलाई आफ्नो घर वरिपरि पाइने कुनै सात ओटा बिरुवा सङ्कलन गरी ल्याउने र कापीमा ती बिरुवाका चित्र कोरी प्रस्तुत गर्ने परियोजना कार्य दिए ।

सोही पाठ शिक्षणका क्रममा ‘ख’ भन्ने शिक्षकले विद्यार्थीलाई आफ्नो घर वरिपरि पाइने कुनै सात ओटा फरक फरक खालका बिरुवा सङ्कलन गरी ल्याउने र ती बिरुवा फूल फुल्ने वा फूल नफुल्ने, पानीमा पाइने वा जमिनमा पाइने, एकवर्षे वा बहुवर्षे के हुन् भन्ने छुट्याई ती बिरुवाका विशेषताहरू सचित्र वर्णन गरी कक्षामा प्रस्तुत गर्ने परियोजना कार्य दिए । यहाँ ‘क’ शिक्षकले दिएको परियोजना कार्यबाट पाठ्यक्रममा उल्लिखित उद्देश्य पूरा हुँदैन ।

२. विद्यार्थीको दक्षता/स्तर
विद्यार्थीलाई दिइने परियोजना कार्य धेरै कठिन हुनुहुँदैन । परियोजना कार्यको दायरा विद्यार्थीको स्तर सुहाउँदो हुनुपर्दछ । पाठमा सिकेका ज्ञान, सीप, दक्षता र अनुभव प्रयोग गरी सम्पादन गर्न सक्ने हुनुपर्दछ । विद्यार्थीको दक्षता भन्दा बाहिरको परियोजना कार्य दिँदा विद्यार्थीमा नैरास्य सिर्जना हुन सक्छ । विद्यार्थीले आफूसँग भएको ज्ञान र सीपकोगहिराइ यकिन गरी त्यसबाट गर्न सक्ने कुरा नतिजाका रूपमा प्रदर्शन गर्न सक्ने हुनुपर्दछ । उदाहरणका लागि; सामाजिक अध्ययन विषय अन्तर्गत ‘आफू, आफ्नो परिवार र छरछिमेक’ पाठ/एकाइबाट कक्षा १ का विद्यार्थीलाई आफ्ना दौंतरीहरूको नाम सोधेर/लेखेर ल्याउने पनि परियोजना कार्य हुनसक्छ भने सोही एकाइ/पाठबाट कक्षा ५ का विद्यार्थीलाई आफ्नो छिमेकमा रहेका विभिन्न पेशामा संलग्न व्यक्तिहरूसँग भेटघाट गरी उनीहरूले गर्ने कामको सूची बनाई ल्याउने परियोजना कार्य दिन सकिन्छ । तल्लो कक्षाका विद्यार्थीहरूलाई प्रायः अभ्यास मुखी वा उपभोगमुखी परियोजना कार्यहरू दिनु उपयुक्त हुन्छ भने माथिल्लो कक्षाका विद्यार्थीलाई सिर्जनामुखी वा समस्यामूलक परियोजना कार्य दिनु रराम्रो हुन्छ ।

३. विद्यार्थीको रुचि
परियोजना कार्य दिँदा विद्यार्थीको रुचिलाई ख्याल गर्नु पर्दछ । विद्यार्थीको रुचिका आधारमा परियोजनाकार्यमा विविधता ल्याउन सकिन्छ । उदाहरणको लागि वातावरण प्रदूषण भन्ने पाठ पढिसकेपछि वातावरण प्रदूषणबाट जोगाउनका लागि जनचेतना जगाउने सामग्री तयार गर्ने परियोजना कार्य दिन लागिएको छ भने विद्यार्थीहरूको रुचि अनुसारगीत, कविता, चित्र वा अन्य कुनै माध्यमबाट सामग्री तयार पार्ने कार्य दिन सकिन्छ ।

४. लाग्ने समय
परियोजना कार्य सम्पन्न गर्न वास्तविक रूपमा लाग्ने समयको हिसाब गरी समयसीमा तोक्नुपर्दछ । भर्खर उम्रेको एउटा बिरुवाको अध्ययन गरी प्रस्तुत गर्ने परियोजना कार्यको लागि केही दिनको समय चाहिन्छ भने बिरुवा रोपे देखि फल लागेसम्मको जीवन चक्र अध्ययन गरी प्रस्तुत गर्ने परियोजना कार्यको लागि कैयौँ महिना समय दिनुपर्ने हुन्छ । परियोजना कार्य सम्पादन गर्नु पर्ने समय सीमा चाहिनेभन्दा कम वा चाहिने भन्दा बढी पनि हुनुहुँदैन । अन्तरविषय परियोजना कार्यका लागि तुलनात्मक रुपमा बढी समय लाग्ने हुन्छ ।

५. साधन स्रोतको उपलव्धता
परियोजना कार्य दिँदा साधनस्रोतको उपलव्धतालाई राम्ररी ख्याल गरिनुपर्दछ । विद्यार्थीको परिवेशमा उपलव्ध हुन नसक्ने खालको साधनस्रोतको उपयोग गरी सम्पादन गर्नु पर्ने परियोजना कार्य दिनुहुँदैन । परियोजना कार्यका लागि चाहिने सामग्रीको उपलव्धता अनुसार एक खालको सामग्री नपाइएमा अर्को खालको सामग्री पनि प्रयोग गर्न सकिने गरी विकल्पहरू दिनुपर्दछ । जस्तै, शहरका विद्यालयका विद्यार्थीका लागि प्लास्टिक सिट प्रयोग गरी भूकम्पका बेला महाद्वीपीय प्लेटहरू सर्दा पर्ने असर देखाउने मोडेल तयार पारी प्रस्तुत गर्ने परियोजना कार्य दिन सकिन्छ भने गाउँका विद्यालयका विद्यार्थीका लागि चिम्ट्याइलो माटोबाट उक्त मोडेल तयार पार्ने परियोजना कार्य दिन सकिन्छ ।

६. सामाजिक, सांस्कृतिक परिवेश
‘परियोजना कार्य’ सकेसम्म विद्यार्थीको सामाजिक, सांस्कृतिक परिवेशसँग मेल खाने हुनुपर्दछ । दशैँ बिदाको समयमा परियोजना कार्य दिँदा सबै विद्यार्थीलाई दशैँ कसरी मनाइयो भनेर निबन्ध लेख्न दिइयो र कक्षामा कुनै विद्यार्थी क्रिश्चियन वा मुस्लिम रहेछ भने त्यो परियोजना कार्य उसको लागि परिवेश अनुकूल (Contextual) हुँदैन, त्यसको सट्टा उसलाई क्रिसमस वा इद बारे लेख्न दिनुपर्दछ ।  

७. नतिजा/कार्य सम्पादन स्तर


कस्तो नतिजा/प्रतिफल पेश गर्नु पर्ने भन्ने कुरा पहिल्यै स्पष्ट पारिनुपर्छ । जस्तै; कक्षा ५ का विद्यार्थीलाई हराम्रो आर्थिक क्रियाकलाप एकाइ/पाठ शिक्षणको क्रममा घरधुरी सर्भेक्षण गरी आयआर्जन सम्बन्धी कुरा हरू अध्ययन गर्ने परियोजना कार्य दिइएको छ भने उनीहरूलाई परियोजना कार्य पश्चात् के–के कुरा कसरी पेश गर्ने भन्ने कुरा पहिल्यै जानकारी हुनुपर्दछ । अनुच्छेदमा लेखिएको प्रतिवेदन तयार पार्ने कि, तालिकामा देखाउने कि,ग्राफमा देखाउने ? यदि अनुच्छेदमा लेखिएको प्रतिवेदन हो भने कति अनुच्छेद वा पेजको हुने,ग्राफ कुन साइजको हुनुपर्ने भन्ने कुरा पूर्व यकिन हुनुपर्दछ । विद्यार्थीले ठ्याक्कै के जान्नुपर्ने हो ? के गर्नु पर्ने हो ? अथवा कार्य सम्पादनको अपेक्षित स्तर के हो भन्ने बारेमा बिद्यार्थीहरूलाई शुरु मा नै जानकारी दिनुपर्दछ । यसका लागि विद्यार्थीहरूलाई परियोजना कार्य गर्न शुरु गर्नु पूर्व नै रुब्रिक्सका बारेमा जानकारी गराउनु पर्दछ ।

८. मूल्याङ्कनका आधार
परियोजना कार्यको मूल्याङ्कनको आधार विषय, परिवेश, विद्यार्थीको स्तर , परियोजना कार्यको प्रकार आदि कुरा हरूमा भरपर्दछ । जस्तै, नेपाली वा अङ्ग्रेजी भाषा विषयका शिक्षकले विद्यार्थीहरूलाई कुनै विषयवस्तुमा निबन्ध वा कथा लेखी प्रस्तुत गर्ने परियोजना कार्य दिएका छन् भने भाषिक शुद्धता, विषयवस्तुको प्रस्तुतीकरण, शब्द चयन आदि मूल्याङ्कनका आधार हुनसक्छन् । सामाजिक विषयका शिक्षकले कुलतबाट पर्ने असर देखाउने पोष्टर तयार पारी प्रस्तुत गर्ने परियोजना कार्य दिएका छन् भने पोस्टरको आकार, दिने सन्देश आदि मूल्याङ्कनका आधार हुनसक्छन् । सकेसम्म परियोजना कार्यको मूल्याङ्कनका आधारहरू वास्तविक प्रतिफल र प्रकृयासँग सम्बन्धित हुनुपर्दछ । परियोजना कार्य कार्यान्वयन शुरु गर्नु पूर्व नै रुब्रिक्स तयार गर्नु पर्दछ । रुब्रिक्समा उल्लिखित आधारहरू अनुसार परियोजना कार्यको मूल्याङ्कन गरिनुपर्दछ । परियोजना कार्य सम्पादन गरे पश्चात् सर्वप्रथम विद्यार्थीहरूलाई नै रुब्रिक्स प्रयोग गरी स्व–मूल्याङ्कन गर्ने अवसर पनि प्रदान गर्न सकिन्छ ।

परियोजना कार्यका चरण

चरण १ः परियोजनाको विषयवस्तु/समस्या पहिचान
परियोजनाको विषयवस्तु वा समस्या पहिचान गर्दा पाठ वा एकाइ र पाठ्यक्रम अनुसार सो एकाइको उद्देश्यलाई ख्याल गर्नु पर्दछ । परियोजनामा आधारित सिकाइ रणनीति (पीबीएल) नै प्रयोग गरिएको अवस्थामा बाहेक हराम्रो परिप्रेक्ष्यमा सामान्यतः एउटा एकाइ शिक्षण गरिसकेपश्चात् उक्त एकाइमा सिकेको ज्ञान, सीप प्रयोग गर्दै उक्त एकाइपश्चात् हासिल हुनुपर्ने उच्च तहको उद्देश्य प्राप्त हुने गरी परियोजना कार्यको लागि विषयवस्तु वा समस्या चयन गर्ने गरिन्छ । जस्तै कक्षा ५ का विद्यार्थीहरूलाई वातावरण प्रदूषण भन्ने एकाइ शिक्षण गरिसकेपश्चात् उनीहरू घर वा बसेको स्थान वरिपरिको वातावरण के कारणले र कसरी प्रदूषित भइरहेको छ भन्ने कुरा खोजी गरी प्रस्तुत गर्ने कार्य दिन सकिन्छ ।

चरण २ः अन्तिम प्रतिफल निर्धारण
परियोजना कार्य सम्पादन गरिसकेपश्चात् के प्रतिफल आउनुपर्ने हो भन्ने कुरा परियोजना कार्य शुरु गर्नु पूर्व नै निर्धारित हुनुपर्दछ । प्रतिफल निर्धारण गर्दा पाठ्यक्रममा उल्लिखित उद्देश्य, विद्यार्थीको स्तर , क्षमता, रुचि, साधन स्रोतको उपलव्धतालाई राम्ररी ख्याल गर्नु पर्छ । प्रतिफल निर्धारणपश्चात् त्यसको स्तर पनि यकिन गरिनुपर्दछ । उदाहरणको लागि; चरण १ मा उल्लिखित परियोजना कार्यको अन्तिम प्रतिफल ‘खोजी गरी तयार गरिएको प्रतिवेदन’ हुन सक्छ । उक्त प्रतिवेदन हस्तलिखित हुने कि, कम्प्युटर टाइप गरिएको हुने कि, चित्र वा फोटोसहितको हुने कि, अनुच्छेदमा वर्णन गरिएको हुने कि तालिका/सूचीबद्ध गरिएको हुने भन्ने कुरा पहिले नै निर्धारित हुनुपर्दछ । यसका साथै कति पेजको हुने भन्ने कुरा पनि पहिले निक्र्योल गरिनुपर्दछ ।

चरण ३ः प्रक्रियाको निर्धारण (सूचनाको स्रोत, प्राप्त गर्ने तरिका, प्रयोग, लाग्ने समय, मूल्याङ्कनको तरिका आदि)
परियोजना कार्य सम्पादन गर्ने प्रक्रिया शिक्षक विद्यार्थी बीच छलफल गरी निर्धारण गर्नु पर्दछ । दिइएको परियोजना कार्य सम्पन्न गर्नका लागि के–के गर्नु पर्ने, कसरी गर्नु पर्ने, कहाँ जानुपर्ने, को–कोसँग छलफल गर्नु पर्ने, के–के अवलोकन गर्नु पर्ने, कति समय लाग्ने आदि कुरा हरूका बारेमा विद्यार्थीलाई स्पष्ट पारिनुपर्दछ । जस्तै, चरण १ मा उल्लेखित परियोजना कार्य सम्पादन गर्नका लागि घर वरिपरि के–के कुरा अवलोकन गर्ने , कसरी टिपोट गर्ने , को–कोसँग अन्तरक्रिया गर्ने , कस्तो खालको प्रश्नावली (साधन) प्रयोग गर्ने , कति समय लगाउने वा लाग्ने, प्राप्त सूचनालाई कसरी प्रस्तुत गर्ने आदि कुरा हरूका बारेमा विद्यार्थीसँग पहिल्यै छलफल गरिएको हुनुपर्छ ।

चरण ४. रुब्रिक्सको तयारी
अपेक्षित प्रतिफल र प्रक्रियाको स्तर मापनका लागि रुब्रिक्स प्रयोग गरिन्छ ।

परियोजना कार्यबाट अपेक्षित उद्देश्य के–कति मात्रामा हासिल भयो भनेर यकिन गर्नका लागि चरण २ र चरण ३ का आधारमा रुब्रिक्स तयार गर्न सकिन्छ । रुब्रिक्सले विद्यार्थीहरूलाई परियोजना कार्य कार्यान्वयनको लागि सहज बनाउँदछ । रुब्रिक्समा परियोजना कार्यको प्रतिफल के–के आधारमा मापन गरिने, कुन आधार (Criteria) का लागि अधिकतम कति अङ्क र न्यूनतम कति अङ्क प्राप्त हुने (Scoring Range) र निश्चित अङ्क प्राप्त गर्ने सूचकहरू (Indicators) के–के हुने भन्ने कुरा उल्लेख गरिन्छ । उदाहरणको लागि नेपाली विषयमा कक्षा ५ का विद्यार्थीलाई आफ्नो आफ्नो परिवार वा छिमेकका एकजना जेष्ठ नागरिकलाई भेटी उनको जीवनमा घटेका घटना सोधेर सो आधारमा एउटा कथा लेख्ने परियोजना कार्य दिइएको छ । यसका लागि रुब्रिक्स तयार गर्दा एउटा आधार ‘भाषिक शुद्धता’ हुनसक्छ । भाषिक शुद्धतामा बढीमा ४ र घटीमा १ दिने कुरा (Scoring Range) तय गरियो भने उक्त कथालाई भाषिक शुद्धताको आधारमा कस्तो अवस्थामा ४, कस्तो अवस्थामा ३, कस्तो अवस्थामा २ र कस्तो अवस्थामा १ दिने भन्ने कुरा (Indicators) पनि स्पष्ट उल्लेख हुनुपर्दछ । जस्तै, भाषिक शुद्धता ७५ प्रतिशत देखि माथि भए ४ अङ्क, ५० प्रतिशतभन्दा माथि ७५ प्रतिशतसम्म भए ३ अङ्क, २५ प्रतिशतभन्दा माथि र ५० प्रतिशतसम्म भए २ अङ्क र २५ प्रतिशत वा सोभन्दा कम भए १ अङ्क दिने गरी सूचक (Indicator) राखेर रुब्रिक्स तयार गर्न सकिन्छ । रुब्रिक्समा हरेक आधारका लागि बेग्लाबेग्लै सूचक राखिन्छ ।

चरण ४ः कार्यान्वयन
प्रक्रियाको निर्धारणपश्चात् विद्यार्थीलाई परियोजना कार्य सम्पादन गर्न लगाइन्छ । परियोजना कार्य कार्यान्वयनका क्रममा शिक्षकले आवश्यकता अनुसार विद्यार्थीलाई सहजीकरण गर्नु पर्ने हुन्छ ।

शिक्षकले परियोजना कार्य कार्यान्वयनको क्रममा विद्यार्थीको सहभागिता, कार्यसम्पन्न गर्न लागेको समय, विद्यार्थीहरूबीचको पारस्परिक सहयोग आदि कुरा हरूको अवलोकन गर्नु पर्ने हुन्छ । तोकिएको प्रतिफल तयारीका लागि विद्यार्थीलाई आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्नु पर्ने हुन्छ ।

चरण ५ः प्रस्तुतिकरण
तोकिएको परियोजना कार्य सम्पादन गरी निर्धारित प्रतिफल निकालिसकेपश्चात् विद्यार्थीलाई प्रस्तुतिकरणको अवसर प्रदान गरिन्छ । प्रस्तुतीकरण पनि मूल्याङ्कनको आधार हुन्छ । सकेसम्म सबै विद्यार्थीलाई पालैपालो प्रस्तुत गर्ने अवसर प्रदान गर्नु पर्दछ ।

चरण ६ः मूल्याङ्कन (विद्यार्थीबाट स्वमूल्याङ्कन र शिक्षकबाट मूल्याङ्कन)
विद्यार्थीले परियोजना कार्य सम्पादन गरी प्रस्तुतीकरण गरिसकेपश्तात् तयार गरिएको रुब्रिक्सका आधारमा उनीहरूलाई स्वमूल्याङ्कन गर्ने अवसर दिनुपर्दछ । यसबाट उनीहरूमा स्वप्रतिबिम्बनको अवसर प्राप्त हुन्छ । त्यसपछि सोही रुब्रिक्सका आधारमा शिक्षकले मूल्याङ्कन गरी सोको जानकारी विद्यार्थीलाई दिनुपर्दछ ।   

अन्तरविषयक परियोजना कार्यः
माथि उल्लिखित विषयगत परियोजना कार्यलाई एकीकृत गरी अन्तर–विषयक परियोजना कार्यकोरूप पनि दिन सकिन्छ । जस्तै। आफ्ना छिमेकीहरूमध्ये कुनै १० जना व्यक्तिलाई भेटेर उनीहरूले गर्ने मुख्य काम सोधी टिपोटगर । उनीहरूको काम, सो काम गर्ने व्यक्तिको सङ्ख्या, सो कामबाट वातावरण पर्ने असर राखी एउटा तालिका तयार पार । उक्त तालिकाको वर्णन गरी एक अनुच्छेद लेख । यस परियोजना कार्यले सामाजिक अध्ययन, गणित, वातावरण विज्ञान र नेपाली विषयलाई समेटेको छ ।

निष्कर्ष
परियोजना कार्यले कक्षाकोठामा सिकेको कुरा लाई दैनिक जीवनमा अथवा व्यवहारमा प्रयोग गर्न सिकाउँछ । परियोजना कार्य शिक्षण विधि मात्र नभई मूल्याङ्कनको साधन पनि हो । हराम्रो विद्यालय तहको पाठ्यक्रमको सही कार्यान्वयनका लागि पनि कक्षाकोठा शिक्षणमा ‘परियोजना कार्य’को उपयोग जरुरी छ । विद्यालय तहका प्रायः सबै जसो विषयको पाठ्यक्रमको उद्देश्यमा “दैनिक जीवनमा आइपर्ने समस्याहरू समाधान गर्ने सीपको विकास गर्ने ” भन्ने उल्लेख भएको पाइन्छ । पाठ्यक्रमको यो उद्देश्य हासिल गर्न शिक्षकले ‘परियोजना कार्य’को प्रयोग गर्नु जरुरी छ । परियोजना कार्यका यी सामान्य उदाहरण मात्र हुन् । कुन विषयमा कस्तो खालको परियोजना कार्य दिने भन्ने कुरा शिक्षकको दक्षतामा भर पर्दछ ।

(लामो समय शैक्षिक जनशक्ति विकास केन्द्रमा प्रशिक्षक रहेका श्रेष्ठ हाल शिक्षा मन्त्रालयको उपसचिव पदमा कार्यरत छन् ।)

commercial commercial commercial commercial