हेराइ र बुझाइ
स्वर्ग र नर्कको परिभाषा
एकजना पहलमान लाई आफ्नो बलका बारेमा ठूलो घमण्ड थियो । उनको रिस पनि कडा थियो । तैपनि परेका बखत सबैलाई मद्दत गर्ने बानीका कारण उनी गाउँलेहरूबीच लोकप्रिय थिए ।
पहलमान लाई एकदिन लाग्यो, “यो संसारमा मैले पाउने र भोग्ने जति भोगिसकेँ, अब मैले स्वर्ग र नर्कका बारेमा सोच्नुपर्छ ।” उनले गाउँलेहरूसामु स्वर्ग र नर्कका बारेमा जिज्ञासा राखे । तर गाउँलेहरू उनका प्रश्नको जवाफ दिन सक्षम थिएनन् ।
त्यहीताका गाउँमा एकजना दुब्ला–पातला साधु बास माग्न आइपुगे । गाउँलेले साधुलाई बास दिएर पहलमान लाई स्वर्ग र नर्कका कुरा बताइदिन आग्रह गरे । साधुले ‘कोसिस गर्ने ’ वचन दिए ।
गाउँलेले पहलमान लाई साधुकहाँ पुर्याए । पहलमान ले विनम्रभावमा स्वर्ग र नर्क सम्बन्धी आफ्नो प्रश्न दोहो¥याए । तर प्रश्न सुन्नेवित्तिकै साधु झ्डङ्ग चिच्याउन थाले, “तँ जस्तो मुस्तण्डलाई स्वर्गका बारेमा जात्रे कुनै अधिकार छैन । सुँगुर जस्तो मोटाउँदैमा र राँगो जस्तो बलियो हुँदैमा ठूलोमान्छे भइन्छ ?”
पहलमान छक्क परे । उनका चेलाचपेटाहरू त साधु माथि खनिइहाले । यत्तिकैमा साधुले भने, “यी यही हो नर्क; यस्तै हुन्छ... !”
पहलमान ले चेलाचपेटाहरूलाई रोके । साधुले थपे, ‘नर्कको द्वार भनेको अहङ्कार हो; दुव्र्यवहार हो, दुर्वचन हो । दुव्र्यवहारले प्रतिशोध जन्माउँछ र प्रतिशोधले हिंसा । नर्कको प्रमुख चरित्र नै असहनशीलता र हिंसा हो । यही कुरा बुझाउन मैले अघि कडा वचन प्रयोग गरेको थिएँ । शायद नर्क कस्तो हुन्छ भन्ने तिमीले अब बुझयौ होला !”
पहलमान छक्क परे । अनि सोधे, “स्वर्ग चाहिँ कस्तो हुन्छ त बाबा ?”
साधुले भने, “खासमा स्वर्ग र नर्क भनेको मानिसको व्यवहारले जन्माउने लोकहरू हुन् । असहनशीलता, दुर्वचन, दुव्र्यवहार, हिंसा, प्रतिशोध आदिलाई संसारबाट निकालिदिनुहोस्, स्वर्ग त्यही हो ।”
पहलमान ले साधुका पाउमा नतमस्तक हुँदै भने, “छर्लङ्ग भयो प्रभु !”



