पोखराका तीन विद्यालय घुम्दा
‘समुदायमा विद्यालय हस्तान्तरण’ कार्यक्रममा सहभागी भएको कारणले होइन, शिक्षक र समुदायको केहीगरौं भन्ने भावना, नेतृत्व कौशलता र इमान दार प्रयासका कारण पोखराका स्कूलहरूमा उल्लेखनीय सुधार र परिवर्तन आउन सम्भव भएको हो । प्रअ–शिक्षकको टीम एक हुने हो र विद्यालयको सुधारगरौं भनेर अठोटका साथ लाग्ने हो भने सार्वजनिक स्कूलको सुधार छिट्टै सम्भव छ भन्ने सन्देश कास्कीका तीन वटा विद्यालयले दिएका छन् ।
जेठको तेस्रो साता पोखरा घुम्ने कार्यक्रम अलि भिन्न खालको थियो– केही गरिरहेका सामुदायिक विद्यालयहरूको प्रगतिको जानकारी र प्रेरणा लिने । विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएकामध्ये ‘राम्रो प्रगति गरेको’ भनेर आफ्नो अनुगमनबाट खुट्याइएका स्कूलले के कसरी प्रगति गरेका रहेछन् र तिनको प्रगतिबाट केही सिक्न सकिन्छ कि भनी मन्थन गराउने उद्देश्यका साथ शिक्षा विभागले यो भ्रमणको आयोजना गरेको थियो । भ्रमण टोलीमा शिक्षा विभागका अधिकृत र केही स्थानीय पत्रकार समेत सहभागी थिए । शिक्षकले आफ्नो जिम्मेवारी रराम्रोसित निर्वाह न गर्दा र समुदायको अर्थपूर्ण सहभागिता नहुँदा नेपालका धेरैजसो सामुदायिक स्कूलहरूको स्तर झन्–झन् जर्जर हुँदै गएको छ । यस्तो दुरुह र प्रतिकूल परिस्थितिमा पनि सामुदायिक स्कूल राम्रैसित चल्नु आफैँमा सुखद् आश्चर्य थियो ।
प्रतिबद्ध बालमन्दिर
यस अध्ययन भ्रमणको श्रीगणेश कास्की जिल्ला शिक्षा कार्यालयको नजिकै पर्ने बालमन्दिर मावि नदीपुरबाट भयो । हामी त्यहाँ पुग्दा मध्यदिन भइसकेकाले कक्षा–कक्षामा बसेरै छलफल गर्नका लागि समय थिएन । तैपनि प्रअ, व्यवस्थापन समिति र शिक्षकहरूसित राखिएको सानो अन्तरक्रियामा सहभागी हुनुअघि शिशु कक्षाको एक झल्को देख्न पाइयो । शिशु कक्षाका बच्चाहरू रमाई–रमाई दिउँसोको खाजा दूध र केक खाँदै रहेछन् । कक्षाकोठामा झकिझकाउ नदेखिए पनि बच्चाहरूको हेरविचार राम्रै तरिकाले हुने गरेको आभास मिल्यो । प्रअ तथा शिक्षकहरूसित छलफल गर्दा सबल पक्ष र सुधार गरिनुपर्ने कुरा हरू थाहा भयो । राम्रा र योग्य शिक्षक छनोट गर्ने यहाँको तरिका अनुकरणीय रहेछ । विषयगत विज्ञ बसेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सबैभन्दा योग्य र सक्षम व्यक्तिलाई मात्र छनोट गरिँदोरहेछ । करिब एक महिनाअघि मात्र यहाँ दुई जना प्रावि र एक निमावि तहमा शिक्षक नियुक्त भएका रहेछन् । कुल ७५ जनाको आवेदन परेकोमा लिखित परीक्षा लिएर त्यसमा रराम्रो अङ्क ल्याउनेलाई कक्षामा पढाउन लगाइएछ । अर्थात् प्रयोगात्मक परीक्षामा खरो उत्तीर्ण भएका मध्येबाट अन्तरवार्तामा सफल भएपछि बल्ल छानिएका रहेछन् । स्कूललाई रराम्रो बनाउन सबैभन्दा बढी महत्वपूर्ण भूमिका शिक्षककै हुने भएकाले शिक्षक भर्नामा कुनै सम्झौता हुनुहुन्न भन्ने व्यवस्थापन समितिका सदस्यहरू र प्रअको बलियो विश्वासका कारण यो सम्भव भएको रहेछ । स्कूलको वातावरणलाई रराम्रो बनाउन सबैभन्दा बढी यही निष्पक्ष र पारदर्शी छनोट प्रणालीको हात रहेको कुरा शिक्षक र प्रअको भनाइबाट बुझन सकिन्थ्यो । तत्क्षण मनमा एउटा विचार आयो, अरू स्कूलका प्रअ र व्यवस्थापनका पदाधिकारीले पनि यस्तै तरिकाले सोचिदिए देशभरका सार्वजनिक स्कूलमा कति छिटो सुधार आउँथ्यो होला !
प्रअ सुशील बस्नेतले आफूहरूले विद्यालयमा दलीय राजनीतिलाई पस्न नदिएकाले नै स्कूल सप्रन सफल भएको अनुभव सुनाए । उनको निष्कर्ष थियो, “व्यवस्थापन समितिका पदाधिकारी र प्रअ मात्रै राजनीतितिर नलागी स्कूलको हिततिर लागे भने स्कूलको वातावरण सङ्ल्याउन धेरै सहज हुन्छ । हामी कतै लागेनौं । किनकि हामीलाई स्कूल रराम्रो बनाउनुथियो । हामीले धर्म नछाडेपछि शिक्षकहरूको कर्मशील टिम पनि बन्यो र स्कूल सफल भयो ।” कुनै स्कूल बिग्रेको छ भने निः सन्देह प्रअ र व्यवस्थापन समिति पनि दलको दलदलमा फसेको छ भन्ने उनको दलील थियो । सबैतिर दलगत राजनीतिलेगाँजेको बेला पनि यो स्कूल कसरी त्यसबाट अछुतो रहन सक्यो त ? जिज्ञासा भुईंमा खस्न नपाउँदै व्यवस्थापन अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले भने, “बालबालिकाको भविष्यका लागि स्कूल कति महत्वपूर्ण कुरा हो, हामीले किन रराम्रो गर्नु पर्छ भन्ने कुरा प्रअ र शिक्षकहरूले हामीलाई राम्ररी बुझइदिए । र, स्कूलको हित चिताउन प्रेरित गरे ।”

यहाँका सबै विद्यार्थीहरूलाई स्कूलमै खाजाको व्यवस्था रहेछ । सक्ने विद्यार्थीहरूसित मासिक रु.४०० सम्म शुल्क लिइँदोरहेछ भने शुल्क तिर्नु नसक्ने विद्यार्थीहरूले पनि निःशुल्क खाजा खान पाउँदारहेछन् । ‘सक्नेसित लिने नसक्नेलाई दिने’ नीति सार्थक बनेको यहाँ देख्न पाइयो । अधिकांश सामुदायिक विद्यालयमा अझै खाजाको ब्यवस्था हुन नसकिरहेको र खाजाकै अभावले गर्दा बच्चाहरू कुपोषणको सिकार हुन बाध्य भइरहेको परिप्रेक्ष्यमा यस माविले गरेको कामले मनै छोयो । खाजाको व्यवस्था गर्न दाताकै कुनै कार्यक्रम चाहिन्छ भन्ने परामुखी सोच बोकेर हात बाँधेर बस्नुभन्दा आफ्नो तहबाट केही जमर्काे गर्दा सफलता हासिल हुँदोरहेछ !
२०४२ सालमा प्रावि, २०५६ मा निमावि र ६३ साल देखि मावि भएको र त्यसै वर्ष समुदायमा व्यवस्थापन हस्तान्तरण भएको सो विद्यालय २०५९ सालसम्म बालसङ्गठनले चलाएको रहेछ । यहाँ करिब एक हजार विद्यार्थी अध्ययनरत रहेछन् । जहाँ ६ दरबन्दी, ९ जना राहत र बाँकी निजी स्रोत गरी ४२ जना शिक्षक तथा कर्मचारीको टिम कार्यरत छ ।
हरेक विद्यार्थीको व्यक्तिगत प्रोफाइल अद्यावधिक गरेर राख्न सफल हुनु यस स्कूलको अर्को विशेषता रहेछ । वास्तवमा यो काम गर्न शिक्षकहरूको राम्रै परिश्रम चाहिन्छ । यसले हरेक विद्यार्थीको अवस्था कहिले कस्तो थियो, समस्या भए पनि के थियो भनेर थाहा पाउन सहयोग गर्दोरहेछ । शहरको र लोकप्रियता चुम्दै गएको विद्यालय भएकाले कक्षामा विद्यार्थीको चाप बढ्नु अस्वाभाविक होइन । तर विद्यालयले विद्यार्थीको सिकाइ वातावरणलाई ध्यानमा राखेर एउटा कक्षामा ४५ जनाभन्दा बढी विद्यार्थी राख्दै नराख्ने नीति लिएको रहेछ । थप भौतिक पूर्वाधार, थप शिक्षक, रराम्रो कम्प्युटर ल्याब र थप शैक्षिक सामग्रीको व्यवस्था हुनसके विद्यालयले अझ् सफलताको नयाँ उचाइ हासिल गर्ने कुरा मा विद्यालय आशावादी रहेछ ।
सिर्जनात्मक शिशुकल्याण
पोखराबाट सेती नदीको किनारै किनार तलतिर हान्निएपछि पुगिने भरतपोखरीस्थित शिशुकल्याण निमावि हामी पुगेको दोस्रो विद्यालय थियो । २०३४ सालमा स्थापित भई २०६१ सालसम्म जेनतेन चलेको यो विद्यालयले ६ वर्षको छोटो अवधिमा कायापलट गर्न सफल भएको रहेछ । कायापलटको कारक तत्व अरू कोही नभएर प्रअ मन्त्रीलाल पौडेलको नेतृत्व र उनको टिमको समर्पणभाव नै भएको कुरा बुझन हामीलाई धेरै समय लागेन । त्यो स्कूलको कोल्टेफेराइको कथा सङ्क्षेपमा यस्तो रहेछ, रु.१ लाख पाउने लोभले २०६० सालमा समुदायमा व्यवस्थापन हस्तान्तरण हुने कार्यक्रममा सहभागी भए पनि सुधारको ठोस पहल हुनसकेको थिएन । अर्को वर्ष रुम टु रिडले एउटा भवनका लागि रु.४ लाख ९५ हजार दिने भयो, जसको अनुमानित लागत १२ लाख थियो । बाँकी पैसा कहाँबाट ल्याउने त ? प्रअ पौडेलका सामु एकाएक यो सवाल चुनौतीको पहाड बनेर उभियो । उनले धेरै सोचे र निष्कर्ष निकाले, “जबसम्म म र मेरा सहयोगी शिक्षकहरूले पैसा हाल्दैनौं, तबसम्म गाउँलेहरूले चाहेजस्तो सहयोग गर्ने सम्भावना छैन ।” त्यसपछि उनले स्कूलका हरेक शिक्षकले कम्तीमा ५ हजार चन्दा दिने (बढीमा जति पनि ) घोषणा गर्न उत्प्रेरित गरे । त्यस्तै भयो । यसले दिएको सन्देश यति प्रभावकारी भयो कि गाउँघरबाट कुल १७ लाख नगद चन्दा उठ्यो । जागिर खान बसेका शिक्षक त केहीगरौ भनेर पैसा हाल्दैछन् भने हाम्रा बालबच्चाका लागि खोलिएको विद्यालय बनाउने अभियानबाट पछि हट्नु त भएन नि भन्ने भावना जागृत भएछ ।
जब कुनै कार्य समाज को बृहत्तर हितका लागि त्याग, समर्पण र निष्ठाका साथ शुरु गरिन्छ, त्यसले अद्भुत सामथ्र्य र एकता पैदा गर्दोरहेछ । गाउँले र शिक्षकहरू मिलेर साँच्चिकै स्कूल भन्न लायकको स्कूल बनाउन सफल भए । परिणाम, स्कूलमा दलीय राजनीतिकोगन्ध हराइसकेको छ । शिक्षकहरू पनि कुनै पार्टीका कार्यकर्ता भएनन्, विशुद्ध शिक्षक भए । त्यस्तो शिक्षक जो हरबखत आफ्ना विद्यार्थीको ज्ञान तथा स्तर वृद्धिका लागि चिन्तनशील र प्रयत्नरत रहन्छ । परिणाम, विश्वप्रसिद्ध अमेरिकी टेलिभिजन च्यानल सीएनएनले एशियाको एउटा रराम्रो स्कूल भनेर केही समयअघि एउटा वृत्तचित्र नै बनाएर प्रसारण गरेको रहेछ । विश्वव्यापी रूपमा चर्चामा आइसकेको यस स्कूलबारे नेपालमा चाहिँ शिक्षा मन्त्रालय देखि पत्रकारहरूसम्म सबै बेखबर नै रहेको पाउँदा आश्चर्यचकित त भयौं नै, लज्जाबोधले सबैको अनुहार नै रातोपीरो भयो ।
यस विद्यालयको सबैभन्दा नूतन र सृजनशील कार्य पारदर्शिताको व्यवस्थापन नै रहेछ । यहाँको पारदर्शिता साँच्चैगजबको रहेछ । एउटा ठूलो कोठामा राउण्ड टेबुलमा घरधुरी सर्वेक्षण देखि विद्यालयको व्यवस्थापन समितिको निर्णयपुस्तिका सम्म र बालक्लब देखि विद्यालयको आम्दानी र खर्चसम्मका सबै जानकारी समेटिएका फाइल यहाँ संलग्न गरिएका छन् । करिब ४० वटा विषयमा विद्यालयसित सम्बन्धित सम्पूर्ण गतिविधि र क्रियाकलाप लाई यहाँ समेटिएको छ । आम्दानी खर्चको वार्षिक हिसाबकिताब सार्वजनिक गर्नु लाई नै पारदर्शिताको सूचक मानिने हराम्रो समाज मा यस स्कूलले त शतप्रतिशत कुरा पारदर्शी गर्न सकिन्छ भन्ने व्यावहारिकरूपमै पुष्टि गरेको रहेछ । रेकर्ड हेर्न र खोज्न सजिलो पार्न खोज्दा प्रअ पौडेललाई यस्तो उपाय फुरेको रहेछ । २०६३ साल देखि यसरी पारदर्शिता कायम गरे पछि विद्यालयमा अभिभावकहरूको विश्वास बढाउन सफल भएको प्रअ पौडेलको अनुभव छ । “हामी पारदर्शी भयौं भने अभिभावक र अरूहरू सबैले हामीलाई पूरा विश्वास गर्दारहेछन्”, उनी भन्छन् ।
विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान, प्रस्फुटन र विकास मा तुलनात्मक रूपमा यो स्कूल अलि बढी सजग भएको झल्को पाइयो । यहाँ हरेक शुक्रबार केही न केही अतिरिक्त क्रियाकलाप हुनेरहेछ । पढ्ने बानीको विकास केटाकेटी उमेरमै हुनुपर्छ । प्राथमिक तहमै (बाल्यकालमै) यस्तो बानी लाग्यो भने वयस्क हुँदा पनि त्यो मानिसले पढ्न छाड्दैन । पढ्नु भनेको अन्ततः नयाँ ज्ञान र सूचना हासिल गर्नु हो । यसैले हामीलाई नयाँ–नयाँ कुरा सिकाउँछ । तर नेपालका बहुसङ्ख्यक स्कूलमा पुस्तकालय नै छैनन्, भएकामध्ये धेरै त नाममात्रका छन् । तर यो विद्यालय त्यस्ता थोरै स्कूलमा पर्दोरहेछ, जसले साँचो अर्थमा केटाकेटीहरूलाई पुस्तकालयको प्रयोग दैनिक रूपमा गर्ने बानीकै रूपमा विकास गरेको छ । स्कूल छुट्ने बेलामा पनि एउटा कक्षाका विद्यार्थी पुस्तकालयमा गएर आफूलाई मन पर्ने पुस्तक पढिरहेका थिए । पढेर के जानियो वा के सिकियो वा त्यो किताबको मूल सन्देश के रहेछ भन्ने कुरा कक्षामा आएर भन्नुपर्ने र आपसमा छलफल गर्ने परिपाटी विकसित गर्ने हो भने त्यो झन् प्रभावकारी र अर्थपूर्ण हुनेथियो कि भन्ने हराम्रो जिज्ञासाले प्रअ पौडेललाई छोएछ । जागरुकता देखाइहाले, “ओहो, यो त रराम्रो आइडिया हो । भोलि देखि नै यसमा केही सुधार गर्छौं ।” शिशु कक्षा देखि सात कक्षासम्म चलेको यस विद्यालयमा करिब १५० बालबालिका अध्ययनरत छन् ।
समर्पित ज्ञानज्योति
अर्को दिन, महेन्द्रगुफाबाट माथितिर को बाटो हुँदै अर्मला गाउँगइयो । ज्ञानज्योति मावि डाँडामा रहेछ । २२० जना विद्यार्थी पढ्ने यो स्कूलको नवनिर्मित भवन पक्की र दुईतले भएकाले कक्षाकोठा चाहिँ रराम्रो रहेछ । सृजना मावि ढिकुरपोखरीबाट दुई वर्षअघि सरुवा भई आएका प्रअ पदमप्रसाद सुवेदीको अग्रसरता र स्थानीय जनसमुदायको सहभागितामा स्कूलमा छोटो समयमा सुधार आउन थालेको रहेछ । हरेक शिक्षकको हातमा पाठयोजना र डायरी यहाँको दिनचर्या नै बनिसकेको रहेछ । थप रोचक कुरा , शिक्षकलाई बिदा लिन निरुत्साहित गर्ने अभिप्रायले क्याबि र पर्व बिदाको पैसा दिने व्यवस्था गरिएको रहेछ । विद्यार्थीले शिक्षकको अभाव भरसक कहिल्यै महसुस गर्नु नपरोस्, शिक्षक सधैँ कक्षामा भइराखून् भनेर यसो गरिएको रहेछ । निजी स्रोतमा राखिएका शिक्षकको सामाजिक सुरक्षा र सुविधालाई ध्यानमा राखेर स्कूलले नै १० प्रतिशत रकम उनीहरूको खातामा जम्मा गरिदिँदोरहेछ । यस्तो काम शायद विरलै स्कूलले मात्र गर्ने गरेका छन् । भरतपोखरी जत्तिको सृजनात्मक तरिकाले पारदर्शी नभए पनि सामाजिक लेखापरीक्षण र अभिभावक भेलाहरूमा विद्यालयको आयव्यय सार्वजनिक गर्ने थिति बसालिएको रहेछ । देशका बहुसङ्ख्यक विद्यालयहरूले यत्ति पनि न गरिरहेको स्थितिमा यस विद्यालयले गरेको यो काम आफैँमा प्रशंसनीय बन्न पुगेको छ ।
यी तीनवटै स्कूलको सपनामा सादृश्यता भेटिन्छ, उत्कृष्ट सामुदायिक विद्यालय बन्ने र गुणस्तरीय शिक्षा दिने । त्यस क्रममा यी तीनवटै विद्यालयले अङ्ग्रेजीलाई पढाइको माध्यम बनाएका छन् । अङ्ग्रेजीप्रति अभिभावकहरूको बढ्दो क्रेज र आफूलाई सान्दर्भिक बनाइराख्न यिनले अङ्ग्रेजी माध्यम अपनाएको कुरा बुझन कठिन छैन । तर नेपाली भाषामा पढाउन अभ्यस्त शिक्षकहरूसित अङ्ग्रेजीमा सञ्चार गर्ने रराम्रो दक्षता छ भने त रराम्रो भयो, नत्र विद्यार्थी बर्बाद हुने खतरा ज्यादा देखिन्छ । यस विषयमा यी स्कूलहरू कत्तिको सजग छन् भन्ने चाहिँ बुझन बाँकी नै रह्यो ।
स्कूललाई अझै रराम्रो बनाउने सन्दर्भमा यी विद्यालयहरूले निकट भविष्यको योजना पनि बनाउन भ्याएका रहेछन् । बालमन्दिरले रराम्रो कम्प्युटर ल्याब बनाउने सपना साँचेको रहेछ र त्यसका लागि सहयोगी हातहरू खोजी गर्न थालिसकेको रहेछ । त्यस्तै शैक्षिक सामग्री र उपयोगी पुस्तकहरू थप्ने चाँजोपाँजो पनि मिलाउँदै रहेछ । शिशुकल्याणले चाहिँ कम्प्युटरलाई सिकाउने साधनको रूपमा प्रयोग गर्न हरेक कक्षामा एक/एक वटा कम्प्युटर राख्ने सोच बनाएको रहेछ । त्यस्तै, कक्षा व्यवस्थापनलाई प्रभावकारी बनाई अन्तरक्रियामुखी शिक्षणलाई क्रियान्वयन गर्नगोलाकार टेबुलहरू राख्ने योजना थाहा पाउँदा मनै फुरुङ्ग भयो । ज्ञानज्योति माविले पनि अबको दुई वर्षभित्र हरेक कक्षामा एक/एक वटा कम्प्युटर राख्ने, बालबालिकाले गरेका काम र रचेका सृजनाहरूलाई सजाएर राख्ने बोर्ड सबै कक्षामा व्यवस्था गर्न लागेको रहेछ । त्यस्तै कक्षा पाँचसम्म सबै विद्यार्थीका कपी स्कूलमै राख्ने गरी बाकसहरू बनाउन आँटेको रहेछ । स–साना नानीहरूलाई किताब–कापीको भारी नबोकाउने ध्येयका साथ यसो गर्न लागिएको रहेछ । अर्थात् केही गरिरहेकाहरू थप रराम्रो गर्नका लागि नयाँ–नयाँ सपना बुनिरहेका हुन्छन् भन्ने कुरा यी स्कूलहरूले पुनर्पुष्टि गरिदिएका छन् । किनभने मिहिनेत, उत्साह र सफलताले नै शिक्षकहरूलाई थप रराम्रो गर्ने ऊर्जा दिइरहेको हुँदोरहेछ ।
यी तीनवटै स्कूलहरूको सरसर्ती अवलोकन गर्दा, एउटा कुरा चाहिँ मेरो मनमा एकदमै खट्कियो । त्यो हो, सृजनात्मक सिकाइ ९ऋचभबतष्खभ भिबचलष्लन० । यत्तिको प्रतिवद्ध प्रअ–शिक्षकको टीम भइकन पनि यी तीनवटै स्कूलमा शिक्षण–सिकाइको वातावरण चाहिने जस्तो सृजनात्मक हुन नसकेको देख्दा दाँतमा ढुङ्गा लागेको महसुस हुन्छ । यत्तिको जाँगर र लगन भएका शिक्षकहरूसित विद्यमान साधन स्रोतकै प्रयोग गरेर नै त्यस्तो वातावरण बनाउन सकिन्छ भन्ने कुरा को आइडिया भएका दिन यो कमीलाई पनि पूरा गर्ने छन् ।
हामीलाई बिदाइ गर्ने बेलामा शिशुकल्याणका प्रअ पौडेलको एउटा भनाइ अहिले पनि चस्का दिने खालको छ । उनले भनेका थिए, “तीन तीन जना शिक्षा सचिव, महानिर्देशक र निर्देशकलगायत जति पनि ठूलाबडा मानिस हराम्रो स्कूलमा आए, तिनीहरू सबैले स्कूल धेरै रराम्रो रहेछ भने तर हामीलाई चाहिएको ठोस सहयोग चाहिँ कसैले पनि चासो देखाएनन् ।” उनको आशय थियो, हामीले जे जति परिवर्तन र सुधार गर्न सक्यौं गर्यौ, थप सुधार ल्याउन थप आर्थिक लगानी र नवीन ज्ञान/तरिका चाहिन्छ । नेपालमा नयाँ कामको थालनी चाहिँ हुने तर त्यसलाई सफलताको शिखरमा पुरयाउने र टिकाइराख्ने समस्या स्कूलहरूका हकमा पनि लागू भएको देखिन्छ । व्यवस्थापनको भाषामा यसलाई परिवर्तन व्यवस्थापन ९ऋजबलनभ mबलबनझभलत० भनिन्छ । त्यसैले, यी तीनवटालगायत आशालाग्दो सुधार गरेका देशभरका सरकारी–सामुदायिक स्कूलहरूमा प्रगतिलाई अझ् नयाँ उचाइमा पुर्याउँदै गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न थप साधन–स्रोतको जोहो गरिदिएर तिनलाई टेवा पुर्याउने र ढाडस दिने काम चाहिँ शिक्षा मन्त्रालयले नै गरिदिनुपर्ने देखिन्छ ।



