प्रतिक्रिया र सुझाव
सभासद् थापालाई कारबाहीगर
‘विद्यालय व्यवस्थापनः सभासद् नै सर्वेसर्वा ?’ (शिक्षक साउन, २०६८) स्थलगत रिपोर्टले एनेकपा एमाओवादीका सभासद् हरिलाल थापा नै मुख्य दोषीका रूपमा स्थापित गरेको छ । विद्यालयको मुहार फेर्न दिनरात कडा परिश्रम गर्ने दुर्गा उमावि आलिताल–५, डडेल्धुराका प्रअ प्रतापसिंह धामीलाई उनको काम र योगदानको उच्च मूल्याङ्कन गरेर सम्मान र पुरस्कृत गर्नु को साटो उल्टै सार्वजनिक भेलामा उनलाई जिउ“दै जलाइदिने धम्की दिनुले सभासद् थापाको रक्तपिपासा अझै नमेटिएको पुष्टि हुन्छ । युद्धकालमागोलीको सिकार बन्न बाध्य हामी शिक्षक माथि आज शान्ति प्रक्रिया चलिरहेको अवस्थामा पनि किन अनेक तनाव र धम्की ? शिक्षकको यो विडम्बना कहिले अन्त्य हुने हो ? के सभासद् जस्तो व्यक्तिले एक राष्ट्रसेवकलाई दिनुपर्ने उपहार र ढाडस यस्तै डर र धम्की हो ?
सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अधिकांश सदस्यहरूले प्रअ धामीको योगदानको चर्चा र प्रशंसा गरिरहेको अवस्थामा सभासद् थापाले पदीय मर्यादा र नैतिकतासमेतगुमाई पूर्वाग्रही ढङ्गबाट एक कुशल नेतृत्वकर्ता तथा राष्ट्रको होनहार व्यक्तिलाई सार्वजनिक स्थलमागाली–गलौज गर्नु र जिउ“दै जलाइदिनेसम्मको धम्की दिनु हदैसम्मको अत्याचार हो । सभासद् थापाको यो व्यवहारबाट दुर्गा उमाविका मात्र नभई देशका सम्पूर्ण शिक्षकलाई असुरक्षा महसुस गराए को छ । यस्तो आचरण भएका सभासद्बाट कस्तो संविधान बन्ला ?
सभासद् थापालाई स्वयम् माओवादी पार्टी र सभामुखले समेत कारबाही गरी पीडित शिक्षकलाई न्याय दिलाउनुपर्दछ । अन्यथा, यस्ता मैमत्ता सभासद्बाट माओवादी पार्टी र संविधानसभाको साख दिन दुईगुणा र रात चौगुणा गर्दै घट्ने निश्चित छ । बेलैमा चेतना भया ।
मदन अधिकारी
श्री कञ्चनजङ्घा निमावि, मेनपा–१३, सालघारी (झपा)
अङ्ग्रेजीमा कति सिकाइएला ?
नेपालका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट आफ्ना बालबालिकाहरूलाई पठनपाठन गराउनु नरराम्रो कुरा होइन । विश्वबजारमा नेपाली विद्यार्थीलाई प्रतिस्पर्धी तुल्याउन हराम्रो शिक्षालाई पनि त्यही स्तर को बनाउनु जरुरी छ । तर यसो भन्दैमा सबै विषयहरूलाई एक्कासी अङ्ग्रेजीमय बनाउँदा के सही सिकाइ सम्भव होला त ? यथार्थ त के हो भने प्रा.डा. जयराज अवस्थीले भने झै; अनिवार्य अङ्ग्रेजी मात्रै रराम्रोसित अङ्ग्रेजीमा पढाइदिए पुग्छ । यसैबाट सुधार गर्दै आगामी दिनहरूमा अन्य विषयहरूमा फड्को मार्न सजिलो होला । वास्तवमा अङ्ग्रेजी माध्यम हुनेबित्तिकै शिक्षा गुणस्तर हुने होइन । अर्काले घोडा चढ्यो भनेर हामीले धुरी चढ्ने चेष्टा गर्नु हुदैन ।
डम्बर थापा मगर
रौता–९, उदयपुर
शिक्षक ले गर्दा कम उत्तीर्ण ?
२०६७ को एसएलसी परीक्षामा ५६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि यसबारे धेरै थरीका चर्चा परिचर्चाहरू भए । थोरै विद्यार्थी उत्तीर्ण हुनुको कारण खोजियो । आखिर किन यस्तो भयो ? बन्द–हडतालका कारण पढाइ नभएर हो कि ? विद्यार्थीहरू नै अल्छे भएर हो कि ? कि प्रत्येक विषयका प्रश्नपत्र नै अपेक्षाकृत जटिल थिए ? धेरैले धेरै तर्कहरू निकाले ।
ज–जसले जे–जे भने पनि , यस वर्षको एसएलसी उत्तीर्ण प्रतिशत घट्नुको जस (या अपजस) म शिक्षक लाई दिन्छु । विगतका वर्षहरूमा एसएलसी परीक्षामा हुने ‘खुलमखुला चिटिङ’लाई लिएर शिक्षक मा थुप्रै सामग्रीहरू प्रकाशित भए । ‘चिटिङ’ देखि वाक्क भएका केही असल शिक्षक, असल विद्यार्थी र असल अभिभावकले गुणस्तरीय शिक्षाका विषयमा आवाज उठाए । शिक्षक आफैंले जाँगर चलाएर ‘एसएलसी चिटिङ’ विषयक सामग्रीहरू प्रकाशन गरयो । यी सबै आवाजहरूले सरकारलाई दबाब दियो । परिणामतः एसएलसी परीक्षालाई मर्यादित बनाउने प्रयासहरू गरिए । त्यसैले केही हदसम्म भए पनि ‘चिटिङ’ रोकियो । पास नहुनुपर्ने केही विद्यार्थीहरू यसपटक पास भएनन् ।
यद्यपि यो एउटा सानो प्रगति मात्र हो । निम्न तथा अति निम्न वर्गीय परिवारका विद्यार्थी र अभिभावकमा पढेर र पढाएरै पास गर्नु पर्छ भन्ने सन्देश अझै पुग्न सकेका छैनन् । उनीहरू त अहिले पनि ‘शिक्षकहरूले चोराउनै सकेनन्’ भन्छन् ।
यस वर्षको एसएलसी परिणाम हेर्दा, अधिकांश विद्यार्थीहरू कुनै एउटै विषयमा फेल भएका देखिन्छन् । यसो हुनाको कारण, अन्य विषयको परीक्षा परम्परागत रूपमा (निष्फिक्रीसँग चिटिङ भएरै) नै सम्पन्न भएको हुनुपर्छ । जि.शि.अ., प्र.जि.अ., वि.नि. र उच्च सुरक्षा प्रमुखहरू आएका दिन चोर्न/चोराउन सम्भव भएन । त्यस्ता दिनमा जुन विषय परयो विद्यार्थी त्यसमै फेल भइदिए । त्यसैले कुनै केन्द्रबाट परीक्षा दिएर फेल हुनेहरू सबै विज्ञानमा फेल भए, अर्काे केन्द्रका गणितमा, अर्को केन्द्रका अङ्ग्रेजीमा ।
जबसम्म बढीभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूमा ‘परीक्षा लेखेरै/पढेरै पास गर्नु पर्छ’ भन्ने भावनाको विकास हुँदैन, तबसम्म परीक्षा सुधार्न गाह्रो छ । शिक्षकहरू त नियम–कानुनले बाँधिएका छन् । उनीहरूलाई उनीहरूभन्दा माथिको एउटा निर्देशन नै काफी हुन्छ ।
इन्द्र श्रेष्ठ
सरस्वती उमावि, खानीभञ्ज्याङ, ओखलढुङ्गा
विचरो शिक्षक
शिक्षण आफैंमा सम्मानित र जिम्मेवारीपूर्ण पेशा हो । शिक्षक समाज को मार्गदर्शक, विद्यार्थीको पथप्रदर्शक र परिवर्तनको संवाहक हो ।
तर नेपाली माटो अनुकूल उत्पादन भएका शिक्षक विचरा ! कठिन सङ्घर्षपश्चात् उत्पादन भएका दक्ष जनशक्ति शिक्षक आफ्नै हातमुख जोड्न दिनभर चकको धूलो खानुछ, एकसरो लुगा वर्ष दिनमा फेर्नुछ । जति पढाए पनि परीक्षार्थी फेल भएमा नपढाएको अवगाल आई नै हाल्छ । शिक्षकले पढाएन कि विद्यार्थीले पढेन ? यो कुरा कसैले सोच्दैन । विद्यालयको नाममा भवन छ । प्रयोगशालामा पाठ्यपुस्तकसम्म छैन । अन्य सामग्री भएको त रेकर्ड नै छैन । फेल भए विद्यार्थीको मार, पास भए शिक्षकसँग छैन कुनै सरोकार । शिक्षक ज्यालादारी खान्छ घुसखोरी हुँदैन । बोर्डिङले त नास्ता पुग्ने खर्च पनि दिँदैन तैपनि विचरो शिक्षक ! भिक्षा माग्ने जोगी झै बन्छ मूकदर्शक ।
तलबको निर्धारण राज्यले गर्ने । राज्यमा नियम बलले बन्ने । नियमको कार्यान्वयन समाज ले गर्ने । समाज भने पैसावालले किन्ने । योग्यतालाई पैसाले किन्ने । इज्जतलाई बलले जित्ने । राजनीतिक भागबण्डापश्चात् शिक्षक भर्ती हुनुपर्ने । चार महिनासम्म ऋणले चुर्लुम्म डुब्ने । एउटा खरिदार समान आफ्नै स्नातकोत्तर योग्यता तुलना न गरिने विचरा शिक्षक ! चक र डस्टरको त मास्टर !
मुख सुकेर थुक्नु छैन । शिक्षक भनेको भुक्नु होइन । शिक्षक सरकारको सौतेलो होइन । न त हो राजनीतिकर्मीको सम्पत्ति ! त्यसैले शिक्षक सान हो । मान हो । उज्यालो प्रकाश छर्छ । विद्यार्थी समाज मा उमार्छ, फुलाउँछ र ज्ञान दिई फलाउँछ । त्यसै गरी मैनबत्ती झै आफू जलेर अरूलाई उज्यालो छर्दछ । तर पनि विचरो ! अन्त्यमा फूल झै ओइली झ्र्छ ।
झ्गबहादुर क्षेत्री
तिलाचन निमावि, निसी–९, बाग्लुङ
यस्तो होस् स्कूल
शिक्षकले विद्यार्थी हाँसी–हाँसी पढाउन्
दिलभित्र रोपेर प्रेमको फूल फुलाउन्
पढाउन होइन सिकाउन पढाउन्
सिकाएका कुरा ले भोलि जीवन चलाउन् ।
एउटा एउटा बिरुवा भिन्न भिन्न फुल्ने फूल
रङ बेग्लै भए’नि सबै फूल समान हुन्
बाहिर हाँसो फक्रन्छ भित्र हुन्छ प्रतिभा
त्यो प्रतिभा चम्काउने शिक्षकको कर्तव्य ।
घुमिरहोस् स्कूल शिक्षकको दिलमा
तन जहाँ भए’नि मन पुगोस् स्कूलमा
शिक्षक र विद्यार्थी मिली मालागाँसेर
एकापसमा लगाउन् सबै जना हाँसेर ।
सरकारले शिक्षकलाई खुसी बनाई काम लाओस्
रराम्रो गर्ने मालीले सबैबाट जस पाओस्
सुरक्षित स्कूल होस् कक्षा भित्रै घाम छिरोस्
पढाउने र पढ्नेको दुनियाँमै नाम चलोस् ।
यति भए स्कूल सुन्दर मन्दिर बन्नेछ
त्यो स्कूलमा पढ्नेले भोलि देश बोक्नेछ ।
कृष्ण कुम्पुरे
सत्यवती उमावि, धादिङ



