त्रिपक्षीय संयोजनको सुखद् परिणाम (स्थलगत मिर्मी निमावि, स्याङ्जा )
नेपालका प्रायः जसो सामुदायिक विद्यालयको सञ्चालनमा सरकार र विद्यालय प्रशासन (प्रअ, शिक्षक, विव्य समिति आदि) हावी छन् । तर, जहाँ यी दुईका अतिरिक्त तेस्रो पक्ष अर्थात् अभिभावकहरू पनि संलग्नगराइएका छन् त्यस्ता विद्यालय स्वतः अब्बल र उत्कृष्ट बनेको पाइन्छ । मिर्मी निमाविमा केही शिक्षकको तलब र अन्य खर्च व्यहोर्ने सरकार, विद्यार्थीलाई सिकाउने–सघाउने सवालमा बिहान–बेलुका नभनी खट्ने योग्य र इमान दार शिक्षक अनि विद्यालय रराम्रो बनाउन आर्थिक–भौतिक र नैतिक सहयोग गर्न हरदम तत्पर अभिभावक– तीनवटै पक्षको सक्रिय र सन्तुलित उपस्थिति छ । त्यसैले यो स्कूल आशलाग्दो किसिमले मौलाउँदै पनि गएको छ ।
स्याङ्जाको मिर्मीस्थित मिर्मी निमाविको मूलढोका सामान्यतया बिहान नौ बज्दा खुलिसकेको हुन्छ । त्यसपछि ‘साउन्ड बक्स’मा बालगीत तथा राष्ट्रिय भावनाकागीतहरू घन्किन थाल्छन् । पौने दश बज्दा सबै विद्यार्थी आइसकेका हुन्छन् । १५ मिनेट लामो प्रार्थनासभापछि जाग लम्क, चम्क हे, नौ जवान हो ...गीतको तालमा विद्यार्थीहरू ‘मार्च–पास’ गर्दै कक्षामा प्रवेश गर्छन् ।
प्रार्थनासभाको प्रस्तुति जस्तै यो विद्यालयको पठनपाठन, अतिरिक्त क्रियाकलाप तथा व्यवस्थापन पक्ष पनि उत्तिकै भिन्न लाग्छ । कक्षा सातसम्म पढाइने यो निमाविमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यम अपनाइएको छ । नर्सरीका ३७ विद्यार्थीका लागि कक्षामा टीभी र कम्प्युटर समेत राखिएका छन् । प्रअ रामप्रसाद भट्टराईको भनाइमा, नेपाली र अङ्ग्रेजी वर्णमाला सजिलोसँग सिकाउनको लागि नर्सरीमा कम्प्युटर राखिएको हो ।
विद्यालयमा शैक्षिक पूर्वाधार र सामग्री पर्याप्त देखिन्छन् । कक्षा एक देखि नै ‘कम्प्युटर साइन्स’ पढाइन्छ । यो स्कूलको पुस्तकालय र भिडियो लाइब्रेरी पनि उत्तिकै उपयोगी देखिन्छन् । पुस्तकालयमा कथा, जीवनी, इतिहास लगायतका १७०० भन्दा बढी बालोपयोगी पुस्तक सङ्ग्रहित छन् भने ‘भिडियो लाइबे्ररी’मा १०० भन्दा बढी सीडी तथा डीभीडीहरू सङ्कलन गरिएका छन् ।

‘भिडियो लाइबे्ररी’को प्रयोग दुई किसिमबाट हुने गरेको पाइन्छ । शिक्षकले विद्यार्थीलाई पुस्तकालयमै लगेर पाठसँग सम्बन्धित सीडी देखाउँछन् भने खेलकुद पिरियड वा अरू खाली समयमा विद्यार्थीहरू आफूलाई मन लागेका भिडियो हेर्न सक्छन् । २०६८ जेठको पहिलो साता शिक्षक प्रतिनिधि मिर्मी स्कूलमा पुग्दा कक्षा चारका छात्रछात्राहरू कम्प्युटरमा विश्व सम्पदा सूचीमा रहेका सम्पदा स्थलहरू हेर्दै थिए । विज्ञान प्रयोगशालाका निम्ति छुट्टै कोठा छ, जहाँ माइक्रोस्कोप, टेलिस्कोप लगायतका विभिन्न सामग्रीहरू छन् । मिर्मीमा दैनिक आठ पिरियडको तालिका बनाइएको छ, एउटा चाहिँ ‘गेम पिरियड’ हुन्छ । फूटबल, क्रिकेट, ब्याडमिन्टनका साथै लुँडो, क्यारेमबोर्ड लगायतका सामग्रीको व्यवस्था छ । हरेक कक्षामा पङ्खा र यताउता सार्न मिल्ने ‘मुभेवल ह्वाइटबोर्ड’ छन् ।
मिर्मीको विद्यार्थी मूल्याङ्कन पद्धति पनि प्रभावकारी छ । सबै पाठ्यपुस्तकका हरेक एकाईको पठनपाठन सकिएपछि ‘युनिट टेष्ट’ लिइन्छ । त्यसमा कुनै विद्यार्थी कमजोर देखि एमा ‘बच्चाको पढाइप्रति घरमा पनि ख्याल गर्न’ अभिभावकलाई सुझाव दिइन्छ । वर्षमा तीनवटा ‘टर्मिनल परीक्षा’ लिने गरिन्छ, जुन क्रमशः २०, ३० र ५० प्रतिशत अङ्कभारका हुन्छन् । हरेक परीक्षापछि उत्तरपुस्तिकासहितको मूल्याङ्कन फाइल विद्यार्थी र अभिभावकलाई दिने गरिन्छ । शिक्षक ज्ञानप्रसाद पाण्डेय भन्छन्, “परीक्षाको कापी नै फिर्ता दिँदा विद्यार्थीले आफ्नो कमजोरी र अभिभावकले आफ्ना बच्चाको सिकाइको स्तर जान्ने मौका पाउँछन् ।” परीक्षामा कमजोर देखि एका विद्यार्थीलाई स्कूलमै पनि ‘उपचारात्मक शिक्षण’ पनि गराइने गरेको पाण्डेय बताउँछन् ।
जागरुक समुदाय–मिहिनेती शिक्षक
२०५७ सालमा प्राथमिक तहको स्वीकृति पाएको मिर्मी स्कूलका प्रथम पाँच वर्ष कच्ची भवनमा बिते । २०६१ मा रु.३ लाख ७० हजारको लागतमा गाउँले मिलेर चारकोठे पक्की भवन बनाए । त्यसपछि जिल्ला शिक्षा कार्यालयको सहयोगमा अर्को दुईकोठे भवन बन्यो । हालै जिशिकाकै साढे आठ लाख र समुदायको साढे ६ लाखको लागतमा थप चारकोठे भवन बनाइएको छ ।
मिर्मी निमाविप्रति स्थानीय बासिन्दाको लगाव अत्यन्त प्रशंस्य र अनुकरणीय लाग्छ । सिङ्गो समुदाय नै विद्यालयको उत्थानमा उत्साहित भएर लागेको पाइन्छ । स्कूलमा कम्प्युटर, प्रयोगशालाका उपकरण र शैक्षिक सामग्रीको जोहो अभिभावककै सहयोगमा गरिएको हो । अभिभावकगोविन्द न्यौपाने भन्छन्, “जुन उद्देश्यले मिर्मी स्कूल खडा गरियो, त्यही अनुसारको सफलता पाइएको छ । हामी यो स्कूललाई अरू नयाँ उचाइमा पुरयाउने छौं ।” स्कूललाई विदेशमा कार्यरत मिर्मीवासीबाट पनि उल्लेख्य सहयोग प्राप्त भएको देखिन्छ ।
२०६६ सालको अभिभावक भेलाले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने निर्णय गरेको हो । नर्सरी देखि शुरु गरेर क्रमशः बढाउँदै लगेर अङ्ग्रेजी माध्यमलाई कक्षा पाँचसम्म पुर्याइएको छ । प्रअ भट्टराई भन्छन्, “विद्यालयलाई क्रमशः कक्षा दशसम्म विस्तार गर्ने र सबैमा अङ्ग्रेजी माध्यम चलाउने योजना छ ।” अहिले यहाँ २३२ जना विद्यार्थी पढ्दैछन् । दुई वर्षयता यो स्कूलबाट विद्यार्थीहरू अन्य स्कूलमा गएका छैनन् । बरु, केहीले बोर्डिङबाट आफ्ना बच्चा यसमा ल्याएका छन् ।
मिर्मी निमाविमा १४ जना स्थानीय नै शिक्षक छन् । तीमध्ये दरबन्दीका दुई र राहतमा एक जना छन् भने बाँकी निजी स्रोतका । निजी स्रोतका शिक्षकले रु.२५ सय देखि रु.७ हजारसम्म तलब पाउँछन् । त्यो रकम जुटाउन नर्सरीमा मासिक रु.२०० र एलकेजी/युकेजीका लागि रु.२२५ शुल्क तोकिएको छ । त्यसपछि हरेक माथिल्लो कक्षामा क्रमशः रु.२५ थपिँदै जान्छ । विद्यालय प्रशासन र भौतिक व्यवस्थापनको पाटो प्रअ रामप्रसाद भट्टराईले हेर्छन् भने शैक्षिक व्यवस्थापनको नेतृत्व शिक्षक ज्ञानप्रसाद पाण्डेयले लिएका छन् ।
अङ्ग्रेजीमा बी.ए. र कानुनमा स्नातक पाण्डेयसँग दुई दशक लामो शिक्षण अनुभव छ । उनले १४ वर्ष पोखराको कुमुदिनी स्कूल र त्यसपछि का दुई–दुई वर्ष मिर्मीकै कालीगण्डकी बोर्डिङ र काठमाडौंको न्यू समिट स्कूलमा पढाए । समिटमा पढाउँदै गर्दा मिर्मीका प्रअ र अभिभावकले गरेको अनुरोधलाई स्वीकारेर एक वर्ष निःशुल्क काम गर्ने शर्तमा पाण्डेय २०६६ मा गाउँको स्कूलमा आएका हुन् । पाण्डेयको मिर्मी निमाविप्रतिको सेवाभाव यति बढ्यो कि अब उनी यो स्कूल छोड्ने कुरा को कल्पनासम्म गर्न सक्दैनन् । यहाँ उनको मासिक तलब रु.७ हजार छ । जबकि समिट स्कूलमा शिक्षण र होस्टल दुवैको जिम्मेवारी सम्हालेबापत उनले रु.२० हजारभन्दा बढी हात पार्थे । तर, उनी मिर्मी स्कूलप्रतिको लगावलाई पैसासँग तुलनै गर्न चाहँदैनन् । भन्छन्, “मैले जीवनमा सबैभन्दा बढी खुशीको क्षण यो स्कूलमा पाएको छु । अब सकुञ्जेल यही स्कूलको सेवा गर्ने छु ।”
पाण्डेयले शिक्षण विधि, बाल मनोविज्ञान र विद्यालय प्रशासन सम्बन्धी दर्जनौं तालिम लिएका छन् । तिनै तालिममा सिकेका सीप र अनुभवलाई उनले मिर्मीमा खन्याएका छन् । उनको भूमिकाबाट विद्यालयका शिक्षक र अभिभावकहरू पनि सन्तुष्ट देखिन्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टराई भन्छन्, “ज्ञानुलाई जे सोचेर काठमाडौंबाट ल्याइयो, त्यसरी नै उपलब्धि हासिल गर्न सकिएको छ ।”

पाण्डेय जस्तै मिर्मीका अरू युवाले विद्यालयका निम्ति उस्तै त्याग देखाएका छन् । महेश भट्टराई तिनैमध्येका एक हुन्, जो त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एम.ए (अङ्ग्रेजी) पढ्दापढ्दै गाउँको स्कूलमा पढाउन आइपुगेका छन् । उनी भन्छन्, “समुदायको ‘मिसन’लाई सफल पारौं भन्ने चाहनाले काठमाडौंमा पढ्दापढ्दै गाउँ फर्केको हुँ । स्कूललाई अप्ठेरो पर्दा थोरै तलबमै पनि काम गर्न तयार छु ।” त्यहाँ उनको तलब रु.४ हजार मात्र छ । उनी आफ्नो अध्ययन चाहिँ अब स्वाध्ययनबाटै पूरा गर्ने बताउँछन् ।
एउटा शिक्षकले कम्तीमा ६ पिरियड पढाउनु पर्छ । तर, बिहान १० देखि साँझ् ४ बजेसम्म पढाउनु लाई मात्रै आफ्नो दायित्व ठान्दैनन्, यहाँका शिक्षकहरू । आवश्यक पर्दा बिहान सात बजे नै विद्यालय पुग्छन् । शिक्षकको मिहिनेतकै कारण मिर्मी निमाविका विद्यार्थीको सिकाइ उपलब्धि रराम्रो देखिन्छ । २०६७ को नतिजा अनुसार कक्षा एक, दुई, तीन र चारमा विद्यार्थीको औसत सिकाइ उपलब्धि क्रमशः ८३.३३, ७४.०४, ७०.१४ र ६९.२८ छ भने कक्षा पाँचमा ६२.७२ र ६५.७२ । शिक्षकको मिहिनेतका बारेमा व्यवस्थापन समितिका सदस्य लीलाबल्लभ न्यौपाने भन्छन्, “शिक्षकले दुः ख न गरेको भए स्कूललाई यत्तिको बनाउन सकिने थिएन । तर, शिक्षकलाई साह्रै कम ज्यालामा पढाउन लगाउनुपरेकोमा हामी दुः खी छौं । भविष्यमा दिगो स्रोतको व्यवस्था गर्न सके शिक्षकलाई राहत दिन सकिन्छ कि भन्ने आशा छ ।”
लोभलाग्दा अभ्यास
बालबालिकाको शैक्षिक विकास प्रति यहाँका अभिभावकहरू पनि उत्तिकै सचेत देखिन्छन् । विद्यार्थीको पढाइलाई लिएर उनीहरू शिक्षकसँग निरन्तर सम्पर्कमा रहन्छन् । हरेक दिन ‘टिफिन’ समयमा खाजा लिएर विद्यालय आइपुग्नु यहाँका अभिभावकहरूको दिनचर्या बनेको छ । अभिभावक आइपुगेनन् भने पनि विद्यार्थी भोको पर्दैनन् । विद्यालय आउन नभ्याएका अभिभावकले शिक्षकलाई खबर गरेर खाजा खुवाइदिन अनुरोध गर्छन् । मिर्मी निमाविका हरेक क्रियाकलाप बालमैत्री देखिन्छन् । अभिभावक बिन्दु पाण्डेय भन्छिन्, “मेरो बच्चा त घरमा भन्दा स्कूलमै रमाएको छ, घरै जान मन गर्दैन । हामीले खोजेभन्दा धेरै रराम्रो छ, यो स्कूल ।” कुनै विद्यार्थी अनुपस्थित हुँदा शिक्षकले अभिभावकलाई टेलिफोन गरेर विद्यार्थी नआउनुको कारणबारे सोधखोज गर्छन् । शिक्षक, अभिभावक र विद्यार्थीका निम्ति फरक–फरक आचारसंहिता लागू गरिएका छन् ।
मिर्मी स्कूलमा शुक्रबार अरू दिनको जस्तो नियमित पठनपाठन हुँदैन । बिहान १० देखि एक बजेसम्म चित्रकला, सामान्य ज्ञान, स्वास्थ्य शिक्षा र नेपाली व्याकरण पढाइन्छ । खाजा समयपछि नर्सरी र केजीका विद्यार्थीलाई बिदा दिइन्छ भने कक्षा एक देखि माथिका विद्यार्थीलाई सङ्गीत, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला जस्ता अतिरिक्त क्रियाकलाप गराइन्छ । हरेक शुक्रबार छुट्टी हुनुअघि शिक्षकहरूको साप्ताहिक समीक्षा बैठक हुन्छ । “यो बैठकमा विद्यार्थीको कमजोरी, अभिभावकलाई दिनुपर्ने सुझाव र शिक्षकलाई परेको समस्याको बारेमा समीक्षा गरिन्छ”, प्रअ भट्टराई भन्छन् ।
कुनै पर्व वा राष्ट्रिय दिवसका कारण सार्वजनिक बिदा परेको दिन विद्यालयमा पठनपाठन हुँदैन, तर विद्यालय खुलेकै हुन्छ । त्यस्तो दिनमा जुन पर्व वा दिवस परेको हो, त्यसैसँग सान्दर्भिक क्रियाकलाप हरू गर्ने गरिन्छ । जस्तो; शहीद दिवसको दिन शहीदको तस्बिरमा माल्यार्पण गराए र शिक्षकले त्यस दिवसको सान्दर्भिकताबारे विद्यार्थीलाई जानकारी दिन्छन् । विद्यालयको पुस्तकालय चाहिँ बिदाको दिन पनि अभिभावक र विद्यार्थीका निम्ति खुला रहन्छ ।
विद्यार्थीमा असल आचरणको बानी बसाउने खालका कैयौं अनुकरणीय अभ्यास भेटिन्छन्, मिर्मी निमाविमा । विद्यालयभित्र कसैको कुनै सामान हराउँदैन । विद्यालय प्राङ्गणमा भेटिएका कुनै पनि सामान ‘लस्ट एण्ड फाउण्ड’ रयाकमा राखिन्छन् । कक्षामा कसैको कुनै चीज भेटिएमा विद्यार्थीले ‘यो कसको हो ?’ भनेर सोधिहाल्छन् । विद्यालय प्राङ्गणमा कागजको सानो टुक्रा पनि रहँदैन । विद्यार्थीले देख्नासाथ ‘डस्टबिन’मा फाल्नुपर्ने आदत बसाइएको छ ।
विद्यालयको दान–बाकसमा सङ्कलित रकम आर्थिक रूपमा विपन्न विद्यार्थीको स्टेशनरीमा खर्च गरिन्छ । विद्यार्थीलाई सिर्जनशील तुल्याउनका निम्ति मासिक भित्ते–पत्रिका ‘दि क्रियशन’ प्रकाशन गरिन्छ, जसमा विद्यार्थीका लेख/रचनाले स्थान पाउँछन् । अनुकरणीय अभ्यास हरूकै कारण यता आएर जिल्लाका धेरै स्कूलका निम्ति मिर्मी निमावि ‘अवलोकनगन्तव्य’ बन्न थालेको छ । केहीअघि मात्रै स्याङ्जाको चापाकोट स्रोतकेन्द्रका २४ र फेदीखोला स्रोतकेन्द्रका २२ विद्यालयका प्रअ र व्यवस्थापन समिति अध्यक्ष ले मिर्मीको अवलोकन गरेका थिए । स्याङ्जाका जिशिअ टोपबहादुर श्रेष्ठ मिर्मीलाई जिल्लाकै ‘उदाहरणीय विद्यालय’ ठान्छन् । उनी भन्छन्, “समुदाय र शिक्षकले देखाएको सक्रियता साँच्चिकै प्रशंसनीय छ । यसबाट अरू विद्यालयका शिक्षकले पनि सिक्नुपर्छ ।”



